दुर्लभ खनिजमा चिनियाँ नियन्त्रणले युरोपेली कम्पनीलाई ‘लाखौं युरो’ घाटा, विश्व उद्योगमा असर
बेइजिङ । चीनको युरोपेली च्याम्बर अफ कमर्सका अनुसार बेइजिङले अझै पनि विदेशी कम्पनीहरूलाई आवश्यक दुर्लभ खनिज (रेअर अर्थ्स) मा पहुँच दिएको छैन । च्याम्बरले सोमबार पत्रकारहरूलाई बताएअनुसार कम्तीमा एक सदस्य कम्पनीले यस कारण ‘लाखौं युरो’ घाटा बेहोर्नुपरेको छ । करिब २५ वर्ष पुरानो व्यवसायिक संस्थाले प्रभावित कम्पनीको नाम भने सार्वजनिक गरेन, तर अरू सदस्यहरूले पनि यी खनिजहरूमा पहुँच पाउने स्पष्ट र स्थायी प्रक्रिया अझै पत्ता नलाएको बताएको छ । दुर्लभ खनिजहरू कारदेखि लिएर सेमिकन्डक्टरसम्मका उत्पादनहरूका लागि अत्यन्तै महत्त्वपूर्ण कच्चा पदार्थ मानिन्छन् । अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार २०२४ मा चीनले विश्वका कुल दुर्लभ खनिज खानी उत्पादनको करिब ६९ प्रतिशत नियन्त्रण गरेको थियो र विश्वका करिब आधा भण्डारहरू पनि चीनमै छन् । चीनले यस नियन्त्रणलाई अमेरिका र अन्य साझेदारहरूसँगको व्यापार वार्तामा प्रयोग गर्दै आएको छ । गत वर्षको अन्त्यदेखि चीनले दुर्लभ खनिजहरूको निर्यातमा कडाइ बढाएको छ र तिनको सैन्य प्रयोजनमा प्रयोग नहुने प्रमाणसमेत माग्न थालेको छ । मे महिनाको मध्यतिर अमेरिकासँग भएको व्यापार सम्झौतापछि चीनले एकपटक प्रयोग गर्न पाइने निर्यात अनुमतिपत्र जारी गर्न थालेको हो । जर्मन कार निर्माता फक्सवागनका प्रवक्ताले भने, ‘हाम्रो दुर्लभ खनिजयुक्त पाट्र्सको आपूर्ति स्थिर छ र हामीलाई कुनै अभावको समस्या छैन । हाम्रा आपूर्तिकर्ताहरूले आवश्यक निर्यात अनुमति प्राप्त गर्न आफ्ना सब–कन्ट्र्याक्टरहरूसँग निरन्तर सहकार्य गरिरहेका छन्,’ भने । तर युरोपेली च्याम्बरका अनुसार जून र जुलाईमा अनुमति स्वीकृतिमा केही सुधार देखिए पनि पछिल्ला महिनामा अनुमति पाउन अझै बढी कठिनाइ भइरहेको छ । च्याम्बरले अनुमति पाउनु पनि स्थिर आपूर्ति सुनिश्चित नगर्ने र यसले व्यवसायिक अनिश्चितता बढाउने जोड दिएको छ । गत वर्ष युरोपेली सङ्घ (ईयू) का करिब आधा दुर्लभ खनिज आयात चीनबाट आएका थिए, त्यसपछि रुस र मलेसिया प्रमुख आपूर्तिकर्ता थिए । दुर्लभ खनिजमा पहुँचमा बढ्दो प्रतिबन्ध अन्तर्राष्ट्रिय व्यापार तनावबीच व्यवसायका लागि पछिल्लो चुनौती हो । कोभिड–१९ पछि चीनमा विदेशी लगानीकर्ता र व्यवसायिक विश्वास घटेको छ किनकि महामारीका रोकथाम उपायहरूले आपूर्ति श्रृंखला प्रभावित पारेका थिए । घरेलु अर्थतन्त्र अझै सुस्त छ, विशेषगरी रियल इस्टेट संकट र उद्योगमा अतिउत्पादनका कारण । गत हप्ता अमेरिकन च्याम्बर अफ कमर्स इन साङ्घाईले मे र जून बीचको आफ्ना सदस्य सर्वेक्षण सार्वजनिक गर्दै आगामी पाँच वर्षका लागि व्यवसायिक विश्वास नयाँ न्यूनतममा पुगेको जनाएको छ । अध्ययनले देखाएको छ कि करिब आधा सदस्यहरूले चीनका लागि योजनाबद्ध लगानी अन्य क्षेत्रमा, मुख्यतः दक्षिणपूर्वी एसियामा सारिसकेका छन् । युरोपेली र अमेरिकी व्यवसायहरूले चेतावनी दिएका छन् कि दुर्लभ खनिजको अभाव यस वर्षको तेस्रो त्रैमासिकदेखि उत्पादनमा थप अवरोध ल्याउन सक्छ । युरोपेली च्याम्बरले भने अर्को हप्ता ब्रुसेल्समा ईयूका नीतिनिर्माताहरूसँग भेटेर वर्तमान व्यवसायिक स्थिति बारे जानकारी दिने योजना बनाएको छ । बुधबार सार्वजनिक गरिएको आफ्नो वार्षिक स्थिति पत्रमा चीनलाई आगामी पाँच वर्षे योजना तयार पार्दै गर्दा केही सुधारका सुझाव पनि दिएको छ । च्याम्बरले चीनलाई अतिउत्पादनका जरा कारणहरू समाधान गर्ने र स्वास्थ्यजस्ता मुख्य उद्योगमा निजी क्षेत्रलाई अझ ठूलो भूमिका दिने सुझाव दिएको छ, जहाँ हाल राज्य संस्थाहरूको ठूलो नियन्त्रण छ । च्याम्बरका अध्यक्ष जेन्स एस्केलुन्डले पत्रकारलाई भने, ‘चीनको वाणिज्य मन्त्रालयसँगको हालको बैठकमा हामीले मुख्यतया दुर्लभ खनिजको पहुँचबारे छलफल गरेका छौं ।’ चीनका शीर्ष नेताहरू आगामी अक्टोबरमा २०२६ देखि २०३० को लागि विकास लक्ष्य तय गर्न बैठक बस्ने भएका छन् । चीनले हरेक पाँच वर्षमा यस्ता योजना बनाउने गरेको छ । २०२१ मा सुरु भएको १४ औं संस्करण यो वर्षको अन्त्यमा सकिँदैछ र १५ औं योजना अर्को वर्षदेखि लागू हुनेछ । युरोपेली व्यवसायहरू उक्त बैठकलाई ध्यानपूर्वक हेर्नेछन् किनकि चीन युरोपेली सङ्घको दोस्रो ठूलो व्यापारिक साझेदार हो र २०२४ मा दुबै बीचको व्यापार ७३२ अर्ब युरोको स्तरमा पुगेको थियो । एस्केलुन्डले भने, ‘मेड इन चाइना २०२५ जस्ता योजनालाई पछाडि फर्केर हेर्दा अहिले हामीले भोगिरहेका धेरै चुनौतीहरू यिनै नीतिगत निर्णयको परिणाम हुन् । त्यसैले यी योजनाहरू साँच्चै महत्त्वपूर्ण छन् ... यीले दिशानिर्देश तय गर्छन् ।’ (सीएनबीसीबाट अनुदित तथा सम्पादित) सान्दर्भिक सामग्री : मस्कको लगानीले टेस्लाको एआई–रोबोटिक्स महत्त्वकांक्षालाई नयाँ दिशा इतिहासकै ठूलो तलब डिल : मस्कलाई टेस्लाको १ ट्रिलियन डलर प्रोत्साहन प्याकेज चिनियाँ अर्थतन्त्रमा दबाब बढ्दैः खुद्रा बिक्री, लगानी र रोजगारीमा निराशाजनक तथ्यांक गोह चेंग लियाङको निर्णयले विश्व चकित, ६ नाति–नातिनी एकै रातमा अर्बपति
न्युयोर्क टाइम्सविरुद्ध १५ अर्ब डलरको मानहानि मुद्दा हाल्ने ट्रम्पको घोषणा
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले न्युयोर्क टाइम्सविरुद्ध १५ अर्ब डलरको ‘मानहानि र बदनामी मुद्दा’ दायर गर्ने घोषणा गरेका छन् । 'न्युयोर्क टाइम्सलाई स्वतन्त्र रूपमा झूट बोल्न, धब्बा लगाउन र मलाई धेरै लामो समयसम्म बदनाम गर्न अनुमति दिइएको छ, तर अब त्यो रोकिन्छ !' उनले सोमबार आफ्नो ‘ट्रुथ सोसल’ प्लेटफर्ममा लेखेका थिए । मुद्दा फ्लोरिडामा दायर गरिएको जनाइएको छ । एएफपीले टिप्पणीका लागि न्युयोर्क टाइम्सलाई सम्पर्क गरेको छ । ट्रम्पले उक्त समाचारपत्रलाई ‘रेडिकल लेफ्ट डेमोक्रेट पार्टीको भर्चुअल मुखपत्र’ भन्दै निन्दा गरेका छन् । उनले यसले आफ्नो परिवार, व्यवसाय, ‘अमेरिका फस्र्ट’ आन्दोलन, मेगा अभियान र समग्रमा राष्ट्रबारे झूट बोल्दै आएको आरोप लगाए, तर कुनै प्रमाण भने प्रस्तुत गरेनन् । गत हप्ता एक समाचार माध्यमले ट्रम्पले यौन अपराधी जेफ्री एपस्टेनलाई दिइएको अश्लील जन्मदिन नोटसम्बन्धी लेखका विषयमा कानूनी कारबाही गर्ने चेतावनी दिएको रिपोर्ट प्रकाशित गरेको थियो । ट्रम्पले भने उक्त नोट लेखेको अस्वीकार गरेका छन् । ह्वाइट हाउस फर्किएपछि ट्रम्पले आफ्नो प्रशासनको आलोचना गर्ने पत्रकारलाई बारम्बार गाली गर्ने, पहुँच रोक्ने र मुद्दा दायर गर्ने क्रममा परम्परागत मिडियामाथि आक्रमण तीव्र पारेका छन् । एपस्टेनसँगको मित्रताको बारेमा लेख प्रकाशित गरेपछि उनले गत जुलाईमा मिडिया म्यागनेट रुपर्ट मर्डोक र ‘द वाल स्ट्रिट जर्नल’ विरुद्ध कम्तीमा १० अर्ब डलरको मुद्दा दायर गरेका थिए । सोही महिना, प्यारामाउन्टले सिबिएस न्युजको ‘६० मिनेट’ कार्यक्रममा चुनावी कभरेजसम्बन्धी ट्रम्पको मुद्दा एक करोड ६० लाख डलरमा सुल्झाएको थियो । ट्रम्पले कार्यक्रमले आफ्नो सन् २०२४ को चुनावी प्रतिद्वन्द्वी कमला ह्यारिससँगको अन्तर्वार्तालाई उनको विपक्षमा भ्रामक तरिकाले सम्पादन गरेको आरोप लगाएका थिए । रासस
ट्रान्सटेकद्वारा निर्मित निसौर स्क्वायर परियोजना सम्पन्न, ट्राफिक सहज
काठमाडौं । चिनियाँ कम्पनी ट्रान्सटेकद्वारा निर्मित निसौर स्क्वायर विकास परियोजनाको सोमबार उद्घाटन गरिएको छ । दशकौंको युद्ध र द्वन्द्व, विशेष गरी २००३ को अमेरिकी आक्रमणले इराकको सडक सञ्जाल सहितको पूर्वाधारमा गहिरो दाग छोडेको छ । यो परियोजनाले इराकको राजधानीमा लामो समयदेखि रहेको पुरानो भीडभाडलाई कम गर्न बहु–स्तरीय यातायात केन्द्र निर्माण गर्ने लक्ष्य राखेको छ । जुलाई २०२३ मा शुरु गरिएको यस परियोजनामा दुई ओभरपास र पाँच सुरुङहरू छन् । ट्राफिकका लागि खुलिसकेपछि यसले बगदादमा भीडभाडलाई उल्लेखनीय रूपमा कम गरेको छ । ध्वनि प्रदुषण कम गरेको छ । ट्रान्सटेकद्वारा निर्मित निसौर स्क्वायर विकास परियोजना पूरा भएको र ट्राफिकको लागि खुला गरिएको छ । परियोजनामा दुई ओभरपास, पाँच सुरुङहरू साथै १६८ किलोमिटर भूमिगत पाइपलाइन र केबलहरूको मर्मतसम्भार समावेश छ ।