ग्रीसमा पर्यटनको जीडीपीमा ३० प्रतिशत योगदान, सन् २०२५ मा उच्च रेकर्ड
काठमाडौं । ग्रीसको अर्थतन्त्रको एक प्रमुख क्षेत्रमा श्रम अभाव जारी भए पनि सन् २०२५ मा पर्यटनका लागि ‘अर्को उच्च रेकर्ड’ कोर्ने बाटोमा रहेको बताएको छ । नोभेम्बरको अन्त्यमा प्रकाशित ‘बैंक अफ ग्रीस’को तथ्याङ्क अनुसार सन् २०२५ जनवरीदेखि सेप्टेम्बरको अन्त्यसम्ममा लामो समयदेखि घमाइलो टापु र सम्पन्न पुरातात्त्विक स्थलहरूको लागि पर्यटकहरूको प्रिय भू-मध्यसागरीय राष्ट्र (ग्रीस) मा सन् २०२५ मा ३ करोड १६ लाख आगन्तुकहरूलाई स्वागत गरेको छ । यो सन् २०२४ को सोही अवधिको तुलनामा ४ प्रतिशतले बढी हो । ‘समग्रमा, सन् २०२५ मा हाम्रो देशमा पर्यटनको लागि अर्को रेकर्ड वर्ष हुनेछ,’ पर्यटन मन्त्री केफालोजियानीले ग्रीक समाचार एजेन्सी एएनएसँग भने । उनले सन् २०२६ अर्को उपहार लिएर आउने आशा पनि व्यक्त गरे । ‘सन् २०२६ का लागि सूचकहरु पहिले नै विशेष रूपमा उत्साहजनक छन् र हामीलाई आशावादी हुन अनुमति दिन्छ,’ उनले भने । कोभिड-१९ महामारीपछि ग्रीसले पर्यटन राजस्व र विदेशी पर्यटकको सङ्ख्यामा वार्षिक रेकर्ड तोड्दै आएको छ । सन् २०२४ मा ४ करोड ७० हजार मानिसहरूले ग्रीस भ्रमण गरेका थिए र यो सन् २०२३ को तुलनामा १२.८ प्रतिशतले बढी हो । यो वृद्धिले पर्यटनका लागि धेरै प्रसिद्ध स्थलहरूमा अनियन्त्रित निर्माणको चिन्ता जगाएको छ । एथेन्सका स्थानीयहरूले छोटो अवधिको विदा मनाउनका लागि सरकारले गरेको पर्यटनको प्रचारप्रसारले ग्रीसमा भाडा आकाशिएको छ । जलवायु परिवर्तनले निम्त्याएको उष्ण लहर र बढ्दो विनाशकारी जङ्गलको डढेलोले पनि यस क्षेत्रका लागि खतरा निम्त्याएको छ । प्रधानमन्त्री किरियाकोस मित्सोटाकिसले वित्तीय सङ्कटपछि अर्थतन्त्रलाई पुनर्जीवित गर्ने प्रयासमा सन् २०१९ मा पदभार ग्रहण गरेदेखि पर्यटनका लागि प्रचारप्रसारलाई व्यापकता दिए । इन्स्टिच्युट अफ द ग्रीक टुरिजम कन्फेडेरेसन (इनसेट) का अनुसार सन् २०२४ मा कुल गार्हस्थ उत्पादनमा पर्यटनले प्रत्यक्ष योगदान १३ प्रतिशत र अप्रत्यक्ष रूपमा कुल गार्हस्थ उत्पादन (जीडीपी)मा ३० प्रतिशतभन्दा बढी योगदान पुर्याएको थियो ।
अमेरिकाले भेनेजुएलाको तट नजिकै अर्को तेल ट्याङ्कर नियन्त्रणमा लियो
काठमाडौं । भेनेजुएलाबाट हालै प्रस्थान गरेको तेल ट्याङ्करलाई अमेरिकाले नियन्त्रणमा लिएको अमेरिकी होमल्यान्ड सेक्युरिटी विभागले जानकारी दिएको छ । यो यसै महिनामा दोस्रो पटक हो, जब अमेरिकाले भेनेजुएलाको तट नजिक तेल बोकेर गइरहेको जहाज नियन्त्रणमा लिएको हो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार भेनेजुएलामा आउने–जाने प्रतिबन्धित तेल ट्याङ्करहरूविरुद्ध ‘नाकाबन्दी’ गर्ने आदेश दिएको बताएका थिए । भेनेजुएलाले अमेरिकाको यो पछिल्लो कदमको निन्दा गर्दै यसलाई ‘चोरी र अपहरण’ भनेको छ । यसअघि पनि भेनेजुएलाले आफ्ना स्रोतहरू चोर्न खोजेको आरोप अमेरिकामाथि लगाउँदै आएको छ । भेनेजुएला सरकारले जारी गरेको विज्ञप्तिमा संयुक्त राष्ट्र सुरक्षा परिषद् तथा ‘अन्य बहुपक्षीय निकाय र विश्वभरका सरकारहरू’ समक्ष उजुरी दर्ता गराउने योजना रहेको जनाएको छ ।
साइकलदेखि ल्याम्बोर्गिनीसम्म : युट्युबर अनुराग द्विवेदी ईडीको जाँचको घेरामा
काठमाडौं । भारतको उत्तर प्रदेश स्टेटका युट्युबर र आफूलाई फ्यान्टसी क्रिकेट विशेषज्ञ बताउने अनुराग द्विवेदीको तीव्र रूपमा बदलिएको जीवन अहिले प्रवर्तन निर्देशनालय (ईडी)को जाँचको दायरामा छ । १७ डिसेम्बरमा ईडीले उनको उन्नाव जिल्लाको नवाबगंजस्थित निवासमा छापा मारेको थियो । यस कारवाहीका क्रममा ईडीले करोडौं रुपैयाँ मूल्यका लग्जरी कारहरू जफत गरेको छ । ईडीले शुक्रबार साँझ एक्समा पोस्ट गर्दै युट्युबर र सोशल मिडिया इन्फ्लुएन्सर अनुराग द्विवेदीको लखनऊ, उन्नाव र दिल्लीका १० ठेगानामा गरिएको कार्यबारे जानकारी दिएको छ । ईडीका अनुसार जाँचमा पत्ता लागेको छ कि अनुराग द्विवेदीले अवैध अनलाइन बेटिङ प्लेटफर्मलाई प्रचार गर्न सक्रिय भूमिका खेलेका थिए । ईडीले बताएको छ, ‘पत्ता लागेको छ कि उनी (अनुराग द्विवेदी) विभिन्न च्यानलमार्फत नक्कली खाताबाट अवैध बेटिङ एप्सबाट कमाएको रकम प्राप्त गरेका छन् । उनी अवैध बेटिङ एप्सको प्रचारात्मक भिडियो बनाउँछन् र अन्य व्यक्तिसम्म पुर्याउँछन्, जसले सामान्य मानिसहरूलाई ती प्लेटफर्ममा बेटिङ गर्न प्रोत्साहित गर्छ ।’ ‘उनीसँग सम्बन्धित कम्पनीका बैंक खाताहरू र उनका परिवारका सदस्यहरूको खातामा उचित व्यवसायिक कारण बिना ठूलो रकम जम्मा भएको छ,’ ईडीले थप्यो । ईडीको छापामारीमा ल्याम्बोर्गिनी, मर्सिडीज र बीएमडब्ल्यू जस्ता महँगा कारहरू जफत गरिएको छ । ईडीले सबै जफत कारहरू लखनऊस्थित क्षेत्रीय कार्यालय परिसरमा पठाएको छ । ईडीका एक अधिकारीले नाम गोप्य राख्दै बताए कि अनुराग द्विवेदीसँग सम्बन्धित लखनऊ र उन्नावका नौ ठेगानामा एकैसाथ छापा मारेको थियो । यहीबीच अनुराग द्विवेदीले १९ डिसेम्बरमा एक्समा लेखेका थिए, ‘अरे भाई, मलाई आफ्नै बारेमा जति जानकारी छैन, त्यति त मिडियालाई दुई दिनमै भइसकेको छ ।’ अनुराग द्विवेदी को हुन् ? अनुराग द्विवेदी उन्नाव जिल्लाको नवाबगंज तहसीलका बासिन्दा हुन् । २६ वर्षीय अनुरागको जन्म १९९९ मा भएको थियो र उनले क्रमशः फ्यान्टसी क्रिकेटमा भिडियो बनाउन थाले । उनका पिता ग्राम प्रधान रहिसकेका छन् र नवाबगंजमा उनीसँग एउटा पसल पनि छ । स्थानीय बासिन्दाका अनुसार अनुराग पहिले गाउँमै बस्ने गरेका थिए । एन्टरटेनर्स क्रिकेट लिग (ईसीएल) च्यानलमा पोस्ट गरिएको एक भिडियोमा अनुरागले बताए कि उनले २०१७ देखि युट्युबमा भिडियो बनाउँदै आएका छन् । ईसीएलको एक पोडकास्टमा अनुरागले बताए कि उनी २०१९ मा फ्यान्टसी लिग प्लेटफर्मसँग जोडिए र फ्यान्टसी स्पोट्र्स प्लेटफर्मको प्रमोटरसँग सामग्री निर्माता बने । अनुरागको युट्युबमा करिब ७० लाख सब्सक्राइबर छन् भने इन्स्टाग्राममा २४ लाखभन्दा बढी फलोअर्स छन् । विवाह र जीवनशैली यस वर्ष २२ नोभेम्बरमा अनुरागले लखनऊकी एक युवतीसँग दुबईमा विवाह गरे। उनको भव्य विवाहको चर्चा निकै भयो । स्थानीय बासिन्दाका अनुसार उनले गाउँका नजिकका मानिसहरू र आफन्तसहित करिब १०० जनालाई दुबई बोलाएका थिए । पाहुनाहरूको आउजाउ र बसाइको सम्पूर्ण व्यवस्थापन अनुरागले गरेका थिए। अनुराग द्विवेदी एन्टरटेनर्स क्रिकेट लिगसँग पनि जोडिएका छन् । उनी लखनऊ लायन्स टिममा छन्। यो फ्रेन्चाइज(आधारित क्रिकेट टूर्नामेन्ट हो, जसमा आठ टिम छन् र लोकप्रिय सोशल मिडिया स्टारहरूले नेतृत्व गर्छन् । यो लिग तीव्र रफ्तार टेनिस बल टी–१० फम्र्याटमा खेलिन्छ । यस लिगमा एक करोड रुपैयाँको पुरस्कार रकम राखिएको छ । यद्यपि ईसीएलको पोडकास्टमा अनुरागले आफ्नो नेटवर्थ करिब १९० करोड रुपैयाँ हुन सक्ने दाबी गरेका थिए । उनले भनेका थिए कि उनी २०१६ देखि फ्यान्टसी क्रिकेटमा लगानी गर्दै आएका छन् । त्यसै पोडकास्टमा अनुरागले बताए कि उनी पहिले टाटा म्याजिकबाट स्कूल जाने गर्थे । हाल उनीसँग ल्याम्बोर्गिनी उरुस छ, जसको मूल्य करिब ८ करोड रुपैयाँ छ । अनुरागले यो कारलाई २८८ किलोमीटर प्रतिघण्टा गतिमा चलाएको दाबी पनि गरेका थिए । पडकास्टमा उनले एक समय साइकलबाट यात्रा गरेको पनि उल्लेख गरेका थिए । ईडीको जाँच र एफआईआर अनुरागविरुद्ध ईडीको वर्तमान जाँच पश्चिम बंगालको सिलिगुडीमा दर्ता गरिएको एफआईआरसँग सम्बन्धित छ । ईडीले ५ जुन २०२५ मा जारी प्रेस नोटमा अनलाइन बेटिङ र्याकेटको खुलासा भएको जानकारी दिएको थियो। यस एफआईआरमा ठगी, जालसाजी र अवैध अनलाइन बेटिङका आरोप उल्लेख छन् । एफआईआरमा भनिएको छ कि सिलिगुडीबाट अनलाइन बेटिङ प्यानल सञ्चालन भइरहेको थियो जसमा धेरै व्यक्तिहरू संलग्न थिए । प्रेस नोटअनुसार यस मामलामा विशाल भारद्वाज र सोनु कुमारलाई पक्राउ गरिएको थियो। तर, ८ अगस्तको प्रेस नोटमा भनिएको छ कि अभियुक्तहरूसँगबाट १७ क्रेडिट कार्ड र ११३० म्यूल अकाउन्ट बरामद गरिएका थिए, जसलाई फ्रीज गरिएको छ । जसमा करिब १० करोड रुपैयाँ पनि छ । ईडीका अधिकारीका अनुसार जाँचमा केही व्यक्तिहरूले अवैध अनलाइन बेटिङ प्लेटफर्मको प्रचारमा मुख्य भूमिका खेलेको पत्ता लागेको छ । यी व्यक्तिहरू युट्युब र सोशल मिडिया प्लेटफर्ममा प्रचारात्मक भिडियो बनाउँथे र सेयर गर्थे । यसको बदला उनीहरूलाई ठूलो रकम दिइन्थ्यो । ईडीका अनुसार व्यक्तिहरूसँग टेलिग्राम च्यानल र ह्वाट्सएपमार्फत सम्पर्क गरिन्थ्यो । त्यसपछि मानिसहरूले पैसा म्यूल अकाउन्टमा जम्मा गराउँथे, जसमा अकाउन्ट होल्डरको कुनै नियन्त्रण हुँदैन, तर बदला स्वरूप उनीहरूलाई पैसा दिइन्थ्यो । जाँच अघि बढ्दा अनुराग द्विवेदीको नाम बाहिर आएको थियो । ईडीका एक अधिकारीले नाम गोप्य राख्दै बताए कि अनुराग फ्यान्टसी स्पोट्र्स प्लेटफर्ममार्फत करोडौं रुपैयाँको सट्टासँग जोडिएको र त्यसबाट आर्जित धनलाई विभिन्न माध्यमबाट लगानी गरेको आरोपमा छन् । ईडीलाई शंका छ कि घोषणा गरिएको आम्दानीको तुलनामा उनका सम्पत्ति धेरै बढी छन् । ईडीका अधिकारीका अनुसार, एजेन्सी यो पत्ता लगाउने प्रयासमा छ कि यस नेटवर्कमा अरू को(को संलग्न छन् र यसको दायरा कति ठूलो छ । ईडीको जाँचको एक महत्त्वपूर्ण पक्ष अनुराग द्विवेदीको दुबई कनेक्शन पनि हो । एजेन्सीलाई शंका छ कि उनले दुबईमा धेरै अचल सम्पत्ति किनेका छन् र केही समयदेखि त्यही बसिरहेका छन् । दुबईमा गरिएको उनीहरूको भव्य विवाह पनि सोशल मिडियामा चर्चा बन्न पुगेको थियो । यस कारवाहीमा लखनऊ जोनको ईडी टिम सक्रिय रूपमा संलग्न छ । एजेन्सीका अधिकारीहरूको भनाइअनुसार दुबईमा गरिएको विवाह, सम्पत्ति र विदेशी लगानीको स्रोतको गहिरो छानबिन आवश्यक छ । ईडी हाल अनुराग द्विवेदीको आम्दानीको वास्तविक स्रोतको अनुसन्धान गर्दैछ । यद्यपि यस मामलामा उनका परिवारको पक्ष बुझ्ने प्रयास गरिएको, तर सम्पर्क गर्न सकिएको छैन । अनुरागका एक नजिकका व्यक्तिका अनुसार अनुरागको आम्दानी अचानक बढेको छ, तर उनीहरूले सबै कर समयमै तिरेका छन् । (बीबीसी हिन्दीबाट अनुदित तथा सम्पादित)