साढे १० करोडमा हाम्रो माया घर निर्माण हुँदै, महायज्ञबाट २ करोड संकलन

काठमाडौं । बर्दिबास-२ हङकङ डाँडामा ‘हाम्रो माया घर’ निर्माणले गति लिएको छ । भवन तयार हुना साथ आश्रय पाइने अशक्त, बेसहाराले आस सँगालेका छन् । नौ महिनाअघि मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले शिलान्यास गरेसँगै निर्माण थालिएको ‘हाम्रो माया घर’को ५० प्रतिशत काम सम्पन्न भएको छ ।

हाम्रो माया घर निर्माण समितिका अध्यक्ष शम्भुप्रसाद भट्टराईका अनुसार १० करोड ६९ लाख रुपैयाँको लागतमा दुईवटा भवन निर्माणको काम अघि बढेको छ । दुई वर्षभित्र भवन निर्माण गर्ने लक्ष रहेको उनको भनाइ छ । 

पहिलो भवन निर्माणको काम गत वर्ष साउनमा आयोजित शिवपुराण महायज्ञबाट प्राप्त रकमबाट थालिएको हो । २ करोड रुपैयाँ रकम सो महायज्ञबाट सञ्चित भएको थियो । त्यसयता निर्माण कार्यमा विभिन्न दाताबाट जुटेको सहयोगबाट काम निरन्तर अघि बढेको अध्यक्ष भट्टराई बताउँछन् ।

केही दिनअघि बर्दिबास नगरपालिकाका प्रमुख प्रहलादकुमार क्षेत्रीले २५ लाख रुपैयाँ सहयोगको घोषणा गरे । यस्तै ॐ समाज डेण्टल अस्पताल, बर्दिबासका सञ्चालक डा सुवास घिमिरेले ७ लाख ५० हजार रुपैयाँ उपलब्ध गराए । पहिलो भवन निर्माण सम्पन्न गरेर प्रयोगमा ल्याएर अर्को भवन निर्माण थालिने अध्यक्ष भट्टराईले बताए । 

असहाय बालबालिका, सडक मानव, अशक्त र बेसहाराका लागि ‘हाम्रो माया घर’ आश्रय हुने हाम्रो माया घर बर्दिवास समितिका अध्यक्ष कृष्णप्रसाद गौतम बताउँछन् ।  ‘हाम्रो माया घर’ निर्माण गर्न ५ कट्ठा १० धुर जग्गा निःशुल्क प्राप्त भएको छ । दाताहरु भेटिएपछि अर्को भवन निर्माण कार्य अघि बढ्ने उनको भनाइ छ ।

यहाँ निर्मित ‘हाम्रो माया घर’ मा मधेसका जुनसुकै ठाउँमा भेटिने सडक मानव, असहाय बालबालिका, अशक्त, बेसहारा एवं परिवारबाट हेपिएका, त्यागिएका वृद्धवृद्धालाई खानपान, बास, उपचार र लत्ताकपडासहित बन्दोबस्त गरेर राखिने हाम्रो माया घर बर्दिवास समितिका अध्यक्ष गौतम बताउँछन् ।

‘हाम्रो माया घर’ मा दुई सय जना बेसहारालाई मानवोचित व्यवस्थापनसहितको आश्रय दिने लक्ष्य छ । दुबै भवन बालबालिका र अपाङ्गमैत्री हुनेछन् । खेलकुद, मनोरञ्जन र विद्यालय शिक्षासँग यहाँ ल्याइने बालबालिकालाई तत्काल जोडिने छ ।

Share News