काठमाडौं । सर्वसाधारणमा सेयर निष्कासनको तयारीमा रहेको क्रेस्ट माइक्रो लाइफले क्रेडिट रेटिङ संस्था इक्रा नेपाल लिमिटेडबाट ‘आइसीआरए डबल बी’ रेटिङ पाएको छ । इक्रा नेपालका अनुसार यस्तो रेटिङ पाउने कम्पनीको वित्तीय दायित्य समयमा नै पूरा गर्ने सम्बन्धमा मध्यम रूपमा सुरक्षित रहेको मानिन्छ ।
साथै, क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले आरविवि मर्चेण्ट बैकिङ लिमिटेड र आरविवि म्युचुअल फण्ड १ सँग मिति २०८१/०५/१७ मा सम्झौता गरी सर्वसाधारणमा जारी गरिने धितोपत्रको प्राथमिक सार्वजनिक निष्कासनका लागि सेयर प्रत्याभुतीकर्ताको रूपमा नियुक्त समेत गरिसकेको छ ।
स्थापनाको छोटो अवधिमा नै लघु बीमाको ठूलो हिस्सा ओगटी नाफा कमाउन सफल भए पनि रेटिङलाई प्रारम्भिक वर्षहरूमा हुने सञ्चालन, व्यवस्थापन तथा जोखिमांकन खर्चले असर पार्ने हुँदा कम्पनीले यस्तो रेटिङ पाएको हो ।
निकट भविष्यमा हुने कारोबारको विविधिकरण सहितको व्यापार विस्तार, गुणस्तरिय लगानी तथा नियन्त्रित दाबी भुक्तानी प्रक्रयिाले रेटिङलाई सकारात्मक प्रभाव पार्ने बताइएको छ ।
यस कम्पनीको जारी पुँजी ७५ करोड रुपैयाँकोे ३० प्रतिशत अर्थात रु। २२ करोड करोड ५० लाख रुपैयाँ रकम बराबरको २२ लाख ५० हजार कित्ता साधारण सेयर सर्वसाधारणहरूलाई प्रतिसेयर १०० रुपैयाँ अंकित दरमा सार्वजनिक निष्कासन गर्ने घोषणा गरेको छ ।