काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका विभिन्न शाखामा भव्य रूपमा वित्तीय साक्षरता तथा कृषि तालिम कार्यक्रम सम्पन्न गरेको छ ।
बैशाख २६ र २७ गते सम्पन्न उक्त कार्यक्रममा पाउँदुर, सिरानचौर, अमरापुरी, थाकुरद्धारा, बागचौर, छाँयाछेत्रलगायत सात शाखामा आयोजित कार्यक्रममार्फत करिब २४९ जना सदस्यलाई वित्तीय साक्षरतासँगै बाख्रापालन र सुन्तला खेतीसम्बन्धी आधारभूत तालिम प्रदान गरिएको संस्थाले जनाएको छ ।
कार्यक्रममा स्थानीय जनप्रतिनिधि, प्रहरी, तीनवटै प्रदेशका अनुगमन अधिकृत, शाखा प्रमुख तथा अन्य कर्मचारीको उपस्थिति रहेको थियो । सहभागीहरूलाई लघुवित्त सेवाको सदुपयोग, बचत तथा ऋण व्यवस्थापन, घरायसी आय वृद्धिका उपायहरूबारे जानकारी दिइएको थियो ।
संस्थाले ग्रामीण समुदायमा वित्तीय पहुँच अभिवृद्धिसँगै आम नागरिकको जीवनस्तर उकास्न यस्ता तालिम कार्यक्रमहरूलाई निरन्तरता दिँदै आएको छ । यस प्रकारको सहकार्य र सहभागितामूलक प्रयासले सदस्यहरूको आत्मनिर्भरता र उत्पादनशील क्षमतामा उल्लेखनीय सुधार हुने विश्वास लिइएको छ ।