कतारले ग्यासको उत्पादन रोकेपछि ग्यासको मूल्यमा ४५ प्रतिशत वृद्धि
काठमाडौं । कतारको राज्यद्वारा सञ्चालित ऊर्जा कम्पनी कतार इनर्जीले आफ्ना दुई मुख्य ग्यास प्रशोधन केन्द्रहरूमा सुविधाहरूमा इरानले आक्रमण गरेपछि तरलीकृत प्राकृतिक ग्यास उत्पादन रोक्दिएपछि युरोपेली ग्यासको मूल्यमा सोमबारदेखि वृद्धि भएको छ । युरोपेली क्षेत्रका लागि ग्यासको महत्त्वपूर्ण मानिने ‘डच टिटिएफ प्राकृतिक ग्याँस सम्झौता’ अनुसार नै इरानी आक्रमणपछि ग्यासको मूल्यमा लगभग ४५ प्रतिशतले बढेर ४६ यूरो भन्दा बढीमा पुगेको छ । इरान युद्धका कारण खाडी क्षेत्रमा ग्यासको आपूर्ति कटौती हुने डरले ग्यासको मूल्य २० प्रतिशतभन्दा बढीले बढेको थियो ।
यात्रा प्रतिवन्धका कारण अबुधाबीमा रोकिएका पर्यटकहरूको सम्पूर्ण होटल खर्च सरकारले बेहोर्ने
काठमाडौं । यात्रा प्रतिवन्धका कारण अबुधाबीमा अलपत्र परेका पर्यटक तथा आगन्तुकहरूको लागि अबुधाबीको संस्कृति तथा पर्यटन विभागले रोकिएर बस्ने सबैको खर्च बेहोर्ने भएको छ । विभागले ५ दिनअघि नै निर्णय गरिएको एक परिपत्र जारी गर्दै अबुधावी क्षेत्रमा काबु बाहिरको परिस्थिति परिस्थितिले गर्दा आफ्नो देश फर्कन नसकेका र भिसा वा होटलको चेक–आउट मिति सकिएका पाहुनाहरूको बसाइ अवधि लम्ब्याउन त्यहाँका सबै होटलहरूलाई निर्देशन दिएको छ । विभागले होटलका महाप्रवन्धकहरूलाई पठाएको पत्रमा स्पष्ट पारेको छ कि चेक–आउट मिति पुगे पनि काबु बाहिरको परिस्थितिका कारण यात्रा गर्न नसक्ने पाहुनाहरूलाई, उनीहरू प्रस्थान गर्न सक्षम नभएसम्म होटलमै बस्ने व्यवस्था मिलाउनुपर्नेछ । यसरी थपिएको बसाइ अवधिको सम्पूर्ण खर्च अबुधाबी संस्कृति तथा पर्यटन विभाग स्वयंले बेहोर्ने भएको छ । होटलहरूलाई यस अवधिको बिल तथा इनभ्वाइसहरू विभागको तोकिएको इमेल ठेगानामा पठाउन सूचित गरिएको छ । यस प्रक्रियामा थप जानकारी आवश्यक परेमा वा कुनै समस्या आएमा विभागले आफ्नो ‘बिजनेस कन्टिन्युटी टिम’ को सम्पर्क नम्बर ०२६५७६२८३ समेत सार्वजनिक गरेको छ । अबुधाबी सरकारको यो निर्णयले अनपेक्षित यात्रा प्रतिबन्धका कारण आर्थिक तथा मानसिक तनावमा परेका पर्यटकहरूलाई ठूलो राहत मिल्ने अपेक्षा गरिएको छ ।
खाडी संकट गहिरिँदै : बीमा कम्पनीहरू पछि हट्दा विश्व ऊर्जा बजार त्रसित
काठमाडौं । इरान र इजरायलबीच चर्किएको सैन्य टकरावले यतिबेला फारसको खाडीमा ठूलो सुरक्षा संकट निम्त्याएको छ, जसको प्रत्यक्ष प्रभाव विश्वको ऊर्जा बजारमा देखिन थालेको छ । सोमबार मात्रै कच्चा तेलको मूल्यमा १० प्रतिशतभन्दा बढीको उछाल आउनुले आगामी दिनहरू अझै कष्टकर हुने संकेत गरेको छ । यो सैन्य तनाव केवल दुई देशबीच मात्र सीमित नरही विश्वकै प्रमुख व्यापारिक मार्गहरूमा फैलिएपछि अन्तर्राष्ट्रिय बजारमा त्रास फैलिएको हो । जानकारहरूका अनुसार यदि यो तनाव तत्कालै साम्य भएन भने तेलको मूल्यले नयाँ उचाइ लिने निश्चित छ, जसले विश्वव्यापी महँगीलाई थप इन्धन दिनेछ । यसैबीच, विश्वका प्रमुख समुद्री बीमा प्रदायकहरूले चालेको कदमले यो संकटलाई झन् जटिल बनाइदिएको छ । ब्लुमबर्गका अनुसार इन्टरनेशनल ग्रुप अफ प्रोटेक्सन एन्ड आईडेम्निटी क्लब्सका आधाभन्दा बढी सदस्यहरूले फारसको खाडी क्षेत्रमा प्रवेश गर्ने जहाजहरूका लागि प्रदान गरिँदै आएको ‘युद्ध–जोखिम’ बीमा कभर फिर्ता लिने घोषणा गरेका छन् । ५ मार्चको मध्यरातदेखि लागू हुने यो निर्णयले फारसको खाडी, आसपासका जलक्षेत्र र इरानी समुद्री सीमामा रहेका जहाजहरूको सुरक्षा प्रत्याभूति स्वतः समाप्त गरिदिएको छ । यद्यपि अन्य सामान्य बीमा सर्तहरू यथावत रहने भनिए पनि युद्ध र आतंकवादको जोखिम समेट्ने विशेष कभर नहुँदा शिपिङ कम्पनीहरू ठूलो अन्योलमा परेका छन् । यो बीमा कभर हट्नुको अर्थ अब जहाज मालिक र चार्टर कम्पनीहरूले आफ्ना महँगा जहाज र कार्गोलाई पूर्ण रूपमा आफ्नै जोखिममा त्यस क्षेत्रमा पठाउनुपर्ने हुन्छ । यसले गर्दा धेरैजसो कम्पनीहरूले फारसको खाडीको मार्ग प्रयोग गर्न हिचकिचाउने छन्, जसका कारण आपूर्ति शृङ्खलामा ठूलो अवरोध आउने देखिन्छ । यसको प्रत्यक्ष असरस्वरूप मालवाहक भाडा अचाक्ली बढ्नेछ र वैकल्पिक बीमा खोज्नुपरेमा त्यसको प्रिमियम पनि अत्यन्तै महँगो हुनेछ । अन्ततः यो सबै अतिरिक्त लागत कच्चा तेल र अन्य आयातित वस्तुको अन्तिम मूल्यमा जोडिन पुग्छ, जसको सिधा भार सर्वसाधारण उपभोक्ताको गोजीमा पर्नेछ । विशेषगरी स्ट्रेट अफ होर्मुज जहाँबाट विश्वको करिब २० प्रतिशत पेट्रोलियम पदार्थ आपूर्ति हुन्छ, अहिले विश्व समुदायको चासोको केन्द्र बनेको छ । विश्व ऊर्जा आपूर्तिको मुटु मानिने यस समुद्री मार्गमा हुने सानो अवरोधले पनि अन्तर्राष्ट्रिय बजारमा मूल्यवृद्धि, आपूर्ति संकट र ऊर्जा सुरक्षामा गम्भीर असर पार्ने निश्चित छ । बीमा कम्पनीहरूको निर्णयले केवल तेलको मूल्य मात्र बढाउने छैन, बरु खाडी मुलुकहरूसँग जोडिएका अन्य व्यापारिक मार्गहरूमा पनि आर्थिक अस्थिरता पैदा गर्नेछ । यदि स्थिति यस्तै रहेमा विश्व अर्थतन्त्रले अर्को ठूलो मन्दी वा ऊर्जा संकटको सामना गर्नुपर्ने जोखिम बढेर गएको छ । खामेनेईको अवसान र तेहरानको हुँकार : मध्यपूर्वमा ‘महायुद्ध’को संकेत ! इरान र इजरायल : मित्रतादेखि कट्टर दुश्मनीसम्म, यस्तो छ नालीबेली