मानव बेचबिखन सञ्जालमा क्रिप्टोको भूमिका बढ्दै, २०२५ मा अवैध क्रिप्टो प्रवाह करिब १६.१ अर्ब डलर

काठमाडौं । नयाँ प्रतिवेदनअनुसार सन् २०२५ मा शंकास्पद मानव बेचबिखन गिरोहहरूलाई गरिएको क्रिप्टोकरेन्सी भुक्तानी ८५ प्रतिशतले बढेको छ र सार्वजनिक ब्लकचेनहरूमा सयौं मिलियन डलर बराबरका कारोबारहरू ट्रेस गरिएको छ । यो प्रतिवेदन अमेरिकी ब्लकचेन विश्लेषण कम्पनी चेनएनालाइसिसले सार्वजनिक गरेको हो । कम्पनीका अनुसार अधिकांश गतिविधि दक्षिणपूर्वी एसियामा विस्तार हुँदै गएको आपराधिक इकोसिस्टमसँग जोडिएको थियो, जहाँ स्क्याम कम्पाउन्ड, अवैध अनलाइन जुवा सञ्चालन र चिनियाँ भाषाका मनी लन्डरिङ सञ्जालहरू मिलेर काम गर्छन् । क्रिप्टो ट्र्याकरका अनुसार मानव बेचबिखनकर्ताको क्रिप्टो गतिविधि मुख्यतः तीन वर्गमा पर्छन्स् अन्तर्राष्ट्रिय एस्कर्ट तथा वेश्यावृत्ति सेवा, श्रम प्लेसमेन्ट एजेन्ट र स्क्याम कम्पाउन्ड तथा बाल यौन दुव्र्यवहार सामग्री विक्रेता । ब्लकचेन डाटाले देखाएअनुसार अधिकांश सेवा दक्षिणपूर्वी एसियामा केन्द्रित भए पनि ग्राहकहरूले उत्तर तथा दक्षिण अमेरिका, युरोप र अस्ट्रेलियाबाट भुक्तानी पठाएका थिए, जसले यी सञ्जालहरूको विश्वव्यापी पहुँच देखाउँछ । चेनएनालाइसिसले साइबर अपराधीहरू आफ्नो सेवा प्रचार गर्न, पीडित भर्ती गर्न र भुक्तानी समन्वय गर्न टेलिग्रामजस्ता प्लेटफर्ममा बढ्दो निर्भर रहेको पनि फेला पारेको छ । ‘पुराना डार्कनेट फोरमबाट एप र अर्धखुला टेलिग्राम इकोसिस्टममा व्यापक सरुवा भइरहेको छ, जसले क्रिप्टोसँग मिलेर यी सञ्जाललाई छिटो विस्तार गर्न, ‘कस्टमर सर्भिस’ चलाउन र विश्वव्यापी रूपमा सजिलै पैसा सार्न सक्षम बनाएको छ,’ टम म्याकलुथले भने । ‘मुख्य निष्कर्ष के हो भने वास्तविक आर्थिक परिमाण कम्तीमा सयौं मिलियन अमेरिकी डलर बराबरको क्रिप्टो कारोबार हो र भौतिक क्षति कुनै पनि डलर रकमभन्दा धेरै गुणा ठूलो छ,’ म्याकलुथले थपे । ब्लकचेन गतिविधिले धेरै कारोबारहरू पछाडि उच्च संगठित सञ्जाल रहेको देखाउँछ । केही एस्कर्ट सेवा र सेक्सवर्क कानुनी रूपमा सञ्चालन भए पनि प्रतिवेदनले सम्भावित बेचबिखन गतिविधि विशिष्ट वित्तीय व्यवहारबाट पहिचान गर्न सकिने बताएको छ । विशेषगरी शंकास्पद सञ्जालहरूले स्टेबलकोइन र चिनियाँ भाषाका मनी लन्डरिङ समूहको प्रयोग गरी छिटो नगदमा रूपान्तरण गर्ने गरेको उल्लेख गरिएको छ । यी लन्डरिङ सञ्जालहरू मुख्यतः चिनियाँ भाषाका टेलिग्राम च्यानलमार्फत सञ्चालन हुन्छन् र अवैध रकमलाई क्रिप्टोमार्फत सारेर ‘सफा’ बनाउने काम गर्छन् । सन् २०२५ मा यस्ता अवैध क्रिप्टो प्रवाह करिब १६.१ अर्ब डलर पुगेको अनुमान गरिएको छ । डाटाअनुसार क्रिप्टोसँग सम्बन्धित अन्तर्राष्ट्रिय एस्कर्ट सेवाहरूले उच्च मूल्यका ट्रान्सफरमा उल्लेखनीय हिस्सा ओगटेका छन्, जसमा झन्डै आधा कारोबार १० हजार डलरभन्दा बढीका थिए । अनुसन्धानकर्ताले समीक्षा गरेका सूचीहरूमा सीमापार यात्रा प्याकेज, साथसंगत सेवा र तहगत मूल्य संरचना उल्लेख गरिएको थियो, जसमा भीआइपी प्याकेजको मूल्य ३० हजार डलरभन्दा माथि थियो । चेनएनालाइसिसले कारोबारको आकार, निरन्तरता र वालेट क्लस्टरहरूबीच दोहोरिने भुक्तानी ढाँचाले व्यक्तिगत होइन, व्यावसायिक रूपमा संगठित सञ्चालन भएको संकेत गर्ने बताएको छ । शंकास्पद वेश्यावृत्ति सञ्जालतर्फ गरिएका क्रिप्टो भुक्तानीहरू एस्कर्ट सेवाभन्दा साना रकमका थिए, प्रायः १ हजारदेखि १० हजार डलरसम्म । तर डाटा अनुसार यी पनि संगठित समूहसँग मिल्दोजुल्दो देखिन्छन् । अर्को प्रमुख श्रेणी ‘श्रम प्लेसमेन्ट एजेन्ट’ हरू थिए, जसले व्यक्तिहरूलाई प्रायः दक्षिणपूर्वी एसियाका स्क्याम कम्पाउन्डमा भर्ती गर्छन्, जहाँ क्रिप्टो–आधारित ठगी योजना सञ्चालन हुन्छ । भर्ती शुल्क प्रायः १ हजारदेखि १० हजार डलरसम्मको क्रिप्टोकरेन्सी हुने र टेलिग्राम च्यानलमा देखाइएका मूल्यसँग मेल खाने प्रतिवेदनमा उल्लेख छ । उदाहरणस्वरूप कम्बोडिया वा म्यानमारमा ‘कस्टमर सर्भिस’ वा ‘डाटा एन्ट्री’ कामका लागि उच्च मासिक तलब र यात्रा खर्च बेहोर्ने वाचा गरिएका विज्ञापनहरू भेटिएका थिए । भर्ती भएपछि पीडितहरूलाई रोमान्स स्क्याम, नक्कली क्रिप्टो लगानी योजना र विदेशमा रहेका व्यक्तिलाई लक्षित अन्य अनलाइन ठगी गर्न बाध्य पारिएको आरोप छ । केही टेलिग्राम संवादमा भर्तीकर्ताहरूले कामदारलाई सीमापार लैजाने, नक्कली कागजात मिलाउने र बिचौलियालाई भुक्तानी समन्वय गर्नेबारे छलफल गरेको चेनएनालाइसिसले जनाएको छ । कम्पनीले भर्ती च्यानलहरू र पहिले अवैध जुवा प्लेटफर्म तथा मनी लन्डरिङ सेवासँग जोडिएका वालेटहरूबीच सम्बन्ध पनि पहिचान गरेको छ, जसले बेचबिखन गतिविधि अन्य आपराधिक उद्यमसँग गाँसिएको संकेत गर्छ । गत वर्ष अमेरिकाको न्याय विभागले कम्बोडियाको ठूलो स्क्याम केन्द्रबाट १५ अर्ब डलर बराबरको बिटक्वाइन जफत गरेको थियो, जसले यस्ता कम्पाउन्डको व्यापकता उजागर गरेको थियो । ‘सन् २०२५ को अन्त्यदेखि यस इकोसिस्टमका केही भाग, विशेषगरी स्क्याम कम्पाउन्डविरुद्ध कडाइ बढेको छ तर यौन शोषण र बेचबिखन सञ्जालहरू वैकल्पिक भौतिक र डिजिटल पूर्वाधारमार्फत सञ्चालन जारी राख्न सक्छन्,’ म्याकलुथले भने ।  चेनएनालाइसिसले बाल यौन दुव्र्यवहार सामग्री सञ्जालहरू पनि ट्र्याक गरेको छ, जसमा फरक भुक्तानी संरचना भए पनि संगठित वित्तीय ढाँचा देखिएको छ । सीएसएएमसम्बन्धी करिब आधा क्रिप्टो कारोबार १०० डलरभन्दा कमका थिए, जसले निजी च्याट समूह वा इन्क्रिप्टेड फाइल–सेयरिङ च्यानलमा सदस्यता–आधारित मोडल संकेत गर्छ । कम्पनीले यस्ता रकम मुख्यधाराका क्रिप्टोकरेन्सीबाट गोपनीयतामा केन्द्रित सम्पत्ति जस्तै मोनेरो र पहिचान प्रमाणीकरण नचाहिने तुरुन्तै साटफेर सेवातर्फ सारिएको पनि देखेको छ । सन् २०२५ जुलाईमा चेनएनालाइसिसले बेलायतको कानुन कार्यान्वयन निकायको सूचनापछि डार्क वेबमा सञ्चालन भइरहेको सबैभन्दा ठूलो सीएसएएम वेबसाइटमध्ये एक पहिचान गर्न सहयोग गरेको जनाएको छ । उक्त एक मात्र सञ्चालनमा ५ हजार ८०० भन्दा बढी क्रिप्टोकरेन्सी ठेगाना प्रयोग गरिएको थियो र जुलाई २०२२ यता ५ लाख ३० हजार ००० डलरभन्दा बढी आम्दानी गरेको थियो। ‘सामान्य रूपमा हेर्दा क्रिप्टोको प्रयोग बढ्दै जाँदा अवैध र वैध दुवै प्रयोजनका लागि यसको प्रयोग बढ्नेछ,’ म्याकलुथले भने, ‘निकट भविष्यमै बेचबिखनसँग जोडिएको गतिविधिमा क्रिप्टोको प्रयोग हराउने अपेक्षा छैनस बरु कानुनी कडाइ बढे पनि यसको प्रयोग बढ्दै जाने सम्भावना छ।’

प्रतिबन्ध र द्वन्द्वका बाबजुद इरानको व्यापार घाटामा सुधार

काठमाडौं । इरानी चालू आर्थिक वर्षको १० महिनाको अवधिमा इरानको व्यापार घाटा ६ अर्ब अमेरिकी डलरले खुम्चिएको इस्लामिक रिपब्लिक न्यूज एजेन्सी (इर्ना) ले जनाएको छ । इरानको भन्सार प्रशासनको तथ्याङ्कलाई उद्धृत गर्दै इर्नाले भनेको छ, ‘सन् २०२५ मार्च २१ देखि सन् २०२६ जनवरी २० सम्मको अवधिको लागि व्यापार सन्तुलन ४ अर्ब डलरको घाटामा रहेको छ, जुन अघिल्लो वर्षको १० अर्ब डलरको घाटाको तुलनामा उच्च सुधार हो ।’ इजरायलसँग १२ दिने युद्ध, संयुक्त राष्ट्र सङ्घको प्रतिबन्ध र अमेरिकाको कडा एकपक्षीय प्रतिबन्धका बाबजुद यो सुधार आएको हो । यो आर्थिक बर्षमा इरानले कुल १३ करोड ३० हजार टन गैर–पेट्रोलियम पदार्थजन्य निर्यातबाट ४५ करोड अमेरिकी डलर मूल्य बराबरको कारोबार गरेको थियो, यो आयतनको आधारमा गत बर्षभन्दा १.३३ प्रतिशत बढी हो तर एक वर्ष अघिको तुलनामा ६.३ प्रतिशतले कम हो । आयात ४.६ प्रतिशतले बढेर ३ करोड ३१ लाख ७० हजार टन पुगेको छ तर यसको मूल्य १५.५५ प्रतिशतले घटेर ४९.१ अर्ब डलर कायम भएको छ ।  

एआई प्रतिस्पर्धामा भारतको एक खर्ब ७५ अर्ब डलरको ‘डाटा सिटी’ अभियान

काठमाडौं । संयुक्त राज्य अमेरिका र चीनसँगको आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रतिस्पर्धामा दूरी घटाउने उद्देश्यसहित भारतले अभूतपूर्व परिमाणको ‘डाटा सिटी’ परियोजना अघि बढाएको छ । आन्ध्र प्रदेश सरकारले विशाखापट्टनमलाई केन्द्रमा राख्दै एआई पूर्वाधार, डाटा सेन्टर र उच्च क्षमतायुक्त डिजिटल इकोसिस्टम निर्माण गर्ने महत्त्वाकांक्षी योजना सार्वजनिक गरेको हो ।      आन्ध्र प्रदेशका सूचना प्रविधिमन्त्री नारा लोकेशले एआई क्रान्ति अपरिहार्य भइसकेको बताउँदै राष्ट्रले यसलाई सक्रिय रूपमा अँगाल्ने नीति लिएको उल्लेख गरे । उनका अनुसार राज्यले ७६० परियोजनासहित करिब एक खर्ब ७५ अर्ब डलर बराबरको लगानी प्रतिबद्धता जुटाइसकेको छ । यसमा संयुक्त राज्य अमेरिका बाहिरकै सबैभन्दा ठूलो एआई पूर्वाधार हब निर्माणका लागि गुगलको १५ अर्ब डलर लगानीसमेत समावेश छ ।      त्यस्तै, रिलायन्स इन्डस्ट्रिज, क्यानाडाको ब्रुकफिल्ड र अमेरिकी कम्पनी डिजिटल रियल्टीको संयुक्त उद्यमले सोही सहरमा ११ अर्ब डलरको एआई डाटा सेन्टर विकास गरिरहेको छ । करिब २० लाख जनसङ्ख्या रहेको विशाखापट्टनमलाई अब सिङ्गापुरसँग जोडिने पनडुब्बी इन्टरनेट केबलको अवतरण विन्दुका रूपमा विकास गरिँदैछ । लोकेशका अनुसार १०० किलोमिटर अर्धव्यासभित्र फैलिने ‘डाटा सिटी’ अवधारणा केवल डाटा कनेक्टिभिटीमा सीमित नभई सर्भर उत्पादन, कूलिङ प्रणाली, सहायक उद्योग र पूर्ण प्रविधि आपूर्ति शृङ्खलासम्म विस्तार हुनेछ ।      उनले आन्ध्र प्रदेशले सन् २०२५ मा भारतको प्रत्यक्ष वैदेशिक लगानीको झण्डै २५ प्रतिशत आकर्षित गरेको दाबी गरे । प्रमुख लगानीकर्तालाई प्रतिस्पर्धात्मक दरमा जग्गा उपलब्ध गराउने नीति अवलम्बन गरिएको छ । मुख्यमन्त्री एन चन्द्रबाबु नायडूका पुत्रसमेत रहनुभएका ४३ वर्षीय स्ट्यानफोर्ड शिक्षित मन्त्री लोकेशले हैदराबादलाई ‘साइबराबाद’ बनाउने अनुभवबाट प्रेरित भएको बताउँछन् ।      प्रधानमन्त्री नरेन्द्र मोदीले आयोजना गर्ने एआई इम्प्याक्ट शिखर सम्मेलनअघि सार्वजनिक गरिएको यस योजनाले भारतलाई विश्व एआई शक्तिको तेस्रो स्थानमा स्थापित गर्ने दाबीलाई बल दिएको छ । स्ट्यानफोर्ड युनिभर्सिटीको अध्ययनअनुसार पेटेन्ट, निजी लगानी लगायत ४० भन्दा बढी सूचकमा भारत दक्षिण कोरिया र जापानभन्दा माथि रहेको छ । एक अर्बभन्दा बढी इन्टरनेट प्रयोगकर्तासहितको बजारले बहुराष्ट्रिय प्रविधि कम्पनीहरूलाई आकर्षित गरिरहेको छ । माइक्रोसफ्टले हालै १७ अर्ब ५० करोड डलर लगानी घोषणा गर्दै यसलाई एसियामा अहिलेसम्मकै सबैभन्दा ठूलो प्रतिबद्धता भनेको थियो ।      यद्यपि आलोचकहरूले भारत अझै उच्चस्तरीय कम्प्युटिङ क्षमता र व्यावसायिक एआई कार्यान्वयनमा पछाडि रहेको तर्क गर्छन् । डाटा सेन्टरहरूले पर्याप्त रोजगारी सिर्जना गर्ने विषयमा पनि प्रश्न उठाइएको छ । तर लोकेशले प्रत्येक औद्योगिक क्रान्तिले विस्थापनभन्दा बढी अवसर सिर्जना गरेको उल्लेख गर्दै एआई अँगालेका देशले नै फाइदा लिने धारणा व्यक्त गरे ।      ऊर्जा र पानीको उच्च माग सम्बोधन गर्न राज्यले दीर्घकालीन योजना बनाएको बताइएको छ । बङ्गालको खाडीमा बग्ने अतिरिक्त मनसुनी पानी उपयोग गरी विशाल डाटा सेन्टर चिस्याउने अवधारणा अघि सारिएको छ । साथै, कोभवाडामा छ वटा १.२ गिगावाट क्षमताका आणविक ऊर्जा संयन्त्रका लागि केन्द्रीय सरकारबाट सैद्धान्तिक स्वीकृति प्राप्त भइसकेको छ ।      छ गिगावाट डाटा सेन्टर क्षमताको लक्ष्यसहित आन्ध्र प्रदेशले तीव्र गति र ठूलो परिमाणमा कार्यान्वयन गर्ने दाबी गरेको छ । 'हामी यात्रामा छौँ र देशले कहिल्यै नदेखेको गतिमा परियोजना कार्यान्वयन गर्नेछौँ', लोकेशले भने । रासस