बैंकको बोर्डमा प्रोफेसनलहरूको प्रवेश, आफैं छुट्टिदैछन् बैंकर र व्यवसायी

<p>काठमाडौं । लामो समय नेपाली बैंकिङ क्षेत्र उद्योगी व्यवसायीको पकडमा रह्यो । उद्योगी व्यवसायीको कब्जामा बैंकिङ क्षेत्र रहेपछि उद्योगी र बैंकर छुटिनुपर्ने बहस पनि चल्न थाल्यो । त्यो बहस अहिले पनि जारी छ । विगतमा बैंकको सञ्चालक समितिमा उद्योगी व्यवसायी नै हाबी हुन्थे । बैंकको बोर्डमा उनीहरूको हाबी भएपछि व्यवस्थापनलाई आफ्नो स्वार्थमा परिचालन गर्ने र [&hellip;]</p>

काठमाडौं । लामो समय नेपाली बैंकिङ क्षेत्र उद्योगी व्यवसायीको पकडमा रह्यो । उद्योगी व्यवसायीको कब्जामा बैंकिङ क्षेत्र रहेपछि उद्योगी र बैंकर छुटिनुपर्ने बहस पनि चल्न थाल्यो । त्यो बहस अहिले पनि जारी छ । विगतमा बैंकको सञ्चालक समितिमा उद्योगी व्यवसायी नै हाबी हुन्थे । बैंकको बोर्डमा उनीहरूको हाबी भएपछि व्यवस्थापनलाई आफ्नो स्वार्थमा परिचालन गर्ने र चाहेको बखतमा बैंकको ब्याजलाई घटबढ गर्न सक्ने सम्मका घटनाहरू बेला बखत सुनिन्थे ।

कुनै समय बैंकको व्यवस्थापनमा नेतृत्व गरेका व्यक्ति पनि अध्यक्षको भूमिका आउनुलाई धेरैले सकारात्मक रूपमा हेरेका छन् । प्रोफेसन व्यक्तिहरूले सञ्चालक बन्ने अवसर पाएसँगै उद्योगी व्यवसायीहरू स्वतःरूपमा पछि हट्ने अभ्यास देखिएको छ ।

तर, पछिल्लो केही महिनायता भने बैंकको बोर्डमा प्रोफेसनल व्यक्तिहरूको प्रवेश भइरहेको छ । गत साता भएको एनएमबि बैंकको साधारणसभाले पूर्व बैंकर मनोज कुमार गोयललाई अध्यक्ष बनाएको छ । यसअघि बैंकको बोर्डको नेतृत्व गरेका उद्योगी पवन गोल्यान अध्यक्षबाट हटेपछि गोयल अध्यक्ष बनेका हुन् । उनी तत्कालीन बैंक अफ काठमाण्डूका प्रमुख कार्यकारी अधिकृत हुन् । अध्यक्षमा गोयलसँगै सञ्चालक समितिमा हरिश्चन्द्र सुवेदीले प्रवेश पाए । नेपाल लाइफको पूर्व सञ्चालक समेत रहेका उनी वरिष्ठ अधिवक्ता हुन् । एफएमओबाट प्रतिनिधित्व गर्दै शर्मीला हार्डी प्रकाशले प्रवेश पाएकी छिन् ।

वितग लामो समयदेखि महतो दाजुभाईले नेतृत्व गरेको माछापुच्छ्रे बैंकमा गत मंसिर ७ गते रोशन केसी अध्यक्षमा नियुक्त भए । विगत लामो समयदेखि सञ्चालक पदमा रही आफ्नो भूमिका निर्वाह गर्दै आएका केसी पोखराका युवा व्यवसायी हुन् । उनले स्नातकोत्तरसम्म शिक्षा हासिल गरेका छन् । उनी हाइड्रो व्यवसायी हुन् । पोखरा बचत तथा ऋण सहकारी, भगवती हाइड्रोपावर र सिक्लेस हाइड्रोपावर, गण्डकी हाइड्रोपावर डेभलपमेन्ट लगायत कम्पनीमा सञ्चालक भएर काम गरेका उनी अध्यक्ष बनेपछि बैंक थप उचाईमा पुग्ने अपेक्षा धेरैले गरेका छन् । साथै, उनले केसी कन्स्ट्रक्सन प्रालि सञ्चालन गरिरहेका छन् ।

ग्लोबल आइएमई बैंकको अध्यक्षमा चन्द्रप्रसाद ढकाल नै दोहोरिए पनि सञ्चालक समितिमा भने राष्ट्र बैंकका पूर्व कर्मचारी नारायणप्रसाद पौडेलले प्रवेश पाएका छन् । बैंकको सञ्चालक बनेका पौडेलले राष्ट्र बैंकमा तीन दशक काम गरेको अनुभव छ । उनी प्रभु लाईफ इन्स्योरेन्सको सीईओ समेत बने । राष्ट्र बैंकमा सेवा अवधिभर उनले नेपाल स्टक एक्सचेन्ज, निक्षेप तथा ऋण ग्यारेन्टी कोष, ग्रामीण विकास बैंक लगायतका संस्थामा सञ्चालकको रुपमा संस्थाको प्रतिनिधित्व गरेका थिए । पौडेलले बेलायतबाट एमबीए र त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातकोत्तर गरेका छन् । अहिले ग्लोबल आइएमई बैंकको सञ्चालक समिति नै अनुभवी र लामो समय बैंकमै काम गरेको छ ।

लक्ष्मी सनराइज बैंकको सञ्चालक समितिको नेतृत्व गर्ने अवसर रमण नेपालले पाए भने नयाँ सञ्चालकका रुपमा मनोज कुमार भट्टराईले प्रवेश पाए । साविक प्राइम लाइफका पूर्व सीईओ भएर काम गरेका भट्टराईसँग बैंक र बीमा क्षेत्रमा ३ दशक बढी काम गरेको अनुभव छ ।

हिमालयन बैंकको ३१औं वार्षिक साधारण सभाबाट साविक सिभिल बैंकका अध्यक्ष समेत रहेका प्रतापजंग पाण्डेको पुनरागमन भयो । विभिन्न क्षेत्रमा लगानी गरेका पाण्डेसँग बैंकिङ क्षेत्रमा दुई दशक बढीको अनुभव छ । साथै उनी कैलाश हेलिकप्टरका प्रबन्ध सञ्चालक हुन् ।

उद्यमी प्रवलजंग पाण्डे सिटिजन्स बैंकको अध्यक्ष बनेका छन् । नेपाल लिजिङ एन्ड फाइनान्समा सञ्चालक भई ५ वर्ष र नेपाल टेलिकममा वरिष्ठ इन्जिनियर पदमा १२ वर्ष काम गरेका पाण्डेलाई १७औं वार्षिक साधारण सभाले अध्यक्षमा निर्वाचित गरेको हो । पाण्डे लोमस ग्रुपको कार्यकारी निर्देशक र नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्यकारूपमा काम गरिरहेका छन् ।

सिटिजन्स बैंकको सञ्चालकमा सीता कार्की केसी, दिग्विजय बिष्ट र डा.विनोद आत्रेय पनि नियुक्त भएका छन् । त्रिभुव विश्वविद्यालयबाट स्नातक गरेकी कार्कीसँग ट्राभल र ट्रेडिङ क्षेत्रको १५ वर्ष बढी अनुभव छ । पुँजी बजार र वित्तीय क्षेत्रको अनुभव भएका बिष्टले अमेरिकाबाट एमबीए गरेका हुन् । साथै, उनी विभिन्न सामाजिक तथा व्यावसायिक संघसंस्थामा पनि आबद्ध छन् । यस्तै, वित्तीय क्षेत्रमा चार दशकभन्दा बढी अनुभव भएका सञ्चालक डा.आत्रेय राष्ट्र बैंकका पूर्व कर्मचारी हुन् । साविक प्रुडेन्सियल इन्स्योरेन्सको संचालक समेत रहेका उनी केयर रेटिङ्ग नेपाल र इमर्जिङ्ग नेपालका पनि सञ्चालक हुन् ।

नबिल बैंकको अध्यक्ष भएर काम गरिरहेका पूर्व बैंकर उपेन्द्र पौड्याल प्रोफेसनल व्यक्तिहरू संस्थाको सञ्चालक बन्नु राम्रो विषय भएको बताउँछन् । यस विषयमा आफूले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसँग पनि कुरा राखेको बताउँदै उनी बैंकको बोर्डमा प्रोफेसनल व्यक्ति आउनु सकारात्मक भएको बताए ।

‘यो अभ्यास हामी एक दुई जनाबाट सुरु भएको हो, हाम्रा पुस्ताका बैंकर विस्तारै रिटायर हुँदैछन्, उनीहरूलाई मेनस्ट्रिममा आवद्ध गराउनुपर्छ,’ नेपाल व्यवस्थापक संघका अध्यक्ष समेत रहेका पौडेलले विकासन्युजसँग भने ।

सरकारले पनि प्रोफेसन व्यक्तिलाई नियुक्ति गर्ने वा कुनै क्षेत्रमा अवसर दिनु पर्ने धारणा उनको छ ।

पूर्व बैंकर अनलराज भट्टराईका अनुसार अन्य देश र नेपालको अभ्यास हेर्दा सञ्चालक परिभाषा र कार्य क्षेत्र फरक छ । जस्तो बङ्गलादेशमा कार्यकारी र गैर कार्यकारी सञ्चालक हुन्छन् । त्यसैले प्रोफेसनल व्यक्ति बैंकको सञ्चालक बन्दा विभिन्न प्रणाली नै मजबुत हुने उनको भनाइ छ ।

‘प्रोफेसनल व्यक्ति सञ्चालक बन्दा सिस्टममा काम गर्न सहज हुन्छ, राष्ट्र बैंकका सबै नीति निर्देशनदेखि अन्य सबै विषयमा जानकार हुन्छ, बैंकको सुधार तथा विकास, वित्तीय क्षेत्रको विस्तार, बैंकिङ पहुँच वृद्धि र कर्जा विस्तारमा टेवा पुग्छ,’ उनी भन्छन्, ‘यसलाई सकारात्मक रूपमा लिनु पर्छ ।’

प्रोफेसनल व्यक्तिहरू बैंकको बोर्डमा प्रवेश हुँदा र उद्योगी व्यवसायी बाहिरिँदा बैंकमा थप पारदर्शिता र अनुशासन कायम हुने बुझाइ धेरैको छ । राष्ट्र बैंकले पनि विभिन्न समयमा बैंकर र उद्योगी छुट्याउने प्रयास गरिरहेको छ । अब प्रोफेसनल व्यक्तिको प्रवेश बोर्डमा हुँदा नीतिगत व्यवस्था नै गर्नु पर्ने आवश्यकता नहुने राष्ट्र बैंकको भनाइ छ । प्रोफेसन व्यक्तिलाई बैंकको बोर्डमा तान्नका लागि राष्ट्र बैंकले पनि बैंक तथा वित्तीय संस्थाहरूलाई सल्लाह दिइरहेको हुन्छ ।

Share News