४७ खर्बको बजार पुँजीकरणसँग लगानीकर्ता असन्तुष्ट, ‘अहिलेको अंक वास्तविक होइन’

<p>काठमाडौं । पछिल्लो समय सेयर बजार निरन्तर उकालो यात्रामा छ । कम्पनीहरूको सेयर मूल्य बढ्दा बजार पुँजीकरणमा पनि नयाँ रेकर्ड कायम भइरहेको छ । पछिल्लो तथ्यांकअनुसार सेयर बजार पुँजीकरण ४७ खर्ब ६५ अर्ब ९० करोड रुपैयाँ छ । तर, केही लगानीकर्ताहरुले भने नेप्सेको बजार पुँजीकरण सही नभएको तर्क राख्दै आएका छन् । उनीहरूले वर्तमान सेयर [&hellip;]</p>

काठमाडौं । पछिल्लो समय सेयर बजार निरन्तर उकालो यात्रामा छ । कम्पनीहरूको सेयर मूल्य बढ्दा बजार पुँजीकरणमा पनि नयाँ रेकर्ड कायम भइरहेको छ । पछिल्लो तथ्यांकअनुसार सेयर बजार पुँजीकरण ४७ खर्ब ६५ अर्ब ९० करोड रुपैयाँ छ । तर, केही लगानीकर्ताहरुले भने नेप्सेको बजार पुँजीकरण सही नभएको तर्क राख्दै आएका छन् । उनीहरूले वर्तमान सेयर बजार पुँजीकरण सच्याउनु पर्ने विश्लेषण गर्न थालेका छन् ।

नेपाल इन्भेस्टर्स फोरमका पूर्वअध्यक्ष तथा लगानीकर्ता अम्बिकाप्रसाद पौडेलले सामाजिक सञ्जालमार्फत् सेयर बजार पुँजीकरणको गणनाको विधिको विषयमा अनविज्ञता प्रकट गरेका छन् । ‘ नेप्सेमा कार्यरत विज्ञ साथीलाई अनुरोध, नेप्सेको कारोबार मूल्यको आधारमा हुने नेप्सेको बजार पुँजीकरण कति हो भनी दिनु न । नेप्सेको पुँजीकरण त कारोबार मूल्यमा हुनु पर्ने होइन ?’

उनले अहिलेको बजार पुँजीकरणको गणना विधि गलत भएको धारणा राखेका छन् । नेप्सेले कुल सूचीकृत कम्पनीको सेयर संख्या र त्यसको सेयर मूल्यको गणनाका आधारमा बजार पुँजीकरण निकाल्दै आएको छ । पुँजीकरण नै सेयर बजारको आकार हो ।

लगानीकर्ता केशव कोइरालाले पनि अहिलेको बजार पुँजीकरणले लगानीकर्तालाई त्रसति बनाइरहेको बताएका छन् । उनका अनुसार अहिलेको बजार पुँजीकरण वास्तविकभन्दा माथि छ ।

उनले उदाहरण दिँदै भनेका छन्, ‘नेपाल टेलिकमको कारोबारयोग्य करिब ८ प्रतिशत सेयरको मूल्यमा आएको उतारचढावले बजार पुँजीकरणमा ठूलो हलचल ल्याउँछ । जबकि करिब ९२ प्रतिशत सरकारसँग रहेको सेयर कारोबार नै हुँदैन । वास्तविक बजार पुँजीकरण गणना कहिले होला ?’

उनीहरूले अहिलेको बजार पुँजीकरणको विषयप्रति असन्तुष्टि पोखेका छन् । अधिवक्ता तथा सेयर बजारका जानकार समेत रहेका लगानीकर्ता ज्योति दाहालले पनि नेप्सेको बजार पुँजीकरण धेरै माथि रहेको टिप्पणी गरेका छन् ।

अहिलेको बजार पुँजीकरण यथार्थ नभएको टिप्प्णी गर्दै उनले भनेका छन्, ‘२०७८ मा म आफैंले गणना गर्दा बजार पुँजीकरण १४ खर्ब रुपैयाँको मात्रै थियो, आजका दिनसम्म आइपुग्दा २० खर्ब पुगेको हुन सक्छ ।’

लगानीकर्ता दाहाल सेयर बजार पुँजीकरण कारोबारको आधारमा मात्रै कामय गरिनु पर्ने बताउँछन् । ‘अहिले नेप्सेको कुल बजार पुँजीकरणलाई जीडीपीसँग तुलाना गरेर चर्चा भइरहेको छ । तर, वास्तवमा त्यस्तो होइन, अहिले बजारमा संस्थापक र सर्वसाधारणको सेयर गरि दुई किसिमको सेयर छन्, तीनीहरूको कारोबार गर्ने विधि फरक छ । सर्वसाधारण सेयर मात्रै दैनिक कारोबारमा आउँछ त्यसरी हेर्ने हो भने अहिलेको नेप्से बजार पुँजीकरण भनेको फ्लोट अर्थात् १६ खर्ब ८० अर्ब मात्रै हो,’ उनी भन्छन्, ’नेप्सेमा सूचीकृत सम्पूर्ण सेयर संख्यालाई आधार मान्ने हो भने चाँहि ४७ खर्ब ६५ खर्ब सहि हो । तर, ती सबै सेयर दैनिक कारोबारमा आउने सेयर होइनन् ।’

दाहाल उदाहरण दिँदै भन्छन्, ‘मानौं एउटा परिवारमा ५ जना सदस्य छन् त्यसमा ३ जना कमाउने छन् र २ जनाको कमाइ छैन भने परिवारको सदस्य ३ जना मात्रै भन्न त मिलेन नि नेप्सेमा सूचीकृत कुल सेयरमा संस्थापक र सर्वसाधारणको सेयर ठ्याक्कै त्यस्तै हो । देख्नलाई नेप्सेको बजार पुँजीकरण ४७ खर्ब हो तर कारोबार हुने १६ अर्ब मात्रै हो ।’

यस्तै, सेयर बजार विश्लेषक मुक्ति अर्याल पनि नेप्सेले हाल उल्लेख गरेको कुल बजार पुँजीकरण गलत भएको व्याख्या गर्छन् । उनी भन्छन्, ‘हाल नेप्सेले सूचिकृत सेयरलाई मूल्यले गुणना गर्दा जति आउँछ त्यसलाई नै बजार पुँजीकरण मान्छ । तर, संस्थापक सेयर दैनिक कारोबारमा आएको हुँदैनन् र तिनीहरूको मूल्य पनि सर्वसाधारणको भन्दा फरक हुन्छ । तर, नेप्सेले भने सर्वसाधारण सेयरको मूल्यलाई नै आधार मान्ने गर्छ, जुन गलत हो ।’

बजार पूँजीकरणको विषयमा थुप्रै लगानीकर्ताहरूले आफ्नो धारणा राखेका छन् । उनीहरूको भनाइ अलग भएपनि आशय भने एउटै छ– नेप्सेको बजार पुँजीकरण कति हो ?

के भन्छ नेप्से ?

लगानीकर्ताहरूको गुनासोपछि हामीले नेप्सेका प्रवक्ता मुराहरि पराजुलीलाई सो प्रश्न राख्यौं । उनले जवाफमा भने, ‘हामीले बजार पुँजीकरण कति हो भनेर पत्ता लगाउने विधि भनेको संसारभर चलेको विधि नै हो, त्यसमा कुनै शंका गर्नुपर्ने आधार म देख्दिनँ, सेयरको संख्या र सेयरको कुल मूल्यलाई गुणना गर्दा जुन अंक आउँछ, हामीले त्यही राख्ने हो । हामीले तलमाथि गर्दैनौं ।’

नेप्सेमा हाल राखिएको बजार पुँजीकरण विश्व बजारमा प्रयोग हुने विधिबाट नै निकालिएको उनी स्पष्ट पार्छन् ।

संस्थापक सेयरको मूल्य र पब्लिक सेयरको मूल्य फरक–फरक हुने गर्छ । तर, बजार पूँजीकरणमा भने पब्लिक सेयरको मूल्यलाई मात्रै आधार मान्ने गरिएको छ । लगानीकर्ताहरू भने यो विधि सही नभएको तर्क गर्छन् ।

तर, प्रवक्ता पराजुली भन्छन्, ‘बजार पुँजीकरण गणना गर्दा दुई थरी मूल्य राख्न मिल्दैन, एउटै मूल्य राख्नुपर्छ । र, अर्को कुरा संस्थापक सेयरको मूल्य माग र आपूर्तिले निर्धारण गर्दैन ।’

त्यति मात्रै होइन नेप्सेमा ट्रेडका आधारमा मात्रै बजार पुँजीकरण राख्नुपर्ने पनि लगानीकर्ताहरूको माग छ । नेप्सेले कुल बजार पुँजीकरण, फ्लोटको आधारमा बजार पुँजीकरण, सूचीकृत समूह लगायतको आधारमा दैनिक छुट्टा–छुट्टै रुपमा डाटा प्रकाशित गर्ने गरेको र उक्त तथ्यांक नेप्सेको वेवसाइटमा जुनसुकैबेला हेर्ने मिल्ने पराजुली बताउँछन् ।

‘लगानीकर्ताहरूले कारोबारको आधारमा मात्रै बजार पुँजीकरण राख्न माग गर्नुभएको छ, त्यसको लागि हामीले फ्लोट मार्केट क्यापिटलाइजेसन राखेका छौं, जुन हामीले धेरै अघिबाट नै राख्दै आएका हौं,’ उनी भन्छन्, ’फ्लोट मार्केट क्यापिटलाइजेसनमा संस्थापक सेयर वा जुन सेयर ट्रेड हुँदैन त्यसको गणना गरिँदैन ।’

नेप्सेले धेरै अघिबाट नै सो काम गर्दै आएको भएपनि लगानीकर्ताहरूको ध्यान त्यसतर्फ नगएको उनी बताउँछन् । उनका अनुसार नेप्सेले कुल बजार पुँजीकरण, सेन्सेटिभ बजार पुँजीकरण, कारोबारमा मात्रै आउने सेयरको फ्लोट बजार पुँजीकरण, सेन्सेटिभ फ्लोट मार्केट क्यापिटलाइजेसन र हरेक सेक्टरको कुल बजार पुँजीकरण समेत राखिदिने गरेको छ ।

पछिल्लो समय नेपालको सेयर बजारको पुँजीकरणलाई नेपालको जिडिपीसँग तुलना गरेर हेर्न थालिएको छ । जसको कारण यो बहसको विषय पनि बनेको छ । नेप्सेका अनुसार हाल कुल बजार पुँजीकरण ४७ खर्ब ६५ अर्ब रुपैयाँ रहेको छ । हाल नेपालको कुल ग्राहस्थ उत्पादन (जीडीपी) ५४ खर्ब रुपैयाँको छ । नेपालको प्रक्ष्येपित जीडीपी भने ५७ खर्ब छ । नेप्सेका अनुसार हाल १३ अर्ब ४२ करोड ४२ लाख सेयर सूचीकृत छ ।

Share News