काठमाडौं । मनसुन शुरु भएसँगै भारी वर्षा हुँदा देशका विभिन्न भागमा प्राकृतिक प्रकोपले ठूलो जनधनको क्षति भएको छ । भूक्षय र नदी कटानका कारण तटीय क्षेत्रका बस्ती बग्दा कयौँ मानिस घरबारविहीन भएका छन् । यसपटक सबैभन्दा बढी क्षति सिन्धुपाल्चोक र हिमालपारिको जिल्ला मनाङमा भएको छ । बाढीपहिराका कारण भएका क्षतिको स्थलगत निरीक्षणका लागि नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नेतृत्वमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसहितको प्राविधिक टोली शनिबार मनाङ पुगेको छ ।
मनाङको सबैभन्दा बढी प्रभावित क्षेत्र ङिस्याङ गापा–१ को पिसाङमा जेठ र असारको भारी वर्षासँगै बढेको खोला तथा नदीले ठूलो क्षति पुर्याएको छ । मस्र्याङ्दी नदीले स्थानीयवासीको बस्ती उजाड बनाएको छ भने कयौँ घर नदी कटानमा परेका छन् । मोटरबाटोको त के कुरा गोरेटोबाटो पनि बाँकी छैन । विद्युत् र टेलिफोन लाइन अवरुद्ध छन् । डिस्याङमा भएको क्षतिबारे जानकारी गराउँदै गाउँपालिका अध्यक्ष कान्छा घलेले भौतिक संरचनाका साथै बालीसमेत नष्ट भएको बताए । त्यहाँ पुगेको टोलीसँग उनले भने, ‘सदरमुकाम चामेसम्मको बाटो बगाएको छ र विद्युत्लगायत सञ्चारमा समेत समस्या छ ।’ अध्यक्ष कान्छाले मन्त्री भुसाललाई ज्ञापनपत्र प्रदान गर्दै पुनःनिर्माण र तत्कालका लागि राहतको प्रबन्ध गरिदिन अनुरोध गरे ।
अध्यक्ष कान्छाको ज्ञापनपत्र बुझेपछि मन्त्री भुसालले मनाङ र सिन्धुपाल्चोकलाई सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको जानकारी गराउँदै क्षतिको पुनःनिर्माण र नियन्त्रणमा सरकारले विशेष ध्यान दिने बताइन् । उनले भनिन, ‘भूक्षय र त्यसबाट हुने नदी कटान रोक्ने विषय चुनौतीपूर्ण छ, त्यसलाई हामीले सम्बोधन गर्नैपर्छ ।’ मनाङमा भएको क्षतिप्रति सरकार संवेदनशील रहेको बताउँदै उनले दीर्घकालीन समाधानका लागि चाँडै सम्बोधन गर्ने आश्वासन दिईन ।
राज्य मनाङवासीको साथमा छ- अध्यक्ष प्रचण्ड
पिसाङपछि मनाङको सदरमुकाम चामे पुगेको टीलीले त्यहाँ भएको क्षतिको विवरण सङ्कलन गर्नुका साथै स्थलगत निरीक्षण गरेको छ । मस्र्याङ्दी नदी किनारका घरहरू कटानमा परेका छन् । त्यहाँ पुग्ने सडक विच्छेद भएको छ । विद्युत् र टेलिफोन सम्पर्क टुटेका छन् । चामे क्षेत्रमा बाढीले पु¥याएको क्षति अवलोकनपछि जिल्ला प्रशासन कार्यालयमा सो टोलीले स्थानीय जनप्रतिनिधिसँग जानकारी लिएको थियो ।
सो अवसरमा मनाङका प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले बाढीबाट भएको क्षतिबारे जानकारी गराएका थिए । चार दिनसम्म भीषण बाढी आएको सुनाउँदै उनले भने, ‘यहाँका १०० वर्ष पुगेका ज्येष्ठ नागरिकको अनुभवमा हिमालपारि यस्तो बाढी आएको थाहा छैन ।’ उनका अनुसार यहाँका ७५ घर क्षति भएको छ । बिजुलीको मुख्य स्रोत पाँचवटा मिनीहाइड्रोमा क्षति पुगेको छ । सातवटा गाडी गुड्ने पक्की पुल र १३ वटा अन्य पुल पूर्णरूपमा क्षतिग्रस्त छन् ।
प्रमुख जिल्ला अधिकारी लामिछानेले खाद्यान्न मौज्दात गरेको भए पनि पर्याप्त नभएको र ढुवानीका लागि समस्या भएको बताए । उनले नदी कटान रोक्न मस्र्याङ्दी नदी किनारमा तटबन्ध बनाउन आवश्यक स्रोत उपलब्ध गराइदिन सरकारसँग आग्रह गरेका थिए ।
त्यसैगरी चामे गाउँपालिका अध्यक्ष लोकेन्द्र घलेले गत जेठ १४ गतेदेखि शुरु भएको भारी वर्षापछिको बाढीले जनजीवनमा नराम्रो असर पारेको गुनासो व्यक्त गरे । उनले एक गाउँबाट अर्को गाउँमा जानका लागि काठेपुलसम्म नभएको अवस्थाबारे निरीक्षण टोलीलाई जानकारी गराउँदै विद्युत् बिच्छेद हुँदा नागरिकता तथा पासपोर्टको सिफारिससमेतका कामहरु रोकिएको बताए । मनाङमा विद्युत्सँग सञ्चारबिच्छेद हुँदा बैंकसमेत सञ्चालनमा आउन समस्या भएको छ ।
जनप्रतिनिधिका कुरा सुनेपछि अध्यक्ष प्रचण्डले मनाङमा बाढीपहिरोका कारण भएको क्षति हृदयविदारक भएको आफूले महसुस गरेको उल्लेख गर्दै भौगर्भिक अध्ययन आवश्यक रहेको बताए । उनले भने, ‘भूक्षय नियन्त्रण गर्न भौगर्भिक अध्ययनका लागि नयाँ शिराबाट सोच्नुपर्ने अवस्थाको सङ्केत गरेको छ ।’ विपद्लाई टालुटुल गरेर मात्र नियन्त्रण नसकिने बताउँदै प्रचण्डले दीर्घकालीन ढङ्गबाट एकीकृत परियोजना बनाएर अगाडि बढ्नुपर्ने आवश्यकता औँल्याए ।
चामेपछि बाढीले बढी क्षति पुर्याएको नासो गाउँपालिकाको वडा नं ९ दानाक्यूका जनताले पनि तत्कालका लागि राहत र दीर्घकालका लागि पुनःनिर्माण गर्न सरकारसँग आग्रह गरे ।
यहाँको मस्र्याङ्दी जलविद्युत् आयोजना बाढीले क्षति पु¥याएको छ । सो आयोजना चिनियाँ साझेदार र नेपाल ज्वाइन्ट डेभलपमेन्ट प्रालिको संयुक्त लगानीमा निर्माण प्रक्रियामा रहेको छ । सो आयोजनामा ८० प्रतिशत चिनियाँ र २० प्रतिशत बुटवल हाइड्रोपावर कम्पनीको शेयर छ ।
बाढी प्रभावित क्षेत्रको निरीक्षणकै क्रममा अध्यक्ष प्रचण्ड र ऊर्जामन्त्री भुसालले आयोजनाको अवस्थाबारे जानकारी लिएका थिए । आयोजनाबारे माओवादी केन्द्रका नेता देवप्रसाद गुरुङले आयोजना विकास सम्झौता (पिडिए) र हेजिङ फण्डका विषयमा समस्या रहेको जानकारी गराए । रासस