
काठमाडौं । २ साउनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट बाहिरिएको सुन राजश्व अनुसन्धान विभागले बरामद गरेपछि विभाग कार्यालय परिसरको सुरक्षा व्यवस्था कडा पारिएको छ ।
विभागमा सुरक्षा थ्रेट महसुस भएको र अनावश्यक मानिसको आवागमनले अनुसन्धान प्रभावित हुनसक्ने भन्दै महानिर्देशक नवराज ढुंगानाले कार्यालयको सुरक्षा निगरानी बढाएका हुन् ।
विभागमा अनावश्यक मानिसको प्रवेशमा रोक लगाइएको छ । राजश्व प्रहरीको सतर्कता बढाइएको छ । ‘यसअघि पनि हामी यही कार्यारत थियौं, विभागले आवश्यक पर्दा हाम्रो प्रयोग गथ्र्याे, धेरैजसो फुर्सदमै हुन्थ्यौं’, विभागको सुरक्षा व्यवस्थामा खटिएका एक प्रहरीले भने, ‘सुन काण्डपछि २४ घण्टे निगरानीको निर्देशन छ । विभागका कर्मचारीबाहेक अन्य मानिसलाई भित्र छिर्न रोक लगाएका छौँ ।’
विभागका महानिर्देशको कार्यालयबाट भनिएअनुसार मानिस मात्रै विभागमा प्रवेश पाएका छन् ।
विभागका महानिर्देशककै निर्देशनअनुसार सुरक्षा सतर्कता बढाइएको ती प्रहरीले बताए । ‘माथिबाट (महानिर्देशक) भनिए बाहेकका मानिसहरुलाई भित्र जानमा रोक लगाउन आदेश छ’, ती प्रहरीले भने ।
विभागमा राजश्व प्रहरीको दरबन्दी छ । डीएसपीको कमान्डमा ७० जनाको दरबन्दी रहेता पनि हाल ५० जना हाराहारीमा प्रहरीको निगरानीमा विभाग रहेको छ ।
‘सुन प्रकरणपछि सुरक्षा निगरानी बढाइएको छ’, विभागका एक कर्मचारीले भने, ‘धेरै भित्र बाहिर गर्ने कर्मचारी सुरक्षा निगरानीमा पर्छौ । चिया खानलाई बाहिर निस्कनसमेत अप्ठ्यारो छ अहिले ।’
परिवारले पनि भेट्न पाएका छैनन् अभियुक्त
साउन २ गते विमानस्थल भन्सार कार्यालयबाट स्कुटरको ब्रेक–सु भनेर बाहिरिएको करीब एक क्वीन्टल सुन प्रकरणमा अहिलेसम्म १७ जना पक्राउ परेका छन् । उनीहरुलाई अहिले पनि विभागकै नियन्त्रणमा राखिएको छ । पक्राउ परेका कसैले पनि परिवार र आफन्त भेट्न पाएका छैनन् ।
‘पक्राउ परेका सबैलाई छुट्टाछुट्टै राखिएको छ । एकले अर्कोलाई भेट्न पाउँदैनन् । आफन्तसँग भेट गर्दा उनीहरूले बयान फेर्न सक्ने तथा केही प्रलोभनमा पर्न सक्ने आशंकामा अहिलेसम्म कसैलाई भेट्न दिईएको छैन’, विभागका एक कर्मचारीले भने ।
उनीहरुलाई भेट्न साउन ४ गतेदेखि विभाग परिसरमा आफन्तको भीड लाग्ने गरेको विभागका कर्मचारीहरुले बताए । पक्राउ परेकालाई भेट्न पाइने आशामा दिनभर विभाग परिसरमै बस्ने र साँझ फर्कने उनीहरुको दिनचर्या छ ।
बुधबार जफत गरिएको ब्रेक–सुमा भेटिएन सुन
राजश्व अनुसन्धान विभागले बुधबार स्कुटरको ब्रेक–सु आयात गर्ने कम्पनी रेडी ट्रेड प्रालिको सोह्रखुट्टेस्थित गोदममा छापा मारेको थियो ।
गोदाममा छापा मार्दा ६० कार्टुन ब्रेक–सु भेटिएको थियो । उक्त कार्टुनमा रहेका ब्रेक–सुमा सुन भएको आंशकामा विभागले उक्त कार्टुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा परीक्षणका लागि पठाएको थियो । विभागले बुधबार नै उक्त कार्टुनको परीक्षण गर्दा सुन भेटिएको थिएन ।
साउन २ मा बरामद गरिएको ब्रेक–सुमा एक कार्टुनमा ८ वटा प्याकेज राखिएका थिए । एउटा प्याकेजमा साना र ठूला गरी २ जोडी ब्रेक–सु थियो जसको सानो प्याकेटमा भने सुन राखेर ठूलो चाहिँ खाली नै ल्याइएको थियो ।
रेडी ट्रेड प्रालिले २ महिनामा करिब १८ सय ४५ किलो सामान आयात गरेको थियो । जसमा एक हजार २० वटा मोटरसाइकलको ब्रेक–सु रहेको छ । यस्तै २७ सय वटाभन्दा बढी दाह्री काट्ने मेसिन रहेको छ । दाह्रि काट्ने मेसिनमा पनि सुन नभएको विभागले जनाएको छ ।