काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीको ७७औँ स्थापना दिवसको अवसरमा आयोजित विशेष कार्यक्रमलाई आज सम्बोधन गर्ने भएका छन् ।
पार्टी केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीका अनुसार दिउँसो २ बजे ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा आयोजना हुने कार्यक्रममा अध्यक्ष ओलीको सम्बोधन रहनेछ । सम्बोधनमा समसामयिक राजनीतिक अवस्था, पार्टीको आगामी कार्यदिशा तथा संगठन सुदृढीकरणका विषय समेटिन सक्ने बताइएको छ ।
स्वास्थ्य अवस्था र प्रहरी हिरासतका कारण केही समय सार्वजनिक कार्यक्रममा अनुपस्थित रहेका अध्यक्ष ओली हाल स्वास्थ्यलाभको क्रममा छन् । गत चैत १४ गते पक्राउ परेका उनी १३ दिनपछि रिहा भएका थिए । त्यसपछि पित्तथैलीमा देखिएको पत्थरीको शल्यक्रिया गराई वैशाख ५ गते अस्पतालबाट डिस्चार्ज भएका ओली पहिलोपटक औपचारिक रूपमा पार्टी कार्यक्रममा सहभागी हुन लागेका हुन् ।