४५ वर्षपछि इतिहास पल्टियो : पाँच गुणा महँगो तेल पछाडि, चाँदीले बनायो कीर्तिमान

काठमाडौं । चाँदीको मूल्य हाल तीव्र रूपमा बढेको छ । हालै पहिलोपटक चाँदीको मूल्य प्रतिकिलो ३.२ लाख रुपैयाँ नाघेको छ भने अन्तर्राष्ट्रिय बजारमा यो करिब ६५ डलर प्रति औंस पुगेको छ ।  अर्कोतर्फ डब्ल्यूटीआई क्रूड ५५.९३ डलर प्रति ब्यारेल र ब्रेन्ट क्रूड ५९.७१ डलर प्रति ब्यारेलमा कारोबार भइरहेको छ । सन् १९८० पछि यो पहिलो पटक हो, जब चाँदीको मूल्य कच्चा तेलभन्दा माथि पुगेको छ । सन् २०२२ को मध्यतिर डब्ल्यूटीआई क्रूडको मूल्य चाँदीभन्दा करिब ५.५ गुणा बढी थियो । त्यसयता चाँदीको मूल्यमा २०६ प्रतिशतको उछाल आएको छ भने कच्चा तेलको मूल्यमा ४४ प्रतिशत गिरावट आएको छ ।  डब्ल्यूटीआई क्रूडका लागि यो वर्ष महामारीपछिको सबैभन्दा खराब वर्ष बन्ने देखिएको छ भने चाँदीका लागि सन् १९७९ पछिको सबैभन्दा राम्रो वर्ष हो । यस वर्ष मात्रै चाँदीको मूल्यमा ११५ प्रतिशत वृद्धि भएको छ । यसको मूल्याङ्कन माइक्रोसफ्टभन्दा पनि माथि पुगेको छ र यो विश्वको पाँचौं सबैभन्दा मूल्यवान् एसेट बनेको  छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार चाँदीको भाउ प्रतितोला ४ हजार ५५ रुपैयाँ पुगेको छ । महासंघका अनुसार यो मूल्य हालसम्मकै उच्च हो ।  किन बढ्यो चाँदीको मूल्य ? अन्तर्राष्ट्रिय बजारदेखि स्वदेशी कारोबारसम्म चाँदीले नयाँ–नयाँ कीर्तिमान बनाइरहेका बेला जानकारहरूले यसको मुख्य कारण औद्योगिक मागको तीव्र वृद्धि रहेको बताएका छन् । ऊर्जा रूपान्तरण, सोलार प्यानल, इलेक्ट्रिक गाडी, सेमिकन्डक्टर तथा आधुनिक इलेक्ट्रोनिक्समा चाँदीको प्रयोग बढ्दै जाँदा विश्वव्यापी रूपमा यसको माग उल्लेख्य रूपमा बढेको हो । विशेषगरी हरित ऊर्जातर्फ विश्वको ध्यान केन्द्रित भएपछि सोलार उद्योगबाट चाँदीको खपत ऐतिहासिक स्तरमा पुगेको विश्लेषकहरूको भनाइ छ । अर्कोतर्फ आपूर्तिमा भने दबाब देखिएको छ । नयाँ चाँदी खानी थपिन नसक्नु, उत्पादन लागत बढ्नु तथा चाँदी प्रायः अन्य धातुसँगै सह–उत्पादनका रूपमा निकालिनुका कारण आपूर्ति सीमित बनेको छ । जसले बजारमा मूल्य बढाउने दबाब सिर्जना गरेको छ । विश्व अर्थतन्त्रमा अनिश्चितता, भूराजनीतिक तनाव र महँगीको जोखिम बढ्दै जाँदा लगानीकर्ताहरू सुरक्षित लगानी खोज्दै चाँदीतर्फ आकर्षित भएका छन् । सुनसँगै चाँदीलाई पनि सुरक्षित एसेटका रूपमा हेर्न थालिएपछि यसको माग अझै बढेको देखिन्छ । यस्तै, अमेरिकी डलर कमजोर हुनु र भविष्यमा ब्याजदर घट्न सक्ने अनुमानले पनि चाँदीजस्ता कमोडिटीमा लगानी बढाएको छ । चाँदीमा आधारित ईटीएफ र फ्युचर बजारमा कारोबार बढ्नुले पनि मूल्यमा थप उछाल आएको छ । बजार विश्लेषकहरूका अनुसार लामो समयसम्म सुनको तुलनामा सस्तो मानिएको चाँदीमा अहिले यसको रिरेटिङ भइरहेको छ। औद्योगिक माग, सीमित आपूर्ति र लगानीकर्ताको बढ्दो आकर्षणका कारण चाँदीको मूल्य केही समयसम्म उच्च स्तरमै रहन सक्ने अनुमान गरिएको छ ।

चीनले ईयूको सुँगुरको मासुमा ५ वर्षका लागि एन्टी डम्पिङ ड्युटी लगाउने

काठमाडौं । चीनले युरोपेली सङ्घ (इयू) को सुँगुरको मासुको आयातमा ५ वर्षका लागि ‘एन्टि-डम्पिङ’ शुल्क लगाउने घोषणा गरेको छ । सेप्टेम्बरदेखि कायम गरिएको अस्थायी शुल्कभन्दा यो शुल्क कम दरमा हुने बेइजिङले मङ्गलबार जनाएको छ।  केही युरोपेली मुलुकहरूको दृष्टिकोणमा यी दुई आर्थिक महाशक्ति इयू र चीन बेङजिङसँगको असन्तुलित आर्थिक सम्बन्धका कारण व्यापार विवादमा फसेका छन् । वाणिज्य मन्त्रालयले मङ्गलबार एक विज्ञप्तिमा भनेको छ, ‘गत वर्ष चीनले सुरु गरेको अनुसन्धानले युरोपेली सुङ्गुरको मासु (पोर्क) थुप्रिएको र यसको परिणामस्वरूप घरेलु उद्योगले ठूलो क्षति बेहोरेको छ।’   ‘एन्टि-डम्पिङ’ शुल्क यसपहिलेको ४.९ प्रतिशतबाट बढाएर १९.८ प्रतिशतसम्म हुनेछ भने अस्थायी कर ६२.४ प्रतिशतबाट  घटेर १५.६ प्रतिशतमा पुर्याइएको छ । यो डिसेम्बर १७ देखि लागू हुनेछ । वाणिज्य मन्त्रालयका प्रवक्ताले भने, ‘अहिले घरेलु उद्योगले कठिनाइको सामना गरिरहेको छ र सुरक्षाका लागि कडा माग भइरहेको छ ।’  युरोपको सुँगुरको मासुको आयातका लागि प्रमुख राष्ट्र स्पेनका कृषि मन्त्री लुइस प्लानासले भने, ‘स्पेनका निर्यातकर्ताहरूले घोषणा गरिएको समग्र औसत १९ प्रतिशतभन्दा कम औसत ९.८ प्रतिशतको कर तिर्नुपरेको छ।’ मन्त्री प्लानासले म्याड्रिडमा पत्रकारहरुसँग भने, ‘यी उपायहरु स्पेनका लागि स्वीकार्य छन् र नतिजालाई न्यूनीकरण गरिएको छ ।’  विश्वको प्रमुख सुँगुरको उपभोक्ता चीनले गत वर्ष स्पेनबाट मात्रै ४.३ अर्ब युआन (६० करोड अमेरिकी डलर) सुँगुरको मासुजन्य पदार्थ आयात गरेको चीनको आधिकारिक भन्सार तथ्याङ्कले देखाएको छ ।   फ्रान्सको उद्योग सङ्घ (इनापोर्क) का अनुसार फ्रान्सले २०२४ मा १ लाख १५ हजार टन सुँगुरको मासु चीनमा निर्यात गरेको थियो । अब फ्रान्सको प्रमुख पोर्क उत्पादक ग्रुप बिगार्डसँग ९.८ प्रतिशत शुल्क लिइनेछ र डेनिस क्राउनलाई १८.६ प्रतिशत शुल्क लगाइनेछ। हालको व्यापार विवाद गत गृष्मकालमा इयूले बेइजिङको कर्जा सहुलियतले युरोपेली प्रतिस्पर्धीहरूलाई अनुचित रूपमा प्रभावित गरिरहेको तर्क गर्दै चिनियाँ विद्युतीय सवारी साधनहरूमा भारी कर लगाउने दिशामा अघि बढेपछि सुरु भएको थियो । बेइजिङले इयूको उक्त दाबीलाई अस्वीकार गर्दै आयातित युरोपेली सुँगुरको मासु, ब्रान्डी र दुग्धजन्य पदार्थको प्रतिशोधात्मक अनुसन्धानको घोषणा गरेको हो ।   स्पेनी मासु उद्योग सङ्घ (एनिस) का महानिर्देशक जुसेप्पे अलोइसियोले एएफपीसँग भने, ‘यो कदम ‘अनुचित’ हो र यसले ‘उदाहरणीय उद्योगलाई बिनाकारण दण्डित गर्छ ।’ एलोसियोले भने, ‘हाम्रो क्षेत्र व्यापार विवादमा सौदाबाजीको साधनको रूपमा प्रयोग गरिएको छ । यो अस्वीकार्य छ । विद्युतीय सवारी साधनको हामीसँग कुनै सम्बन्ध छैन ।’  युरोपेली उत्पादकहरूले सेप्टेम्बरमा सुँगुरको मासुमा अस्थायी कर लगाएकोमा आलोचना गरेका थिए र व्यपक भण्डारण भएको आरोपलाई अस्वीकार गरे ।  उनले भने, ‘चिनियाँ उपभोक्ताहरूले युरोपेलीहरूको तुलनामा सुँगुरको कान (ट्रटर) का लागि बढी तिर्छन् जुन उत्पादनहरू युरोपमा प्रायः बेवास्ता गरिन्छ ।’  इयूले सन् २०२४ मा आफ्नो प्रमुख व्यापारिक साझेदार चीनसँग ३५० अर्ब डलरभन्दा बढीको व्यापार घाटा भोगेको थियो । फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोँले यसै महिना व्यापार असन्तुलनलाई सम्बोधन नगरिएमा युरोपले चीनविरुद्ध करसहितका कडा कदम चाल्ने बताए ।  व्यापार विवादकासाथै चीन र इयू युक्रेनमा रूसको सन् २०२२ मा सुरू भएको आक्रमणमा विरोध नजनाएकोजस्ता मुद्दाहरूमा मतभेद छन्। युरोपेली सङ्घले युद्ध अन्त्यका लागि मस्कोमाथि दबाब दिन चीनलाई आग्रह गरेको छ तर बेइजिङले त्यसलाई खासै महत्त्वका साथ लिएकोजस्तो देखिँदैन । 

६०० अर्ब डलर नेटवर्थ नाघ्ने पहिलो व्यक्ति बने मस्क

काठमाडौं । विश्वका सबैभन्दा धनी व्यक्ति एलन मस्कले नयाँ इतिहास रचेका छन् । उनी नेटवर्थ ६०० अर्ब डलर (झण्डै ८६.४ लाख करोड रुपैयाँ) नाघ्ने विश्वकै पहिलो व्यक्ति बनेका छन् ।  पछिल्लो २४ घण्टामै उनको नेटवर्थ १६७ अर्ब डलरले बढेको छ । मस्कको नेटवर्थमा आएको यो तीव्र वृद्धि उनको रकेट निर्माण गर्ने कम्पनी स्पेसएक्सको बढ्दो मूल्यका कारण भएको हो । यही कारणले उनको नेटवर्थ विश्वका अन्य सबै अर्बपतिहरूभन्दा धेरै अघि निस्किएको छ ।  ब्लूमबर्ग बिलियनर्स इन्डेक्सका अनुसार मस्कको नेटवर्थ झण्डै ६३८ अर्ब डलर (झण्डै ८६.४ लाख करोड रुपैयाँ) पुगेको छ । यति ठूलो नेटवर्थसँगै उनी विश्वका दोस्रो धनी व्यक्ति ल्यारी पेजभन्दा ३७३ अर्ब डलरभन्दा पनि धेरै अघि छन् ।  मस्कको यस प्रगतिले धनी व्यक्तिहरूको सूचीको शीर्ष स्थानमा रहेको अन्तर झनै बढाएको छ । यस सूचीमा अधिकांश व्यक्ति प्रविधि क्षेत्रमा संलग्न छन्— जस्तै ठूला सफ्टवेयर कम्पनीका मालिक, विलासी सामान उत्पादन गर्ने ठूला समूहका मालिक तथा लामो समयदेखि लगानी गर्दै आएका व्यक्तिहरू । एलन मस्कको मुख्य आम्दानी उनका कम्पनीहरू टेस्ला, स्पेसएक्स, एक्स, एक्सएआई आदिबाट आउँछ । उनको कुल सम्पत्तिको ठूलो हिस्सा टेस्ला र स्पेसएक्सबाट प्राप्त हुन्छ । उनी टेस्लाको करिब १३ प्रतिशत र स्पेसएक्सको ४२ प्रतिशत सेयरका मालिक छन् ।  हालै स्पेसएक्सको मूल्यमा भएको वृद्धि नै उनको सम्पत्ति बढ्नुको सबैभन्दा ठूलो कारण हो । मस्क टेस्लाबाट परम्परागत तलब लिँदैनन् । उनको पारिश्रमिक कम्पनीका सेयरमा आधारित छ । उनले टेस्लाका सेयर बेचेर नगद निकाल्नुको सट्टा ती सेयरलाई ऋणका लागि धितो राखेका छन्, जसले गर्दा उनी आफ्नो हिस्सेदारी कायम राख्न सफल भएका छन् । रिलायन्स इन्डस्ट्रिजका अध्यक्ष मुकेश अम्बानी भारत मात्र होइन, एसियाकै सबैभन्दा धनी व्यक्ति हुन् । त्यस्तै, अडानी समूहका अध्यक्ष गौतम अडानी दोस्रो स्थानमा छन्।  एलन मस्कको सन् २०२५ को आम्दानी अम्बानी र अडानीको कुल नेटवर्थभन्दा पनि बढी छ । अम्बानीको नेटवर्थ १०६ अर्ब डलर र अडानीको नेटवर्थ करिब ८५ अर्ब डलर छ । यसरी दुवैको कुल नेटवर्थ १९१ अर्ब डलर हुन्छ । तर मस्कले यो वर्ष मात्रै २०५ अर्ब डलर कमाएका छन् । पछिल्ला २४ घण्टामै उनको नेटवर्थ १६७ अर्ब डलरले बढेको छ ।