काठमाडौँ । आज काठमाडौं महानगरका प्रमुख विद्यासुन्दर शाक्यले वडा २८ मा झीगु इच्छुमती पार्क र प्रदेश सभा सदस्य केशव स्थापितले शंकरदेव क्याम्पसबाट प्रदर्शनी मार्ग जोड्ने टुकुचा कोरिडोर शुभारम्भ गरेका छन् ।
पार्क महानगरले निर्माण गराएको हो भने कोरिडोर प्रदेश सभा सदस्य स्थापितको संसद कोषबाट निर्माण भएको हो । पार्कको लागत ३७ लाख ७० हजार हो भने कोरिडोरको करीब १ करोड ३८ लाख रुपैयाँ हो । कोरिडोर १ सय ४० मिटर लम्बाईको छ ।
यी संरचनाको उद्घाटनपछि बोल्दै काठमाडौं महानगरपालिका प्रमुख शाक्यले, एउटा वडामा कम्तीमा एउटा पार्क बनाउने नीतिअनुरुप सार्वजनिक जग्गा संरक्षण गरेर त्यहाँ पार्क बनाइरहेको उल्लेख गरे।
‘बजेटको समस्या छैन । स्थानीयमा विवाद भएन भने जुनसुकै काम पनि सजिलै गर्न सकिन्छ । हामी टुकुचा नदीको दायाँवायाँ दुवैतिर हिँड्न मिल्ने बनाउँछौँ ।’ शाक्यले विकास निर्माण र निर्माणमा विरोध गर्ने प्रवृत्तिमा कुरा गर्दै काम गर्न नदिने तर काम भएपछि जस लिन हानाथाप गर्ने चरित्र हावी हुँदै गएको उल्लेख गरे ।
वडा र वडासँग सिमाना जोडिएका क्षेत्रको विकासका सन्दर्भमा प्रमुख शाक्यले भने, ‘रानीपोखरीको पहिलो चरणको काम सम्पन्न भएको छ । दोस्रो चरणमा शान्तिवाटिका विकास गर्दैछौँ । वडा १ मा कमलपोखरीको पहिलो चरणको काम सकिएको छ । यसमा दोस्रो चरणको काम हुँदैछ ।’
त्यस क्रममा प्रदेशसभा सदस्य स्थापितले नदी किनारामा कोरिडोर बनाउन कसैसँग समन्वय गरिरहनु नपर्ने बताए । टुकुचामा कोरिडोर निर्माण गर्दा समाज कल्याण परिषदले स्वामित्व माग गरेको सन्दर्भ उठाउँदै उनले भने, ‘महानगरको विकासका अवरोध गर्ने परिषदसँग समन्वय गर्ने होइन, सम्पत्ति महानगरले लिएर विघटनको कुरा उठाउनुपर्छ । टुकुचामाथि घर बनाउनेहरुको घर भत्काउनु पर्छ । टुकुचा जहाँ जहाँ बगेको छ । त्यहाँ त्यहाँ कोरिडोर बनाउनुपर्छ । दरबारभित्र पनि कोरिडोर बनाउनुपर्छ ।’
धेरै जनतालाई सुविधा हुने काम गर्दा कसले के भन्ला भनेर बाटो कुर्नु नहुने स्थापितको भनाइ थियो । काम सुरु गरिहाल्ने हो । विरोध आयो भने पछि जवाफ दिँदै जानुपर्छ ।
पार्क निर्माण गर्ने क्रममा सार्वजनिक जग्गा पहिचान गरेर वडाले १० लाख रुपैयाँ खर्च गरेर पर्खाल लगाइएकाे थियो । वडा २८ का अध्यक्ष भाइराम खड्गीले, भौतिक पूर्वाधार विकास विभागको डिजाइन र उपभोक्ता समितिहरुको सक्रियताबाट पार्क निर्माण भएको उल्लेख गरे ।
पहिले टुकुचाको बाढी आउँदा यो ठाउँका घर भत्काउला जस्तो हुन्थ्यो । कार्यक्रममा वडा सदस्य देवेन्द्र खड्गीले वडाका कामका बारेमा चर्चा गर्दै तार व्यवस्थापनमा काम गर्न बाँकी रहेको उल्लेख गरे ।
सरकारले बागमती, विष्णमतीसहित उपत्यकाका नदी सफाइ तथा व्यवस्थापनमा काम गरेको छ । कार्यक्रममा झीगु ईच्छुमती खल उपभोक्ता समितिका अध्यक्ष मदन तण्डुकारले, ठूला नदी आमा र ईच्छुमती नदी छोरी भएको उल्लेख गर्दै यसको बचावट र सुन्दरतामा काम गर्नुपर्ने बताए ।
यी कामका लागि झीगु ईच्छुमती खल उपभोक्ता समिति, ईच्छुमती खोला व्यवस्थापन उपभोक्ता समिति र ईच्छुमती खोला संरक्षण मुल उपभोक्ता समितिले काम गरेका छन् ।