
काठमाडौं । चालु आर्थिक वर्ष (आव)को ६ महिनामा सञ्चालनमा रहेका क्यासिनोहरूले रोयल्टी, नवीकरण र जरिवाना शुल्कबापत ७४ करोड राजस्व बुझाएका छन् । पर्यटन विभागका अनुसार सञ्चालनमा रहेका २६ वटा क्यासिनोहरूले बिहीबारसम्म ७४ करोड ५८ लाख ७५ हजार रुपैयाँ राजस्व बुझाएका हुन् ।
क्यासिनोहरूले रोयल्टी र थप शुल्कबापत ५७ करोड ६५ लाख र नवीकरण शुल्कबापत १६ करोड ९ लाख ५० हजार रुपैयाँ राजस्व उठाएको विभागले जनाएको छ । तर, बक्यौता विवादका कारण ८ वटा क्यासिनो लामो समयदेखि नवीकरण बिना सञ्चालन भइरहेका छन् भने ४ वटा क्यासिनो पूर्णरूपमा बन्द अवस्थामा रहेका छन् ।
सेन्ट्रल, रत्न र भेन्युले गरेनन् नवीकरण
चालु आर्थिक वर्षमा सञ्चालनमा रहँदै आएका तीन क्यासिनोले पुस मसान्तभित्र नवीकरण गरेका छैनन् । पर्यटन विभागका अनुसार सेन्ट्रल मिडिया ग्रुप, रत्न सर्भिसेस प्रालि र भेन्यु रिक्रियसनले पुस मसान्तभित्र पूर्ण नवीकरण नगरेका हुन् ।
सेन्ट्रल मिडिया ग्रुपको अघिल्लो आर्थिक वर्षको रोयल्टी ७ करोड ८० लाख बाँकी रहेको र चालु आर्थिक वर्षको पुस मसान्तसम्म नवीकरण सहित ८ करोड ८६ लाख बुझाउन बाँकी रहेको विभागले जनाएको छ ।
त्यस्तै, रत्न सर्भिसेस प्रालिले चालु आर्थिक वर्षको पुस मसान्तसम्म बुझाउनुपर्ने ६९ लाख बुझाउनुपर्ने र नवीकरणसहित २ करोड ९ लाख थप बुझाउनुपर्ने बुझाएको छैन । तर, जरिवानासहित सो क्यासिनोले आफ्नो नवीकरण आगामी असार मसान्तसम्म पनि गर्नसक्ने कानूनी व्यवस्था छ ।
भेन्यु रिक्रियसनले पनि चालु आवको पुस मसान्तभित्र बुझाउनुपर्ने ९० लाख रोयल्टी र ५० लाख नवीकरण शुल्क नबुझाएको विभागले जनाएको छ । तर, सो क्यासिनोले पुस मसान्तसम्म रोयल्टी नबुझाउँदा बुझाउनुपर्ने फाइन भने बुझाइसकेको छ ।
४ वटा क्यासिनो बन्द, केही नवीकरण नगरी सञ्चालनमा
पर्यटन विभागका अनुसार हाल नेपालमा ३० वटा दर्ता भएका क्यासिनोमध्ये २६ वटा क्यासिनोहरु सञ्चालनमा रहेका छन् । जसमध्ये होटल याक एन्ड यति, र्याडिसन, सांग्रिला र टाइगर वान क्यासिनो बन्द अवस्थामा रहेका छन् ।
बन्द रहेका र्याडिसन र याक एन्ड यतिका क्यासिनोको मुद्दा अदालतमा विचाराधिन अवस्थामा नै रहेको छ । त्यस्तै, रक इन्टरनेशनल र ह्याप्पी आवरले सञ्चालन गर्दै आएका विभिन्न आठ वटा मिनी क्यासिनोहरू ०७१ देखि नवीकरण नभइ सञ्चालन हुँदै आएका छन् ।
रक इन्टरनेशल र ह्याप्पी आवरका क्यासिनोहरुले वार्षिक रुपमा बुझाउनुपर्ने रोयल्टी ०७८ देखि यताको बुझाउने गरेको विभागका अधिकारीले बताए । उनका अनुसार अदालतले टुंगो लगाएपछि मात्रै उनीहरुको नवीकरणको प्रकृया अगाडि बढ्छ ।
०७१ साल बैशाख ५ गते पर्यटन मन्त्रालयको मन्त्रीस्तरीय बैठकले बक्यौता विवादका कारण रक इन्टरनेशनल र ह्याप्पी आवरको क्यासिनो खारेज गर्ने निर्णय गरेको थियो । सो निर्णयकाविरुद्ध अदालतमा गएका उनीहरुको मुद्दाको अहिलेसम्म किनारा लाग्न सकेको छैन ।
बक्यौता विवादको विषयमा अदालतले टुंगो नलगाउने बेलामासम्म विभागले ती क्यासिनोको नवीकरण तथा अन्य कानुनी कारबाहीको विषय अगाडि बढाउन नसक्ने विभागका अधिकृतले बताए ।