जलवायु न्यायका लागि पर्वतीय राष्ट्रहरूबीच सहकार्य आवश्यक: मन्त्री गीता चौधरी

काठमाडौं । वन तथा वातावरण मन्त्री गीता चौधरीले जलवायु परिवर्तनको जोखिम न्यूनीकरण र पर्वतीय राष्ट्रहरूको साझा एजेन्डालाई विश्वव्यापी मञ्चमा सशक्त बनाउन क्षेत्रीय सहकार्यमा जोड दिएकी छन् । 

३० औं जलवायु सम्मेलनको अध्यक्ष राष्ट्र ब्राजिलले दक्षिण एशियाका लागि विशेष दूतका रूपमा नियुक्त गरेका डा. अरुणाभ घोषसँगको भेटवार्तामा मन्त्री चौधरीले उक्त कुरा बताएका हुन् ।

भेटका क्रममा मन्त्री चौधरीले नेपाल न्यून कार्बन उत्सर्जन गर्ने देश भए तापनि जलवायु परिवर्तनको उच्च जोखिममा रहेको उल्लेख गरिन् ।

 ‘हिमाल पग्लिने क्रम तीव्र हुँदा तल्लो तटीय क्षेत्रका समुदायहरू प्रत्यक्ष प्रभावित भइरहेका छन्,’  उनले भने, ‘जलवायु परिवर्तन एक साझा विश्वव्यापी चुनौती भएकाले यसको समाधान सामूहिक प्रयासबाट मात्र सम्भव छ ।’ 

नेपालले जलवायु संकट सामना गर्न राष्ट्रिय जलवायु नीति, राष्ट्रिय अनुकूलन योजना र उच्च लक्ष्यसहितको एनडीसी ३.० कार्यान्वयनमा ल्याइसकेको जानकारी समेत उनले गराइन्  । 

मन्त्री चौधरीले नेपालले ४६ प्रतिशत वन क्षेत्र संरक्षण गरी कार्बन सञ्चिति र स्वच्छ पानीमार्फत क्षेत्रीय स्तरमा पु¥याएको योगदानको चर्चा गर्दै पर्वतीय राष्ट्रहरूको आवाज बुलन्द गर्न ‘सगरमाथा संवाद’ जस्ता पहलहरू सुरु गरिएको बताइन् ।

आगामी COP31 लगायतका अन्तर्राष्ट्रिय मञ्चहरूमा नेपालले भारत लगायत छिमेकी र समान सोच भएका पर्वतीय राष्ट्रहरूसँग सहकार्य गर्दै जलवायु न्यायको एजेन्डालाई अघि बढाउने प्रतिबद्धता समेत व्यक्त गरिन् ।

भेटमा डा. घोषले जलवायु परिवर्तनका क्षेत्रमा नेपालले गरेका प्रयासहरूको प्रशंसा गर्दै आगामी सम्मेलनहरूमा पर्वतीय मुद्दालाई प्राथमिकतामा राख्ने विषयमा छलफल गरेका थिए । 

Share News