युरोपले अन्तरिक्ष कार्यक्रममा २२ अर्ब युरो बजेट खर्च गर्ने

काठमाडौं । युरोपेली अन्तरिक्ष एजेन्सी (इएसए) ले आगामी ३ वर्षको आफ्ना कार्यक्रमहरूको लागि २२.१ अर्ब युरोको बजेट सुरक्षित गरेको बिहीबार जनाएको छ। महाद्वीपले आफ्नो अन्तरिक्ष प्रयासलाई तीव्र पार्ने लक्ष्यसहित योजनाहरूको घोषणा गरेको हो । यो रकम इएसएका २३ सदस्य राष्ट्रहरूले सन् २०२२ मा प्रतिबद्धता गरेको भन्दा ५ अर्ब युरो बढी हो । ‘यो पहिले कहिल्यै भएको थिएन,’ जोसेफ एशबाकरले जर्मन शहर ब्रेमेनमा इएसएको मन्त्रीस्तरीय परिषद्को बैठकमा भने ।  बैठकअघि विज्ञहरूले करिब २० अर्ब युरोको बजेट हुने अपेक्षा गरेका थिए ।   ‘नयाँ प्रतिज्ञाले अन्तरिक्ष एक ‘आर्थिक क्षेत्र हो जुन धेरै छिटो बढिरहेको छ,’ भन्ने यूरोपको बुझाईलाई प्रष्ट पारेको छ,’ एशबाकरले भने, ‘यो सुरक्षा र रक्षाका लागि पनि अधिक महत्त्वपूर्ण छ । यो युरोपले समात्नु पर्ने एउटा अति आवश्यकीय क्षेत्र हो ।’ यस वर्ष ५० वर्ष पुरानो इएसएले आफ्ना सदस्य देशहरूबीच नागरिक अन्तरिक्ष परियोजनाहरूलाई अघि बढाउन युरोपेली संघका निकायहरूसँग समन्वय गर्नेछ । अर्बपति एलन मस्कको स्पेसएक्सजस्ता निजी कम्पनीहरूले अन्तरिक्ष प्रक्षेपण क्षेत्रमा प्रभुत्व जमाएका कारण हालैका वर्षहरूमा अन्तरिक्ष उद्योगमा उल्लेखनीय परिवर्तन आएको छ।   सन् २०२२ मा मस्कोले युक्रेनमाथि आक्रमण गरेपछि रुसले आफ्नो रकेट हटाएपछि युरोपले अन्तरिक्षमा आफ्ना परियोजनाहरू प्रक्षेपण गर्ने स्वतन्त्र बाटो पनि गुमाएको छ।   अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत जनवरीमा ह्वाइट हाउस फर्केयता अमेरिकी अन्तरिक्ष एजेन्सी नासाको बजेट कटौती लक्ष्य अङ्गालेका थिए ।  नासाले मङ्गल ग्रहको सतहमा अलौकिक जीवनको सङ्केतको खोजी गर्ने रोभर रोजालिन्ड फ्र्याङ्कलिन परियोजनालाई सहयोग गर्ने बताएको छ । यो मिसन सन् २०२८ मा प्रक्षेपण गर्ने योजना छ ।

धनको खेल : गुगल जोडीले एलिसनलाई चौंथो स्थानमा धकेले

काठमाडौं । विश्वका अर्बपतिहरूको सूचीमा यतिबेला तीव्र उतार–चढाव देखिँदैछ । गुगलका सहसंस्थापक ल्यारी पेज र सर्गेई ब्रिनको नेटवर्थमा आएको उल्लेख्य वृद्धिपछि ओरेकलका ल्यारी एलिसन शीर्ष ३ बाट बाहिरिएका छन्।  ब्लूमबर्ग बिलियनियर इन्डेक्सअनुसार एलिसनको नेटवर्थ घटेपछि उनी चौथो स्थानमा झर्नुपरेको हो, जबकि पेज र ब्रिन क्रमशः दोस्रो र तेस्रो स्थानमा उक्लिएका छन् । विश्वका शीर्ष १० धनीमध्ये दुई जनाको नेटवर्थमा गिरावट आएको हो जसमध्ये एलिसन र एनभीडीयाका संस्थापक जेनसन हुवाङ परेका छन् । एलिसनको नेटवर्थमा २.९२ अर्ब डलरको कमी आएको छ र उनी २५४ अर्ब डलरसहित धनीहरूको सूचीमा चौथो स्थानमा पुगेका छन् । अर्कोतर्फ ब्रिनको नेटवर्थ ३.९२ अर्ब डलरले बढेर २५८ अर्ब डलर पुगेको छ, जसले उनलाई तेस्रो स्थानमा पुर्‍यायाएको हो । यो वर्ष मात्रै ब्रिनको नेटवर्थमा ९९.३ अर्ब डलरको वृद्धि भएको छ । एलन मस्क हाल ४४२ अर्ब डलरका साथ सूचीमा पहिलो स्थानमा छन् भने ल्यारी पेज २७६ अर्ब डलरसहित दोस्रो स्थानमा । यो वर्ष पेजको सम्पत्ति सबैभन्दा धेरै १०८ अर्ब डलरले बढेको हो । अमेजनका संस्थापक जेफ बेजोस २५१ अर्ब डलरसहित पाँचौं; फेसबुकका मार्क जुकरबर्ग (२२५ अर्ब) छैटौं; फ्रान्सका बर्नार्ड अरनोल्ट (१९६ अर्ब) सातौं; स्टीभ बाल्मर (१६६ अर्ब) आठौं; माइकल डेल (१५५ अर्ब) नवौं र जेनसन ह्वाङ (१५५ अर्ब) दशौं स्थानमा छन् । अमेरिकी लगानीकर्ता वारेन बफेट (१५३ अर्ब) सूचीमा अहिले ११औं स्थानमा छन् । भारतका मुकेश अम्बानी (१०७ अर्ब) १८औं र गौतम अदानी (८६.५ अर्ब) २०औं स्थानमा परेका छन् । विश्वका अर्बपतिहरूको नेटवर्थ परिवर्तन भइरहनुका कैयौं कारण छन् । प्रमुख रूपमा कम्पनीका सेयर मूल्यमा उतार–चढाव, टेक सेक्टरको तीव्र मन्दी र वैश्विक आर्थिक वातावरणले सूचीको क्रम प्रभावित गर्छ । सेयर बजार घटेमा अर्बपतिहरूको नेटवर्थ तुरुन्तै संकुचित हुन्छ र उछाल आएमा उनीहरूको नेटवर्थ बढेर स्थानसमेत माथि चढ्छ । त्यस्तै, कम्पनीको कमाइ, त्रैमासिक रिपोर्ट, नयाँ प्रोजेक्ट वा इनोभेसन, तथा सरकारी नीति–निर्देश, ब्याजदर र डलरको मूल्य जस्ता कारकहरूले पनि उनीहरूको नेटवर्थमा प्रत्यक्ष असर पार्छ । धेरै अर्बपतिहरूको नेटवर्थ सेयरमा आधारित भएकाले बजारका साना–साना हलचलले पनि सूचीमा ठूलो फेरबदल देखिन्छ ।

हङकङको आवासीय कम्प्लेक्समा आगलागी हुँदा ४४ जनाको मृत्यु, सयौं बेपत्ता

काठमाडौं । हङकङको एक आवासीय कम्प्लेक्समा भीषण आगलागी हुँदा कम्तीमा ४४ जनाको ज्यान गएको छ भने करिब ३०० जना बेपत्ता भएका छन् । मर्मतसम्भारको काममा प्रयोग गरिएको असुरक्षित बाँसको स्काफोल्डिङ र फोम पदार्थका कारण झनै फैलिएको हुनसक्ने प्रहरीको भनाइ छ । बुधबार दिउँसो लागेको आगोको अत्यधिक तापक्रम र बाक्लो धुवाँका कारण वाङ फुक कोर्ट आवासीय परिसरको माथिल्ला तल्लामा फसेका मानिससम्म पुग्न दमकलकर्मीहरू रातभर संघर्षरत थिए । उत्तरी ताई पो जिल्लामा रहेको यो बाक्लो बसोबास भएको परिसरमा ८ वटा ब्लकमा २ हजार फ्ल्याट छन्, जहाँ ४ हजार ६०० भन्दा बढी मानिस बस्छन् । हङकङमा किफायती आवासको पुरानो समस्या चलिरहेको अवस्थामा यो गम्भीर दुर्घटना भएको हो । बिहीबार बिहानसम्म अधिकारीहरूले ४ वटा ब्लकमा आगो नियन्त्रणमा आएको बताएका छन् भने बाँकी ३ वटामा काम जारी छ । घटनास्थलका भिडियोहरूमा ३२ तले दुईवटा टावरमा बाँसको स्काफोल्डिङ र हरियो जालीले ढाकिएको ठाउँबाट अझै आगोका ज्वाला निस्किरहेको देखिन्थ्यो र बाक्लो धुवाँ आकाशमा उडिरहेको थियो । प्रहरीको भनाइ अनुसार सुरक्षामापदण्ड नपुगेका प्लास्टिक र मेस सिटले भवन ढाकिएको थियो । साथै मर्मत कार्य गरिरहेको निर्माण कम्पनीले एउटा ब्लकका केही झ्यालहरू फोम पदार्थले बन्द गरेको पाइयो । ‘हामीसँग यो दुर्घटना निर्माण कम्पनीका जिम्मेवार व्यक्तिहरूको गम्भीर लापरबाहीका कारण भएको भन्ने ठोस कारण छ, जसले आगो नियन्त्रण बाहिर फैलियो र विशाल जनहानि भयो,’ हङकङ प्रहरीकी सुपरिन्टेन्डेन्ट आइलीन चुंगले भनिन् । निर्माण कम्पनीका दुई निर्देशक र एक इन्जिनियरिङ सल्लाहकारलाई आगलागीसम्बन्धी ‘हत्या जस्तै अपराध’ को आशंकामा पक्राउ गरिएको प्रहरीले जनाएको छ । बाँसको स्काफोल्डिङ र हरियो कन्स्ट्रक्सन मेस परम्परागत चिनियाँ निर्माणमा प्रचलित भए पनि सुरक्षा कारण हङकङमा यसलाई यो वर्ष मार्चदेखि क्रमशः हटाइँदै आएको छ । प्रहरीका अनुसार मृतकमध्ये एक दमकलकर्मी पनि छन् । ४५ जना अस्पतालमा गम्भीर अवस्थामा छन् । हङकङका प्रमुख कार्यकारी जोन लीले भने, ‘पहिलो प्राथमिकता आगो निभाउने र फसेका बासिन्दालाई बचाउने हो । दोस्रो– घाइतेको उपचार । तेस्रो– प्रभावित परिवारलाई सहयोग । त्यसपछि पूर्ण छानबिन सुरु हुनेछ।’ करिब २७९ जना बेपत्ता छन् र ९०० जना आठवटा अस्थायी आश्रयमा बसेका छन् । यो मृत्यु संख्या १९४८ पछि हङकङमा आगलागीबाट भएको सबैभन्दा ठूलो जनहानि हो, जब एक गोदाममा आगलागी हुँदा १७६ जनाको मृत्यु भएको थियो । यो आगलागीलाई २०१७ मा लन्डनको ग्रेनफेल टावरको आगलागीसँग तुलना गरिएको छ, जहाँ ७२ जनाको मृत्यु भएको थियो । त्यो दुर्घटना भवनमा ज्वलनशील बाहिरी प्यानल प्रयोग गरिएको कारण भएको ठहर गरिएको थियो । ग्रेनफेल युनाइटेड समूहले लेखेको छ— ‘हङकङका पीडित सबैप्रति हाम्रो हार्दिक संवेदना । तपाईंहरू एक्लो हुनुहुन्न ।’ धेरै बासिन्दाहरूले सोशल मिडियामा लापरबाही र लागत कटौतीका कारण आगो लागेको दाबी गरेका छन् । एक भिडियोमा मर्मत कार्य गर्दै रहेका मजदूरहरू स्काफोल्डिङमाथि चुरोट सेवन गरिरहेको देखिन्थ्यो । चीनका राष्ट्रपति सी जिनपिङले मुख्यभूमिबाट ‘पूर्ण प्रयास गरेर आगो निभाउन र मानवीय क्षति कम गर्न’ निर्देशन दिएको चिनियाँ राज्य प्रसारक सिसिटिभीले जनाएको छ । हङकङको यातायात विभागले बिहीबार बिहान क्षेत्रका केही सडक बन्द हुने र ३९ वटा बस रुटहरू परिवर्तन गरिएको बतायो । कम्तीमा ६ विद्यालय बिहीबारका लागि बन्द गरिएको छ । बुधबार आगो लागिरहेका ब्लकहरूबाट स्काफोल्डिङका फ्रेम तल खसिरहेका देखिन्थे, र सयौं दमकल र एम्बुलेन्सहरू परिसर बाहिर लाइन लागेका थिए । हङकङ सरकारले २०१९–२०२४ बीच बाँस स्काफोल्डिङसँग सम्बन्धित २२ जनाको मृत्यु भएको कारण मार्चदेखि क्रमिक रूपमा बाँस स्काफोल्डिङ हटाउने घोषणा गरेको थियो । भविष्यमा ५० प्रतिशत सार्वजनिक निर्माणकाममा धातुको फ्रेम अनिवार्य गरिएको छ । यद्यपि बाँस स्काफोल्डिङ हटाउने निर्णय आगलागी जोखिमका कारण नभए पनि यस वर्ष कम्तीमा ३ वटा आगलागी बाँस स्काफोल्डिङसम्बन्धी भएको, औद्योगिक दुर्घटना पीडित अधिकार समूहले जनाएको छ । हङकङको अत्यधिक मूल्यवान आवास प्रणाली धेरै वर्षदेखि सामाजिक असन्तुष्टिको मुख्य कारण बनेको छ । यो दुर्घटनाले आगामी डिसेम्बरमा हुने विधान परिषद् चुनावअघि जनआक्रोश झनै बढाउन सक्छ । वाङ फुक कोर्ट हङकङका धेरै उच्चतले सरकारी आवासहरूमध्ये एक हो । ताई पो ३ लाख मानिस बसोबास गर्ने घना क्षेत्र हो । १९८३ देखि आबाद यो परिसर सरकारी अनुदानमा चलने घरस्वामित्व योजनाअन्तर्गत पर्ने बताइन्छ । अनलाइन विवरणअनुसार कम्प्लेक्समा ३३० करोड हङकङ डलर (४२.४३ मिलियन डलर) को लागतमा एक वर्षदेखि मर्मत भइरहेको थियो, जहाँ प्रत्येक युनिटले १.६ देखि १.८ लाख हङकङ डलर तिरेका छन् । (सीएनबीसीबाट अनूदित तथा सम्पादित)