ब्राजिल अझै आर्थिक मन्दीबाट गुज्रिँदै, नतिजा सुधारोन्मुख
ब्राजिल । ब्राजिलको आर्थिक मन्दीले विगत दुई वर्षमा इतिहासमै मुलुकको गतिविधिमा नराम्रो प्रभाव पारेको ब्राजिलले जनाएको छ । मङ्गलबार आर्थिक मन्दीबाट मुलुक प्रताडित हुन थालेको ठिक दुई वर्ष पुग्दा दक्षिण अमेरिकाको सबैभन्दा ठूलो अर्थतन्त्र मानिने ब्राजिलमा केही सुधारका सङ्केत भने देखिएका छन् । ब्राजिलको सरकारी तथ्याङ्क कार्यालयले मङ्गलबार जारी गरेको रेकर्डमा मुलुकको अर्थतन्त्र सन् २०१६ को अन्तिम तीन महिना (अन्तिम त्रैमासिक) अवधिमा ०.९ प्रतिशतमा खुम्चिएको जनाइएको छ । सन् २०१६ मा औसत आर्थिक गिरावट ३.६ प्रतिशत कायम रहेको छ । सन् २०१५ मा औसत आर्थिक मन्दीदर ३.८ प्रतिशत रहेको थियो । ब्राजिलमा आर्थिक तथ्याङ्क अध्ययनलाई लिपिबद्ध गर्न थालिएपछि भएको यो सबैभन्दा ठूलो दरको गिरावट भएको उक्त कार्यालयले बताएको छ । तेलमा आएको भारी गिरावट, भटमास, धातु र अन्य दैनिक उपभोग्य वस्तुको निर्यात घाटा तथा राजनीतिक अस्थिरता र ठूल्ठूला भ्रष्टाचारका प्रकरणले गर्दा ब्राजिलको अर्थतन्त्र नराम्ररी प्रभावित बनेको हो । ब्राजिलमा देखिएको आर्थिक मन्दीसँगै यहाँको बेरोजगारी समस्या १२.६ प्रतिशत पुगेको छ । मन्दीका कारण यहाँका करिब एक करोड ३० लाख मानिस बेरोजगार छन् । सन् २०१६ देखि ब्राजिलमा राजनीतिक सङ्कट चुलिएको थियो । पूर्व राष्ट्रपति दिल्मा रुसेफमाथि सरकारी ढुकुटीलाई गैरकानुनी रूपमा चलाएको भन्दै महाअभियोग लगाइएपछि ब्राजिलमा राजनीतिक अन्योल देखा परेको थियो । रुसेफसँगै उनका केही सहयोगीलाई समेत उनलाई महाभियोग लगाइएपछि उत्तराधिकारी बनेका मिसेल टिमरले सुधारका कार्यक्रम ल्याएको बताइएको छ । रासस/एएफपी
चीनको सन् २०१७ को रक्षा बजेटमा सात प्रतिशतले बृद्धि हुने
बेइजिङ । चीनको रक्षा बजेटमा सन् २०१७ का लागि करिब सात प्रतिशतले वृद्धि हुने भएको छ । सो समाचार चिनियाँ सरकारी निकायले सोमबार सार्वजनिक गरेका छन् । चीनको सन् २०१६ को रक्षासम्बन्धी वास्तविक बजेटमा सन् २०१७ को बजेटमा वृद्धि हुने कुरा यसअघि नै सार्वजनिक गरिएको थियो । सो सार्वजनिक तथ्यबमोजिम यहाँको सरकारले रक्षा बजेटमा वृद्धि गर्ने जनाएको छ । सो जानकारीअनुसार यस वर्षको रक्षा बजेटमा कम्तीमा पनि सात प्रतिशतले वृद्धि हुने निश्चित भएको जनाइएको हो । सो बजेट सन् २०१७ का लागि करिब एक खर्ब चार अर्ब चिनियाँ युआन हुने पनि चिनियाँ सरकारले सार्वजनिक गरेको छ । चिनियाँ अर्थ मन्त्रालयले सोमबार सो जानकारी दिएको चिनियाँ समाचार समिति, सिन्ह्वाले जनाएको छ । सो मन्त्रालयले विभिन्न शीर्षकमा सन् २०१७ का लागि पनि बजेट सार्वजनिक गरेको छ । चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय बैठक सुरु भएको छ । यसै समयमा चीनको रक्षा बजेटका बारेमा चर्चा भएकोले अर्थ मन्त्रालयले सो बजेट सार्वजनिक गरेको हो । रासस÷सिन्ह्वा
मलेसियाद्वारा उत्तरकोरियाली राजदूतलाई देशनिकाला गरेको घोषणा
मलेसिया । उत्तरकोरियाली नेता किम जोङ उनको सौतेनी दाजु किमजोङ नामको मलेसियामा भएको हत्या प्रकरणसँगै कूटनीतिक सङ्कट देखिइरहेकै समयमा मलेसियाका लागि उत्तर कोरियाली राजदूतलाई देश निकाला गरिएकोे शनिबार क्वालालम्पुरले बताएको छ । “उत्तरकोरियाली राजदूतलाई मलेसियामा राख्न सम्भव नभएको सरकारले घोषणा गरेको छ”– मलेसियाको विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गरी बताएको छ । मन्त्रालयले किमको हत्या प्रकरणपछि शव परीक्षणबारे आएका अभिव्यक्तिलाई लिएर उत्तर कोरियासँग क्षमा याचना गर्न भनेको तर प्यायोङयाङले यसमा सकारात्मक नबेपछि राजदूतलाई देश निकाला गर्ने निर्णय गरिएको बताएको छ । मलेसियाका लागि उत्तर कोरियाली राजदूतले राष्ट्रपति किम जोङ उनका सौतेनी दाजु किम जोङ नामको मलेसियाद्वारा दिएको शव परीक्षणलाई चुनौती दिँदै नामको हृदयघातका कारण मृत्यु भएको हुनसक्ने बताएका थिए । उनले नाम मुटु, मधुमेह तथा उच्च रक्तचापका बिरामी भएको र उहाँको मृत्यु यसैकारण भएको हुनसक्ने बताएका हुन् । मलेसियाले यस भनाइको खण्डन गरिसकेको छ । उत्तर कोरियाली नेता किमका दाजुको मृत्युले मलेसिया र प्योङयाङबीच कूटनीतिक सम्बन्धमा नै समस्या ल्याएको छ । उत्तर कोरियाली नेताका सौतेनी दाजू जोङ नामको मृत्युपछि शव परीक्षण (पोस्ट मार्टम) गर्ने विषय संवेदनशील भएको बताउँदै स्वदेशमै झिकाउने प्रयास गरिएको थियो । तर मलेसियाले प्योङयाङको आग्रहलाई बेवास्ता गर्दै शव परीक्षण गरेको थियो । क्लालम्पुरले आफ्नो देशको कानुनको पालना गर्दै शवको परीक्षण गरिएको र शव परीक्षण नतिजामा नामको विषाक्त ग्यासको प्रयोगबाट मृत्यु भएको पाइएको बताएको छ । बिहीबार मलेसियाले उत्तर कोरिया विनाभिसा नै प्रवेश गर्न पाउने प्रावधानलाई रद्द गर्न लागिएको बताएको थियो । रासस/एएफपी/सिन्ह्वा