भारतमा तौल घटाउने औषधिको सस्तो जेनेरिक संस्करण आउँदै
काठमाडौं । भारतले ओजेम्पिकजस्ता तौल घटाउने खोपका सस्तो जेनेरिक संस्करण बजारमा ल्याउने तयारी तीव्र पारेसँगै मोटोपनाविरुद्धको उपचार अब सीमित वर्गको विलासिताबाट बाहिर निस्केर आम सर्वसाधारणसम्म पुग्ने चरणमा प्रवेश गरेको छ । प्रमुख पेटेन्टको म्याद समाप्त भएसँगै यी औषधिको मूल्य उल्लेखनीय रूपमा घट्ने अपेक्षा गरिएको छ, जसले विश्वव्यापी रूपमा उपचार पहुँचमा ठूलो परिवर्तन ल्याउन सक्छ । मुम्बईका अस्पताल र क्लिनिकहरूमा यस परिवर्तनको प्रभाव देखिन थालिसकेको छ । एन्डोक्रिनोलोजिस्ट नदीम राइसका अनुसार हाल प्रत्येक हप्ता ५० भन्दा बढी व्यक्ति तौल घटाउने खोपका लागि परामर्श लिन आउँछन् र करिब ७०–८० जना बिरामी सक्रिय उपचारमा छन् । उनका अनुसार जेनेरिक औषधि सस्तो भएपछि यो सङ्ख्या सहजै २०० नाघ्न सक्छ । उनकी सहकर्मी सुनेरा घई पनि माग अत्यन्त उच्च रहेको तर उच्च मूल्यका कारण धेरैले उपचार सुरु गर्न नसकेको बताउँछिन् । ओजेम्पिक र वेगोवीजस्ता औषधिमा प्रयोग हुने सेमाग्लुटाइड नामक सक्रिय तत्त्वको पेटेन्ट भारतमा शुक्रबार समाप्त भएसँगै यो परिवर्तन सम्भव भएको हो । विश्वकै सबैभन्दा ठूलो जेनेरिक औषधि उत्पादक देशका रूपमा भारतले यस अवसरलाई तीव्र रूपमा उपयोग गर्ने तयारी गरेको छ । अनुसन्धानअनुसार सन् २०२६ को अन्त्यसम्म सेमाग्लुटाइडसम्बन्धी मुख्य पेटेन्टहरू विश्वका १० देशमा समाप्त हुनेछन्, जसले विश्वव्यापी मोटोपनाको झन्डै ४८ प्रतिशत बोझ समेट्छन् । यस सूचीमा ब्राजिल, चीन, दक्षिण अफ्रिका, टर्की र क्यानाडा जस्ता देशहरू समावेश छन् । भारतीय औषधि उद्योगका लागि यो नयाँ प्रतिस्पर्धात्मक दौडको सुरुआत मानिएको छ । कम्तीमा चार प्रमुख कम्पनीले जेनेरिक सेमाग्लुटाइड उत्पादनका लागि तयारी पूरा गरिसकेका छन् भने जाइडस लाइफसाइन्सेजले ‘डे–वन’ लन्चको घोषणा गर्दै यसै सप्ताहन्तदेखि बजारमा औषधि उपलब्ध गराउने सङ्केत दिएको छ । अनुसन्धान संस्था फार्मार्‍याकका अनुसार चाँडै नै भारतीय बजारमा ५० भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी कम्पनी सक्रिय हुनेछन् । यो विकास भारतको बदलिँदो स्वास्थ्य अवस्थासँग पनि मेल खान्छ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार कुपोषण अझै पनि ठूलो समस्या भए पनि सहरीकरण र जीवनशैली परिवर्तनसँगै मोटोपना तीव्र रूपमा बढिरहेको छ । सरकारी तथ्याङ्कले भारतमा २४ प्रतिशत महिला र २३ प्रतिशत पुरुष अधिक तौल वा मोटोपनाको समस्यामा रहेको देखाएको छ । बेरियाट्रिक सर्जन सञ्जय बोरुडेका अनुसार आय वृद्धि भए पनि शारीरिक सक्रियता घट्ने प्रवृत्तिले समस्या झन् बढाएको छ । अहिलेसम्म एली लिली र नोभो नोर्डिस्कजस्ता बहुराष्ट्रिय कम्पनीहरूले महँगा औषधिमार्फत बजारमा प्रभुत्व जमाएका थिए । भारतमा तौल घटाउने औषधिको बिक्री पाँच वर्षमै दस गुणा बढेर सन् २०२६ सम्म १५ करोड ३० लाख डलर पुगेको छ र सन् २०३० सम्ममा आधा अर्ब डलर नाघ्ने अनुमान गरिएको छ । तर प्रति महिना १५ हजारदेखि २२ हजार रुपैयाँ (भारतीय मुद्रा) सम्म पर्ने खर्चले धेरै बिरामीलाई उपचारबाट टाढा राखेको छ । मुम्बईस्थित चिकित्सक स्वाति प्रधानका अनुसार जेनेरिक औषधिको मूल्य घटेर करिब पाँच हजार रुपैयाँ प्रतिमहिना पुग्न सक्छ । यसले बिरामीहरूको पहुँच उल्लेखनीय रूपमा विस्तार गर्नेछ । यद्यपि, यस्ता औषधिहरूले वाकवाकी लाग्ने तथा पाचनसम्बन्धी समस्या जस्ता प्रतिकूल असर पनि निम्त्याउन सक्ने भएकाले चिकित्सकीय निगरानी आवश्यक हुने उनको भनाइ छ । यसको प्रभाव भारतमै सीमित रहने छैन । अफ्रिकासहित धेरै विकासशील देशहरूमा भारत प्रमुख जेनेरिक औषधि आपूर्तिकर्ता भएकाले सस्तो सेमाग्लुटाइड ती देशहरूका लागि जीवनरक्षक विकल्प बन्न सक्छ । विश्व मोटोपना महासंघका अध्यक्ष साइमन बार्केराले कम लागतका औषधिले विशेषगरी मध्यम आय भएका देशहरूमा उपचार पहुँच विस्तार गर्ने उल्लेख गरेका छन् । भारतीय कम्पनीहरू अन्तर्राष्ट्रिय बजारमा पनि अघि बढिरहेका छन् । डा. रेड्डीज ल्याबोरेटरीले सन् २०२६ मेसम्म क्यानाडामा आफ्नो संस्करण सार्वजनिक गर्ने लक्ष्य राखेको छ । बिरामी सुकान्त मङ्गलजस्ता व्यक्तिहरूका लागि भने यो परिवर्तन झन् महत्त्वपूर्ण छ । उनले आठ महिनामा करिब ३० पाउन्ड तौल घटाए पनि प्रति महिना २० हजार रुपैयाँ खर्च धान्न नसक्दा उपचार रोक्नुपरेको अनुभव सुनाएका छन् । उनका अनुसार औषधि सस्तो भएको भए उपचार निरन्तरता दिन धेरै सहज हुने थियो । यसरी भारतबाट सुरु भएको सस्तो जेनेरिक औषधिको लहरले मोटोपनाविरुद्धको विश्वव्यापी लडाइँमा नयाँ दिशा दिने संकेत देखिएको छ । रासस
इरान–इजरायल युद्धलाई लिएर अमेरिका र इजरायलबीचको सहकार्यमा दरार !
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार एक ठूलो ग्यास फिल्डमा भएको हमलापछि आफ्नो चिरपरिचित शैलीमा एक अत्यन्तै कडा बयान जारी गरेका छन् । यो ग्यास फिल्ड इरान र कतार दुवैको बीचमा बाँडिएको छ । इजरायलले इरानको ‘साउथ पार्स’ (जुन विश्वकै सबैभन्दा ठूलो प्राकृतिक ग्यास क्षेत्रको एक हिस्सा हो) मा हमला गर्यो । यसको जवाफमा इरानले कतारस्थित एक ऊर्जा केन्द्रमा जवाफी हमला गर्यो । यी हमलाहरूपछि वैश्विक बजारमा तेलको मूल्यमा भारी वृद्धि भयो र ट्रम्पले यसप्रति आफ्नो असन्तुष्टि पनि व्यक्त गरे । यद्यपि आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ‘ट्रुथ सोसल’ मा ट्रम्पले पुनः एकपटक इरानलाई धम्की दिए । साथै ट्रम्पले यो पनि भने कि उनलाई इजरायलको हमलाको योजनाबारे कुनै जानकारी थिएन । आउनुहोस् जानौं अमेरिकी राष्ट्रपति ट्रम्पले प्रयोग गरेको भाषाले हामीलाई युद्धको दिशाबारे के बताउँछ ? हामी यो पनि जान्ने कोसिस गर्नेछौं कि यो युद्धको रणनीति र लक्ष्यलाई लिएर अमेरिका र इजरायल कुन हदसम्म एकमत छन् ? अमेरिकालाई यी ‘हमलाहरूबारे केही थाहा थिएन’ राष्ट्रपति ट्रम्पका अनुसार अमेरिकालाई इजरायलको ‘यस विशेष हमलाको बारेमा केही थाहा थिएन ।’ ट्रम्पको यो बयान हमलापछि इजरायलका कैयौं पत्रिकाहरूको रिपोर्टभन्दा बिल्कुल विपरीत छ । सेन्ट्रिस्ट पत्रिका येदिओथ अहरोनोथको रिपोर्ट अनुसार हमलाको बारेमा ‘अमेरिकासँग पहिले नै छलफल गरिएको थियो र प्रधानमन्त्री बेन्जामिन नेतन्याहू तथा राष्ट्रपति ट्रम्पबीच यसमा सहमति बनेको थियो ।’ जहाँ दक्षिणपन्थी पत्रिका इजरायल हायोमले रिपोर्ट गर्यो, ‘राष्ट्रपति ट्रम्पले गत हप्ताको अन्त्यमा फारसको खाडीका तीन देशका नेताहरूसँग इरानको तटीय सहर असलुयेहमा हुने इजरायली हमलाका बारेमा छलफल गरे।’ राष्ट्रपति ट्रम्पका दाबीहरूमा अक्सर हुने गरे झैं यस मामलाको सत्यता के हो भनेर जान्न सजिलो छैन । इजरायली हमलाको बारेमा बताउन ट्रम्पले जुन शब्दहरूको प्रयोग गरेका छन्, त्यसले पनि केही संकेत दिन्छ । उनी भन्छन्, ‘इजरायलले क्रोधमा ग्यास फिल्डमा घातक हमला गर्यो ।’ यो त्यस्तो भाषा हो जुन अक्सर इरानका केही आक्रामक जवाफी हमलाहरूलाई वर्णन गर्न प्रयोग गरिन्छ । ट्रम्प कुनै नजिकको सहयोगीको तर्फबाट सोचेर गरिएको सैन्य अपरेशनका लागि यस्तो भाषा प्रयोग गर्दैनन् । इजरायलले ग्यास फिल्डमा ‘अब थप हमला गर्ने छैन’ राष्ट्रपति ट्रम्पले आफ्नो पोस्टमा कडा सन्देश दिनका लागि ‘क्यापिटल लेटर’ (ठूला अक्षर) प्रयोग गर्नु सामान्य कुरा हो । तर यस लामो पोस्टमा उनले एउटा मात्र वाक्यमा सबै अक्षरहरू क्यापिटलमा लेखेका छन् । उनले लेखे, ‘इजरायलले यस अत्यन्तै आवश्यक र बहुमूल्य साउथ पार्स फिल्डमा अब कुनै हमला गर्ने छैन, जबसम्म इरानले मूर्खतापूर्ण ढंगले कतारमा हमला गर्ने केटाकेटी निर्णय गर्दैन ।’ के सधैं सबै कुरामा आफ्नो नियन्त्रण देखाउन चाहने राष्ट्रपतिले बेन्जामिन नेतान्याहूलाई कुनै संकेत दिएका हुन् ? यद्यपि ट्रम्पको मामलामा यो भन्न कठिन छ । तर यसमा ती रिपोर्टहरूको झलक देखिन्छ कि ट्रम्प युद्धको सुरुवातमै इरानी तेल डिपोमा इजरायली हमलाबाट रुष्ट थिए । के इजरायल र अमेरिकाको युद्धको उद्देश्य फरक हुँदैछ ? यद्यपि राष्ट्रपति ट्रम्पको रातीको एउटा पोस्टबाट धेरै अर्थ निकाल्नु सायद गल्ती हुन सक्छ । इजरायली अधिकारीहरू दुवै देश पूर्ण रूपमा एकसाथ छन् भन्ने कुरामा जोड दिन चाहन्छन्, चाहे उनीहरू कहिलेकाहीँ अनजानमै केही मतभेदहरूतर्फ इशारा किन नगरून् । बिहीबार साँझ नेतान्याहूले एक पत्रकार सम्मेलन गरे । उनले ट्रम्पको बयानलाई दोर्होयाउँदै भने कि ग्यास फिल्डमा इजरायलले ‘एक्लै कारबाही गरेको थियो ।’ ट्रम्पले इजरायली सेनालाई यस्ता हमलाहरू अगाडि नगर्न भनेका थिए । उनले बारम्बार ट्रम्पसँग इरानको मुद्दामा आफू एकजुट रहेको र यसमा ट्रम्प नै मुख्य भूमिकामा रहेको देखाउन खोजे । नेतान्याहूले भने, ‘के साँच्चै कसैलाई लाग्छ कि कसैले राष्ट्रपति ट्रम्पलाई के गर्ने भनेर सिकाउन सक्छ ? मलाई लाग्दैन कि अरू कुनै दुई नेता राष्ट्रपति ट्रम्प र म जत्तिको तालमेलमा रहेका छन् । उहाँ नेता हुनुहुन्छ र तपाईंलाई थाहै छ म उहाँको सहयोगी हुँ ।’ बिहीबार बिहान लन्डनस्थित इजरायली दूतावासका प्रवक्ता एलेक्स ग्यान्डलरले बीबीसीलाई भने, ‘हामी इरानको इस्लामिक शासन, आईआरजीसी, उनीहरूको ब्यालिस्टिक र परमाणु कार्यक्रमसँग जोडिएका आफ्ना धेरैजसो वा सबै लक्ष्यहरूमा पूर्ण सहमत छौं र हामी दुवै एउटै कुरा चाहन्छौं ।’ तर जहाँ दुवै सहयोगी धेरै कुरामा स्पष्ट रूपमा सहमत छन्, त्यहीँ इरानमा सत्ता परिवर्तन हेर्ने आफ्नो इच्छालाई लिएर इजरायल लगातार बढी अडिग देखिएको छ । इजरायली सञ्चारमाध्यममा अधिकारीहरूलाई उद्धृत दिँदै छापिएका खबरहरूले ‘साउथ पार्स’ मा भएको हमलालाई इरानी शासनलाई कमजोर पार्ने प्रयासकै एक हिस्सा बताएका छन् । एक अधिकारीले भने, ‘सर्वसाधारणलाई हुने ग्यास आपूर्ति बन्द हुँदैछ र यसले विद्रोहको सम्भावना अझ बढाउनेछ।’ नेतान्याहूले इस्लामिक शासन उखेलेर फाल्ने आफ्नो दशकौं पुरानो इच्छा कहिल्यै लुकाएका छैनन् । उनी र अन्य धेरै इजरायलीहरू वर्तमान इरानी शासनलाई यहूदी राष्ट्र इजरायलको विरुद्धमा मान्छन् । अमेरिकाको निशाना र इजरायलको रणनीति जहाँ एकातिर अमेरिकाले आफ्ना धेरैजसो सैन्य प्रयासहरू इरानको मिसाइल र ड्रोन क्षमतालाई कमजोर बनाउन, उसको नौसेनालाई डुबाउन र हालका दिनमा इरानको लामो खाडी तटमा रहेका ठेगानाहरूमा हमला गर्न केन्द्रित गरेको छ । त्यहीँ अर्कोतर्फ इजरायलले इरानी नेताहरूको हत्या गर्न र शासनको नियन्त्रणमा रहेका चिजहरूमा हमला गर्न हरसम्भव प्रयास गरेको छ । अमेरिकाको निशानामा अर्धसैनिक ‘बसिज’ (अर्धसैनिक स्वयंसेवी संगठन जुन इरानमा सञ्चालन हुन्छ) इकाइहरू पनि छन्, जो यस वर्षको सुरुमा भएको विरोध प्रदर्शनका क्रममा भएको हिंसात्मक कारबाहीका लागि मुख्य रूपमा जिम्मेवार थिए । मध्यपूर्वका लागि अमेरिकाका पूर्व विशेष दूत डेभिड स्याटफिल्डले इजरायल र अमेरिकाका लक्ष्यहरू धेरै हदसम्म मिल्ने बताए तर यो लडाइँ कहिले रोक्ने भन्नेमा फरक हुन सक्छ । उनले बीबीसीलाई भने, ‘मेरो पक्का विश्वास छ कि उनी (ट्रम्प) जितको घोषणा गर्ने कुनै यस्तो भरपर्दो तरिका खोज्न चाहन्छन्, जुन खोक्रो नहोस् । उनी कुनै यस्तो काल्पनिक सत्ता परिवर्तनको लक्ष्य खोजिरहेका छैनन् जुन वास्तवमा कहिल्यै सम्भव छैन ।’ इरानलाई ‘हमलाको सही जानकारी थिएन’ आफ्नो पोस्टमा राष्ट्रपति ट्रम्पले जोड दिएर भने कि कतार न त यी हमलाहरूमा संलग्न थियो, न त उसलाई यसबारे पहिले नै केही जानकारी थियो । उनी लेख्छन्, ‘तर दुर्भाग्यवश इरानलाई यो कुरा थाहा थिएन र उसले बिना कुनै कारण गलत तरिकाले जवाफी हमला गर्यो ।’ ट्रम्पले यहाँ इरानलाई माफ गरिरहेका त छैनन्, तर उनले यस्तो संकेत पक्कै दिइरहेका छन् कि जब इरानले जवाफी हमला गर्यो, उसलाई पूरै कुरा थाहा थिएन र इरानले सायद गल्तीले कतार यस हमलामा संलग्न छ भन्ने सोच्यो । इरानको ‘ग्यास फिल्ड बर्बाद’ गर्ने चेतावनी ट्रुथ सोसल पोस्टका केही हिस्साहरू ट्रम्पको चिरपरिचित शैलीमा छन् । यसमा आफ्नो कुरा मनाउन अत्यधिक हिंसा प्रयोग गर्ने धम्कीहरू समावेश छन् । उनले चेतावनी दिएका छन्, ‘यदि इरानले फेरि कतारको एलएनजी (लिक्विफाइड नेचुरल ग्यास) केन्द्रहरूमा हमला गर्छ भने अमेरिकाले इजरायलको सहयोग वा सहमति विना नै साउथ पार्स ग्यास फिल्डलाई यति ठूलो शक्तिले उडाइदिनेछ जुन इरानले पहिले कहिल्यै देखेको वा अनुभव गरेको हुनेछैन ।’ ट्रम्प र उनका रक्षा सचिव पीट हेगसेथलाई यस्ता कुरा गर्न मन पर्छ । आफूलाई ‘शान्ति मन पराउने राष्ट्रपति’ भन्ने ट्रम्प अक्सर यस्ता बयानबाजी गरिरहन्छन् । डोनाल्ड ट्रम्पको ‘मेक अमेरिका ग्रेट अगेन’ अभियानका केही मानिसहरू पहिल्यैदेखि यो युद्धमा अमेरिकाले होइन, इजरायलले निर्णय लिइरहेको छ भन्ने मान्छन् । अर्कोतर्फ तेल र ग्यासको मूल्य फेरि बढिरहेको छ । होर्मुज स्ट्रेटको बाटो भएर जाने जहाजहरूको सुरक्षामा खासै प्रगति नदेखिँदा ट्रम्प केही बेचैन देखिएका छन् । यो युद्धले उनको सामु लगातार नयाँ चुनौतीहरू खडा गरिरहेको छ । इजरायलमा अहिले पनि युद्धका लागि समर्थन धेरै छ जबकि अमेरिकामा यो ५० प्रतिशतभन्दा कम छ । यो संघर्षले नेतान्याहूलाई अर्को कार्यकाल दिलाउन मद्दत गर्न सक्छ, तर नोभेम्बरमा हुने मध्यावधि चुनावमा ट्रम्पको रिपब्लिकन पार्टीलाई यसले घाटा पुर्याउन सक्छ । इजरायल र अमेरिका नजिकका सैन्य सहयोगी हुन्, तर यो पहिलो पटक हो जब उनीहरू मिलेर कुनै युद्ध लडिरहेका छन् । तर हरेक बित्दो दिनसँगै यो युद्ध डोनाल्ड ट्रम्पले सोचेभन्दा बढी जटिल साबित भइरहेको छ ।(बीबीसीबाट अनुदित तथा सम्पादित) खार्ग टापु : अमेरिका–इरान द्वन्द्वको नयाँ ‘कुरुक्षेत्र’ के इरानले ‘स्ट्रेट अफ हर्मुज’ इजरायल र अमेरिकाका लागि मात्र बन्द गर्न सक्छ ? युद्धको रापबीच इरान–चीन तेल ‘कनेक्सन’ : हर्मुजको अवरोध छिचोल्दै करोडौं ब्यारेल बेइजिङतिर मध्यपूर्व द्वन्द्व : एसियामा इन्धन संकट, चारदिने कार्यसप्ताह र विद्यालय बन्द इरानको भविष्य मोज्तबा खामेनेईको हातमा, के उनले सत्ता चलाउन सक्लान् ? मध्यपूर्वको रापमा विश्व अर्थतन्त्र : केन्द्रीय बैंकहरूको ‘अग्निपरीक्षा’ र मुद्रास्फीति बढाउने जोखिम इरान : शून्यमा सत्ता, संकटमा शासन खाडी संकट गहिरिँदै : बीमा कम्पनीहरू पछि हट्दा विश्व ऊर्जा बजार त्रसित इरान र इजरायल : मित्रतादेखि कट्टर दुश्मनीसम्म, यस्तो छ नालीबेली
ट्रम्पले भने - इरानमा सेना पठाउने छैन
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार इरानमा सेना नपठाउने बताएका छन् । अमेरिका–इजरायल र इरानबीचको युद्ध चर्किँदै गएको बेला उनले यस्तो टिप्पणी गरेका हुन् । ह्वाइट हाउसमा जापानी प्रधानमन्त्री सानाए ताकाइचीसँगको भेटका क्रममा ट्रम्पले यो कुरा बताए । फेब्रुअरी २८ देखि अमेरिका र इजरायलले इरानमा ठूलो मात्रामा आक्रमण शुरु गरेका थिए । जसले विश्वव्यापी ढुवानीमा बाधा पुर्याएको छ, तेलको मूल्य बढाएको छ र विश्व अर्थतन्त्रलाई हल्लाएको छ ।