काठमाडौं । प्रदेश– १ को धरानमा २० करोड रुपैयाँको लगानीमा सुविधा सम्पन्न स्मार्ट बसपार्क बन्ने भएको छ । धरान उपमहानगरपालिका र संघीय सरकारको संयुक्त लगानीमा बसपार्क बन्न लागेको हो ।
धरान उपमहानगरले आफ्नो महत्वाकांक्षी योजनाको रुपमा बसपार्क बनाउँदै गरेको छ । बसपार्क निर्माणका लागि संघीय सरकारले ५० प्रतिशत लगानी गर्ने र बाँकी ५० प्रतिशत लगानी उपमहानगरले गर्ने उपमहानगरकापलिकाका इन्जिनियर प्रकाश शर्माले जानकारी दिए ।
निर्माणाधीन अवस्थामा रहेको स्मार्ट बसपार्कको २० प्रतिशत काम सम्पन्न भइसकेको उपमहानगरले जनाएको छ । धरानमा व्यवस्थित पार्किङको अभाव भइरहेको समयमा स्मार्ट बसपार्क बनाउन लागिएको इन्जिनियर शर्माले बताए ।
सो बसपार्क धरान–८ स्थित तीनकुने सुन्दरबस्ती विकास आयोजनाको मल्टिपर्पोज एरियामा निर्माण भइरहेको छ ।
शर्माका अनुसार सो बसपार्कको काम हालसम्म २० प्रतिशत सकिएको छ भने बाँकी ८० प्रतिशत काम भवन निर्माणको समय अवधिभित्र नै सकिने छ । भवन बन्ने समय २०८१ साल असार ३० गते तोकिएको छ ।
लामो समयदेखि शहरको केन्द्र भानुचोकबाट बसपार्क सञ्चालन हुँदै आएकोमा अब भने सुविधा सम्पन्न स्मार्ट बसपार्क बन्ने भएको हो । हाल बसपार्क बनाउनको लागि जमिनमुनिको काम भइरहेको इन्जिनियर शर्माले जानकारी दिए ।
बसपार्क निर्माणको लागि गत असार ३१ गते धरान उपमहानगरपालिका र निर्माण व्यवसायीबीच सम्झौता भएको थियो । निर्माण व्यवसायी गिताञ्जली जेभी दुहबी सुनसरीसँग उपमहानगरले सम्झौता गरी बसपार्क निर्माणको काम अगाडि बढाएको हो ।
इन्जिनियर शर्माका अनुसार उक्त बस पार्क २० करोड १८ लाख रुपैयाँको बजेटमा निर्माण भइरहेको छ । निर्माण सुरु भएको ३ वर्ष भित्रमा बसपार्क निर्माणको काम सम्पन्न गर्नुपर्ने छ । सो बसपार्कको निर्माण सुरु भएको ४ महिना भइसकेको छ ।
निर्माणाधीन बसपार्कको काम निर्धारित समय अघि नै सम्पन्न गर्ने लक्ष्यसहित द्रुत गतिमा काम भइरहेको शर्माको भनाई छ । धरानको विकास, समृद्धि, आर्थिक उन्नति र अव्यवस्थित पार्किङलाई व्यवस्थित गर्नको लागि उक्त बस पार्कको निर्माण भएको शर्माले जनाए ।

उपमहानगरपालिकाले सो बसपार्क निर्माण गर्नको लागि २ वर्ष अघि नै तामझामका साथ शिलान्यास गरेको थियो । तर पनि जग्गा विवादका कारण निर्माण कार्य अगाडि बढ्न सकेको थिएन । विवाद समाधान भएपछि बसपार्क निर्माणले गति लिएको हो ।
निरन्तरको प्रयास र माथिल्लो सरकारसँग समन्वय गरी काम अगाडि बढाएको उपमहानगरपालिकाले जनाएको छ । शर्माका अनुसार २७ कठ्ठा जमिनमा सो बसपार्क निर्माण भइरहेका छ । सो बसपार्कमा ३ तलाको टर्मिनल भवन निर्माण हुनेछ ।
१ सय ३२ वटा सवारी अट्ने
निर्माणाधीन अवस्थामा रहेको स्मार्ट बसपार्कमा एक सय २३ वटा साना ठूला सवारी साधन अट्ने इन्जिनियर शर्माले बताए । सो बसपार्कमा ७२ वटा दुई पांग्रे र ६० वटासम्म बस, कार, जिप राख्न सकिने छ ।
शर्माका अनुसार निर्माणाधीन अवस्थामा रहेको भवनको भुँइतलामा करिब ३ सय जनासम्म बस्न मिल्ने यात्रु प्रतिक्षालय, टिकट काउन्टर, एटिएम बुथ, सेक्युरिटी कक्ष, सार्वजनिक शौचालय, उपचार केन्द्र र मिनीमार्ट हुनेछ ।
यस्तै, भवनको पहिलो तलामा १८ वटा पसल राख्न सकिने, १२ वटा कोठामा एटेज शौचालय, एसी सहितको होटेल, केही ठाउँमा रेस्टुरेन्ट तथा कफी शप र बसपार्क सञ्चालन तथा व्यवस्थापनको अफिस रहने छ ।