जेठ १८ गते अघिनै मेलम्ची बन्द गर्ने तयारी

<p>काठमाडौं । ‘पानी धमिलो, अब मेलम्चीको गेट बन्द गर्दा मनै अमिलो’ यो भनाई हो खानेपानी मन्त्री उमाकान्त चौधरीका प्रेस सल्लाहकार लिलाराज खनालको । उनले आफ्नो सामाजिक सञ्जालमा (फेसबुक) मार्फत सो लेख्दै बाढी बढ्दै गएमा २०७९ जेठ १८ गतेदेखि जुनसुकै दिन मेलम्चीको पानी बन्द हुने बताएका छन् । उनले लेखेअनुसार नै मेलम्ची खानेपानी आयोजना विकास समितिका कर्मचारीहरु [&hellip;]</p>

काठमाडौं । ‘पानी धमिलो, अब मेलम्चीको गेट बन्द गर्दा मनै अमिलो’ यो भनाई हो खानेपानी मन्त्री उमाकान्त चौधरीका प्रेस सल्लाहकार लिलाराज खनालको । उनले आफ्नो सामाजिक सञ्जालमा (फेसबुक) मार्फत सो लेख्दै बाढी बढ्दै गएमा २०७९ जेठ १८ गतेदेखि जुनसुकै दिन मेलम्चीको पानी बन्द हुने बताएका छन् ।

उनले लेखेअनुसार नै मेलम्ची खानेपानी आयोजना विकास समितिका कर्मचारीहरु ठूलो पानी पर्नासाथ पानी बन्द गर्ने चाँबी हातमा बोकेर बस्ने गरेका छन् ।

यही बैशाखको दोस्रो सातादेखि अस्थायी संरचनाबाट पानी पुनः काठमाडौं ल्याउन थालिएको भएपनि वर्षाले आयोजनास्थलमा थप क्षति नपुगोस् भन्ने उद्देश्यले पानी नियमित ल्याउन नसकिने समितिले जनाएको हो ।

मेलम्ची खोलामा बाढी आउनु पहिला नै खानेपानी आयोजनाको सुरुङ बन्द गर्नुको विकल्प नरहेको आयोजनाले जनाएको छ । धमिलो पानी आएपछि सुरुङमा हाल्दा प्राविधिक रुपमा उपयुत्त नहुने भएपछि अस्थायी संरचना तयार गरेर पानी ल्याएको १ महिना मै बन्द गर्न लागिएको हो ।

हाल दैनिक १७ करोड लिटर पानी काठमाडौं उपत्यकामा ल्याएर वितरण भइरहेको छ । गतवर्ष असारको पहिलो दिन नै बाढी र पहिरोले आयोजनामा क्षति पुगेकाले यो वर्ष सतर्क हुनुपर्ने अवस्था रहेको आयोजनाका सूचना अधिकारी राजेन्द्रप्रसाद पन्तले बताए ।

उनले जलस्रोत तथा मौसम पूर्वाधार महाशाखाले दिएको मौसम बुलेटीन अनुुसार जेठ १८ गते अगाडी नै आयोजना बन्द गर्ने तयारी भएको बताए ।

बैशाख ११ गते खानेपानीमन्त्री उमाकान्त चौधरीले काठमाडौं उपत्यका खानेपानी लिमिटेड, बानेश्वर शाखाको कार्यालयमा चाबी (भल्भ) खोलेर पुनःवितरण सुरु गरेका थिए ।

अस्थायी रुपमा पानी सञ्चालनका लागि तयारी भए पनि अझै आयोजना सम्पन्न भइसकेको छैन । आयोजना स्थलभन्दा माथिल्लो भागमा बाढीले गरेको क्षतिको सुधार भइसकेको छैन । दातृ निकाय एशियाली विकास बैंक (एडिबी) ले त्यहा भएको क्षतिको अध्ययन गरिरहेको छ । बैंकले छिट्टै त्यसको प्रतिवेदन आउने बताएको समितिले जनाएको छ ।

Share News