काठमाडौं । नयाँ स्टक एक्सचेञ्जलाई लाइसेन्स दिनका लागि सरकार पुनः सक्रिय बनेको छ । यसअघि प्रक्रिया अगाडि बढाएर बिचमै रोकिएको थियो । अहिले सरकारले पुनः प्रक्रिया अगाडि बढाएको हो ।
सरकारले नयाँ स्टक एक्सचेन्जको आवश्यकताबारे अध्ययन गर्नका लागि समिति नै गठन गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल राष्ट्र बैंकका सञ्चालक तथा पूर्वडेपुटी गभर्नर चिन्तामणि शिवाकोटीको संयोजकत्वमा अध्ययन समिति गठन गरेको बताइएको छ ।
नेपाल धितोपत्र बोर्डले गत वर्ष २ असोज २०७९ मा नयाँ स्टक एक्सचेन्जलाई लाइसेन्स दिने प्रक्रिया अघि बढाएपछि विवाद भएको थियो । तर, पछि सर्वोच्च अदालतले बाटो खुला गरेपछि सरकारले पुनः प्रक्रिया अगाडि बढाएको हो ।
नेपाल धितोपत्र बोर्ड (सेबोन) ले नयाँ स्टक एक्सचेन्ज स्थापना तथा सञ्चालनका लागि यसअघि आवेदन खुलाएको थियो । तर, सरकारको निर्णयविरुद्ध अदालतमा मुद्दा परेपछि केही समय रोकिएको थियो । पछि सर्वोच्च अदालतले धितोपत्र बोर्डविरुद्ध परेको रिट खारेज गरेपछि नयाँ लाइसेन्स वितरण गर्ने बाटो खुलेको थियो ।
तर, सरकारले निर्देशन नै दिएर प्रक्रिया राेक्न भन्याे । २०८० बैशाखमा मन्त्रिपरिषद् बैठकले तत्काल नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स वितरण प्रक्रिया राेक्न निर्देशन दिएकाे थियाे । सेबोनले पनि नयाँ स्टकको लाइसेन्स वितरणका लागि आवेदनहरू संकलन गरिसकेकाे थियाे ।
सरकारले पुनः समिति गठन गरेर यो प्रक्रिया अगाडि बढाएको छ ।
यसअघि क-कसले देखाएका थिए इच्छा ?
नयाँ स्टक एक्सचेन्जको लाइसेन्सका लागि विभिन्न व्यवसायीले आवेदन दिएका थिए । नयाँ स्टकका लागि हिमालयन, नेशनल र अन्नपूर्ण स्टक एक्सचेञ्जले आवेदन दिएका थिए । देशका ठूला उद्योगी व्यवसायीहरूबीच नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स प्राप्त गर्नका लागि ठूलाे संघर्ष गरेका थिए ।
यसअघि आवेदन दिएका हिमालयन स्टक एक्सचेञ्जमा शंकर ग्रुपका अध्यक्ष शंकर अग्रवाल, पशुपति मुरारका, शेखर गोल्छा, भवानी राणा, राजेन्द्र खेतान, अमित मोर, सौरभ ज्योति, जुनी गुरुङ, आशिष श्रेष्ठ, शशिकान्त अग्रवाल, रोहित गुप्ता, विवेक दुगड लगायतको लगानी छ ।
शंकर ग्रुपका अध्यक्ष शंकर अग्रवाल प्रमुख लगानीकर्ताका रुपमा देखिएका छन् । उनको १५ प्रतिशत सेयर रहेको बुझिएको छ । यो स्टक एक्सचेञ्जमा इन्फिनिटी होल्डिङसका दीपक भट्ट पनि जोडिएका छन् । यसमा भट्टको पनि १५ प्रतिशत लगानी छ ।
यस्तै, नेशनल स्टक एक्सचेञ्जमा गैरआवासीय नेपाली संघका पूर्व अध्यक्ष कुमार पन्त, संस्थापक अध्यक्ष उपेन्द्र महतो, पूर्वअध्यक्ष जीवा लामिछाने, पूर्व अध्यक्ष कुल आचार्य लगायत एनआरएनएको लगानी छ । यस्तै, यो स्टकमा केडिया ग्रुपका अध्यक्ष मनोज केडिया, अग्नि ग्रुपका प्रबन्ध निर्देशक क्याविनेट श्रेष्ठ लगायतको लगानी रहेको पनि बुझिएको छ ।
यस्तै, अन्नपूर्ण स्टक एक्सचेञ्जमा प्रमुख लगानीकर्ता रामेश्वर थापा रहेको स्रोतले बताएको छ । उनी अन्नपूर्ण मिडिया हाउसका सञ्चालक हुन् । साथै, यस कम्पनीमा गणेशकुमार श्रेष्ठ, सुरेन्द्रराज वाग्ले, मुक्तिबोद्ध न्यौपाने, अनिल सापकोटा, प्रकाशकुमार श्रेष्ठ, शेखर सुवेदी, बलराम उप्रेती लगायतको लगानी रहेको छ ।