विसं १९९४ साल कात्तिक ३० गते बलेको नेपालको पहिलो बैंकिङ दियोले आज ९० वर्षको यात्रा पूरा गरेको छ । नौ दशकको अविराम यात्रामा बैंकलाई आजको उचाइसम्म पुर्याउन अतुलनीय विश्वास र साथ दिने लाखौं सेयरधनी तथा ग्राहकप्रति बैंक आभारी छ । मुलुकको समष्टिगत अर्थतन्त्र बाह्य क्षेत्रको सुदृढता, ऐतिहासिक विदेशी विनिमय सञ्चिति र नियन्त्रित मुद्रास्फीतिको अनुकूल अवस्थामा छ । तर, आन्तरिक आर्थिक गतिविधिमा देखिएको सुस्तता, निजी क्षेत्रको मनोबलमा आएको संकुचन र कर्जाको न्यून मागका कारण अर्थतन्त्रलाई चलायमान बनाउनु अहिलेको मुख्य कार्यभार बनेको छ ।
नेपाल सरकारको चालु आर्थिक वर्षको बजेट तथा नीतिले उत्पादनशील क्षेत्रको सबलीकरण, आन्तरिक उत्पादन र रोजगारी प्रवद्र्धन, साना तथा मझौला उद्यमको विकास, कृषिको आधुनिकीकरण, ऊर्जा तथा डिजिटल अर्थतन्त्रको विस्तार र सुशासनलाई उच्च प्राथमिकतामा राखेको छ । सोही राष्ट्रिय आकाङ्क्षालाई सार्थक तुल्याउन नेपाल राष्ट्र बैंकले पछिल्ला वर्षहरूमा अवलम्बन गरेका नीतिहरू सुधारोन्मुख छन् । विशेषगरी नीतिगत सहजीकरण, निर्देशित क्षेत्रमा कर्जा प्रवाहको अनिवार्यता, जोखिममा आधारित सुपरीवेक्षण, सूचना प्रविधि तथा साइबर सुरक्षासम्बन्धी मापदण्ड र संस्थागत सुशासनसम्बन्धी निर्देशनले समग्र वित्तीय प्रणालीलाई पारदर्शी र उत्तरदायी बनाउन सहयोग पुर्याएका छन् ।
नेपाल बैंक सरकारका विकास लक्ष्य र केन्द्रीय बैंकका नियामकीय व्यवस्थालाई पूर्णरूपमा पालना गर्दै अगाडि बढिरहेको छ । ग्राहक बैंकका केवल सेवाग्राही मात्रै होइनन्, बरु राष्ट्र निर्माणका सहयात्री र हाम्रा सर्वोच्च प्राथमिकता हुन् । बदलिँदो समयसँगै ग्राहकको समय र आवश्यकताको कदर गर्दै अबको नेपाल बैंक प्रतीक्षा गर्ने होइन, प्रविधिमार्फत ग्राहकको ढोकासम्म पुग्ने बैंक बन्नेछ ।
ग्राहकका वित्तीय सपनालाई यथार्थमा बदल्न सहजीकरण गर्ने, सुरक्षित बचतको वातावरण बनाउने र विश्वस्तरीय डिजिटल अनुभव प्रदान गर्ने नै आगामी वर्षका लागि हाम्रो एकमात्र सङ्कल्प हो । नेपालको बैंकिङ इतिहासको जननी हुनुको नाताले नेपाल बैंकले देशका हरेक प्रकारका आर्थिक रूपान्तरण र कठिन परिस्थितिमा राज्य तथा नागरिकको सहयोगीका रूपमा काम गर्दै आएको छ ।

उमेरले ९० वर्षको परिपक्व र अनुभवी अभिभावक भए पनि हामीसँग ऊर्जावान् जनशक्तिको जोस र आधुनिक प्रविधिको सामथ्र्य छ । पुरानो विरासत, आधुनिक प्रविधि र आत्मीय सेवाको त्रिवेणीमार्फत देशको पहिलो बैंकलाई समयानुकूल गतिशील र प्रतिस्पर्धी बनाउने हाम्रो ध्येय छ ।
कुनै समय खराब कर्जाको कठिन अवस्थाबाट गुज्रिएको नेपाल बैंक अहिले १३.६६ प्रतिशतको पुँजीकोष र साढे चार अर्ब रुपैयाँ मुनाफा आर्जन गर्ने अवस्थामा पुगेको छ । यस उपलब्धिपछाडि दशकौंको सुधार र अनुशासनको कथा लुकेको छ । विगतका चुनौतीपूर्ण वर्षहरूले संस्थागत सुशासन र विवेकपूर्ण कर्जाको महत्व राम्ररी सिकाएका छन् । आज हामी विगतको तुलनामा धेरै सबल छौं । यद्यपि, बदलिँदो प्रविधि, प्राविधिक जनशक्तिको संरक्षण र निष्क्रिय कर्जाको दीर्घकालीन व्यवस्थापनमा अझै गहिरो सुधार आवश्यक छ ।
देशमा केन्द्रीय बैंक स्थापना हुनुभन्दा अगाडि नै स्थापना भएको नेपाल बैंकले एक समय केन्द्रीय बैंकको समेत जिम्मेवारी निर्वाह गरेको ऐतिहासिक पृष्ठभूमि छ ।
सरकारी ढुकुटीको रकम, साहुमहाजन, व्यापारी तथा सर्वसाधारणको सेयर लगानीबाट आजभन्दा ९० वर्षअघि सार्वजनिक निजी साझेदारीको अवधारणामा यो बैंक स्थापना भएको थियो । नयाँ सडकस्थित जुद्धशालिक अगाडि १२ जना कर्मचारी नियुक्त गरी सञ्चालनमा आएको नेपाल बैंक आज देशभर फैलिएको छ । हाल तीन हजार ६७१ जना कर्मचारीमार्फत ७१ जिल्लामा रहेका शाखा तथा ५७ वटा विस्तारित काउन्टरबाट २९ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गरिरहेको छ ।
हाल बैंकमा नेपाल सरकारको ५१ प्रतिशत र निजी क्षेत्रको ४९ प्रतिशत सेयर स्वामित्व रहेको छ । आर्थिक वर्ष २०८२/८३ को असार मसान्तसम्मको तथ्याङ्कअनुसार बैंकको चुक्ता पुँजी १४ अर्ब ६९ करोड ४० लाख रुपैयाँ रहेको छ । त्यस्तै, जगेडा कोषमा २७ अर्ब ५७ करोड रुपैयाँ रहेको छ ।
बैंकको पछिल्लो वित्तीय विवरणअनुसार कुल निक्षेप चार खर्ब १६ अर्ब रुपैयाँ पुगेको छ भने कर्जा प्रवाह दुई खर्ब ६२ अर्ब रुपैयाँ रहेको छ । त्यस्तै, सरकारी सुरक्षणपत्रमा बैंकको लगानी एक खर्ब ४९ अर्ब रुपैयाँ रहेको छ । बैंकको कुल नेटवर्थ ४२ अर्ब २७ करोड रुपैयाँ पुगेको छ ।
बैंकको पुँजी पर्याप्तता अनुपात १३.६६ प्रतिशत र निष्क्रिय कर्जा अनुपात ४.१८ प्रतिशत रहेको छ । त्यस्तै, कर्जा निक्षेप अनुपात ६२.८५ प्रतिशत छ । पछिल्लो तथ्याङ्कअनुसार बैंकका ग्राहकको सङ्ख्या करिब २९ लाख २४ हजार पुगेको छ । हाल बैंकका २३१ वटा शाखा र ५८ वटा विस्तारित काउन्टर सञ्चालनमा छन् । त्यस्तै, एटीएम केन्द्रको सङ्ख्या २४६ रहेको छ ।
डिजिटल युगमा ग्राहकको विश्वास जित्नु भनेको नयाँ सफ्टवेयर ल्याउनु मात्रै होइन । ग्राहकको बचत र तथ्याङ्कलाई पूर्ण रूपमा सुरक्षित राख्नु पनि हो । यसलाई मनन गर्दै नेपाल बैंकले नेपाल राष्ट्र बैंकको साइबर सुरक्षा निर्देशनबमोजिम तथ्याङ्क केन्द्र र विपद् पुनःस्थापना प्रणालीलाई बलियो बनाएको छ । आन्तरिक कार्यप्रणालीलाई स्वचालित बनाउँदै कागजरहित बैंकिङतर्फ अगाडि बढ्ने क्रममा महत्त्वपूर्ण आधार तयार भइसकेका छन् । यद्यपि, प्रविधिको विकासको गति अत्यन्त तीव्र भएकाले दक्ष जनशक्तिको संरक्षण र सम्पूर्ण सेवाको पुनःडिजिटलाइजेसनलाई अझ तीव्र गतिमा अघि बढाउन हामी क्रियाशील छौं ।

मुलुकको अर्थतन्त्रमा देखिएको शिथिलता र कर्जा असुलीका चुनौतीका बीच पनि नेपाल बैंकको व्यवस्थापनले वित्तीय सन्तुलनलाई थप सुदृढ बनाउँदै लगेको छ । विगतका वर्षहरू नेपाल बैंकका लागि निरन्तर सबलीकरण, विवेकपूर्ण व्यावसायिक विस्तार र वित्तीय स्थायित्वको यात्राका रूपमा रहेका छन् । देशको समष्टिगत अर्थतन्त्रमा देखिएको उतारचढावका बाबजुद बैंक सन्तोषजनक वित्तीय प्रगति हासिल गर्न सफल भएको छ ।
कुनै पनि बैंकसँग गाभिनु नपरी केवल आन्तरिक सामर्थ्य र जनविश्वासका आधारमा वाणिज्य बैंकहरूको कुल निक्षेपमा ५.५५ प्रतिशत बजार हिस्सा कायम गर्न नेपाल बैंक सफल भएको छ । विसं १९९४ मा रोपिएको विश्वासको बिरुवा आज ९० वर्षको विशाल वृक्ष बनेको छ । अबको हाम्रो यात्रा शतवार्षिक उत्सवको स्वर्णिम यात्रातर्फ केन्द्रित छ ।
बैंकको वास्तविक वित्तीय स्वास्थ्य नाफाको आकारबाट मात्रै मापन हुँदैन । नाफाको स्रोत, कर्जाको गुणस्तर, सम्पत्तिको प्रतिफल, पुँजी पर्याप्तता र भविष्यमा सम्भावित जोखिम बहन गर्ने क्षमतालाई समेत हेर्नुपर्छ । नेपाल बैंकले वित्तीय सूचकहरूमा सुधार गर्दै दिगो नाफा अभिवृद्धि गर्ने रणनीति लिएको छ ।
विगतमा प्रवाह भएका कर्जाको गुणस्तरमा देखिएका चुनौती समाधान गर्न नियमित अनुगमन, कर्जा पुनर्संरचना तथा पुनर्तालिकीकरणसम्बन्धी नियामकीय व्यवस्था, कानुनी असुली प्रक्रिया र सम्बन्धित ऋणीसँगको समन्वयलाई प्राथमिकता दिइएको छ । साथै, नयाँ कर्जा प्रवाह गर्दा ऋणीको नगद प्रवाह, परियोजनाको सम्भाव्यता, धितोको गुणस्तर र भुक्तानी क्षमताको गहन विश्लेषण गरिरहेका छौं । भविष्यमा खराब कर्जा नियन्त्रणलाई प्रतिक्रियात्मक नभई पूर्वसक्रिय जोखिम व्यवस्थापनको विषय बनाउनु हाम्रो लक्ष्य हो ।
ऐतिहासिक पहिचान र नेपाल सरकारको स्वामित्व नेपाल बैंकका महत्त्वपूर्ण सबल पक्ष हुन् । लामो समयदेखि सर्वसाधारणको विश्वास आर्जन गरेको संस्थाका रूपमा बैंकको आफ्नै प्रतिष्ठा, व्यापक ग्राहक आधार र संस्थागत अनुभव छ । तर, प्रतिस्पर्धी बजारमा ऐतिहासिक विरासत मात्रै पर्याप्त हुँदैन । निर्णय प्रक्रियाको चुस्तता, सेवाको गुणस्तर, प्रविधिको प्रयोग, कर्मचारीको उत्पादकत्व र ग्राहक सन्तुष्टिमा राम्रो प्रदर्शन गर्नुपर्छ ।
सार्वजनिक संस्थाका रूपमा पालना गर्नुपर्ने पारदर्शिता, जवाफदेहिता र कानुनी प्रक्रियालाई कायम राख्दै निर्णय प्रणालीलाई व्यावसायिक र परिणाममुखी बनाउन सकिन्छ । यति हुँदाहुँदै पनि हामीले केवल नाफामुखी भएर निर्णय गर्न सक्दैनौं । सरकारले अघि सारेका नीति तथा कार्यक्रमलाई सफलतापूर्वक कार्यान्वयन गर्नुपर्ने दायित्व पनि हाम्रो छ । साथै, निजी क्षेत्रले नेपाल बैंकले जस्तो सार्वजनिक खरिद प्रक्रिया पूर्णरूपमा पालना गर्नुपर्ने बाध्यता हुँदैन । त्यसैले निजी क्षेत्रले उपलब्ध अवसरलाई तुलनात्मक रूपमा छिटो उपयोग गर्न सक्छ । हाम्रो मुख्य प्रयास संस्थागत सुशासनमा सम्झौता नगरी व्यावसायिक गतिशीलता बढाउनु हो ।
(पाण्डेय नेपाल बैंकका सीईओ हुन् । उनले बैंकको ९०औं वार्षिकोत्सवमा राखेको धारणाको सम्पादित अंश)