२८ करोडको लागतमा ‘आरोह फर्टिलाइजर’ले जैविक मल कारखाना खोल्दै

<p>काठमाडौं । नेपालमा पहिलोपटक जैविक मल कारखाना खुल्ने भएको छ । २८ करोड रुपैयाँको लगानीमा आरोह फर्टिलाइजर प्राइभेट लिमिटेडले सो उद्योग सञ्चालनमा ल्याउन लागेको कम्पनीका संचालक शैलेन्द्र शमशेर जंगबहादुर राणाले बताएका छन् । राणाका अनुसार आरोह कम्पनीको तर्फबाट जैविक मल उत्पादन गर्नको लागि धनुषाको तेजनगरमा साढे ३ बिगा जमिन लिएर अहिले उद्योग निर्माणको काम भइरहेको [&hellip;]</p>

काठमाडौं । नेपालमा पहिलोपटक जैविक मल कारखाना खुल्ने भएको छ । २८ करोड रुपैयाँको लगानीमा आरोह फर्टिलाइजर प्राइभेट लिमिटेडले सो उद्योग सञ्चालनमा ल्याउन लागेको कम्पनीका संचालक शैलेन्द्र शमशेर जंगबहादुर राणाले बताएका छन् ।

राणाका अनुसार आरोह कम्पनीको तर्फबाट जैविक मल उत्पादन गर्नको लागि धनुषाको तेजनगरमा साढे ३ बिगा जमिन लिएर अहिले उद्योग निर्माणको काम भइरहेको छ । घण्टामा ५ मेट्रिक टन जैविक मल उत्पादन क्षमताको मेसिन जडान गर्ने, उद्योगहरुसँग सम्बन्धित विभिन्न प्रकारका संरचना निर्माण गर्ने र मजदुरहरु बस्ने आवास भवन बनाउने लगायतका कामलाई कम्पनीले अगाडि बढाउन लागेको छ ।

सिंगापुरमा सफ्टवेरको व्यवसाय गरेका राणाले अमेरिकाको क्यार्लिफोर्नियामा रहेको एउटा अंगुर बगैंचाबाट प्रभावित भएर नेपालमा जैविक मलको कारखाना खोल्न लागेका हुन् । ‘मैले घुम्ने क्रममा अमेरिकाको क्यालिफोर्नियामा देखेको अंगुर बगैँचाबाट प्रभावित भएर जैविक मल कारखाना खोल्ने ठाउँमा आइपुगेको हुँ’, उनले भने, ‘त्यहाँको बगैँचामा अंगुरहरु अरु भन्दा निकै फरक, एकदमै चिल्लो, रसिलो र ठूला थिए ।’

राणाका अनुसार उनलाई ती अंगुरहरु अन्य भन्दा किन धेरै आकर्षक छन भन्ने लाग्यो । त्यसपछि उनले त्यसको मालिक भेटेर सोध्दा बगानको मालिकले त्यो बगानमा बायो फर्टिलाइजरको प्रयोग गरेको उनले बताए । राणाले ती बगैँचाका मालिकबाट बायो फर्टिलाइजर प्रविधिको विषयमा बुझेर नेपाल फर्किएको बताए ।

नेपालमा खेतिपातीको मौसममा सधैँ मलको हाहाकार सुनिरहेका उनले जैविक मलको कारखाना खोलेर राष्ट्रलाई योगदान गर्ने निर्णयमा आफू पुगेको बताउँछन् । नेपालमा रासायनिक मललाई मात्रै मल भन्ने बुझाई रहेको अवस्थामा निकै संघर्ष गरेर कारखाना सञ्चालनको निकट आइपुगेको उनले बताए ।

मल कारखाना निर्माणको लागि शुरुमा एक्लै सो विषयमा बुझ्ने र कम्पनी दर्ता गर्ने काम गरेका उनी पछि आफ्नो पारिवारिक सर्कल र आङकामी लामासँग सहकार्य गरेर अगाडि बढेका छन् । कारखाना स्थापनाको प्रकृयामा पुग्न अगाडि कम्पनीको तर्फबाट जैविक मल उत्पादनको लागि धेरै नै परीक्षण गरेको उनी बताउँछन् । ‘शुरुमा हामीले झापामा उत्पादन परीक्षण गर्यौं, त्यसमा अवलोकन गर्नको लागि राष्ट्रपति विद्यादेवी भण्डारी र तत्कालीन कृषि मन्त्री चन्द्रपाणी खनाल पनि जानुभएको थियो’, उनले भने, ‘त्यो परीक्षण सफल भयो ।’ परीक्षण सफल भएपछि मात्रै आँफूहरुले २०७६ सालमा कम्पनी दर्ताको प्रकृया अगाडि बढाएको उनले बताए ।

कम्पनी स्थापना गरेपनि नेपालमा जैविक मल उत्पादनको लागि कानूनी व्यवस्था नभएकाले फेरि त्यसको लागि संघर्ष गर्नुपरेको उनी बताउँछन् । कम्पनी दर्ता भएको २ वर्षपछि मात्रै कृषि मन्त्रालयको सचिवस्तरीय निर्णयले आरोहलाई जैविक मल उत्पादन गर्ने कारखाना खोल्न अनुमति दिएको उनको भनाइ छ । राणाका अनुसार सरकारको तर्फबाट अनुमती पाए लगत्तै कम्पनीले उद्योग निर्माणको प्रकृयालाई तिव्रताकासाथ अगाडि बढाइरहेको छ ।

नेपालमा कृषि मन्त्रालयले स्वीकृति दिएर जैवीक मल उत्पादन गर्ने लाइसेन्स प्राप्त गरेको आफूहरुकै उद्योग भएको उनको भनाइ छ । राणाका अनुसार उद्योगले जैविक मल, जैविक झोल मल र जैविक–प्राङ्गारिक तयारी मल उत्पादनको तयारी गरिरहेको छ । किसानलाई सजिलो होस भन्नका लागि आफूहरुले सबै प्रकारको मल उत्पादनको तयारी गरेको उनको भनाइ छ । बाली अनुसारको पोषण तत्व फरक–फरक मात्रामा आवश्यक पर्ने भएकाले कम्पनीले चिया, उखु, धान, मकै, आलु, आदि प्रत्येक फरक बाली अनुसारको मल जैविक मल उत्पादन गर्ने तयारी गरेको बताए । त्यसको लागि कम्पनीले देशभरीबाट विभिन्न ठाउँहरुको माटो संकलन गरेर त्यसको परीक्षण गरिरहेको छ ।

आफ्नो लगानीले मात्रै सम्भव नभएकाले कम्पनीको तर्फबाट बैंकिङ ऋण र अन्तर्राष्ट्रिय स्तरबाट पनि लगानीको लागि पहल भइरहेको राणा बताउँछन् । आफ्नो व्यवसायिक योजनालाई बैंकहरुले मन पराएको तर नयाँ प्रोजेक्ट भएकाले सहज रुपमा स्वीकार गर्न पनि तयार रहेको राणाको भनाइ छ । ठूलो मात्रामा लगानी जुटाउन सकिएमा ७ वटै प्रदेशमा उद्योग विस्तार गर्ने प्रस्ताव पनि कम्पनीले तयार पारेको छ ।

कम्पनी स्थापनाको प्रकृयामा लगानी पारिवारिक रुपमा गरिएको उनी बताउँछन् । जैविक मल ब्याक्टेरियाबाट बनाइने र विगतमा विदेशबाट ब्याक्टेरिया आयात गरेर त्यस्तो मल उत्पादनको परीक्षण गर्ने गरेकोमा आरोह उद्योगले भने नेपालको माटोबाट नै ब्याक्टेरिया विकास गरेर मल उत्पादनको तयारी गरेको छ । नेपालको कानूनले विदेशबाट ब्याक्टेरियाको आयातमा समेत प्रतिबन्ध लगाएको अवस्थामा आरोहले नेपालको सबै भूगोलको माटो संकलन गरेर सो अनुसारको ब्याक्टेरिया उत्पादनको तयारी गरेको राणा बताउँछन् ।

उद्योगले बाली अनुसारको ब्याक्टेरिया उत्पादनको लागि पनि तयारी गरेको उनको भनाइ छ । रासायनिक मल राखेर गरिरहेको खेतीबाट भन्दा जैविक मल राखेर गरेको खेतीबाट १० प्रतिशत बढी प्रतिफल दिने आफूहरुको परीक्षणले देखाएको राणाले बताए । पछिल्लो समयमा सबै प्रकारका खेतिपातीमा रासायनिक मलको प्रयोग बढ्दो रुपमा देखिएको छ । साथै रासायनिक मल आयात गर्नका लागि पनि सरकारले अरबौं रकम वार्षिक रुपमा खर्च गरिरहेको अवस्थामा नेपालमा नै गरिने जैविक मलको उत्पादनले माटोको संरक्षण र विदेशी मुद्राको बचतमा टेवा पुर्याउने राणाको भनाइ छ ।

‘नेपालमा वार्षिक रुपमा झण्डै १० लाख मेट्रिक टन रासायनिक मलको माग भएको सरकारी तथ्यांकहरुले नै देखाएका छन्, जुन सरकारले नै पुरा गर्न सकेको छैन्, हामीले उत्पादन गर्ने भनेको जम्मा वार्षिक ६ हजार मेट्रिक टन हुन्छ, त्यो भनेको १ प्रतिशत पनि होइन’, राणा भन्छन्, ‘यो क्षेत्रमा अरु धेरै कम्पनी आउन जरुरी छ ।’ छिमेकी भारतले २ वटा राज्यलाई प्राङ्गारिक क्षेत्र घोषणा गरेको र विश्वका विकसित मुलुकहरुले पछिल्लो समयमा अर्गानिक उत्पादनको विषयलाई महत्व दिएकाले जैविक मलको महत्व बढ्नै गएको उनले बताए ।

जैविक मलको प्रयोगले उत्पादन प्राकृतिक हुने र माटोको सुधारको लागि पनि उपयोगी हुने भएकाले अब भविष्यको मल नै जैविक मल भएको उनको भनाइ छ । विश्वका धेरै मुलुकहरुले रासायनिक मलको प्रयोगलाई घटाउँदै लगेकोे र छिमेकी मुलुक भारतको मेघालय र सिक्किमलाई अर्गानिक क्षेत्र घोषणा गरिएको उनले बताए । कर्णाली सरकारले पनि कर्णाली प्रदेशलाई अर्गानिक क्षेत्र घोषणा गरेको भन्दै जैविक मलको महत्व बढ्दै गएको उनको भनाइ छ । ‘रासायनिक मल प्रयोग गरिएको कुनैपनि ठाउँमा सो ठाउँलाई जैविक मलको प्रयोगले १० वर्षमा पूर्ण रुपमा रासायनिक रुपमा स्वतन्त्र बनाएर पूर्ण प्राकृतिक बनाउन सकिन्छ’, राणाले भने ।

सो कम्पनीले तयार गर्ने जैविक मल एक एकडमा २ सय किलो प्रयोग गर्नुपर्ने हुन्छ । त्यस्तै तरल पदार्थ छर्किने विधि प्रयोग गर्ने हो भने एक एकडमा १ लिटर प्रयोग गर्नुपर्ने राणाले बनाए । उनका अनुसार तरल मल १ लिटरमा २ सय लिटर पानी हालेर प्रयोग गर्न मिल्छ । आफूहरुले धेरै नाफा कमाउने नभएर अत्यन्त सहुलियत मूल्यमा न्यूनतम नाफा राखेर बेच्ने योजना बनाएको बताए । जैविक मलमा रासायनिक मल पनि मिसायर प्रयोग गर्न सकिने तर त्यसलाई विस्तारै घटाउँदै लैजान सकिने उनले बताए ।

कम्पनीले निर्माण गर्न लागेको प्लान्ट कस्तो हुन्छ ?

कम्पनीले ३ विघा १२ कठ्ठा भन्दा धेरै जमिनमा प्लान्ट स्थापना गर्न लागेको छ । प्लान्टमा २ किसिमको मेशिन रहने राणाको भनाइ छ । ‘त्यहाँ २ किसिमको मेशिन स्थापना गरिन्छ, एउटा व्याक्टेरियाहरु बनाउने, जसलाई बायो रियाक्टरको प्रयोग गर्नुपर्ने हुन्छ’, उनले भने, ‘त्यसलाई निकै महंगो पर्छ, किनभने यो निकै सेन्सेटिभ तथा ल्याब रिलेटेड हुन्छ, यसबाट भ्याक्सिन समेत उत्पादन गर्न सकिन्छ ।’ भारतको महिसुरमा रहेको न्यू बायो साइन्स कम्पनीबाट सो मसिन खरिद गरिने उनले बताए । अर्को मेशिन प्राङ्गारिक मल मिसायर तयार गर्नको लागि राखिने र उत्पादन परीक्षणको लागि केही विघा जमिन र मजदुरहरु बस्ने आवास गृह सहितको संरचना रहने उनले जानकारी दिए ।

Share News