काठमाडाैं । लक्ष्मी बैंकले माउण्ट रसुवा हाइड्रोपावरकाे १३.४२४ मेगावाटको मिदिम खोला–१ जलविद्युत आयोजनाको लागि कर्जा लगानी गर्ने भएकाे छ । बैंक र कम्पनीबीच यस सम्बन्धी बिहिबार सम्झाैता भएकाे हाे ।
उक्त आयोजनाको निर्माण लागत जम्मा २ अर्ब ९३ करोड ८२ लाख रुपैयाँ रहेको छ । साे आयोजना लमजुङ्ग जिल्लाको कव्होलासोथार र मर्स्याङदी गाँउपालिकामा रहेकाे छ ।
माउण्ट रसुवा हाइड्रोपावर प्रा.लि. र नेपाल विद्युत प्राधिकरण वीच विद्युत खरिद सम्बन्धि सम्झौता मिति २०७५ साल माघ ७ गते भएको र उक्त आयोजना निर्माणको लागि उर्जा मन्त्रालयबाट मिति २०७७ साल कार्तिक ३ गतेका दिन विद्युत उत्पादन अनुमति प्राप्त गरेकोछ ।
माउण्ट रसुवा हाइड्रोपावरलाई रसुवा कन्स्ट्रकशन लगायत अन्य व्यक्तिहरुले प्रवर्धन गरेका छन र सोका अध्यक्ष राजेन्द्र राज आचार्य हुन् ।
बैंकहरुले आयोजना लागतको ७० प्रतिशत र बाँकी ३० प्रतिशत कम्पनीको स्व. लगानी रहनेछ ।
उत्पादन क्षमता १३.४२४ मेगावाट रहेको माउण्ट रसुवा हाइड्रोपावरले झण्डै ८३.१७ गेगावाटआवर विद्युत वार्षिक रुपमा उत्पादन गरी राष्ट्र्रिय प्रसारण लाइनमा जडान गर्ने लक्ष्य राखेको छ र यो आयोजना जुलाई २०, २०२३ मा संचालनमा आउने बताइएकाे छ ।