खामेनीको हत्यापछि इरानमा सङ्क्रमणकालीन योजना सार्वजनिक, अन्तरिम नेतृत्वमा तीन नेता
काठमाडौं । इरानले सर्वोच्च नेता आयातोल्लाह अली खामेनीसहितका केही अधिकारी र दर्जनौं उच्च सैन्य अधिकारीको संयुक्त आक्रमणमा मृत्यु भएपछि तेहरानले सङ्क्रमणकालीन योजनाको घोषणा गरेको छ । सरकारले राष्ट्रपति, न्यायपालिकाका प्रमुख र ‘गार्जियन काउन्सिल’ का एक न्यायविद्सहित अन्तरिम नेतृत्व परिषदको गठन गरेको छ । यो अन्तरिम परिषदले इरानी कानुनको निरीक्षण र चुनावी उम्मेदवारहरूको जाँच गर्दछ । इरानका उच्च सुरक्षा प्रमुख अली लारीजानीले पनि केन्द्रीय भूमिका निर्वाह गरिरहेका छन् । इरानी संस्थापन नेता तथा राष्ट्रपति रहेका ७१ वर्षीय मसुद पेजेश्कियान नयाँ सर्वोच्च नेता निर्वाचित नभएसम्म देशको नेतृत्व गर्ने अन्तरिम परिषदका तीन सदस्यमध्ये एकको भूमिकामा रहने छन् । मुटु सर्जनबाट सुधारवादी राजनीतिज्ञ बनेका उनले सन् २०२४ जूनमा आफ्नो पूर्ववर्तीको हेलिकप्टर दुर्घटनामा मृत्यु भएपछि पदभार ग्रहण गरेका थिए । पेजेस्कियनको जन्म सन् १९५४ मा टर्की मूलका इरानी पिता र कुर्द आमाबाट पश्चिम अजरबैजानको उत्तर पश्चिमी प्रान्त महाबाद शहरमा भएको थियो । आफ्नो शान्त व्यवहारका लागि चिनिने प्राविधिज्ञ पेजेस्कियनले अशान्त समयमा सरकारको नेतृत्व गरेका छन्, उनको कार्यकालसँगै गत वर्ष इजरायलसँग १२ दिने युद्ध र जनवरीमा बढ्दो जीवन लागतको बारेमा ठूलो विरोध प्रदर्शन भएको छ । आइतबार उनले खामेनीको हत्यालाई ‘मुस्लिम विरुद्धको युद्धको घोषणा’ को संज्ञा दिँदै इरानको प्रतिक्रिया ‘वैधानिक कर्तव्य र अधिकार’ का लागि हुने बताए । अर्का नेता ६८ वर्षीय शिया धर्मगुरु घोलमहुसेन मोहसेनी इजेईलाई पनि नेतृत्व परिषदको सदस्य बनाइएको छ। उनको जन्म मध्य इरानको इस्फाहान प्रान्तको एजेह गाउँमा भएको थियो । इस्लामिक गणतन्त्रको न्यायपालिका र सुरक्षा संयन्त्रमा लामो समयदेखि अनुभव रहेका यी व्यक्तित्वलाई खामेनीले सन् २०२१ मा न्यायपालिकाको प्रमुख नियुक्त गरेका थिए । न्यायपालिकाको वेबसाइटका अनुसार इजेईले शिया धर्मको पवित्र शहर कोमबाट इस्लामिक अध्ययन पूरा र अन्तर्राष्ट्रिय कानुनमा स्नातकोत्तर गरेका छन् । उनले होजातोलेस्लामको लिपिकीय पद पनि पाएका छन् । यो पद अयातोल्लाहभन्दा एक पद तल मानिन्छ । सन् २००९ मा तत्कालीन राष्ट्रपति महमुद अहमदिनेजादले गुप्तचर मन्त्रीको रूपमा काम गरिरहेका बेला भएको प्रदर्शनमा भएको दमनको कारण उनलाई ‘गम्भीर मानवअधिकार उल्लङ्घन’ गरेको आरोपमा अमेरिकी प्रतिबन्धमा राखिएको थियो । खामेनीको हत्यापछि उनले भने, ‘अमेरिकाको दुष्ट शासन र अपमानित र निन्दक सियोनलाई थाहा हुनुपर्छ कि महान राष्ट्र इरानले आफ्नो वीर नेताको हत्यारालाई कहिल्यै माफ गर्नेछैन ।’ अन्तरिम नेतृत्व परिषदमा रहेका तेस्रो अधिकारी ६५ वर्षीय धर्मगुरु अलिरेजा अराफी इरानको शिया मदमिनहरूको व्यवस्थापन केन्द्रका प्रमुख हुन् । उनी ‘एसेम्ब्ली अफ एक्सपर्ट’हरूको दोस्रो उपाध्यक्षको रूपमा काम गर्छन् र यो सर्वोच्च नेताको नियुक्ति र निरीक्षण गर्ने निकाय हो । उनी गार्जियन काउन्सिलका सदस्य पनि हुन् । अराफी सन् १९७१ मा इस्लामिक विज्ञानको अध्ययन गर्न पवित्र शहर कोममा सरेका थिए । उनको आधिकारिक वेबसाइटका अनुसार शाह मोहम्मद रेजा पहलवीको विरोध गरेको आरोपमा १६ वर्षको उमेरमा जेल सजाय सुनाइएको थियो । तीन काउन्सिल सदस्यहरू मध्ये सबैभन्दा कान्छो र कम चिनिने उहाँले सामान्यतया शान्त तथा सावधानीपूर्वक आफ्ना धारणालाई नागरिक र विश्व समुदायबीच पुर्याउने गरेका छन् । तथापि, आइतबार उनले एक विद्रोही टिप्पणी राख्दै भने, ‘राष्ट्र क्रान्तिको बाटोमा अघि बढ्नेछ । मानिसहरूको, प्रिय युवाहरू र प्रिय विद्यार्थीहरूको रगतको बदला लिनेछु ।’ वर्तमान सरकारको नेतृत्वमा रहेका ६८ वर्षीय अली लारीजानी हाल इरानको सर्वोच्च सुरक्षा निकाय, सर्वोच्च राष्ट्रिय सुरक्षा परिषदका प्रमुख हुन् । इस्लामिक गणतन्त्रको सेना, मिडिया र विधायिकामा लामो सेवापछि उहाँले खामेनीको विश्वास प्राप्त गरेको विश्वास गरिन्छ । उनको जन्म सन् १९५७ मा इराकको नजाफमा एक प्रमुख शिया धर्म गुरुको घरमा भएको थियो जो इस्लामिक गणतन्त्रका संस्थापक अयातोल्लाह रुहोल्लाह दिवंगत खोमेनीका निकट मानिन्छन् । उनको परिवार दशकौँदेखि इरानको राजनीतिक प्रणालीमा प्रभावशाली रहँदै आएको छ । आइतबार लारीजानीले खामेनीपछि इरानको सङ्क्रमणकालीन योजनाको रूपरेखा प्रस्तुत गरेका थिए । र, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको जस्तै भाषा प्रयोग गर्दै इजरायल र अमेरिकामाथि ‘उनीहरूले पहिले कहिल्यै अनुभव नगरेको शक्ति’ ले आक्रमण गर्ने वाचा गरेका थिए ।
चीनद्वारा इरानी सर्वोच्च नेता खामेनीको हत्याको कडा विरोध र निन्दा
काठमाडौं । अमेरिका र इजरायलले इरानमा गरेको आक्रमणमा इरानी सर्वोच्च नेता आयातोल्लाह अलि खामेनीको मृत्यु भएको घटनाको कडा शब्दमा विरोध गर्दै इरानमा सैन्य कारबाही रोक्न आग्रह गरेको छ । चीनको विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यो हत्या इरानको सम्प्रभुता र सुरक्षाको गम्भीर उल्लङ्घन हो, संयुक्त राष्ट्र सङ्घको बडापत्रको उद्देश्य र सिद्धान्त तथा अन्तर्राष्ट्रिय सम्बन्धका आधारभूत मान्यतामाथि अतिक्रमण हो ।’ चीनले यसको कडा विरोध र निन्दा गरेको छ । विज्ञप्तिमा भनिएको छ, ‘चीनले इरानमाथिको सैन्य कारबाही तत्काल रोकिनुपर्छ ।’ चिनियाँ सरकारी सञ्चारमाध्यमले बेइजिङका उच्च कूटनीतिज्ञ वाङ यी र रुसी समकक्षी सर्गेइ लाभरोभबीच टेलिफोन वार्ता भएपछि चिनियाँ सरकारी सञ्चारमाध्यमले चीनले इरानमा उच्च अधिकारीलाई लक्षित गरी भएको आक्रमणको विरोध गरेको हो । अमेरिका र इजरायलले ’सार्वभौम नेताको खुलेआम हत्या र सत्ता परिवर्तनका लागि उक्साएको’ कुरा चीनका लागि ‘अस्वीकार्य’ भएको चिनियाँ सरकारी समाचार एजेन्सी सिन्ह्वाले रूसी नेता लाभरोभको पहलमा भएको संवादका क्रममा वाङले बताएको जनाएको छ । चिनियाँ समाचार संस्था सिन्ह्वाका अनुसार वाङले लाभरोभसँग ‘मध्यपूर्वको अवस्थाले यस षेत्रको सुरक्षालाई खतरनाक मोडमा धकेल्न सक्ने भन्दै यसप्रति चीन निकै चिन्तित भएको बताए । वाङले भने, ‘अन्तर्राष्ट्रिय समुदायले ‘अराजक गतिविधि’ र विश्व प्रतिगमनको विरोध गर्दै स्पष्ट सन्देश पठाउनुपर्छ ।’ आक्रमणमा परी कम्तीमा एक जना चिनियाँ नागरिक घाइते भएको र केही अस्थायी यात्रु अलपत्र परेको बेइजिङको विदेश मन्त्रालयले आइतबार राति जनाएको छ । विज्ञप्तिमा यस क्षेत्रमा प्रभावित चिनियाँ नागरिकहरूको सङ्ख्या, भौतिक अवस्था र स्थानको बारेमा विस्तृत विवरण दिइएको छैन । बेइजिङले केही दिन अघि नै इरानमा रहेका आफ्ना नागरिकहरूलाई ‘जतिसक्दो चाँडो’ त्यहाँबाट बाहिर निस्कन आग्रह गरेको छ। चिनियाँ राहदानी धारकहरूले इरानबाट अजरबैजान, अर्मेनिया र टर्कीए जाने भिसामुक्त स्थलमार्गमा जान सक्ने विदेश मन्त्रालयले आइतबार उक्त आह्वान दोहोर्याउँदै जानकारी गराएको हो ।
मध्यपूर्व : इजरायल लामो संघर्षका लागि तयार, ट्रम्पले साथ छाड्न सक्नेमा विशेषज्ञको चिन्ता
काठमाडौं । मध्यपूर्वमा बढ्दो तनावका बीच इजरायल भित्रैबाट एउटा गम्भीर चिन्ता सार्वजनिक भएको छ- कहीँ कतै डोनाल्ड ट्रम्पले इरानविरुद्धको युद्धमा साथ छोड्ने हुन् कि ? इजरायली पत्रकार र रक्षा विश्लेषकहरूले चेतावनी दिएका छन् कि युद्ध लम्बिँदै गए अमेरिकाको धैर्य कमजोर पर्न सक्छ, जसले रणनीतिक साझेदारीमै दरार ल्याउन सक्छ । रक्षा विशेषज्ञ योआव लिमोरले दैनिक इसराइल हायोममा लेख्दै भनेका छन् कि इजरायलले लामो संघर्षका लागि तयारी गरिसकेको छ, तर वाशिंगटन त्यति धैर्यवान् रहने ग्यारेन्टी छैन । ‘हामीसँग दिनौं वा हप्तौं सम्भवतः अझ लामो समयसम्म युद्ध जारी राख्ने तयारी छ,’ उनले लेखेका छन्, ‘तर ट्रम्पसँग त्यति धैर्य छ कि छैन स्पष्ट छैन ।’ लिमोरका अनुसार छिट्टै अमेरिका–इजरायलबीच रणनीतिक मतभेद सतहमा आउन सक्छन् । वरिष्ठ पत्रकार नहूम बारनेआले येदिओथ अहरोनोथमा थप तीखो टिप्पणी गरेका छन् । ‘अमेरिकाका लागि यो युद्ध ‘चयन’ हुन सक्छ, तर इजरायलका लागि ‘आवश्यकता’ हो,’ उनले लेखेका छन् । उनका अनुसार हाल ट्रम्प प्रशासनले खुला समर्थन जनाए पनि अमेरिकी जनमत लामो युद्धका कारण फेरिन सक्छ, जसको प्रत्यक्ष असर सैन्य र कूटनीतिक सहयोगमा पर्न सक्छ । उता एन १२ का अनुसार इजरायली नेतृत्व र सुरक्षा अधिकारीहरूले ‘यो त सुरुआत मात्र हो, अपरेशन धेरै दिनसम्म चल्नेछ’ भन्ने सन्देश दिइरहेका छन् । यसले तेल अभिभ र वाशिंगटन एउटै लक्ष्यमा देखिए पनि युद्धको अवधि र धैर्यको सीमा फरक–फरक हुन सक्ने देखाउँछ । विश्लेषकहरूका अनुसार यदि अमेरिका–इजरायलबीच समन्वय कमजोर भयो भने त्यसको प्रभाव केवल युद्धमै सीमित रहने छैन, यसले मध्यपूर्वको शक्ति–सन्तुलन, इरानको रणनीति र विश्व तेल बजारसम्म असर पार्न सक्छ । अमेरिका र इजरायलको संयुक्त आक्रमणमा हालसम्म इरानमा कम्तीमा २०१ जनाको मृत्यु भएको आधिकारिक पुष्टि भए तापनि कतिपय अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले मृतकको संख्या एक हजार नाघेको अनुमान गरेका छन्। यो घटनामा सैन्य अधिकारीहरू मात्र नभई ठुलो संख्यामा सर्वसाधारण र बालबालिकाहरू पनि मारिएका छन् । विशेषगरी दक्षिणी इरानको मिनाबस्थित एउटा प्राथमिक विद्यालयमा भएको बमबारीमा १०८ जना बालबालिकाले ज्यान गुमाएका छन् । आक्रमणमा परी ७५० भन्दा बढी व्यक्ति घाइते भएका छन् र कतिपय क्षेत्रमा सञ्चार सेवा अवरुद्ध भएकाले क्षतिको पूर्ण विवरण आउन अझै बाँकी छ।