नेबिको बिस्कुटको कमब्याक, आगलागीको ४४ दिनमै सञ्चालनमा

<p>काठमाडौं । आगलागीको कारण ध्वस्त भएको ४४ दिनपछि नेबिको बिस्कुट उत्पादन गर्ने उद्योग पुनः सञ्चालनमा आएको छ । काठमाडौंको बालाजुस्थित औधोगिक क्षेत्रमा रहेको प्लान्टमा गत साउन २३ गते बिहान २ बजे आगालागी हुँदा प्लान्ट र मेशिनरी सामग्रीहरु जलेर ध्वस्त भएका थिए । आगालागी भएको छोटो समयमा बुधबारदेखि सो प्लान्ट औपचारिक रुपमा पुनः सञ्चालनमा ल्याइएको कम्पनीले [&hellip;]</p>

काठमाडौं । आगलागीको कारण ध्वस्त भएको ४४ दिनपछि नेबिको बिस्कुट उत्पादन गर्ने उद्योग पुनः सञ्चालनमा आएको छ । काठमाडौंको बालाजुस्थित औधोगिक क्षेत्रमा रहेको प्लान्टमा गत साउन २३ गते बिहान २ बजे आगालागी हुँदा प्लान्ट र मेशिनरी सामग्रीहरु जलेर ध्वस्त भएका थिए ।

आगालागी भएको छोटो समयमा बुधबारदेखि सो प्लान्ट औपचारिक रुपमा पुनः सञ्चालनमा ल्याइएको कम्पनीले जानकारी दिएको छ ।

५७ वर्षको इतिहास बोकेको प्लान्टमा अगलागी हुँदा सम्पूर्ण उपकरणसँगै भवनमा पूर्ण रुपमा क्षति पुगेको थियो । तर, धेरै क्षति भएपनि छोटो समयमा नै उद्योग पुनः सञ्चालमा ल्याउन सफल भएको कम्पनीका कार्यकारी निर्देशक राजेश रौनियारले बताए ।

‘हामीले ५ महिनाभित्रमा संचालन गर्न सकिन्छ होला भनेका थियौं, केही व्यक्तिहरुले त २ वर्षमा पनि सञ्चालनमा आउन नसक्ने भन्नुभएको थियो तर, हामीले १८ घन्टा खटिएर ४४ दिनमा सञ्चालनमा ल्याउन सफल भयौं, यो सफलतामा संचालक, व्यवस्थापनदेखि उद्योगमा कार्यरत सम्पूर्ण कर्मचारीको ठूलो सहयोग रह्यो,’ कार्यकारी निर्देशक रौनियारले भने ।

 

नेबिको प्रालिका प्रमुख कार्यकारी अधिकृत (सीईओ) केशव भट्टराई आगलागी हुनुभन्दा अगाडी दुईवटा प्लान्टबाट दैनिक २० देखि २२ टन विस्कुट उत्पादन गर्दै आएको बालाजु प्लान्टबाट अब दैनिक १६ टन हाराहारी मात्र उत्पादन हुने अनुमान गरिएको बताउँछन् । उनका अनुसार कम्पनीसँग रहेको २ वटा मेसिनमध्ये एउटा मेसिन पूर्ण रुपमा ध्वस्त हुँदा एउटाबाट दैनिक १६ टन उत्पादन हुने अनुमान गरिएको छ ।

आगलागी अघि उत्पादन गर्दै आएका अधिकांश प्रकारका बिस्कुट, कुकिज, सेरल्स, कन्फेक्सनरीको उत्पादन आजबाट सुरु भएको छ । नेबिकोले करिब ७० प्रकारका उत्पादन उत्पादन गर्दै आएको छ ।

कम्पनीका उत्पादन देशका ७७ वटै जिल्लामा पुग्दा बर्षमा करिब डेढ अर्ब रुपैयाँ बराबरको कारोबार हुने गरेको कम्पनीले जनाएको छ ।

भैरहवाको प्लान्ट २४ सै घण्टा सञ्चालनमा

बालाजु प्लान्टमा आगलागी भएसँगै कम्पनीले भैरहवामा रहेको प्लान्ट २४ सै घन्टा सञ्चालमा ल्याइएको जनाएको छ । कम्पनीले २०७४ सालमा भैरहवामा बन्द भएको एक उद्योगलाई खरिद गरी सोही स्थानमा प्लान्ट सञ्चालन गर्दै आएको कम्पनीका सीईओ भट्राईले जानकारी दिए ।

‘आगलागी भएपछि हामी के गर्ने भन्ने नै दोधारमा थियौं, ५७ वर्षे लामो इतिहास जोगाउन हरेस नखाई पिडालाई शक्तिमा बदल्नुपर्छ भनेर हामीले दिनरात खटिएर छोटो समयमा नै बालाजु प्लान्ट पुनः सञ्चालमा ल्याउन सफल भएका हौं, आगलागीपछि ४ समूहमा कार्यविभाजन गरेका थियौं, एक समूहले भैरहवामा दैनिक १६ घन्टा सञ्चालमा रहेको प्लान्टलाई २४ सै घन्टा सञ्चालनमा ल्याउन सफल भयौं, बजारको माग अनुसार हामीले भैरहवा प्लान्टलाई पूर्ण क्षमतामा सञ्चालन गरेर आपूर्ति गर्न सफल भयौं,’ सीईओ भट्टराईले भने ।

०२१ सालमा बालाजु औद्योेगिक क्षेत्रमा पहिलो बिस्कुट उत्पादन गर्ने कम्पनी बनेर नेबिको बिस्टुले उत्पादन सुरु गरेको थियो ।

माघमा हेटाैडामा प्लान्ट सञ्चालमा

कम्पनीले बालाजुमा रहेको प्लान्टबाट पूर्ण क्षमतामा उत्पादन सुरु गरेर आगामी माघ महिनामा हेटौंडामा नयाँ प्लान्ट स्थापना गर्ने जनाएको छ ।

कम्पनीले यसअघि नै सरकारबाट हेटौंडा औधोगिक क्षेत्रमा डेढ बिघा जग्गा भाडामा लिएको थियो । सोही जग्गामा आगामी माघ महिनाभित्रमा प्लान्ट सञ्चालमा ल्याइसक्ने कम्पनीले जनाएको छ । कम्पनीले मंसिर महिनाभित्रमा आवश्य उपकरण जडान गरी माघ महिनामा प्लान्ट सञ्चालमा ल्याउने तयारी भएको जनाएको हो । हेटौंडामा स्थापना हुने नयाँ प्लान्ट बालाजुको भन्दा ठूलो हुने जनाइएको छ ।

Share News