
काठमाडौं । कुमारी बैंक लिमिटेडले टिच फर नेपाललाई १२ लाख रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेको छ । बैंकले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न र सार्वजनिक शिक्षा सबल बनाउनका लागि उक्त संस्थासँग सहकार्य गरी सो मात्राको सहयोग गरेको हो ।
बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारीले टिच फर नेपालका अध्यक्ष रेशु अर्याल ढुंगानालाई १२ लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् ।
सामुदायिक विद्यालयको शिक्षामा गुणस्तर बढाउने उद्देश्य राखेर काम गर्दै आएको टिच फर नेपालसँग सहकार्य गर्दै कुमारी बैंकले सिन्धुपाल्चोक, दाङ, पर्सा, लम्जुङ, ललितपुर, धनुषा जिल्लामा हुँदै आएको यस अभियानलाई निरन्तरता दिन सहयोग गर्नेछ ।
यस अभियानबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विश्व विद्यालयहरूबाट स्नातक तह उत्तीर्ण नेपाली युवाहरूले २ वर्ष स्वयंसेवी शिक्षकको रूपमा अंग्रेजी, गणित र विज्ञान विषयहरूमा देशका विभिन्न ग्रामीण क्षेत्रका सार्वजनिक विद्यालयहरूमा प्रशिक्षण दिने गरेका छन् ।