अडिट रिपोर्टमा प्रश्न उठ्नु सार्वजनिक वित्तको निगरानी प्रणालीमा कमजोरीको सङ्केत हो : महालेखापरीक्षक राया

काठमाडौं । महालेखापरीक्षक तोयम रायाले लेखापरीक्षणमा पारदर्शिता र जवाफदेहिता सुनिश्चित गर्न जोड दिएका छन् । काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले अडिट रिपोर्टहरूमा कतैबाट पनि प्रश्न उठ्न नसक्ने गरी अडिट गर्नुपर्ने बताए । 

‘लेखापरीक्षण प्रक्रियाको गुणस्तर, निष्पक्षता र पारदर्शिताप्रति राष्ट्रिय चासोलाई प्रतिबिम्बित गर्छ । अडिट रिपोर्टहरूमा प्रश्न उठ्नु भनेको रिपोर्टको असक्षमता मात्र होइन, सार्वजनिक वित्तको निगरानी प्रणालीमा कमजोरीको सङ्केत हो । त्यसैले लेखापरीक्षकहरूले तथ्यमा आधारित र व्यापक अडिट प्रक्रिया अपनाउनुपर्छ,’ उनले भने । 

सार्वजनिक खर्चमा निगरानीको आवश्यकता रहेको बताउँदै उनले सार्वजनिक विद्यालय र खरिद प्रणालीमा भएको खर्चको प्रभावकारिता परीक्षण गर्नुपर्नेमा जोड दिए । 

उनले भने, ‘सरकारको बजेट र नीति कार्यान्वयन प्रभावकारी छ कि छैन भन्ने मूल्याङ्कन अडिट प्रणालीमार्फत गर्न सकिन्छ र यो प्रक्रिया थप मजबुत बनाउनुपर्छ ।’

 

Share News