७० प्रतिशत काम सकियो काठमाडौं भ्यूटावर निर्माणको, १२ तले बन्ने हो कि २९ तले ?

<p>काठमाडौं । काठमाडौंको पुरानो बसपार्कमा निर्माण भइरहेको काठमाडौं भ्यूटावर निर्माणको कार्य तीव्र गतिमा भइरहेको छ । उक्त भ्यूटावरको निर्माण सुरु भएको पनि करिब ५ वर्ष हुन लाग्यो । अहिलेसम्म भ्यूटावर निर्माणको कार्य करिब ७० प्रतिशत भएको काठमाडौं महानगरपालिका प्रवक्ता ईश्वरमान डंगोलले जानकारी दिए । २०७२ कार्तिकबाट उक्त भ्यूटावर निर्माणको काम सुरु भएको थियो । सो [&hellip;]</p>

काठमाडौं । काठमाडौंको पुरानो बसपार्कमा निर्माण भइरहेको काठमाडौं भ्यूटावर निर्माणको कार्य तीव्र गतिमा भइरहेको छ । उक्त भ्यूटावरको निर्माण सुरु भएको पनि करिब ५ वर्ष हुन लाग्यो ।

अहिलेसम्म भ्यूटावर निर्माणको कार्य करिब ७० प्रतिशत भएको काठमाडौं महानगरपालिका प्रवक्ता ईश्वरमान डंगोलले जानकारी दिए ।

२०७२ कार्तिकबाट उक्त भ्यूटावर निर्माणको काम सुरु भएको थियो । सो भ्यूटावर निर्माणको अनुमानित लागत ४ अर्ब ७० करोड रुपैयाँ रहेको छ ।

काठमाडौं महानगरपालिकाले २०६८ सालमा पुरानो बसपार्क हटाएर सार्वजनिक– निजी साझेदारी मोडलमा बहुपयोगी व्यावसायिक कम्प्लेक्स बनाउने योजना अघि सारेको थियो । सोही अनुसार टावर निर्माण र सञ्चालनको ठेक्का जलेश्वर स्वच्छन्द बिकोई बिल्डर्स प्रालिले पाएको थियो ।

सो कम्पनीले भाडामा लिएको जग्गामा व्यावसायिक कम्प्लेक्स निर्माण गरी ३० वर्षसम्म प्रयोग गर्ने र त्यसपछि काठमाडौं महानगरपालिकालाई हस्तान्तरण गर्ने सम्झौता भएको छ ।

सम्झौतामा २९ तले भ्यूटावर निर्माण गरिने उल्लेख गरिएको थियो । २९ तले टावर निर्माण गर्ने भनिए पनि हाललाई १२ तल्लाको मात्रै नक्सा पास भएको छ । भूकम्पपछि १२ तल्लाभन्दा अग्ला भवन निर्माण गर्न रोक लगाइएको छ । २९ तले भ्यूटावर भनिए पनि सुरुमा १२ तले बनाउने र पछि थप्दै जाने निर्माण कम्पनीको योजना छ । १२ तलामध्ये दुई तले भूमिगत पार्किङ रहने छन् ।

१२ तलामध्ये हाल ८औं तलाको काम भइरहेको छ । ५ वर्षभित्रमा निर्माण सम्पन्न गर्ने गरी काम सुरु गरिएको थियो । नेपाली कला र संस्कृति झल्काउने गरी भ्यूटावर बनाउने भनिएको छ । महानगरका अनुसार कोभिडका कारण पनि भ्यूटावर निर्माणको काम केही ढिला भएको हो ।

‘निर्माण कम्पनीले धेरै समय लगायो भने उसैलाई घाटा हो, किनभने ३० वर्षपछि त्यो भवन महानगरलाई नै हस्तान्तरण गर्नुपर्छ, निर्माण कम्पनले १५ वर्ष नै भवन निर्माण गर्न लगाए पनि महानगरलाई कुनै समस्या छैन,’ उनले भने ।

प्रवक्ता डंगोलका अनुसार टावर निर्माणमा महानगरको लगानी छैन ।

महानगरले खुलामञ्चको २३ रोपनी अर्थात् ११ हजार ८ सय ९० वर्गकिलोमिटर जग्गा वार्षिक ७० लाख रुपैयाँ भाडा बुझाउने गरी भ्यूटावर बनाउन सो कम्पनीसँग सम्झौता गरेको हो । भवन बनेपछि भने वार्षिक २ करोड ७० लाख महानगरलाई दिने उल्लेख छ ।

Share News