भारतले सन् २०२५ भित्रै व्यावसायिक चिप उत्पादन सुरु गर्ने

काठमाडौं । भारतले सन् २०२५ को अन्त्यसम्म व्यावसायिक सेमिकन्डक्टर उत्पादन सुरु गर्नेछ । प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो राष्ट्रलाई चिप नवप्रवर्तनका लागि भविष्यको ‘ग्लोबल हब’ का रूपमा प्रस्तुत गर्दै मङ्गलबार यसबारे घोषणा गरेका हुन् । नयाँदिल्लीमा आयोजित वार्षिक ‘सेमिकन इन्डिया सम्मेलन’ को उद्घाटन समारोहमा बोल्दै मोदीले माइक्रोन र टाटाको परीक्षण चिप उत्पादन भइसकेको जानकारी दिए । 'व्यावसायिक चिप उत्पादन यसै वर्ष सुरु हुनेछ', उनले भने, 'यसले सेमिकन्डक्टर क्षेत्रमा भारत कति तीव्र गतिमा अघि बढिरहेको छ भन्ने देखाउँछ ।' भारतको सेमिकन्डक्टर बजार सन् २०२३ मा ३८ अर्ब डलर थियो । यो २०२४–२०२५ मा बढेर ४५ देखि ५० अर्ब डलर पुगेको छ । सरकारले सन् २०३० सम्म एक खर्ब देखि एक खर्ब १० अर्ब डलरको लक्ष्य लिएको छ । देशले हाल १८ अर्ब डलरको लगानीमा १० सेमिकन्डक्टर परियोजनाहरू विकास गरिरहेको छ, जसमा नोएडा र बेङ्गलुरुस्थित दुईवटा नयाँ ३–न्यानोमिटर डिजाइन सुविधा पनि पर्छन् ।  'हाम्रो यात्रा ढिलो सुरु भए पनि अब हामीलाई कसैले रोक्न सक्दैन', मोदीले जोड दिए । भारतको तीन क्षेत्रमा विशेष प्रभुत्व रहेको बताइएको छ । सेमिकन्डक्टर उपकरणका लागि कम्पोनेन्ट उत्पादन, रसायन र खनिज जस्ता महत्त्वपूर्ण सामग्री आपूर्ति र अनुसन्धान तथा विकासदेखि आर्टिफिसियल इन्टेलिजेन्स, बिग डाटा र क्लाउड कम्प्युटिङसम्मका सेवा प्रदान गरेको छ । विश्वको सबैभन्दा बढी जनसङ्ख्या भएको राष्ट्रले ‘मानव पूँजी’ लाई आफ्नो ठूला शक्तिमध्ये एक भएको दाबी गरेको छ । मोदीका अनुसार सेमिकन्डक्टर डिजाइन क्षेत्रमा विश्वव्यापी प्रतिभाको २० प्रतिशत भारतमै छ । गत हप्ताको टोकियो भ्रमणका क्रममा जापानले सेमिकन्डक्टर र एआई सहयोगमा लगानी बढाउँदै भारतमा एक सय खर्ब येन (६८ अर्ब डलर) पुर्‍याउने वाचा गरेपछि मोदीले यो घोषणा गरेका हुन् । विश्वको पाँचौँ ठूलो र तीव्र गतिमा बढ्दो अर्थतन्त्र भारत अहिले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ५० प्रतिशत करको दण्डबाट प्रभावित भएको छ र विकासका नयाँ बाटो खोजिरहेको छ । अन्तर्राष्ट्रिय चिपको माग बढ्दो क्रममा भए पनि आपूर्ति मुट्ठीभर क्षेत्रमा केन्द्रित हुँदा भारतले ‘आत्मनिर्भर र विश्वव्यापी रूपमा प्रतिस्पर्धी’ बन्ने उद्देश्यसहित डिजाइन, निर्माण र प्याकेजिङलाई समेट्ने ‘पूर्ण इकोसिस्टम’ निर्माण गरिरहेको बताएको छ । 'आजको भारतले संसारमा विश्वास जगाउँछ', मोदीले यस हप्ताको सरकारी ब्रीफिङ नोटमा भने, 'जब चिपहरूको कुरा आउँछ, तपाईं आत्मविश्वासका साथ भारतलाई रोज्न सक्नुहुन्छ ।' रासस

कमजोर डलर र ब्याजदर कटौतीले बढायो सुनको मूल्य

काठमाडौं । कमजोर डलर र अमेरिकी ब्याजदर कटौतीको अपेक्षाले लगानीकर्ताहरूलाई सुरक्षित आश्रयतर्फ मोड्न बाध्य बनाएपछि मंगलबार सुनको मूल्य ऐतिहासिक रेकर्ड उचाइमा पुगेको छ ।      यसैबीच वाल स्ट्रिट श्रम दिवसका लागि सोमबार बन्द रहेकाले लगानीकर्ताहरू नयाँ दिशाको प्रतीक्षामा रहँदा सेयर बजार मिश्रित अवस्थामा देखिएको छ ।      एसियाको प्रारम्भिक कारोबारमा सुन प्रति औँस ३,५०१.५९ डलरसम्म उक्लियो । जुन अप्रिलमा बनेको अघिल्लो रेकर्ड ३,५००.१० डलरभन्दा माथि हो ।      'यो बढ्दो र्‍यालीले नरम डलर मात्र नभई, केन्द्रीय बैंक र संस्थागत लगानीकर्ताहरूको बलियो मागलाई पनि देखाउँछ, जसले अमेरिकी कोष विभागहरूबाट आफ्नो लगानी हटाइरहेका छन्', स्विसकोट बैंककी इपिक ओजकार्डेस्कायाले भने ।      उनका अनुसार विदेशी केन्द्रीय बैंकहरूले अमेरिकी कोष विभागमा गर्ने लगानी एक दशकभन्दा बढी समयदेखि घटिरहेको थियो । तर अमेरिकी ऋणप्रति बढ्दो चिन्ता, मूल्याङ्कनमा गिरावट, व्यापार तनाव र भू–राजनीतिक जोखिमका कारण यस वर्ष ठूलो मात्रामा सुनतर्फ मोडिएको छ ।      इक्विटी बजारमा टोकियो, सियोल र जकार्ता उकालो लाग्दा हङकङ र साङ्घाई प्रारम्भिक लाभपछि तल झरे । ह्याङसेङमा अलिबाबाले कृत्रिम बाैद्धिकता (एआई) राजस्वको वृद्धि र बम्पर नतिजापछि एक दिनअघि करिब २० प्रतिशतसम्म उछाल पाएको थियो । तर लगानीकर्ताहरूले मुनाफा सुरक्षित गर्न खोज्दा मङ्गलबार केही गिरावट आएको थियो ।      'अमेरिकी प्रविधि दिग्गजहरूले एआई मुद्रीकरण र उच्च मूल्याङ्कनबारे बढ्दो प्रश्नहरूको सामना गरिरहेका छन् । तर चिनियाँ कम्पनीहरूले भने एआई र क्लाउड सेवाबाट वास्तविक आय वृद्धि देखाइरहेका छन्', स्याक्सो मार्केटका चारु चानानाले भने ।      यसैबीच, अवैध लागुऔषध अनुसन्धानसँग जोडिएकी पेय पदार्थ निर्माता कम्पनी सनटोरी का प्रमुख कार्यकारी अधिकृत (सीइओ) को राजीनामाले जापानी कर्पोरेट जगत्लाई स्तब्ध पारेको छ ।      तेल बजारमा भने अक्टोबरको उत्पादनबारे निर्णय गर्न ओपेकं को आगामी सप्ताहान्त बैठकअघि मूल्य बढेको छ । कार्टेलले आपूर्ति अपरिवर्तित राख्ने अपेक्षा गरिएको छ । रासस

हाँसोभित्र लुकेको कुटनीति : पुटिन, मोदी र सी जिनपिङको तिआनजिन संवाद

काठमाडौं । कहिलेकाहीँ एउटा तस्बिरले कुनै पनि विज्ञप्ति वा शिखरसम्मेलनको घोषणाभन्दा धेरै कुरा भन्नसक्छ। चीनका राष्ट्रपति सी जिनपिङ, भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र रसियाका राष्ट्रपति भ्लादिमिर पुटिन तिआनजिनमा एकसाथ हासिरहेको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । सिधा हेर्दा यो तीन नेताबीचको सामान्य र सहज कुराकानीजस्तो देखिन्छ । तर विज्ञहरूको भनाइमा यसको भित्री अर्थ भने धेरै जटिल छ— यसले उनीहरूबीचको प्रतिस्पर्धा र विश्व राजनीतिभित्र बदलिँदै गएको शक्ति सन्तुलनलाई झल्काउँछ । भारतका पूर्वराजदूत गौतम बम्बावालेले सीएनबीसीसँग कुराकानी गर्दै भने, ‘ड्रागन र हात्ती अझै नाचिरहेका छैनन् । उनीहरू कोठाको विपरीत छेउमा बसेर एकअर्कालाई मात्र हेरिरहेका छन् र सम्बन्धका परिणाम के हुने हो भनेर अनुमान गर्न खोजिरहेका छन् । यो सम्बन्धलाई पुनः मार्गमा ल्याउन समय लाग्छ ।’ मुख्य अवरोध स्पष्ट छ । भारत–चीन सीमा विवाद २०२० को झडपपछि अझै समाधान भएको छैन । पाकिस्तानसँग चीनको साझेदारी आर्थिकमात्र नभई सैन्य उपकरण र जासुसी सहकार्यसम्म फैलिएको छ । जुन भारतसँगको सम्बन्धलाई गहिरो बनाउन बाधक बनेको छ । यसै सन्दर्भमा यसपटकको शाङ्घाई सहयोग संगठन (एससीओ) को आकार र महत्त्व बढ्दै छ, तर युरेसिया ग्रुपका जेरेमी चानले भने झैं ठूलो देखिनुले सधैं अर्थपूर्ण हुने चाहिँ होइन । चानले भने, ‘एससीओलाई सामान्यतया सुरक्षा संगठन भनिन्छ, तर यसले वास्तविक सैन्य मामिलामा ध्यान दिएको छैन । युक्रेन वा गाजाजस्ता पछिल्ला विश्वव्यापी संघर्षहरूमा पनि एससीओ प्रायः अनुपस्थित नै रह्यो ।’ बैठकको समय पनि महत्त्वपूर्ण थियो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भन्सार बढाउँदा र विश्वबजार अस्थिर बनाउँदा चीनले एससी‌ओलाई ग्लोबल साउथतर्फ आफ्नो पहुँचलाई देखाउने माध्यमका रूपमा प्रयोग गरिरहेको छ । चानका अनुसार ट्रम्पले शिखर सम्मेलनलाई ‘नयाँ जीवन’ दिएका छन्, जसले चीनलाई वाशिङ्टनभन्दा भरपर्दो कुटनीतिक भागीदारको रूपमा आफैलाई प्रस्तुत गर्ने अवसर दिएको छ । सोमबार ट्रम्पले ट्रूथ सोसलमा लेख्दै भारतले अमेरिकी सामानमा भन्सार शून्य पुर्याउने प्रस्ताव गरेको दाबी गरे । उनले भारतसँगको सम्बन्धलाई ‘एकतर्फी’ भन्दै अमेरिकालाई भारतको सबैभन्दा ठूलो ग्राहक भने । यसैबीच उक्त तस्बिरले अमेरिकी सञ्चारमाध्यममा पनि चासो पाएको छ । द न्यूयोर्क टाइम्सले यसलाई ‘हालै मस्कोले पुनर्जीवित गर्ने आशा व्यक्त गरेको त्रिकोणीय सम्बन्धको हाँसोमय झलक’ भनेर वर्णन गर्दै मोदी–पुटिनबीचको आत्मीयता विशेष गरी एकै गाडीमा यात्रासम्म पुगेको कुरा उल्लेख गर्यो । बहुध्रुवीयता, फरक परिभाषा लगानीकर्ताहरूका लागि द स्टेक्स महत्त्वपूर्ण छ । एससीओमा विश्वको करिब आधा जनसंख्या प्रतिनिधित्व गर्ने अर्थतन्त्रहरू छन् जुन ऊर्जा र व्यापार प्रवाहका लागि केन्द्रमा छन् । भन्सारले आपूर्ति श्रृंखला धम्क्याउँदा र बजारले विभाजनका संकेत खोजिरहँदा यस्ता शिखरसम्मेलनलाई नयाँ गठबन्धनको संकेतका लागि नजिकबाट हेरिन्छ चाहे ठोस परिणाम सीमित किन नहोस् । भारतका लागि तस्बिरको महत्त्व छ । मोदी–सी वार्तालाई अमेरिकालाई दिएको सन्देशको रूपमा व्याख्या गरिएको छ, जसले भारतले वाशिङ्टनसँग सम्बन्ध गहिराउँदै चीन र रसियासँग संवाद खुला राख्ने संकेत गरेको देखिन्छ । तर एससीओको सैन्य परेड बहिष्कार गरेर भारतले सम्बन्ध सुधारको सीमा पनि देखाएको छ । चानका अनुसार भारतले यस अवसरलाई वाशिङ्टनलाई अप्रत्यक्ष सन्देश दिन प्रयोग गरिरहेको छ कि त्यससँग बेइजिङ मात्र होइन, मस्कोसँग पनि रणनीतिक विकल्प छन् । टोकियोबाट सीधा आएका मोदीले बैठक सकेलगत्तै फर्किएको कुरा पनि अमेरिकासँग एशियामा भारतको निरन्तर साझेदारीलाई देखाउँछ । शिखर सम्मेलनको केन्द्रमा ‘बहुध्रुवीयता’  विषयमा बहस थियो । चान भन्छन्, ‘भारत र चीनले बहुध्रुवीयतालाई फरक–फरक ढंगले बुझ्छन् ।’ उनका अनुसार बेइजिङको दृष्टिमा यो अमेरिकी प्रभुत्व घटाएर चीनलाई एशियाको प्रमुख शक्ति बन्ने अवसर दिने प्रणाली हो । तर भारतका लागि बहुध्रुवीयता भनेको प्रभाव धेरै मुलुकमा समान रूपमा बाँडिनु हो । यसैबीच रसियाका लागि एससीओ त्यस्ता थोरै अन्तर्राष्ट्रिय मञ्चमध्ये एक हो जहाँ पुटिन बचाउको भूमिकामा छैनन् । यसले पश्चिमी प्रतिबन्धका बाबजुद एशियाली साझेदारहरूसँगको मस्कोको गहिरो सम्बन्धलाई देखाउँछ। एउटै तस्बिरले यी सबै कुरा समेट्छ । हाँसोले मेलमिलाप देखाए पनि वास्तविकता भने धेरै जटिल छ । ‘शीतयुद्ध मानसिकता’ अस्वीकार, चिनियाँ राष्ट्रपति सीको एआईमा सहकार्य गर्न आह्वान भारतको त्रिदेशीय सन्तुलन : शुल्क, तेल र असजिलो हस्तमिलन