काठमाडौं । बुधबार बिहानै राष्ट्रिय वाणिज्य बैंकका कर्मचारीको मोबाइलमा घण्टी बज्यो । घण्टी थियो, ‘बोनस पाएको ।’ बैंकले बुधबार दिउँसो २ बजे ५९औं वार्षिकोत्सब कार्यक्रम राखेको थियो । त्यसअगावै कर्मचारीलाई खातामा बोनस पठायो । त्यो घण्टीको खुसी र निराशा भने दिउँसो देखियो ।
नेपाल कर्मचारी संघ राष्ट्रिय वाणिज्य बैंकका अध्यक्ष लक्ष्मी प्रसाद पाण्डेले बिहान ७ बजे बैंकका कर्मचारीको मोबाइलमा बजेको घण्टीले थप तनाव सिर्जना गरेको टिप्पणी गरे । उनले आफूहरूले मिहेनतअनुसारको प्रतिफल नपाएको गुनासो गरे ।
‘हामीले बिहानै बोनस प्राप्त गर्याैं, बैंक डेमा बोनस पाएको यो दोस्रो पटक हो, बैंकले प्रतिस्पर्धा नबिल बैंक र हिमालयन बैंकसँग गर्नुपर्छ भन्छ । तर, सुविधामा सरकारी पारा गर्छ,’ उनले भने, ‘बोनस ऐन २०३० अन्तर्गत १० प्रतिशत बोनस पाउनु पर्ने हो, सरकारी संस्थामा नेपाल सरकारले तोकेबमोजिम पनि बोनस पाएनौं, यसलाई तत्काल संशोधन गरी निजी संस्था जति नै पाउनु पर्छ ।’
बोनस ऐन बमोजिम एक आर्थिक वर्षमा गरेको नाफाको १० प्रतिशत बराबरको रकम कर्मचारीलाई छुट्याउनु पर्छ । तर, सरकारी संस्थामा कार्यरत कर्मचारीलाई भने उक्त ऐन लागू नभएको उनको भनाइ छ ।
अध्यक्ष पाण्डेले कर्मचारी सेवा विनियावलीको समस्या रहेका तत्काल समाधान गर्नु पर्ने बताए । २०७२ सालमा संविधान जारी भएपछि समग्र क्षेत्रमा समस्या देखिएको तर, हालसम्म समाधान हुन नसकेको उनको भनाइ छ ।
साथै, श्रम ऐन २०७४ले कर्मचारीलाई न्यूनतम ८.३३ प्रतिशत उपदान दिनु पर्ने व्यवस्था गरेको भएपनि राष्ट्रिय वाणिज्य बैंकमा त्यो लागू नभएको उनको गुनासो छ ।
नेपाल राष्ट्रिय कर्मचारी संगठनका अध्यक्ष दिपेन्द्र कार्कीले ज्यालादारी, करार र स्थायी कर्मचारीहरूका आ–आफ्ना समस्या रहेको बताउँछन् । उनले बैंकका सीईओ किरण कुमार श्रेष्ठलाई कर्मचारी समस्या समाधान गरेर मात्रै बाहिरिन आग्रह गरे ।
‘बैंकमा ज्यालादारी, करार र स्थायी कर्मचारीहरू छन्, ज्यालादारी कर्मचारीको ठूलो समस्या न्यून ज्यालामा काम गर्नुपर्छ, ७ वर्ष ९ महिनामा बैंकका सीईओज्यूले धेरै राम्रो काम गर्नु भयो, अबको ३ महिनामा यी समस्या पनि समाधान गरेर जानु होला,’ उनले भने ।
‘हामीले एउटै पदमा १० वर्षसम्म काम गर्नु पर्ने बाध्यता छ, आज बिहान बैंकका सबै कर्मचारीहरूको मोबाइलमा घण्टी बजेपनि त्यो असमान तरिकाले बजेको छ,’ उनले भने, ‘निजी क्षेत्रका र सरकारी संस्थामा कार्यरत सबै कर्मचारीको बोनस समान हुनुपर्छ, अन्य बैंकको तुलनामा राष्ट्रिय वाणिज्य बैंकका कर्मचारीहरूको बोनस सबैभन्दा कम छ ।’
साथै, अवकाश पाएका कर्मचारीहरूको उपदान स्वीकृत भएपनि उपभोग गर्न नपाएको उनको भनाइ छ । उनका अनुसार नेपाल बैंकको भन्दा राष्ट्रिय वाणिज्य बैंकका कर्मचारीको सेवा सुविधा १५ प्रतिशत कम छ । यदि सेवा सुविधा नबढाउने हो भने नेपाली अर्थतन्त्रमा राष्ट्रिय वाणिज्य बैंक टिक्न नसक्ने उनको भनाइ छ ।
‘उपदान स्वीकृत भएपनि हालसम्म कर्मचारीको खातामा आएको छैन, वर्षभरि लगाएको बाली जंगली हात्तिले सखाप पारेजस्तै भएर अवकास हुनु परेको छ, वर्षाैं बैंकमा परीश्रम गरेका कर्मचारी निराश भएर रित्तो हात घर फर्किनु परेको छ, उपदानको विषय तत्काल स्वीकृत हुनुपर्छ,’ उनले भने, ‘नेपाली अर्थतन्त्रमा राष्ट्रिय वाणिज्य बैंकलाई टिकाइराख्न सेवा सुविधा बढाउनु पर्छ, कर्मचारीका समस्या समाधान गर्नुपर्छ, पुरानो राष्ट्रिय वाणिज्य बैंक हुनबाट जोगाउन कर्मचारीको सेवा सुविधामा जोड दिनु पर्छ ।’
नेपाल वित्तीय संस्था कर्मचारी संघका अध्यक्ष ईश्वर बहादुर सिंहका अनुसार आरबिबि नेपाली बैंकिङ क्षेत्रमा बलियो बैंकका रूपमा स्थापित भएको छ । बैंकमा सरकारी पारा अन्त्य भइसकेको उनको भनाइ छ ।
‘विगतमा सरकारी पारा भयो भनेर धेरै हेपाई खानु पर्याे, अब एनसिएचएलले डिजिटल ट्रान्जेक्सन सबैभन्दा बढी गर्ने बैंकका रुपमा पुरस्कार दिएको छ, यसबाट पनि प्रमाणित भइसकेको छकि बैंक परम्परागत ढंगबाट चलेको छैन,’ उनले भने ।
साथै, सुधारको कार्यक्रमबाट स्थापित भएकाले आगामी नेतृत्व पनि अब्बल व्यक्ति आउनु पर्ने उनको धारणा छ । यदि बैंकलाई बुझ्ने व्यक्ति आयो भने बैंकको भविष्य उज्वल हुने उनको भनाइ छ । साथै, बैंकले सरकारलाई ग्राहकको रुपमा लिएको उनको भनाइ छ ।
‘सरकार हाम्रो प्रमुख ग्राहक हो, अब सरकारलाई हामीले ग्राहकको रुपमा लिन्छौं, राष्ट्रिय वाणिज्य बैंकलाई नियमन गर्नुहोस्, सुपरीवेक्षण गर्नुहोस् तर, हस्तक्षेप नगर्नुहोस्,’ उनले भने ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले परिश्रम गर्नु पर्ने तर फलको आशा नगर्न कर्मचारीहरूलाई आग्रह गरे । सरकार अहिले खर्च कटौतिमा लागेकाले राष्ट्रिय वाणिज्य बैंकका कर्मचारीहरूले पनि तत्काल सेवा सुविधा वृद्धिको अपेक्षा गर्न नहुने उनको भनाइ छ ।
‘सरकारी संस्थामा सरकारले कडाइ गरेको छ, सवारी साधन, भत्ता नदिनेदेखि तलबभत्तामा कुनै वृद्धि गरेनौं, त्यसैले बैंकका कर्मचारीहरूले पनि अहिले त्यो अपेक्षा नगर्नुहोस्, अवस्था सुधार भएपछि स्वतः तलब भत्तावृद्धि हुन्छ,’ उनले भने ।
संस्था समस्याका परेका बेला रातदिन नभनी काम गर्न कर्मचारीलाई उनले निर्देशन दिए । संस्था समस्यामा परेका बेला आफ्नो पकेटबाट सहयोग गर्ने गरेको जापानको उदाहरण दिँदै उनले भने, ‘अहिले ५ बजे नै घर जाने स्थिती छैन, समय हेरेर काम गर्ने जमाना गए, अब काम गर्नु पर्छ तर, समय हेर्नु हुँदैन, जतिबेला काम गरेपनि दिनभरिको काम सक्नु पर्छ, जापानमा संस्था डुब्न लाग्यो भने कर्मचारीले खल्तिबाट पैसा हाल्छन्, त्यसैले जापान सम्पन्न भयो, हामीले पनि त्यो परिपाटी अपनाउनु पर्छ ।’