करिब ५७ लाख श्रीलङ्कालीलाई मानवीय सहायता आवश्यक

एजेन्सी । श्रीलङ्काका करिब ५७ लाख नागरिकलाई मानवीय सहायताको खाँचो परेको बताइएको छ । रेडक्रसको अन्तर्राष्ट्रिय संस्था, आइसिआरसीले सो कुराको जानकारी दिएको हो । उक्त संस्थाका अनुसार श्रीलङ्काका करिब ५७ लाख मानिस मानवीय सहायताको खाँचोमा रहेका छन् । हालैका केही महिनायता श्रीलङ्काले जटिल आर्थिक समस्याको सामना गरिरहेको छ । यहाँका कतिपय नागरिकलाई दैनिक आधारभूत आवश्यकताको नै खाँचो पर्दै गएको देखिएको पनि सो संस्थाले हालै मात्र सार्वजनिक गरेको एक प्रतिवेदनमा देखिएको छ । पछिल्लो समयमा श्रीलङ्का मुद्रास्फिती, वैदेशिक मुद्राको अभाव झेल्नुपरेको छ । जसका कारण यहाँको आर्थिक अवस्था निकै कमजोर हुदै गएको छ । यहाँ आर्थिक समस्यासँगै कृषि उत्पादनमा पनि कमी आएकाले खाद्यान्न असुरक्षाको अवस्था पनि देखिएको छ । खाद्य असुरक्षाका कारण नै यहाँका नागरिकलाई विशेषगरी मानवीय सहायता आवश्यक परेको पाइएको सो प्रतिवेदनमा उल्लेख गरिएको छ । मल बीऊको अभावमा यहाँ स्वदेशी कृषि उपज पनि आवश्यक मात्रामा उत्पादन हुन नसकेको र स्वदेशी खाद्यान्नबा राष्ट्रिय स्तरमा हुने मागको पूर्ति हुन नसकेको बताइएको छ । श्रीलङ्कामा आर्थिक समस्यासँगै कृषिमा पनि समस्या उत्पन्न भएको छ । किसानले समयमै मल र बीऊ पाउन नसकेकाले यस्तो आवस्था आएको बताइएको छ । यहाँका करिब ४९ लाख नागरिकले खाद्य असुरक्षाको समस्या भोग्नुपरेको बताइएको छ । यसरी यहाँको जनसंख्याको करिब २२ प्रतिशत जनसंख्या खाद्य असुरक्षाको समस्यामा परेको पनि सो प्रतिवेदनमा जनाइएको छ ।

भारतीय प्रधानमन्त्री मोदीलाई मातृशोक

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई मातृशोक परेको छ । एक सय वर्षीया आमा हिरावेनको शुक्रबार बिहान निधन भएको हो । स्वास्थ्यमा समस्या आएपछि बुधबार अहमदवादको यूएन मेहता अस्पताल भर्ना गरिएको थियो । प्रधानमन्त्री मोदीले यसै वर्ष १८ जुनमा आमा हिरावेनको शताब्दिऔं जन्मजयन्ती मनाएका थिए ।

विश्व प्रख्यात महान फुटबलर पेलेको निधन

काठमाडौं । ब्राजिलका विश्वप्रख्यात महान फुटबलर पेले (एड्सन आरान्तेस दो नासिमेन्तो) को निधन भएको छ । ८२ वर्षीय पेलेको उपचारका क्रममा साओ पाउलो स्थित अल्बर्ट आइन्सटाइन अस्पतालमा बिहीबार राति निधन भएको हो । मृगौला र प्रोस्टेट रोगबाट ग्रसित पेले उपचारका लागि एक महिनाअघि अस्पताल भर्ना भएका थिए । अस्पतालमा उपचारकै क्रममा पेलेको मृत्यु भएको उनको परिवार र आफन्तले जनाएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले उल्लेख गरेका छन् । ब्राजिललाई लगातार तीन पटक फिफा विश्वकप उपाधि दिलाउन पेलेको महत्वपूर्ण योगदान रहेको छ । लगातार तीन पटक विश्वकप उपाधि जित्ने पेलेको नाममा दुर्लभ कीर्तिमान छ । पेले प्रेरित ब्राजिलले सन् १९५८, १९६२ र १९७० मा विश्वकप जित्ने उनी एक मात्र फुटबल खेलाडी हुन् । २१ वर्ष लामो फुटबल करियरमा उनले १३६३ खेलमा प्रतिस्पर्धा गर्दा १ हजार २८१ गोल गरेर विश्व रेकर्ड कायम गरेका छन् । उनले ब्राजिलको लागि ९२ खेल खेल्दै ७७ गोल गरेका थिए । फुटबलमा जादुमय क्षमता भएका पेलेलाई सन् २००० मा फिफा प्लेयर अफ दि सेन्चुरी घोषणा गरिएको थियो । १५ वर्षको उमेरमा सेन्टोस क्लबबाट सुरु गरेका उनी १७ वर्षको उमेरमै फुटबल स्टार बनेका थिए ।