वारेन बफेटले बेचे अमाजोनको ७७ प्रतिशत हिस्सेदारी, मिडिया क्षेत्रमा पुनः प्रवेश
काठमाडौं । अमेरिकाका दिग्गज लगानीकर्ता वारेन बफेटको कम्पनी बर्कशायर हाथवेले विश्वकै सबैभन्दा ठूलो ई–कमर्स कम्पनी अमाजोनमा रहेको आफ्नो ७७ प्रतिशत हिस्सेदारी बेचेको छ । उक्त बिक्री सन् २०२५ को चौथो त्रैमासमा गरिएको हो, जसअन्तर्गत कम्पनीले १.७ अर्ब डलर बराबरका सेयर विक्री गर्यो । हालै अमाजोनको सेयर मूल्यमा उल्लेख्य गिरावट आएको थियो । यस महिनामात्रै कम्पनीको सेयर लगातार नौ दिन घटेको थियो, जसका कारण यसको बजार पुँजीकरण (मार्केट क्याप) करिब ४१० अर्ब डलरले घटेको थियो । यद्यपि मंगलबार कम्पनीको सेयर १.१९ प्रतिशतले बढेर बन्द भएको थियो । बर्कशायर हाथवेले मंगलबार सार्वजनिक गरेको विवरणअनुसार कम्पनीले अघिल्लो त्रैमासमा एपलमा रहेको ४ प्रतिशत हिस्सेदारी पनि बेचेको छ, जसको मूल्य २.७ अर्ब डलर बराबर रहेको छ । साथै मिडिया क्षेत्रमा पुनः प्रवेश गर्दै कम्पनीले न्यूयोर्क टाइम्समा लगानी गरेको जनाएको छ । बफेटले सन् २०२० मा मिडिया क्षेत्रबाट बाहिरिँदै आफ्नो न्यूजपेपर व्यवसाय बेचेका थिए । सन् २०२५ को अन्त्यसम्म बर्कशायर हाथवेका न्यूयोर्क टाइम्सका ५.०७ मिलियन सेयर थिए, जसको कुल मूल्य ३५१.७ मिलियन डलर रहेको थियो । बफेटको कम्पनी बर्कशायर हाथवेले मिडिया क्षेत्रमा पुनः प्रवेश गरेपछि अन्तर्राष्ट्रिय वित्तीय बजारमा यसको व्यापक चर्चा सुरु भएको छ । विदेशी सञ्चारमाध्यमहरूले बर्कशायरको पछिल्लो लगानी निर्णयलाई ‘रणनीतिक पोर्टफोलियो पुनःसन्तुलन’ का रूपमा व्याख्या गरेका छन् । विशेषगरी टेक कम्पनीहरूमा केही हिस्सेदारी घटाउँदै कम्पनीले गुणस्तरीय मिडिया व्यवसायतर्फ ध्यान मोडेको संकेत देखिएको विश्लेषण गरिएको छ । विदेशी समाचार स्रोतहरूका अनुसार बर्कशायरले न्यूयोर्क टाइम्समा गरेको लगानीलाई दीर्घकालीन मूल्य अवसरसँग जोडिएको छ । डिजिटल सब्स्क्रिप्सन मोडेलको बलियो वृद्धि, स्थिर नगद प्रवाह र ब्रान्ड विश्वसनीयता जस्ता पक्षहरूले मिडिया उद्योगमा पुनः आकर्षण बढाएको तर्क प्रस्तुत गरिएको छ । डिसेम्बरको अन्त्यसम्म बर्कशायर हाथवेका प्रमुख होल्डिङ्समा एप्पल (२२.६० प्रतिशत), अमेरिकन एक्सप्रेस (२०.४६ प्रतिशत), बैंक अफ अमेरिका (१०.३८ प्रतिशत), कोकाकोला (१०.२० प्रतिशत) र शेभरोन कर्प (७.२४ प्रतिशत) रहेका छन् । एपलमा कम्पनीको लगानीको कुल मूल्य ६२ अर्ब डलर रहेको छ । हालै वारेन बफेटले बर्कशायर हाथवेको कार्यकारी नेतृत्व छोडेका छन् । उनको स्थानमा जनवरी १ देखि ग्रेग एबललाई प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्त गरिएको छ । यद्यपि बफेट कम्पनीका अध्यक्ष (चेयरम्यान) का रूपमा भने यथावत् रहेका छन् ।
९.५ अर्ब यात्राः चीनका मानिसहरू किन यति धेरै घुम्दैछन् ?
काठमाडौं । चीनमा लुनार न्यू इयर (चन्द्र नयाँ वर्ष) का बेला देखिने बिदाको भीडजस्तो अनुभव अरू केहीसँग तुलना गर्न सकिँदैन । बेइजिङका सडकहरू केही दिनअगावै सुनसान हुन थाल्छन्, किनकि अधिकांश बासिन्दा आफ्ना गृहस्थान फर्किन्छन् वा अन्यत्र यात्रा गर्छन् । काम वा विद्यालयतर्फ हतारिने मानिसहरूको सामान्यतः तनावपूर्ण वातावरणको सट्टा शान्त र स्थिर माहोल छाउँछ । त्यसो भए स्थानीयहरू कहाँ जाँदैछन् ? अलिबाबाको स्वामित्वमा रहेको ट्राभल प्लेटफर्म फ्लिग्गीका प्रारम्भिक तथ्याङ्कअनुसार थिम पार्क होटलहरूको बुकिङ अघिल्लो वर्षको तुलनामा झन्डै दोब्बर भएको छ । परम्परागत प्रस्तुति र हस्तकला समेटिएका यात्राप्रतिको माग करिब ४० प्रतिशतले बढेको छ । परामर्शदाता संस्था ओलिभर वाइम्यानका प्रिन्सिपल केनेथ चाउ भन्छन्, ‘हामीले युवा पुस्तामा सांस्कृतिक अनुभवतर्फ गहिरो रूपमा डुब्ने र चीनका स्थानीय कला–गतिविधिहरू परीक्षण गर्ने प्रवृत्ति बढेको देखिरहेका छौं ।’ यी सबै प्रवृत्तिहरू चुनौतीपूर्ण आर्थिक परिवेशमा व्यवसायहरूले अँगाल्न खोजिरहेका छन् । अहिलेसम्म तथ्यांकबाट एउटा कुरा स्पष्ट हुन्छ– सस्तो रेल र होटलका कारण मानिसहरू नयाँ अनुभवको खोजीमा पहिलेभन्दा बढी यात्रा गरिरहेका छन् । यस वर्षको औपचारिक बिदा फेब्रुअरी १५ देखि २३ सम्म चल्छ । तर चीनको व्यापक यात्रा सिजन करिब ४० दिनसम्म (फेब्रुअरीको सुरुदेखि मार्चको मध्यसम्म) लम्बिन्छ । चीनले यात्रा ‘मानिस’ होइन ‘यात्रा संख्या (ट्रिप्स)’ का आधारमा गणना गर्छ र यस वर्ष नयाँ कीर्तिमानको प्रक्षेपण गरिएको छ– बेइजिङमा मात्र ११ करोड आगमन–निर्गमन यात्रा र देशभरि कुल ९.५ अर्ब यात्रा । यसले चीनका १.४ अर्ब जनसंख्याको ठूलो हिस्सा एकभन्दा बढी सहरमा यात्रा गर्ने संकेत गर्छ । चीनमा २० भन्दा बढी होटल चेन सञ्चालन गर्ने एच वर्ल्ड ग्रुपका अनुसार, ‘मुख्य यातायात केन्द्रहरू र शिशुआङबान्नाजस्ता मनोरञ्जनमुखी सहरहरूमा’ माग बढेको छ । म्यान्मार र लाओसको सिमानानजिकको यो दुर्गम क्षेत्र हरियाली प्रकृति र सयौं वर्ष पुराना दाइ बौद्ध मन्दिरहरूका लागि परिचित छ । बुकिङ साइट ट्रिप डटकमले देखाउँछ कि पछिल्ला दुई वर्षमा उक्त क्षेत्रमा ८०० भन्दा बढी होटल खुलेका छन् । गत वर्ष शिशुआङबान्नाले बिदाका बेला ४० लाखभन्दा बढी भ्रमण र ५.०४ अर्ब युआन (७३ करोड अमेरिकी डलर) पर्यटन आम्दानी रिपोर्ट गरेको थियो । मनोरञ्जन कम्पनीहरूले पनि दर्शकसँग प्रत्यक्ष अन्तरक्रिया गर्ने उपाय खोजिरहेका छन् । बिदाअघि भिडियो स्ट्रिमिङ कम्पनी आईक्यूयीले उच्चगति रेलबाट शाङ्घाइदेखि दुई घण्टाभन्दा केही बढी दूरीमा पर्ने याङ्झाउ सहरमा आफ्नो पहिलो थिम पार्क खोलेको छ । इनडोर स्थलमा आईक्यूयीमा स्ट्रिम हुने लोकप्रिय कार्यक्रमहरूमा आधारित लाइभ थिएटर र अन्तरक्रियात्मक भर्चुअल रियालिटी अनुभवहरू प्रस्तुत गरिएका छन् । आईक्यूयीलाई कहिलेकाहीँ ‘चीनको नेटफ्लिक्स’ पनि भनिन्छ । संस्थापक तथा सीईओ यू गोंगले प्रेस विज्ञप्तिमा भनेका छन्, ‘अफलाइन मनोरञ्जनको माग तीव्र रूपमा बढ्दै जाँदा, आईक्यूयी ल्यान्डलाई हामी दीर्घकालीन वृद्धिको नयाँ चालकका रूपमा हेर्छौं ।’ छोटो भिडियो र अन्य प्लेटफर्मका कार्यक्रमसँगको प्रतिस्पर्धाका कारण आईक्यूयीले सशुल्क सदस्य कायम राख्न संघर्ष गरिरहेको अवस्थामा यो पहल महत्त्वपूर्ण मानिएको छ । याङ्झाउ थिम पार्कको उद्घाटन केही महिनाले ढिलो पनि भएको थियो । यो चीनमा भिडियो स्ट्रिमिङ कम्पनीद्वारा खोलिएको पहिलो थिम पार्क हो । टेन्सेन्ट, बिलिबिली र अलिबाबा स्वामित्वको युकूले वर्षभरि चल्ने अनुभवहरू सुरु नगरे पनि कार्यक्रम आयोजनातर्फ धक्का बढ्दो छ । शाङ्घाइस्थित बिलिबिलीको वार्षिक बहुदिने एक्स्पो जहाँ एनिमेटेड शो र खेलका पात्रहरू जीवन्त हुन्छन् केही सेकेन्डमै ‘सोल्ड आउट’ भएको थियो । युनिभर्सल स्टुडियो बेइजिङले चन्द्र नयाँ वर्षअघि प्रमुख चिनियाँ एनिमेटेड फिल्म, भिडियो गेम र स्थानीय रूपमा लोकप्रिय पात्रहरूका थिम आगामी गतिविधिहरूमा समेट्ने योजना घोषणा गरेको छ । ल्याबुबु डलका लागि परिचित खेलौना निर्माता पप मार्टले समेत बेइजिङमा थिम पार्क सञ्चालन गर्दै आएको छ । यी सबै गतिविधि समग्र उपभोक्ता खर्चमा आएको सुस्तताबीच भइरहेका छन् । चीनमा खुद्रा बिक्री डिसेम्बरमा अघिल्लो वर्षको तुलनामा केवल ०.९ प्रतिशतले बढेको थियो । तर यसले लुई भिटोनलाई पछिल्ला १२ महिनामा दुई नयाँ स्टोर खोल्न रोकेको छैन । ब्रान्डले सेलेब्रिटी प्रयोग, क्याफे सञ्चालन र आकर्षक स्टोर वास्तुकलामार्फत सामाजिक सञ्जालमा चर्चा सिर्जना गर्दै ‘सेयर गर्न मिल्ने अनुभव’ मा जोड दिएको छ । सपिङ मलहरूमा पनि आगामी वर्षको चिनियाँ राशिचक्र प्रतीक ‘घोडा’ थिममा डिजाइन गरिएका कपडा र गहनाहरू प्रदर्शनमा छन् । तर चीनका बढ्दो उपभोक्ताले खर्च गर्न तयार देखिएको मुख्य पक्ष भनेको भावनात्मक रूपमा समृद्ध नयाँ गन्तव्यतर्फको यात्रा हो, जसअनुसार व्यवसायहरूले आफूलाई ढाल्नुपर्ने देखिन्छ । चन्द्र नयाँ वर्ष चीनमा ठूलो खर्च हुने बिदा हो र लक्जरी ब्रान्डहरूले ग्राहकसँग सम्बन्ध सुदृढ गर्न यो पर्वको उपयोग गरिरहेका छन् । पिम्कोका पोर्टफोलियो म्यानेजर स्टेफन चाङले चीनमा उच्च गुणस्तरका क्रेडिट जारीकर्तातर्फ लगानीकर्ताले ध्यान किन केन्द्रित राख्नुपर्छ भन्नेबारे व्याख्या गरे । उनले चिनियाँ युआनप्रतिको आफ्नो अपेक्षाबारे पनि चर्चा गरे।
अमेरिकाका अधिकारवादी नेता जेसी ज्याक्सनको निधन
काठमाडौं । अमेरिकाका अधिकारवादी नेता जेसी ज्याक्सनको ८४ वर्षको उमेरमा निधन भएको छ । उनको परिवारद्वारा जारी वक्तव्यमा मंगलबार बिहान उनको निधन भएको जानकारी दिइएको छ । वक्तव्य अनुसार अन्तिम क्षणमा ज्याक्सन परिवारजनको साथमै रहेका थिए । साथै उनको निधन शान्तिपूर्वक भएको पनि उल्लेख गरिएको छ । मृत्युको आधिकारिक कारण भने सार्वजनिक गरिएको छैन । यद्यपि, ज्याक्सन ‘प्रोग्रेसिभ सुप्रान्यूक्लियर पाल्सी’ नामक रोगबाट पीडित थिए र गत वर्षको अन्त्यतिर अस्पतालमा भर्ना भएका थिए। पूर्वराष्ट्रपति बाराक ओबामा लगायतकाले उनलाई श्रद्धाञ्जलि दिएका छन् ।