काठमाडौं । नियामक निकाय बीमा समितिलाई झुक्याउने शिशिर सुवेदी र हेमराज भट्ट कारवाहीमा परेका छन् । गैह्रकानुनी काम गरेका कास्कीको हङ्शपुर ४ का शिशिर सुवेदी र दार्चुलाका अपि ९ निवासी हेमराज भट्टलाई समितिले कारवाही गरेको हो ।
कास्कीका सुवेदीले समितिले आयोजना गरेको बीमा सर्भेयरको आधारभूत तालिममा सहभागी हुन्छु भन्दै निवेदन दिएका तर आफू सहभागी नभई अर्को व्यक्ति (दार्चुलाका भट्ट) लाई सहभागी गराई समितिलाई झुक्याएका थिए । जुन समितिको अनुगमन एवम् छानविनबाट पत्ता लागेको हो ।
यससँगै, समितिले निजहरु सुवेदी र भट्टलाई बीमा समितिको सर्भेयर तालिमसम्बन्धी कार्यविधि २०७२ को दफा १२ को उपदफा १ बमोजिम कारवाही गरिएको समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले जानकारी गराएका छन् । उक्त दफा बमोजिम तालिम लिन इच्छुकले तालिम कार्यक्रमको पुरै अवधिभर उपस्थिति जनाउनुपर्ने भन्ने व्यवस्था रहेको छ ।
समितिले यी दुबैलाई आगामी ५ वर्षसम्म बीमा समितिबाट सञ्चालन हुने सर्भेयर वा अन्य पेशागत तालिममा सहभागी हुन नपाउने गरी रोक लगाइएको कार्यकारी निर्देशक पौडेलले बताए ।
बीमा क्षेत्रको नियामक निकाय समितिले गत कार्त्तिक २५ गतेदेखि कार्त्तिक २९ गते (५ दिन) सम्म काठमाडौंमा बीमा सर्भेयरको आधारभूत तालिम सञ्चालन गरेको थियो ।
त्यस्तै, यसअघि पनि कार्त्तिक ११ गतेदेखि १५ गतेसम्म समितिले काठमाडौंमा दिएको उक्त तालिममा पर्साका बीरगञ्ज १६ निवासी सौरभराज विष्टको नाममा अर्को व्यक्ति (काठमाडौं महानगरपालिका वडा नं. ३२ निवासी सुशन श्रेष्ठ) सहभागी भएका थिए । समितिले उनीहरुलाई पनि कानुनमा भएको व्यवस्था अनुसारनै अबको ५ वर्षसम्म समितिले सञ्चालन गर्ने उक्त तालिमहरुमा सहभागी हुन नपाउने गरी रोक लगाएको छ ।