भ्रष्टाचार मुद्दामा सफाइ पाएपछि पूर्वमुख्यमन्त्री केजरीवालले भने- मैले जीवनभर इमानदारी मात्र कमाएको छु
काठमाडौं । भारतको राजधानी दिल्लीको राउज एवेन्यू अदालतले मदिरा नीतिसँग सम्बन्धित भ्रष्टाचार मामिलामा दिल्लीका पूर्व मुख्यमन्त्री तथा आम आदमी पार्टीका संयोजक अरविन्द केजरीवाललाई सफाइ दिएको छ । यसका साथै अदालतले आम आदमी पार्टीका नेता तथा दिल्लीका पूर्वउपमुख्यमन्त्री मनिष सिसोदियालाई पनि आरोपमुक्त गरेको छ । अदालतको यो फैसला केन्द्रीय अनुसन्धान एजेन्सी (सीबीआई) द्वारा दायर गरिएको मुद्दामा आएको हो । ‘लाइभ ल’ का अनुसार फैसला सुनाउँदै अदालतले सीबीआईको अनुसन्धानमा रहेका कमजोरीहरूमाथि कडा टिप्पणी समेत गरेको छ । अदालतले भनेको छ कि हजारौं पानाको चार्जसिटमा त्यस्ता सामग्रीहरू छन् जसले कुनै पनि साक्षीको बयानलाई समर्थन गर्दैनन् । विशेष न्यायाधीश जितेन्द्र सिंहले चार्जसिटमा ‘भ्रामक दाबीहरू’ गरिएको बताए । अदालतले सिसोदियाविरुद्ध प्रिमा फेसी मुद्दा स्थापित गर्न सीबीआई असफल भएको उल्लेख गर्यो । यसका साथै न्यायाधीशले केजरीवाललाई कुनै ठोस प्रमाणबिना नै यस मामिलामा मुछिएको पनि बताए । राउज एवेन्यू अदालतले दुवै नेतासहित यस मामिलाका सबै २३ अभियुक्तहरूलाई आरोपमुक्त गरिदिएको छ । अदालतको फैसलामा अरविन्द केजरीवालले प्रतिक्रिया दिएका छन् । सञ्चारकर्मीसँग कुराकानी गर्ने क्रममा उनी भावुक देखिएका थिए । केजरीवालले भने, ‘विगत केही वर्षदेखि भारतीय जनता पार्टीले जुन किसिमले हामीमाथि आरोप लगाइरहेको थियो, आज अदालतले ती सबै आरोप खारेज गरिदियो र जति पनि अभियुक्त थिए, सबैलाई आरोपमुक्त गरिदियो ।’ दिल्लीका पूर्वमुख्यमन्त्रीले आफूलाई भारतीय न्याय प्रणालीमाथि विश्वास रहेको बताए । उनले भने, ‘सत्यको जित भएको छ ।’ यसबाहेक केजरीवालले प्रधानमन्त्री नरेन्द्र मोदी र केन्द्रीय गृहमन्त्री अमित शाहमाथि पनि निशाना साध्दै पूरा मामिलालाई ‘फर्जी’ (झुटा) बताएका छन् । उनले भने, ‘मोदीजी र अमित शाहजीले मिलेर आजाद भारतको सबैभन्दा ठूलो राजनीतिक षड्यन्त्र रचे । आम आदमी पार्टीलाई सिध्याउनका लागि पार्टीका पाँच सबैभन्दा ठूला नेताहरूलाई जेलमा हाले, यहाँसम्म कि बहालवाला मुख्यमन्त्रीलाई समेत जेल हालियो ।’ यस क्रममा केजरीवाल भावुक हुँदै भने, ‘केजरीवाल भ्रष्ट छैन । मैले आफ्नो जीवनमा केवल इमानदारी कमाएको छु । उनीहरूले झुटा मुद्दा लगाए र आज त्यो प्रमाणित भयो ।’ अदालतको फैसलामा अरविन्द केजरीवालकी पत्नी सुनिता केजरीवालले पनि प्रतिक्रिया दिएकी छन्। उनले एक्सु (पूर्व ट्विटर) मा लेखेकी छन्, ‘सत्यको सधैँ जित हुन्छ ।’
१.५ ट्रिलियन डलरको सपना : परीक्षण शून्य, रोबोट्याक्सीमा टेस्ला पछि
काठमाडौं । एक वर्षभन्दा बढी समयदेखि एलन मस्कले बारम्बार राज्य नियामक निकायहरूले स्वीकृति दिएपछि टेस्ला क्यालिफोर्नियामा चालकविहीन रोबोट्याक्सी सेवा सुरु गर्न केही महिनामै तयार हुने बताउँदै आएका छन् । तर राज्यको मोटर वाहन विभाग (डीडब्ल्यूभी) का हालसम्म सार्वजनिक नभएका अभिलेख र एक राज्य प्रवक्ताका अनुसार २०२५ मा टेस्लाले उक्त स्वीकृति पाउन कुनै पहल नै गरेको छैन । अभिलेखअनुसार टेस्लाले गत वर्ष क्यालिफोर्नियामा आफ्नो स्वचालित कारको परीक्षणका लागि एक पनि माइल पनि चलाएको थिएन । यो लगातार छैटौं वर्ष हो, जब टेस्लाले त्यहाँ शून्य माइलको अटोनोमस ड्राइभिङ रिपोर्ट गरेको छ । यसको मतलब कम्पनीले सार्वजनिक सडकमा अटोनोमस मोडमा परीक्षण गतिविधि गरेको छैन । क्यालिफोर्नियाको रोबोट्याक्सी नियामक प्रणालीमा परीक्षण माइलको अभिलेख अत्यन्तै महत्त्वपूर्ण हुन्छ । चालकविहीन राइड–हेलिङ सेवा सञ्चालन गर्नुअघि कम्पनीहरूले विभिन्न चरणका अनुमति लिनुपर्छ । टेस्लाको करिब १.५ ट्रिलियन डलर बजार मूल्यको ठूलो हिस्सा लगानीकर्ताको विश्वासमा आधारित छ कि कम्पनीले छिट्टै विशाल रोबोट्याक्सी फ्लीट सञ्चालन गर्नेछ र लाखौं अटोनोमस–ड्राइभिङ सफ्टवेयर सदस्यता बेच्नेछ । अमेरिकाको सबैभन्दा ठूलो अटो बजार क्यालिफोर्नियामा चालकविहीन सवारी सञ्चालन गर्नु यी महत्त्वाकांक्षाको मुख्य आधार हो । युनिभर्सिटी अफ साउथ क्यालिफोर्नियाका कानुन प्राध्यापक तथा अटोनोमस-ड्राइभिङ विज्ञ तथा क्यालिफोर्निया डीडब्ल्यूभीका सल्लाहकार समेत रहिसकेका ब्रायन्ट वाकर स्मिथ भन्छन्—टेस्लाले ‘हामी तयार छौं, नियामक तयार छैनन्’ भन्ने संकेत दिइरहेको छ जबकि वास्तविकता ‘नियामक तयार छन्, तर टेस्ला तयार छैन’ भन्ने हो । टेस्लाले प्रतिक्रिया दिन अस्वीकार गरेको छ । अक्टोबरको आम्दानीसम्बन्धी सम्मेलनमा मस्कले विश्लेषकहरूलाई कम्पनी ‘सुरक्षाप्रति अत्यन्त सचेत’ रहेको र नयाँ बजारमा ‘सावधानीपूर्ण दृष्टिकोण’ अपनाउने बताए । ‘हामी चाह्यौं भने यी सहरहरूमा सेवा खुला गर्न सक्थ्यौं,’ उनले भनेका थिए, ‘तर हामी जोखिम लिन चाहँदैनौं ।’ हालसम्म टेस्लाले टेक्सासको अस्टिनमा मात्र सानो पाइलट रोबोट्याक्सी सेवा सञ्चालन गरिरहेको छ, जहाँ क्यालिफोर्नियाको तुलनामा नियामक अवरोध कम छन् । सान फ्रान्सिस्को बे एरियामा भने कम्पनीले गत जुलाईदेखि ‘रोबोट्याक्सी’ नाम दिएको सेवा सञ्चालन गरिरहेको छ, तर त्यो वास्तविक रोबोट्याक्सी सेवा होइन । राज्य नियामक र ग्राहकलाई गरिएको खुलासाअनुसार त्यो मानव चालकसहितको चफर सेवा (सवारीसाधन प्रयोग गरेर अरूको काम गर्ने जस्तै (सामान बोक्ने तथा हिँडाइ–ढुवानी गर्ने ) हो, जहाँ चालकहरूले टेस्लाको ‘फुल सेल्फ–ड्राइभिङ’ चालक–सहायता सफ्टवेयर प्रयोग गर्छन्, जुन पूर्ण रूपमा अटोनोमस होइन । क्यालिफोर्नियामा वेमो जस्तै पूर्ण स्वचालित सवारी सञ्चालन गर्न टेस्लाले पहिलो चरणमा राज्यको डीएमभी र सार्वजनिक उपयोगिता आयोगबाट परीक्षण तथा सञ्चालन अनुमति लिनुपर्छ । हालसम्म टेस्लासँग डीएमभीको प्रारम्भिक तहको अनुमति मात्र छ, जसले चालकको सिटमा मानव सुरक्षा अनुगमनकर्तासहित मात्र परीक्षण गर्न अनुमति दिन्छ । डीएमभी प्रवक्ताका अनुसार टेस्लाले थप अनुमति मागेको छैन । प्रस्तावित डीएमभी नियमअनुसार चालकविहीन परीक्षणका लागि आवेदन दिनुअघि कम्पनीले कम्तीमा ५० हजार माइल (८० हजार ४६७ किमि) सार्वजनिक सडकमा मानव सुरक्षा चालकसहित अटोनोमस ड्राइभिङ परीक्षण गर्नुपर्छ । यी नियमहरू यसै वर्ष अन्तिम रूप पाउने अपेक्षा छ । टेस्लाले २०१९ यता राज्य नियामकसमक्ष कुनै परीक्षण माइल अभिलेख गराएको छैन र २०१६ यता जम्मा ५६२ माइल मात्र अभिलेख गरेको छ । तुलनात्मक रूपमा वेमोले २०१४ देखि २०२३ बीच १ करोड ३० लाखभन्दा बढी परीक्षण माइल पूरा गरेको थियो र सातवटा फरक नियामक स्वीकृति प्राप्त गरेको थियो । २०२३ मा उसले चालकविहीन रोबोट्याक्सीमा यात्रुबाट भाडा लिन अनुमति पायो । हाल क्यालिफोर्नियामा व्यावसायिक रूपमा चालकविहीन सवारी सञ्चालन गर्न अनुमति पाएका तीन कम्पनीमध्ये वेमो एक हो र मस्कले परिकल्पना गरेको जस्तै ठूलो रोबोट्याक्सी फ्लीट सञ्चालन गर्न स्वीकृति पाएको एक मात्र कम्पनी हो । गत वर्ष लिखित टिप्पणीमा टेस्लाले क्यालिफोर्निया डीएमभीका प्रस्तावित नियम संशोधनहरूको आलोचना गरेको थियो । राज्य सडकमा परीक्षण र न्यूनतम माइल आवश्यकताको औचित्यमाथि प्रश्न उठाउँदै कम्पनीले दुर्घटना तथा प्रणाली असफलतासम्बन्धी ‘अत्यधिक बोझिलो प्रतिवेदन आवश्यकताहरू’ को गुनासो पनि गरेको थियो । मस्कले प्रायः क्यालिफोर्नियाका नियमहरूलाई रोबोट्याक्सी तैनाथीमा मुख्य अवरोधका रूपमा प्रस्तुत गर्दै आएका छन् । अक्टोबर २०२४ को आम्दानी सम्मेलनमा उनले क्यालिफोर्नियामा ‘निकै लामो नियामक स्वीकृति प्रक्रिया’ रहेको बताए । ‘अर्को वर्ष स्वीकृति नपाए म छक्क पर्नेछु,’ उनले भने, ‘तर यो पूर्ण रूपमा हाम्रो नियन्त्रणमा भने छैन ।’
किम जोंग उनले उत्तर कोरियाको परमाणु शक्तिबारे अमेरिकासँग के भने ?
काठमाडौं । उत्तर कोरियाका शासक किम जोंग उनले आफ्नो देशको परमाणु हतियार कार्यक्रमलाई अझ विस्तार गर्ने र यसको सञ्चालन दायरा बढाउने इशारा व्यक्त गरेका छन् । एक सन्देशमा उनले अमेरिकालाई उत्तर कोरियाको परमाणु शक्तिलाई स्वीकार गर्न आग्रह गरेका छन् । अमेरिकाले उत्तर कोरियाका परमाणु हतियारहरू कायम रहने तथ्य स्वीकार गरे उत्तर कोरिया र अमेरिका आपसी सम्बन्ध सुधार गर्न सकिने किमको भनाइ छ । यो अभिव्यक्ति राजधानी प्योङयाङमा आयोजित वर्कर्स पार्टी अफ कोरियाको पाँच वर्षमा हुने सम्मेलनमा आएको हो । यसलाई अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको अप्रिलमा चीन भ्रमणअघि सम्भावित वार्ताको संकेतका रूपमा हेरिएको छ । यद्यपि किमले दक्षिण कोरियासँग सम्बन्ध सुधार्ने कुनै पनि आशा अस्वीकार गर्दै त्यसलाई उत्तर कोरियाको ‘सबैभन्दा दुश्मन देश’ बताएका छन् । उनले अमेरिकासँगको सम्बन्धको भविष्य पूर्ण रूपमा अमेरिकाको रवैयामा निर्भर रहने पनि बताएका छन् ।