काठमाडौं । सिभिल सहकारीका सञ्चालक इच्छाराज तामाङ सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहरिएसँगै आइतबार तीन वर्षका लागि जेल चलान भए । पूर्वसांसद समेत रहेका सिभिल ग्रुपका अध्यक्ष तामाङसँगै उनकी श्रीमती सिर्जना शाक्य तामाङ, इच्छाराजका मामा ससुरा केशबराज श्रेष्ठलाई पनि विशेष अदालतले जेल चलान गरेको छ । अदालतले सिर्जना र केशबलाई डेढ वर्ष कैद सजाय सुनाएको छ ।
जेल सजायसँगै विशेष अदालतले इच्छाराजलाई १ अर्ब ७२ करोड ४४ लाख ५९ हजार रुपैयाँ, सिर्जनालाई १ अर्ब ३ करोड ५४ लाख ४३ हजार रुपैयाँ र केशबलाई २५ करोड ६५ लाख ८६ हजार रुपैयाँ जरिवाना तोकेको छ । उनीहरूले जेलमुक्त हुनका लागि अब कुल ३ अर्ब १ करोड ६४ लाख ८८ हजार रुपैयाँ जरिवाना तिर्नु पर्ने हुन्छ ।
१६ भदौ २०७९ मा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले दायर गरेको मुद्दामा विशेष अदालतले इच्छाराज तामाङलाई दोषी ठहर गर्दै कसुर निर्धारणका लागि २१ माघ आइतबारका लागि इजलास तोकेको थियो । सिभिल बचत तथा ऋण सहकारी संस्थामा पैसा बचत गरेकाहरूले आफ्नो रकम फिर्ता नपाएको भन्दै तामाङविरुद्ध प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) मा उजुरी गरेका थिए । १ हजार ५०३ जनाको उजुरीको आधारमा प्रहरीले अनुसन्धान गरेर ५ अर्ब ६७ करोड बिगो माग दाबीसहित अनुसन्धान प्रतिवेदन सरकारी वकिलमा बुझाएको थियो ।
अनुसन्धानपछि प्रहरीले तामाङलाई ठगी गरेर संगठित अपराध गरेको कसुरमा मुद्दा चलाउन माग गरेको थियो । सोही आधारमा जिल्ला सरकारी वकिलको कार्यालयले मुद्दा दायर गरेको थियो । २०७८ असोज १८ गते पक्राउ परेका तामाङमाथि ५ अर्ब ६७ अर्ब ५५ लाख रुपैयाँ बिगो र ८ वर्षको कैद सजाय दाबीसहित ०७८ मंसिर १७ गते काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको थियो । जुन मुद्दा अहिले पनि विचाराधीन अवस्थामा छ ।
विशेष अदालतले तोकेको ३ अर्ब १ करोड रुपैयाँ जरिवना तिर्न सकेमा उनी आगामी एक वर्षभित्रै जलेमुक्त हुनेछन् । तर, उनले त्यतिमा मात्रै सुख पाउने छैनन् । उनले बचतकर्ताको अर्बौं रकम ठगेको मुद्दा अदालतमै छ । सरकारी वकिल कार्यालयले माग गरेको बिगोका आधारमा उनलाई जरिवाना गरिएमा उनले थप ५ अर्ब ६७ करोड रुपैयाँ तिर्नु पर्ने हुन्छ । उनले विशेष अदालतले तोकेको ३ अर्ब बढी जरिवाना र बचतकर्ताको ५ अर्ब ६७ करोड गरेर कुल ८ अर्ब ६८ करोड रुपैयाँ तिर्नु पर्ने हुन्छ । अदालतले यसमा थप जरिवाना पनि गर्न सक्नेछ ।
बचतकर्ताको रकम तिर्ने दायित्व आफ्नो नभएको भन्दै पन्छिएका बरु जेल जान बाध्य भएका तामाङले अब यति धेरै रकम कसरी तिर्लान् भन्ने चासो पनि बढेको छ । उनी ३ अर्ब जरिवाना तिरेर जेलमुक्त हुने भएसँगै सहकारीका बचतकर्ताको बचत के हुन्छ ? बचतकर्ताले आफ्नो पैसा पाउँछन् वा पाउँदैनन् ? पाए भने कसरी पाउँछन् ? यी र यस्तै चासो आम जनमानसमा बढेको छ ।
तर, विशेष अदालतले यस विषयमा पनि स्पष्ट पारेको छ । विशेष अदालतले इच्छाराजको सम्पत्ति जफत गरेर बिक्री गर्ने र सम्पत्ति बिक्रीबाट आएको पैसा बचतकर्तालाई फिर्ता गर्न सकिने बताएको छ ।
‘यी प्रतिवादीहरू उपर काठमाडौं जिल्ला अदालतमा विचाराधीन ठगी मुद्दामा कसुर ठहर भएमा पीडितको बिगो भराउने गर्ने कार्यले नै प्राथमिकता पाउने ठहर्छ,’ विशेष अदालतको आदेशमा भनिएको छ । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरू तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले आइतबार कसुर निर्धारण गर्दै उक्त टिप्पणी गरेको हो ।
यस्तै, सहकारी विभागका उपरजिष्ट्रार तथा सूचना अधिकारी टोलराज उपाध्याय पनि सरकारले उनको सम्पत्ति जफत गरी सम्पत्ति बिक्री गर्ने र बिक्री गरेको पैसाले बचतकर्ताको बचत फिर्ता हुने बताउँछन् ।
‘सरकारले उनीसँग के–कति सम्पत्ति छ भनेर अनुसन्धान गर्छ, त्यो सम्पत्ति जफत गरेर दायित्व फरफार गर्छ,’ उपाध्यायले भने, ‘बचतकर्ताले यस विषयमा चिन्ता लिनुपर्दैन ।’
कति छ सम्पत्ति ?
एउटा समान्य व्यवसायी एकाएक अर्बपति बन्ने व्यक्ति हुन् इच्छाराज । उनी सहकारी संस्थामा एकलौटीरूपमा हाबी हुँदा समस्यामा परेका व्यवसायीमध्येमा पर्छन् । उनी घरजग्गा व्यवसायबाटै उदय भएका व्यवसायी हुन् । तर, उनको घरजग्गा व्यवसाय नफापेपछि सहकारीको पैसा घरजग्गामा डुब्यो । तामाङको सहकारीमा एकलौटी राज थियो । उनको निर्णय नै सहकारीको निर्णय हुन्थ्यो । उनी सहकारीमा आफैं साहु र आफै ऋणी बने । सिभिल सहकारीका बचतकर्ताको पौने ६ अर्ब बढी रकम हिनामिना गरेको आरोप उनीमाथि छ । अहिले उनको व्यवसाय तहसनहस बनेको छ ।
उनले सहकारीकै पैसा प्रयोग गरेर लगानीमा विविधिकरण पनि गरे । उनले उच्च ब्याजको लोभ बचतकर्तालाई देखाउँदै अर्बौंको सहकारी खडा गरे । सहकारीमा बचत गर्नेलाई सुनको सिक्का उपहारसम्मको योजना ल्याउनसम्म भ्याए । तर, त्यतिखेर घरजग्गा क्षेत्र समस्यामा परेपछि उनी पनि त्यसको प्रत्यक्ष मारमा परे । परिणामस्वरूप उनको व्यवसायिक साम्राज्य ढल्यो ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले गरेको अनुसन्धानमा इच्छाराजको विभिन्न २२ वटा कम्पनीमा लगानी रहेको खुलेको थियो भने विभिन्न कम्पनीमा एक अर्ब बढी सेयर रहेको बुझिएको थियो । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले गरेको अध्ययनले पनि उनीसँग १० अर्ब बढी सम्पत्ति रहेको खुलेको थियो । तर, त्यसमध्ये उनको अधिकांश सम्पत्ति यो बिचमा विभिन्न बैंक तथा वित्तीय संस्थाले लिलाम गरिसकेका छन् ।
यदि जिल्ला अदालत काठमाडौंले उनलाई दोषी ठहर्याएर ५ अर्ब ६७ करोड रुपैयाँ जरिवाना गरेमा उनको कुल सम्पत्ति जरिवाना र बचत फिर्तामै सकिनेछ । एकताका अर्बपति व्यवसायीकारूपमा महलमा बसेका इच्छाराज तामाङको जीवन त्यसपछि सडकमा हुने निश्चित छ ।
सम्बन्धित सामग्री: