महालक्ष्मी र ज्योति विकास बैंकमा किन टिक्दैनन् सीईओ ?

<p>काठमाडौं । ज्योति विकास बैंकका संस्थापक प्रमुख कार्यकारी अधिकृत (सीईओ) हुन् झलक प्रसाद खनाल । बैंक स्थापना भएपछि सञ्चालक समितिले खनाललाई सीईओमा नियुक्त गर्&#x200d;यो । तर, खनाल साढे ३ वर्षमै बैंकबाट बाहिरिए । वि.सं २०६५ सालमा चार वर्षका लागि सीईओमा नियुक्त भएका उनी २०६८ सालमै बाहिरिए । वि.सं २०६९ सालमा बैंकको सीईओ बने कृष्ण बहादुर कुँवर [&hellip;]</p>

काठमाडौं । ज्योति विकास बैंकका संस्थापक प्रमुख कार्यकारी अधिकृत (सीईओ) हुन् झलक प्रसाद खनाल । बैंक स्थापना भएपछि सञ्चालक समितिले खनाललाई सीईओमा नियुक्त गर्‍यो । तर, खनाल साढे ३ वर्षमै बैंकबाट बाहिरिए । वि.सं २०६५ सालमा चार वर्षका लागि सीईओमा नियुक्त भएका उनी २०६८ सालमै बाहिरिए ।

वि.सं २०६९ सालमा बैंकको सीईओ बने कृष्ण बहादुर कुँवर । तर, कुवँर पनि पुरा कार्यकाल काम नगरी बैंकबाट बाहिरिए । बैंक तथा वित्तीय संस्था ऐन, (बाफिया) २०७३ अनुसार कुवँरको सीईओ बन्न योग्यता पुगेन । राष्ट्र बैंकले कैफियत देखाएपछि उनी बैंकबाट बाहिरिनु परेको बैंक सञ्चालक ध्रुव कोइरला बताउँछन् ।

कुवँर पनि बाहिरिएपछि हाल नबिल बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) को रूपमा काम गरिरहेका मनोज ज्ञवालीले बैंकको बागडोर सम्हाले । २०७५ बैशाखमा सीईओमा नियुक्त भएका ज्ञवाली पजि बिचमै काम छोडेर हिँडे । उनले बैंकमा काम गर्न चाहेका थिए । तर, सञ्चालक समितिले दोस्रो कार्यकालका लागि नवीकरण नगर्ने संकेत पाएपछि उनले अगाडि नै राजीनामा दिए ।  उनले २०७७ बैशाखमा राजीनामा दिँदै बैंकबाट बाहिरिए ।

२ वर्षमै बैंकको सीईओबाट ज्ञवाली बाहिरिएपछि बैंकको सीईओ बने श्रीचन्द्र भट्ट । २०७७ असारदेखि लागू हुने गरी भट्टलाई ४ वर्षका लागि सीईओ बनाइएको थियो । भट्टले पनि कार्यकाल पुरा नगरी गत मंसिर ३ गते राजीनामा दिए । हाल बैंकको सीईओ कपिल ढकाल छन् । स्थापनाकालदेखि हालसम्म बैंकले ५ वटा सीईओ पाएको छ । तर, सबैले कार्यकालको बीचमै काम छोडेर घर फर्के ।

यस्तै, तत्कालीन यति डेभलपमेन्ट बैंक र महालक्ष्मी विकास बैंकको मर्जपछि सीईओ बने रमेश भट्टराई । तर, केही महिनामै उनी बैंकको सीईओबाट राजीनामा दिएर बाहिरिए । उनी बाहिरिनुको कारण बैंकको मर्जर बुझिएको हल्ला चलेको थियो । उनले बैंकबाट बाहिरिएपछि नयाँ योजनाका साथ काम गर्ने बताउँथे । पछि उनी महालक्ष्मी लाइफ इन्स्योरेन्सको नेतृत्व गर्न पुगे ।  भट्टराईले सीईओको पद छाडेपछि २०७४ कात्तिक २६ गते बैंकको सीईओ बने कृष्णराज लामिछाने ।

४ वर्षका लागि नियुक्त भएका लामिछाने बिचमै राजीनामा दिन बाध्य भए । उनको बहिर्गमनपछि वि.सं २०७७ चैत २ गते बोधराज देवकोटा बैंकको सीईओमा नियुक्त भए । तर, १४ महिना अगाडि नै राजीनामा दिएर देवकोटा बैंकबाट बाहिरिए ।

ज्योति विकास बैंक र महालक्ष्मी विकास बैंकको बागडोर सम्हाल्न आँट गरेर बिचमै छोड्ने सिलसिला सुरुवातदेखि नै छ । यी दुई बैंकमा कुनै पनि सीईओले आजसम्म कार्यकाल अवधिभर काम गर्न सकेका छैनन् ।

बैंक तथा वित्तीय संस्था सम्बन्धि ऐन २०७३ बमोजिम सीईओको कार्यकाल अधिकतम ४ वर्ष र दुई कार्यकालसम्म नियुक्त गर्न मिल्ने व्यवस्था छ । कतिपय बैंकले ४ वर्षभन्दा कम अवधि राखेर पनि करारमा नियुक्त गरेका हुन्छन् । कतिपयले २ वर्षको प्रगति हेरेर नवीकरण गर्ने गरेका छन् । कतिपयको काम चित्त नबुझेपछि नवीकरण नगर्दा राजीनामा दिएर २ वर्षमै बाहिरिन्छन् ।

ज्योति बैंकका सञ्चालक ध्रुब कोइराला सञ्चालक समितिले जहिले पनि सीईओलाई स्वतन्त्र रूपमा काम गर्न दिएको बताउँछन् । सञ्चालक समितिसँग ट्याकल नमिल्ने, काममा स्वतन्त्रता नभएको,र सञ्चालक समितिले दबाब दिने काम नभएको उनको दाबी छ ।

‘विभिन्न कारणले उहाँहरूले राजीनामा दिनु भएको हो, बैंकमा काम गर्न समस्या भएर सीईओले राजीनामा दिएको भन्ने सन्देश प्रवाह भएको छ । तर, वास्तवमा त्यो होइन,’ उनले भने, ‘विकास बैंकहरूमध्ये काम गर्ने सीमा धेरै दिएको, व्यवस्थापनलाई स्वतन्त्र छोडेको ज्योति विकास बैंकले मात्रै हो । तर, कतिपय अवस्थामा त्यसको गलत प्रयोग हुँदो रहेछ ।’

‘मनोज ज्ञवालीको रिभ्यूको टम्स थियो । तर, सञ्चालक समितिले नवीकरण नगरेपछि राजीनामा दिनु भयो, बाफिया अनुसार योग्यता नपुगेका कारण कृष्ण बहादुर कुँवरले राजीनामा दिनु पर्‍यो, उहाँको व्यवस्थापनमा स्नातकोत्तर उत्तिर्ण थिएन,’ उनले भने, ‘श्रीचन्द्र भट्टको कार्यकालमा प्रवाह भएका अधिकांश कर्जा बिग्रिए, म हट्दा कर्जा उठाउन सजिलो होला भन्ने आशयले उहाँले राजीनामा दिनु भएको हो ।’

तर, कार्यकालको बिचमै काम छोडेका सीईओको अनुभव भने बेग्लै छ । महालक्ष्मी विकास बैंकको सीईओ बनेर बिचमै काम छोडेएका एक सीईओले सञ्चालकको अनावश्यक दबाबले काम छोड्नु परेको अनुभव सुनाए । उनका अनुसार एउटा सीईओले बीचमा छोड्दा व्यक्तिगत कारणले छोडेको होला भन्ने बुझिन्छ । तर, पटक(पटक एउटै बैंकमा धेरै व्यक्तिले पुरा अवधि काम नगरी छोड्दा केही कारण हुन सक्ने उनको भनाइ छ । बैंकमा सीईओ नटिक्ने विषयमा राष्ट्र बैंकले पनि अध्ययन गर्नु पर्ने उनको राय छ ।

‘४ वर्षको लागि सीईओमा नियुक्त भएको व्यक्ति बिचमै छोडेर जाँदा त समस्या भएको हुन्छ, होइन भने किन पुरा कार्यकाल नसकी सीईओले छोड्नु पर्‍यो रु उनले प्रश्न गर्दै भने, ‘एउटै बैंकमा पटक(पटक सीईओले राजीनामा दिँदा यो विषय पनि राष्ट्र बैंकको नियमन भित्र पर्नुपर्छ ।’

उनका अनुसार कुनै व्यक्ति सीईओ नियुक्त हुँदा टिओर दिएको हुन्छ । आफ्नो कार्यकालमा यति काम गर्छु भनेर लक्ष्य दिएको हुन्छ, बैंकको सीईओ भएपछि राष्ट्र बैंक र बैंकको नीति निर्देशनभित्र रहेर काम गर्नुपर्छ, सबै सीमाभित्र रहेर सीईओले व्यवसाय गर्दा सञ्चालक समितिले टर्चर दिन्छ ।

‘सञ्चालक समितिमा ७ जना सदस्य हुन्छन् । ७ जनामध्ये १र२ जनाले सीईओलाई असहयोग गर्दा केही फरक पर्दैन । तर, अध्यक्षले नै पटक(पटक हस्तक्षेप, अनावश्यक दबाब सीईओले सहन सक्दैन । एकरदुई जना सञ्चालकलाई मिलाउन सक्छ । तर, अध्यक्ष नै खराब निस्कियो भने सीईओ टिक्दैन,’ महालक्ष्मी विकास बैंकका एक पूर्व सीईओले भने ।

प्रोफेसनल सीईओलाई सञ्चालक समिति पनि प्रोफेसनल भइदियोस् भन्ने चाहना हुन्छ । सञ्चालक समितिले कानुनसम्मत दिएका सबै निर्देशन पालना गर्न सीईओ पनि तयार हुन्छ । तर, सञ्चालकहरूले फाइभ स्टार होटलमा अनावश्यक गरेको मिटिङको खर्चको बिल भुक्तानी गर्न सीईओलाई दबाब दिने गरेको उनको अनुभव छ ।

‘फाइभस्टार होटलमा २५ हजार रुपैयाँ पर्ने बोतलको रक्सी खान्छन्, त्यसको बिल सीईओलाई पेश गर्छन्, २५ हजार रुपैयाँको रक्सी खाएको बिल सीईओले के आधारमा भुक्तानी गर्ने रु त्यो बेलामा समस्या आउँछ, सीईओलाई पनि बिल पेश गर्न गाह्रो हुन्छ,’ उनले भने ।

उनका अनुसार कतिपय सञ्चालकहरू इनसाइडर ट्रेडिङ गर्छन् । बोर्डका अध्यक्ष तथा सञ्चालकहरू एकाघरभित्र नपर्ने व्यक्तिको नाममा सेयर खरिबिक्री गर्छन् । त्यस विषयमा सीईओलाई जानकारी भएपनि कुनै एक्सन लिन नसक्ने अवस्थामा हुने गरेको अनुभव सुनाए ।

‘सञ्चालकहरूले कर्मचारीलाई अनावश्यक टर्चर दिने, फलानोलाई कर्जा देउ, कुनै ग्राहकको कर्जा नतिरेर डिफल्ट भयो भने कानुनी कारवाही गर्न नदिएका हुन्छन्,’ उनले भने, ‘तर, सीईओलाई एनपीएल डाउन र व्यवसाय बढाउनु पर्ने दबाब हुन्छ, काम गर्ने वातावरण नभएपछि राजीनामा दिन बाध्य हुन्छन् ।’

अध्ययन गर्छौं : राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले यस विषयमा अब अध्ययन गर्ने बताएको छ । नेपाल राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्ट यस्ता विषयमा हालसम्म कुनै गुनासो नआएको तर आएपछि अध्ययन गर्ने बताउँछन् ।

साथै, व्यक्तिगत कारण र सञ्चालकसँगको सम्झौता अनुसार सीईओ आउने र विदा हुने गरेको उनको भनाइ छ ।

‘व्यक्तिले कुनै अन्य नयाँ अवसर पाएर राजीनामा दिएकाे, सञ्चालकसँगको सम्झौता अनुसार अवधि सकेर पनि राजीनामा दिएका हुन सक्छन्, राष्ट्र बैंकको ऐन बमोजिम एउटा व्यक्ति दुई कार्यकालसम्म सीईओ पाउने व्यवस्था छ,’ उनले भने, ‘यस विषयमा राष्ट्र बैंकमा कुनै गुनासो आयो भने अध्ययन गर्छौं । तर, व्यक्तिले छोड्छु भनेर राजीनामा दिएको विषय सामान्य हो ।’

उनका अनुसार व्यक्तिको इच्छा, आवश्यकता र बाध्यता अनुसार आउने जाने भइरहने हुन्छ । यदि सुशासनमा कुनै कैफियत देखियो र संस्थामा कुनै असर प र्‍यो भने मात्रै राष्ट्र बैंकले हेरिरहेको हुने उनको भनाइ छ ।

‘सुशासनमा कुनै कैफियत भयो भने राष्ट्र बैंकले हेर्छ, इण्डष्ट्रिमा मान्छे आउने जाने भइरहन्छ, बैंक कति बलियो छ भनेर त्यसलाई राष्ट्र बैंकले हेर्छ, समग्रमा सीईओको टर्नओभर थोरै छ, कतिपय संस्था ८ वर्ष पनि एउटै व्यक्तिलाई सीईओ बनाउनु पर्ने माग पनि आएका छन्,’ उनले भने ।

Share News