काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अपर तामाकोशीको काममा अस्वभाविक रुपमा ढिलाई भएको भन्दै सार्वजनिक रुपमा असन्तुष्टी जनाएका छन् ।
बिहीबार नापी कार्यालयबाट अनलाइन प्रणाली नेलिस तथा मेरो कित्ता मार्फत सेवा प्रवाहको उद्घाटन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले अपर तामाकोशीको काममा अस्वभाविक रुपमा ढिलाइ गरिएको भन्दै यस्तो ढिलासुस्ती सैह्य नहुने बताए ।
अपर तामाकोशीको काममा दैनिक १३ करोड रुपैयाँ नोक्सान भइरहेकोले काम किन ढिलो भइरहेको छ भन्नेमा आफूले विशेष रुची बढाउनुपर्ने आवश्यकता रहेको उनको भनाई । ढिलासुस्ती भएमा ढिलासुस्ती गर्नेले नै त्यसको क्षतिपुर्ति बेहोर्नुपर्ने प्रधानमन्त्री ओलीको भनाई छ ।
‘अत्यन्तै अस्वभाविक ढङ्गले अपर तामाकोशीको काममा ढिलाई गरिएको छ । मैले यसतर्फ विशेष ध्यान राख्नुपर्ने, रुची बढाउनुपर्ने जस्तो देखेको छु । अपर तामाकोशीको काममा जुन ढिलासुस्ती छ, त्यो अस्वभाविक, असाधारण छ । लगभग एक वर्षदेखि म एउटै कुरा सुनिराख्या छु, एउटा सानो मेसिन त्यहाँ जडान गर्नुछ । त्यति राख्न दिनमा प्रत्यक्ष पाँच करोड त्यसमा नोक्सान भइराख्या छ । परोक्ष भन्ने हो भने १३ करोड दैनिक नोक्सान भइराख्या छ । केही मान्छेहरुको यो ढिलासुस्ती हो या अरु केही हो त्यो हेर्नपर्ने भएको छ । यस्तो विलम्ब ढिलासुस्ती अब सैह्य, अब मान्य हुन सक्दैन,’ प्रधानमन्त्री ओलीले भने ।
फरक प्रसंगामा प्रधानमन्त्री ओलीले देशमा खाद्यान्नको अभाव नहुनेगरी उत्पादन भएको भएपनि गलत आनिबानीका कारण खाद्य सङ्कट पर्ने गरेको बताए । भूमि समस्यालाई समाधान गर्न र कृषिलाई व्यवसायिक रुपमा अगाडी बढाउन सरकार लागेको उनको भनाईं छ ।
नेपालले खाद्य वस्तु अन्य देशमा निर्यात गर्नुपर्नेमा उनले जोड दिए । दुई÷तीन वर्ष भित्रमा नेपालबाट खाद्यान्न निर्यात गर्नेगरी सरकारले काम अगाडी बढाएको पनि भन्दै उनले विगत वर्षहरुदेखि व्यापार असन्तुलनलाई कम गर्दै लगेको दाबी गरे । आगामी दिनमा व्यापार असन्तुलन हुन नदिने उनको भनाई छ ।
‘अलिकति हाम्रो आनिबानीमा सुधार गर्नुपर्ने छ । खाद्यबस्तु हामीलाई पुग्नेगरी हाम्रो देशमा उत्पादन छ तर, हाम्रो गलत बानीका कारणले खाद्यवस्तु हामीलाई पुगिराखेको छैन । खाद्यान्न पुग्या छैन । खाद्य सामाग्री पुग्या छैन । अलिकति हाम्रा आनिबानी परिवर्तन ग¥यौँ भने हामीलाई ति कुराहरु पनि पुग्छ,’ उनले भने ।
भूमिलाई कसरी व्यवस्थित गर्ने भन्ने सम्बन्धमा सरकारले भूमि आयोग निर्माण गरेको भन्दै उनले त्यसले अब जमिन एकातिर, धनी पुर्जा एकातिर, बसोबास एकातिर हुने यसप्रकारको स्थितिलाई अन्त्य गरेर सुकुम्बासी समस्या, अव्यवस्थित बसोबासको समस्या समाधान गर्ने प्रधानमन्त्री ओलीको भनाई छ ।
प्रधानमन्त्री ओलीले अन्य कुराहरुमा निर्यातमा जोड दिएपनि लगानी र प्रविधि भने आयात गर्ने बतए । कृषिको क्षेत्रमा आत्मनिर्भर हुन सके अन्य विभिन्न क्षेत्रमा आत्मनिर्भर हुने बाटो खुल्ने भन्दै उनले कृषिको आधुनिकिकरण र व्यवसायिकरणमार्फत आत्मनिर्भर हुन जोड दिए ।
‘हामी लगानी आमन्त्रण गर्छौ । टेक्नोलोजी पनि हामी ल्याउँछौँ । अरु कुराहरु हामी धेरै आयातमा रुची राख्दैनौँ तर अहिलेसम्म हाम्रो आयात यतिधेरै छ कि आत्मनिर्भरतातर्फ हामीले जानुपर्ने छ । यस सन्दर्भमा हामी कमसेकम कृषिको क्षेत्रमा, जमिनको उपयोगको क्षेत्रमा यी क्षेत्रहरुमा आत्मनिर्भर हुन सक्यौँ भने आत्मनिर्भरताको सुरुवात अरु क्षेत्रहरुमा पनि हुन्छ,’ प्रधानमन्त्री ओलीले भने ।