पूर्वप्रधानमन्त्री भट्टराईमाथि गम्भीर आरोप, विवादमा परराष्ट्र मन्त्रालय

पत्रकार कनकमणि दिक्षितले गरे कार्यक्रम बहिस्कार

काठमाडौं । वरिष्ठ कूटनीतिज्ञ यदुनाथ खनालको स्मृतिमा परराष्ट्र मन्त्रालयले हरेक वर्ष आयोजना गर्दै आएको यदुनाथ खनाल लेक्चर सिरिज यस वर्ष वक्ता चयनलाई लिएर विवादमा परेको छ । यस पटक पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई मुख्य वक्ताका रूपमा आमन्त्रण गरिएपछि सामाजिक सञ्जालदेखि कूटनीतिक वृत्तसम्म बहस सुरु भएको हो ।

परराष्ट्र मन्त्रालयले असार १४ गते आयोजना गर्ने लेक्चरमा डा. भट्टराईले नेपालको विदेश नीति भूराजनीतिक र भूआर्थिक प्रवृत्तिको दिशाबोध विषयमा प्रवचन दिने कार्यक्रम तय गरेको छ ।

यदुनाथ खनाल नेपालका प्रतिष्ठित कूटनीतिज्ञका रूपमा परिचित छन् । विशेषगरी राजा महेन्द्रको शासनकालमा नेपालको परराष्ट्र नीतिलाई आकार दिन उनले महत्वपूर्ण भूमिका खेलेका थिए । तर, राजा महेन्द्रको राजनीतिक भूमिकाप्रति लामो समयदेखि आलोचनात्मक धारणा राख्दै आएका डा. भट्टराईलाई खनालको स्मृतिमा आयोजित कार्यक्रममा वक्ता बनाइएको विषयलाई लिएर केही व्यक्तिले असन्तुष्टि जनाएका छन् ।

पत्रकार कनकमणि दीक्षितले कार्यक्रमको निमन्त्रणा अस्वीकार गर्दै सार्वजनिक रूपमा असहमति जनाएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत वक्ता छनोटलाई गलत निर्णय भन्दै यदुनाथ खनालप्रतिको सम्मानसँग मेल नखाने टिप्पणी गरेका छन् ।

null

दीक्षितले आफ्नो पोस्टमा निमन्त्रणाका लागि परराष्ट्र मन्त्रालयलाई धन्यवाद दिँदै लेखेका छन्, ‘परराष्ट्र मन्त्रालयको वक्ता छनोट गलत हो । र, यदुनाथ खनालको अपमान हो ।’

उनले डा. भट्टराईमाथि विभिन्न राजनीतिक आरोपसमेत लगाएका छन् । आफ्नो धारणा व्यक्त गर्दै उनले नेपालमा भारतीय गुप्तचर निकायको प्रभाव बढाउन भूमिका खेलेको, माओवादी द्वन्द्वकालीन गम्भीर घटनासँग जोडिएको र त्यसको नेतृत्व गरेको लगायतका आरोप उल्लेख गर्दै यस्ता व्यक्तिलाई यदुनाथ खनालको स्मृतिमा आयोजित कार्यक्रममा वक्ता बनाइनु उचित नभएको बताएका छन् । सोही कारण आफू कार्यक्रममा सहभागी नहुने निर्णय गरेको पनि उनले सार्वजनिक गरेका छन् ।


यद्यपि, परराष्ट्र मन्त्रालयले डा. भट्टराईलाई वक्ता चयन गरिएको विषयमा हालसम्म कुनै औपचारिक प्रतिक्रिया दिएको छैन । वक्ता चयनलाई लिएर देखिएको विवादका बीच कार्यक्रम भने पूर्वनिर्धारित तालिकाअनुसार आयोजना हुने तयारी रहेको मन्त्रालय स्रोतले जनाएको छ ।

मन्त्रालय औपचारिक प्रतिक्रियाबाट जोगिन खोजे पनि अनौपचारिक कुराकानीमा भने देशको प्रधानमन्त्री भइसकेको व्यक्तिलाई आमन्त्रण गर्दा विवाद श्रृजना गर्न नहुने बताउँछ । मन्त्रालयका एक अधिकारीका अनुसार जनमतले अनुमोदित भएर प्रधानमन्त्री भइसकेका व्यक्तिबारे अन्य प्रचार गर्नु सोभनप्य हुँदैन । उनले भने, ‘एक दुइजना मान्छे नआउँदैमा केहि हुँदैन ।’
 

Share News