काठमाडौं । सामान्यतया सिंहदरबारका अधिकांश कर्मचारीहरु फुर्सदिला देखिन्छन् । त्यसमा खानेपानी मन्त्रालय पनि व्यस्त हुने मन्त्रालय मध्ये पर्दैन । जुनसुकै निकाय वा व्यक्तिले अनुगमन गर्दा पनि देख्न सक्छ की खानेपानी मन्त्रालयका कर्मचारीहरु कुन काममा कति व्यस्त छन् भन्ने विषय । तर, विडम्बना खानेपानी मन्त्रालयका कर्मचारीहरुले वर्षेनी विभिन्न शिर्षकको बैठकको नाममा लाखौं रकम बुझ्ने गरेका छन् ।
आर्थिक वर्ष ०७८/७९ मा खानेपानी मन्त्रालयले महँगी भत्ता बाहेक पदाधिकारी तथा कर्मचारीहरुले भत्ता बुझ्न मिल्नेगरी पाँचवटा शिर्षकमा चार लाख रुपैयाँ बजेट व्यवस्था गरेको थियो । पछि भत्ता प्रयोजनको लागि व्यवस्था गरिएको सो रकमले अपुग भएपछि मन्त्रालयले आन्तरिक ऋण र अन्य स्रोतबाट ९ लाख ९४ हजार रुपैयाँ व्यवस्था गरेको सूचनामा विकासन्युजलाई प्राप्त भएको छ ।
मन्त्रालयले सो आर्थिक वर्षमा नेपाल सरकारको कोष र ऋण व्यवस्थापनबाट १३ लाख ४७ हजार सात सय ७५ रुपैयाँ वितरण गरेको थियो ।
त्यस्तै, मन्त्रालयले आर्थिक वर्ष ०७९/८० मा महँगी भत्ता बाहेक पाँचवटा शिर्षकमा १७ लाख ६२ हजार रुपैयाँ बजेट व्यवस्था गरेको थियो । सो आर्थिक वर्षमा मन्त्रालयले १० लाख ३१ हजार तीन सय २५ रुपैयाँ विभिन्न शिर्षकको भत्ता वापत खर्च गरेको छ ।
आव ०७९/८० मा मन्त्रालयले सबैभन्दा धेरै संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम) निर्माणको प्रकृयामा चार लाख १९ हजार र कार्य सम्पादन मूल्यांकन बैठकमा तीन लाख ७८ हजार रुपैयाँ भत्ता वापत कर्मचारीलाई रकम वितरण गरेको विकासन्यूजलाई प्राप्त सूचनामा उल्लेख छ ।
फोटोकपी पेपर र छपाई खरिदकै बैठकमा ६० हजार भत्ता
गत आव ०७९/८० मा मन्त्रालयले कार्यालय प्रयोजनका लागि खरिद गर्ने फोटोकपी र छपाई सामग्रीको खरिद गर्न शिलबन्दी दरभाउपत्र मूल्यांकनको बैठकमा ६० हजार रुपैयाँ भत्ता वापत खर्च गरेको छ । मन्त्रालयले विकासन्युजलाई उपलब्ध गराएको सूचनाअनुसार सो बैठकमा उपसचिवदेखि लेखापाल सम्मका ११ जना कर्मचारी सहभागी भएका थिए ।
मन्त्रालयका अनुसार सो शिर्षकको बैठक पाँच पटकसम्म बसेको थियो । फोटोकपी पेपर र छपाई सम्बन्धी सामग्रीहरु भनेको कार्यालय प्रयोजनका लागि दैनिक रुपमा चाहिने सामग्री हो । ती साधारण सामग्री खरिद प्रकृयामा पनि बैठकको नाममा कर्मचारीहरुले हजारौं रुपैयाँ बुझ्ने विषय अस्वभाविक देखिन्छ ।
६० हजार बैठक भत्ता खर्च गरेर मन्त्रालयले सो आर्थिक वर्षमा तीन लाख ४७ हजार आठ सय २२ रुपैयाँको फोटोकपी पेपर, तीन लाख ६१ हजार एक सय तीस रुपैयाँको खाम छपाई लगायतका केही सामग्री खरिद गरेको छ । जबकी मन्त्रालयले खरिद प्रकृयामा खर्च गरेको ६० हजार भत्ताकै रकमले हालसालकाे औसत बजार मूल्य अनुसार पनि एक सय दुई रिम फोटोकपी पेपर खरिद गर्न सकिन्छ ।
कार्यसम्पादन मूल्यांकन समितिको बैठकमा पनि भत्ता
खानेपानी मन्त्रालयले विभिन्न तहका कर्मचारीहरुको कार्यसम्पादन मूल्यांकनको बैठकमा पनि भत्ता वितरण गर्ने गरेको छ । मन्त्रालयबाट प्राप्त विवरण अनुसार मन्त्रालयले आर्थिक वर्ष ०७८/७९ मा विभिन्न तहका कर्मचारीहरुको कार्य सम्पादन मूल्यांकन गर्न पाँचवटा बैठक बसेको छ ।
सो बैठकमा मन्त्रालयले ८३ जना कर्मचारीलाई कर सहित तीन लाख ९० हजार दुई सय रकम भत्ता स्वरुप वितरण गरेको छ ।
मन्त्रालयका एकजना अधिकारीले मन्त्रालयमा हुने अधिकांश बैठक कार्यालय समयमा नै हुने तर, कर्मचारीहरुले कागज मिलाएर भत्ता बुझ्ने गरेको बताउँछन् । पूर्व सचिव गोपीनाथ मैनालीले कार्यलय समय भित्रै कार्यलयका कर्मचारीहरु बैठक बसेर भत्ता लिन नहुने बताउँछन् । साथै कार्यालय समय भित्र बस्न मिल्ने बैठकलाई कार्यालय समय बाहिर राख्ने परिपाटी समेत राम्रो नहुने उनको भनाइ छ ।