केडियाले किनेपछि मोबाइल कर्जामा आक्रामक बतास, एनपीए १६.९ प्रतिशतमा झार्यो

काठमाडौं । केडिया ग्रुपअन्तर्गत सञ्चालित बतास हायर पर्चेजले आर्थिक वर्ष २०८१/८२ मा १९ करोड ७० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ । यो आम्दानी अघिल्लो वर्षको तुलनामा २७.८३ प्रतिशत अर्थात् ७ करोड ६० लाख रुपैयाँ कम हो । अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा कम्पनीले २७ करोड ३० लाख रुपैयाँ आम्दानी गरेको थियो । 

यसअघि कम्पनीले यसअघि आव २०७९/८० मा ३० करोड २० लाख रुपैयाँ, आव २०७८/७९ मा २१ करोड ९० लाख रुपैयाँ, आव २०७७/७८ मा २३ करोड ९० लाख रुपैयाँ र आव २०७६/७७ मा २१ करोड ९० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो ।

कम्पनीले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो नौ महिनामा १६ करोड ४० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको जनाएको छ । 

यस्तै, चालु आवको नौ महिनामा कम्पनीको नेटवर्थ २८ करोड ३० लाख रुपैयाँ पुगेको छ । जबकि गत आर्थिक वर्ष २०८१/८२ मा नेटवर्थ २४ करोड ३० लाख रुपैयाँ रहेको थियो । त्यसअघि आव २०८०/८१ मा २७ करोड १० लाख रुपैयाँ, आव २०७९/८० मा ३० करोड २० लाख रुपैयाँ, आव २०७८/७९ मा ३५ करोड ३० लाख रुपैयाँ, आव २०७७/७८ मा ३३ करोड ६० लाख रुपैयाँ र आव २०७६/७७ मा १७ करोड ९० लाख रुपैयाँ थियो ।

सार्वजनिक विवरणअनुसार चालु आवको पहिलो नौ महिनामा कम्पनीको कुल कर्जा पोर्टफोलियो १ अर्ब ५५ करोड ७० लाख रुपैयाँ पुगेको छ । यसअघि आव २०८१/८२ मा १ अर्ब २३ करोड १० लाख रुपैयाँ, आव २०८०/८१ मा १ अर्ब ५८ करोड रुपैयाँ, आव २०७९/८० मा १ अर्ब ८४ करोड ६० लाख रुपैयाँ, आव २०७८/७९ मा १ अर्ब ६४ करोड ५० लाख रुपैयाँ, आव २०७७/७८ मा १ अर्ब ४५ करोड रुपैयाँ र आव २०७६/७७ मा १ अर्ब ४५ करोड ४० लाख रुपैयाँ कुल पोर्टफोलियो थियो ।

सन् २००३ मा बतास समूहद्वारा स्थापना गरिएको बतास हायर पर्चेज प्रालि मार्च २०२५ मा केडिया ग्रुपले खरिद गरेको हो । खरिदपछि कम्पनीको सम्पूर्ण सेयर स्वामित्व तथा सञ्चालक समिति परिवर्तन भएको छ । हाल कम्पनीका अध्यक्ष सानु काजी तमोट र प्रमुख कार्यकारी अधिकृत (सीईओ) राजेन्द्र प्रसाद तिम्सिना रहेका छन् ।

कम्पनीले परम्परागत हायर पर्चेजसँगै मोबाइल फोन तथा डिजिटल उपकरण खरिदका लागि पनि कर्जा प्रवाह गर्दै आएको छ । सन् २०२५ अगस्टदेखि सुरु गरिएको यो व्यवसायले छोटो अवधिमै उल्लेखनीय विस्तार गर्दै चालु आवको ९ महिजासम्म कम्पनीको कुल पोर्टफोलियोको करिब ३० प्रतिशत हिस्सा ओगटेको छ ।

यस्तै, यात्रुवाहक सवारी (प्यासेन्जर भेहिकल) कर्जामा पनि तीव्र वृद्धि भएको कम्पनीले जनाएको छ । चालु आवको नौ महिनामा यस क्षेत्रको वार्षिकीकृत वृद्धि करिब २५१ प्रतिशत पुगेको छ । यससँगै कुल पोर्टफोलियोमा यसको हिस्सा गत वर्ष १४ प्रतिशत रहेकोमा ९ महिनामा ३० प्रतिशत पुगेको कम्पनीको दाबी छ ।

यस विस्तारसँगै व्यावसायिक सवारी तथा निर्माण उपकरण लगानीमा कम्पनीको निर्भरता घटेको छ । यी क्षेत्रको हिस्सा गत वर्ष ८४ प्रतिशत रहेकोमा समीक्षा अवधिमा घटेर ३८ प्रतिशतमा सीमित भएको छ ।

चालु आवको ९ महिनामा कम्पनीको खुद ब्याज आम्दानी १२७ प्रतिशतले वृद्धि भएको छ । गत वर्ष ४.२ प्रतिशत र अघिल्लो वर्ष ४.४ प्रतिशत रहेको ब्याज आम्दानी चालु आवमा बढेर ९.५ प्रतिशत पुगेको छ । ऋण लिने लागत घट्नुका साथै मोबाइल तथा डिजिटल उपकरण कर्जाबाट प्राप्त आम्दानी सुधारको प्रमुख कारण रहेको कम्पनीले जनाएको छ । समीक्षा अवधिमा कुल ब्याज आम्दानीमध्ये करिब ४१ प्रतिशत हिस्सा सबभेन्सन आम्दानीको रहेको छ, जबकि अघिल्ला वर्षहरूमा यस्तो आम्दानी थिएन ।

कम्पनीको कुल खराब कर्जा (एनपीए) १६.९ प्रतिशत रहेको छ । यसअघि गत वर्ष २१.४ प्रतिशत कुल खराब कर्जा थियो । कर्जा पोर्टफोलियो विस्तारका कारण अनुपात घटेको कम्पनीले जनाएको छ । हायर पर्चेज कर्जा लिने ग्राहकहरूको कर्जा गुणस्तर परम्परागत बैंक तथा वित्तीय संस्थाका ग्राहकको तुलनामा सामान्यतः कमजोर हुन्छ । धितो व्यवस्थापन प्रणाली पनि अपेक्षाकृत कमजोर रहेकाले यस्तो क्षेत्रमा लगानी गर्ने कम्पनीहरूको जोखिम उच्च रहने जनाएको छ । यद्यपि उच्च ब्याजदरले केही हदसम्म जोखिम न्यूनीकरण गरे पनि आर्थिक मन्दी लम्बिँदा खराब कर्जा बढ्ने प्रवृत्ति हायर पर्चेज उद्योगमा सामान्य मानिन्छ । 

कम्पनीले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट २ अर्ब ८० करोड रुपैयाँ ऋण लिएको छ । जसमा २ अर्ब ७६ करोड १० लाख रुपैयाँ दीर्घकालीन र ३ करोड ९० लाख रुपैयाँ अल्पकालीन ऋण रहेको छ । 

Share News