माग नभएको भन्दै हुवासिन सिमेन्टले गर्यो उत्पादन बन्द, कम्पनी भन्छ : करोडौं घाटा भयो

<p>काठमाडौं । हुवासिन सिमेन्ट उद्योगले सिमेन्ट उत्पादन बन्द गरेको छ । गत भदौमा नापतौल तथा गुणस्तर विभागबाट नेपाल गुणस्तर चिह्न (एनएस) पाएको हुवासिन सिमेन्ट उद्योगले सिमेन्ट उत्पादन बन्द गरेको हो । पछिल्लो समय बजारमा सिमेन्टको माग कम हुँदा केही समयका लागि सिमेन्ट उत्पादन सटडाउन गरिएको कम्पनीले जनाएको छ । नेपालमा विदेशी लगानीको ठूलो सिमेन्ट उद्योगले [&hellip;]</p>

काठमाडौं । हुवासिन सिमेन्ट उद्योगले सिमेन्ट उत्पादन बन्द गरेको छ । गत भदौमा नापतौल तथा गुणस्तर विभागबाट नेपाल गुणस्तर चिह्न (एनएस) पाएको हुवासिन सिमेन्ट उद्योगले सिमेन्ट उत्पादन बन्द गरेको हो । पछिल्लो समय बजारमा सिमेन्टको माग कम हुँदा केही समयका लागि सिमेन्ट उत्पादन सटडाउन गरिएको कम्पनीले जनाएको छ ।

नेपालमा विदेशी लगानीको ठूलो सिमेन्ट उद्योगले नै खपत कम भएको भन्दै उत्पादन बन्द गरेको हो । करिब ८ महिनादेखि परीक्षण उत्पादन गरिरहेको कम्पनीले पछिल्लो समय ठूलो परिमाणमा मौज्दात हुँदा केही समयका लागि सटडाउन गर्नुपरेको उद्योगका उपमहाप्रबन्धक डिल्लीराज पोखरेलले जानकारी दिए । कम्पनीले गुणस्तर विभागबाट एनएस चिह्न पाएसँगै सटडाउन गरेको हो ।

‘हाल बजारमा आर्थिक गतिविधिमा मन्दी आउँदा सिमेन्टको माग अत्यन्तै कम छ, बजारको अवस्थाका कारण हाल अधिकांश सिमेन्ट उद्योगहरु समस्यामा छन्, त्यसमा बढी समस्यामा हुवासिन भयो’, उनले भने,‘ उत्पादनको तयारीबाटै विभिन्न खालको समस्या झेलेको उद्योगले गुणस्तरको अनुमति पाएसँगै बजारको मन्दी थपियो ।’

उनले उद्योगले अनुमान गरेभन्दा सिमेन्ट उत्पादनको समयसँगै लगानी थपिँदा हुवासिन सिमेन्टले सुरुवाती चरणदेखि नै घाटाको व्यापार गर्न बाध्य भएको उनको भनाइ छ । उनले हाल उद्योगवाट उत्पादिन सिमेन्ट काठमाडौं, पोखरा र चितवन सहित मुख्य मुख्य बजारमा पठाएको बताए ।

‘नेपालमा धेरै सिमेन्ट उद्योग छ, अधिकांश उद्योगले क्षमताको ३० प्रतिशतसम्म समेत सिमेन्ट उत्पादन गर्न सक्ने अवस्था छैन, हामीले क्षमताभन्दा कम उत्पादन गर्दै उत्पादन लागतभन्दा पनि सस्तो मूल्यमा सिमेन्ट उपलब्ध गराएका छौँ’, उनले भने ।

उनले हाल सिमेन्ट उद्योग समस्यामा परेको भन्दै सरकारले आर्थिक गतिविधिलाई चलायमान बनाउनुपर्नेमा जोड दिए । हाल उद्योगले पीपीसी सिमेन्ट ५३० रुपैयाँमा र ओपीसी सिमेन्ट ६४० रुपैेयाँमा बिक्री गर्दै आएको छ ।

लगानी बोर्डसँग सुरुआती सम्झौता गर्दा करिब १४ अर्ब ४० करोड बराबरको लागत रहने भनिए पनि विभिन्न कारणले थप तीन अर्ब लागत बढ्न गएको बताइएको छ । नेपालमा गुणस्तरीय सिमेन्ट उत्पादन गर्ने लक्ष्यका साथ बोर्डले प्रख्यात चिनियाँ कम्पनी हुवासिनसँग सम्झौता गरी काम अगाडि बढाएको थियो ।

अर्को चिनियाँ लगानीको सिमेन्ट उद्योग होङ्सीले पछिल्लो चार वर्षदेखि नियमितरुपमा उत्पादन गरिरहेको छ । सो उद्योग सञ्चालनमा आएपछि सस्तो मूल्यमा नेपाली बजारमा सिमेन्ट उपलब्ध हुन थालेको हो । हुवासिन बजारमा आएसँगै गुणस्तरीय सिमेन्टसमेत उपलब्ध हुने बताइएको छ ।

आर्थिक विकासको गतिमा अगाडि बढिरहेको मुलुकका लागि गुणस्तरीय सिमेन्ट उपलब्ध गराउनु नै आफूहरुको प्रमुख कर्तव्य रहेको उपमहाप्रबन्धक पोखरेलको भनाइ छ । हुवासिन सिमेन्ट उद्योगले दैनिक तीन हजार मेट्रिकटन सिमेन्ट उत्पादन गर्ने जनाइएको ।

उद्योगमा तीन सय ५० जनाले प्रत्यक्ष र एक हजार जनाले अप्रत्यक्ष रुपमा रोजगारी पाएका छन् । वि.सं २०७४ मंसिर १२ मा हुवासिनलाई खानी विभागले धादिङको पानीखर्कमा खानी उत्खनन् गर्न अनुमति दिएको थियो । खानीका लागि चिनियाँ प्रवद्र्धकले ६० करोड बराबरको लगानी गरेको थियो ।

खानीका लागि हालसम्मकै बढी खर्च गरिएको यो नै पहिलो हो । खानी विभागले बोलपत्रका आधारमा बढी मूल्य भुक्तानी गर्ने कम्पनीलाई उक्त खानी दिइएको हो । बोर्डका अनुसार २०७२ पुस ५ गते वैदेशिक लगानी भित्र्याउनका लागि सरकारले स्वीकृति दिएको थियो ।

नेपालमा हाल झण्डै ३५ लाख मेट्रिकटन सिमेन्टको माग छ । नेपालमा स्थापना भएका सिमेन्ट उद्योगको कूल जडित क्षमता ५५ लाख मेट्रिकटन पुगिसकेको छ । विकास निर्माणका काममा बढोत्तरी हुँदै गएको तथा भौतिक पूर्वाधारमा लगानी बढिरहेका सन्दर्भमा आगामी दिनमा थप सिमेन्ट उद्योग स्थापना हुनेछन् । उद्योगले धादिङको ताल्दी पुग्ने सडक निर्माण, स्थानीयरुपमा निःशुल्क बिजुली उपलब्ध गराउनेदेखि अन्य सामाजिक कामसमेत गर्दै आएको छ ।

Share News