काठमाडौं । बागमती प्रदेशमा भन्दा कर्णाली प्रदेशमा घरजग्गाको मूल्यवृद्धि बढेको छ । नेपाल राष्ट्र बैंकले तयार पारेको घरजग्गा मूल्य सर्वेक्षण प्रतिवेदन अनुसार सबैभन्दा बढी कर्णालीमा घरजग्गाको मूल्यवृद्धि भएको पाइएको छ ।
मालपोत कारोबारको आधारमा आर्थिक वर्ष २०७७/७८ को पहिलो नौ महिनामा कर्णालीमा घरजग्गाको मूल्य औसत २३.८८ प्रतिशतले बढेको छ । उता बागमती प्रदेशमा भने सबैभन्दा कम अर्थात ५.९५ प्रतिशतले घरजग्गाको मूल्य बढेको राष्ट्र बैंकले जनाएको छ ।
त्यस्तै, प्रदेश नं. २ मा १७.४२ प्रतिशत, लुम्बिनीमा १४.४५ प्रतिशत, प्रदेश नं. १ मा १४.२० प्रतिशत, गण्डकीमा ११.८३ प्रतिशत र सुदूरपश्चिममा ६.३५ प्रतिशतले घरजग्गाको मूल्य बढेको छ । यो तथ्यांक मालपोत कार्यालयबाट संकलित हो ।
त्यस्तै, बैंकले वाणिज्य बैंकहरुले कर्जा प्रवाह गर्दा गरेको घर जग्गाको मूल्याङकनको आधारमा भने गण्डकी प्रदेशमा सबैभन्दा बढी मूल्यवृद्धि भएको देखिन्छ । गत आर्थिक वर्षको पहिलो नौ महिनामा गण्डकीमा घरजग्गाको मूल्य औषत १९१९ प्रतिशतले बढेको छ ।
त्यस्तै, कर्णालीमा १९.०२, बागमतीमा १८.२६, सुदूरपश्चिममा १६.३२, प्रदेश नं. २ मा १६.०२ प्रतिशत, प्रदेश नं. १ मा १५.१४ र लुम्बिनी प्रदेशमा घरजग्गाको मूल्य ४.३२ प्रतिशतले बढेको छ ।
उता आर्थिक वर्ष २०७६/७७ मा भने बैंकिङ्ग मूल्याङ्कनको आधारमा प्रदेश नं. २ मा सबैभन्दा धेरै ४३.११ प्रतिशतले घरजग्गाको मूल्य बढेको राष्ट्र बैंकले जनाएको छ ।
केन्द्रिय बैंकले वाणिज्य बैंकहरुको घरजग्गाको धितोमा प्रवाह भएको कर्जा कारोबार संख्या र शाखा सञ्जालको आधारमा ६ वटा बैंकलाई लिएको छ । जसमा नेपाल बैंक, एनआईसी एशिया बैंक, ग्लोबल आईएमई बैंक, एभरेष्ट बैंक, राष्ट्रिय वाणिज्य बैंक र प्रभु बैंक रहेका छन् ।
राष्ट्र बैंकले आर्थिक वर्ष २०७५/७६ लाई आधार वर्षको रुपमा लिई नेपालमा पहिलो पटक घरजग्गा मूल्य सर्वेक्षण गरेको हो । घरजग्गाको मूल्यमा आउने उतारचणव मापन गर्ने उद्देश्यले केन्द्रिय बैंकले उक्त सर्वेक्षण गरेको हो ।
सम्बन्धित समाचार
घर जग्गाको मूल्यवृद्धि २६ प्रतिशत, सर्वेक्षण महंगो नगर क्षेत्रमा मात्र