काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेटमा विद्युत प्रसारण लाइनलाई उच्च प्राथमिकता दिएको देखिएको छ ।
अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको लागि ल्याएको बजेटमा विद्युतका प्रसारण लाइन तथा सबस्टेसनहरु बनाउनको लागि ४३ अर्ब ९५ करोड रुपैयाँ विनियोजन गरिएको छ । उर्जा क्षेत्रको लागि सरकारले कुल उर्जा क्षेत्रका लागि ७५ अर्ब १० करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।
यस्तै, जलस्रोत क्षेत्रको विकास लागि पनि सरकारले मन फुकाएर बजेट व्यवस्था गरेको छ । विभिन्न स्थानमा संचालित सिंचाई आयोजना तथा नयाँ आयोजनाहरुको लागि भनेर सरकारले जलस्रोत तथा सिंचाईको लागि ३३ अर्ब ५० करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।
सरकारले कृषि तथा आन्तरिक उत्पादनमा जोड दिदै ल्याएको बजेटले कृषि क्षेत्रको उत्पादकत्व बृद्धि गर्न सिंचाईमा जोड दिने भन्दै यस्तो क्षेत्रको बजेट विनियोजनमा कन्जुस्याई गरेको छैन ।