काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए)ले एनआरएनए डेभलपमेन्ट फण्ड स्थापना गरेको छ । आज अर्थ मन्त्रालयमा एक कार्यक्रममको आयोजना गर्दै सो फण्डको स्थापना गरिएको बताइएको हो ।
१० अर्ब रुपैयाँको लगानी स्थापना भएको एनआरएनए डेभलपमेन्ट फण्डमा ५ प्रतिशत लगानी नेपाल सरकारको पनि रहेको छ ।
एनआरएनए डेभलपमेन्ट फण्डका अध्यक्ष उपेन्द्र महत्तोले विदेशमा रहेका नेपालीहरुको सहभागितामा स्थापना भएको यो फण्डले नेपालको विभिन्न उत्पादनशील क्षेत्रमा लगानी गर्ने र नेपाल सरकारले लिएको सम्वृद्ध नेपाल सुखी नेपाली नारालाई साकार गर्न भूमीका खेल्ने बताए ।
उनका अनुसार यो फण्डको पुँजी छिट्टै १ अर्ब अमेरिकी डलर हुने बताए ।
‘यो फण्डले रेमिट्यान्स उत्पादनशील क्षेत्रमा लागाउन सहयोग पुग्नेछ, होल्डिङ कम्पनीका रुपमा अगाडि बढ्नेछ, उत्पादनशिल क्षेत्रमा लगानी गर्न यस फण्डले उल्लेख्य काम गर्नेछ,’ उनले भने ।
कार्यक्रममका प्रमुख अतिथि समेत रहेका अर्थमन्त्री विष्णु पौडेलले एनआरएनए डेभलपमेन्ट फण्ड स्थापनाले नेपालमा विदेशबाट आउने लगानी उत्पादनशील क्षेत्रमा जान सहयोग पुग्ने बताए । यो फण्डमार्फत राम्रा र उत्पादनशील योजनाहरुमा लगानी गर्नको लागि धेरे सहयोग पुुग्ने उनको भनाई छ ।
‘पुँजी भइकसेपछि नयाँ योजनामा लगानी गर्ने सकिन्छ, फण्ड मार्फत पुँजी संठगठित गर्ने, राम्रा योजनामा लगानी गरे राम्रो प्रतिफल दिन सकिन्छ, यसका लागि सबैको साथ र सहयोग आवश्यक हुन्छ, हामी पनि हाम्राे तर्फबाट हुन सक्ने सहयोग गर्छौं,’ उनले भने ।
यस्तै, उनले गैर आवासिय नेपाली संघका सदस्यहरुलाई नेपालमा पुँजी भित्र्याउँदा बैंकिङ प्रणालीमार्फत ल्याउनु पर्ने, कालोपुँजी हुनु नपर्ने र फण्ड मार्फत राष्ट्रिय गौरवका आयोजनामा लगानी हुनु पर्ने धारणा राखे ।
लगानीमैत्री वातावरण निर्माण गर्नको लागि सरकार सधैँ लागि परेको बताउँदै उनले अहिले सरकारले लिएको सम्वृद्ध नेपाल सुखी नेपाली नारालाई साकार गर्न सबैले हातेमालो गर्नु पर्ने बताए ।
यस्तै, कार्यक्रममा अर्थ सचिव शिशिर ढुङ्गानाले यो फण्डमार्फत बहुपक्षीय लगानीका क्षेत्रहरुको खोजी गरी लगानी गर्नु पर्ने बताए ।
‘यो फण्डले रोजगारी सिर्जना गर्न सकोस्, फण्डमार्फत परम्परागत लगानीका क्षेत्रहरुभन्दा पनि नयाँ अवसर र लगानीका सम्भावित क्षेत्रहरुमा लगानी गर्नु पर्नेमा ध्यान दियोस्, तब मात्र यसको लक्ष्य पुरा हुन्छ, सरकारले पनि ५ प्रतिशत लगानी गरेको छ, यो एउटा अनरसीप लिएको मात्र हो,’ उनले भने ।
कार्यक्रममा राजश्व सचिव रामशरण पडासैनीले १० अर्बको पुँजीमा स्थापना भएको यो फण्डले नयाँ लगानीका क्षेत्रहरु पहिचान गरी देशमा रोजगारीका र लगानीका सम्भावनाहरुका बाटाहरु खोल्नेमा आफु विश्वस्त भएको धारणा राखे ।
‘यो फण्डले विदेशबाट नेपालमा लगानी भित्र्याउन धेरै प्रयास भएको छ, पहिले पनि यस्ता प्रयास हुन्थे तर अनत्पादनशील क्षेत्रमा धेरै लगानी हुन्थ्यो, यसले उत्पादनशीलमा लगानी होस्, कृषि पर्यटनमा लगानी बढाओस्, हामी यसमा साथ र सहयोग गर्न तयार छौं,’ उनले भने ।
अब छिट्टै लगानीका क्षेत्रहरु पनि छुट्याउनु पर्ने उनले धारणा राखे ।