नेपाल-श्रीलङ्काको विदेशमन्त्रीस्तरीय बैठक काठमाडौंमा हुने, पुस ५ गतेदेखि शुरु

श्रीलङ्का । नेपाल-श्रीलङ्काको विदेशमन्त्रीस्तरीय संयुक्त बैठक काठमाडौंमा हुने भएको छ । आगामी डिसेम्बर २१ र २२ अर्थात् पुस ५ र ६ गतेका लागि बैठक तय भएको छ । यद्यपि यो बैठक गत वर्षको वैशाखमा श्रीलङ्काले आयोजना  थियो । श्रीलङ्का सरकारको आसयको आधारमा नेपालले काठमाडौंमा बैठक आयोजना गर्न लागेको हो । बैठकमा नेपाल र श्रीलङ्काबीच रहिआएको बहुआयामिक सम्बन्धका विविध विषयमा छलफल हुने यहाँस्थित नेपाली राजदूत वासुदेव मिश्रले जानकारी दिए । उनका अनुसार कूटनीतिक एवं व्यापारिक, सांस्कृतिक, शैक्षिक सम्बन्ध कसरी विस्तार गर्न सकिन्छ भन्ने विषयमा बैठकमा व्यापक छलफल हुनेछ । कोभिड/१९ महामारीपछि नेपालबाट श्रीलङ्का आउने र श्रीलङ्काबाट नेपाल जाने पर्यटकको सङ्ख्यामा बढोत्तरी भएको उल्लेख गर्दै राजदूतले मिश्रले नेपाली पर्यटकका लागि श्रीलङ्का मुख्य गन्तव्य हुनसक्ने बताए । नेपाल र श्रीलङ्काबीचमा छोटो हवाई दूरी र खानपिन एवं रहनसहन मिल्ने भएकाले पनि श्रीलङ्का नेपालीका लागि उपयुक्त र श्रीलङ्कनका लागि पनि नेपाल उपयुक्त पर्यटकीय गन्तव्य हुने उनको भनाइ छ । द्विपक्षीय सम्बन्ध नेपाल र श्रीलङ्काबीच सन् १९५७ जुलाई १ मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो । दुई देशबीचको सम्बन्ध सद्भावना, आपसी समझदारी र सहयोगमा आधारित रहिआएको छ । आगामी वर्षदेखि नेपाल र श्रीलङ्काका बीचमा नयाँ अध्याय सुरु हुने राजदूत मिश्रको विश्वास छ । नेपाल र श्रीलङ्का सम्पर्क एवं सम्बन्ध विस्तारका लागि विश्वविद्यालयका भाइस चान्स्लर, प्राध्यापक र सरकारका उच्च पदस्थ अधिकारी र सरकारी एवं अन्य गैरसरकारी निकायका प्रमुखसँगको छलफल घनिभूत बनाएको राजदूत मित्रले जानकारी दिए । श्रीलङ्कामा ४२ देशका कूटनीतिक नियोग रहेका छन् भने अरु १२/१५ वटा अन्तर्राष्ट्रिय संस्थाका कार्यालय रहेका छन् । नेपालले सन् १९७५ मा कोलम्बोमा महावाणिज्य दूतावास स्थापना गरेको थियो भने सन् १९९५ मा कोलम्बोमा नेपाली दूतावास स्थापना गरेको थियो । त्यसैगरी श्रीलङ्काको काठमाडौंमा सन् १९९३ देखि आवासीय दूतावास रहिआएको छ । सन् २०१७ मा नेपाल र श्रीलङ्काले दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६०औँ वर्ष मनाएका थिए । नेपाल र श्रीलङ्का दुवै दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)का संस्थापक सदस्य हुन् र बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक)का सदस्य पनि हुन् । उच्चस्तरीय भ्रमण उच्चस्तरीय भ्रमणको आदानप्रदानले द्विपक्षीय सम्बन्धलाई उचाइमा पुर्याएको बताउँदै आगामी दिनमा पनि दुई देशबीचमा उच्चस्तरीय भ्रमणले निरन्तरता पाउने राजदूत मिश्रको बुझाइ छ । श्रीलङ्काका राष्ट्रपति मैत्रीपाला सिरिसेनाले चौथो बिमस्टेक शिखर सम्मेलनमा २०१८ मा नेपालको भ्रमण गरेका थिए। नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीले सन् २०१७ मेमा क्यान्डीमा आयोजित अन्तर्राष्ट्रिय वेसाक दिवसको समापन समारोहमा सहभागी हुन श्रीलङ्काको भ्रमण गरेका थिए भने त्यसैगरी १८औँ सार्क शिखर सम्मेलनमा सहभागी हुन श्रीलङ्काका तत्कालीन राष्ट्रपति महिन्दा राजापाक्षेले नोभेम्बर २०१४ मा नेपाल भ्रमण गरेका थिए । अब हुने विदेशमन्त्रीस्तरीय बैठकले सबै किसिमका ढोका खोल्ने विश्वास व्यक्त गर्दै राजदूत मिश्रले आगामी दिनमा कार्यकारीस्तरको भ्रमण हुने विश्वास व्यक्त गरे । द्विपक्षीय व्यापारका सम्भावना नेपालले श्रीलङ्कामा ऊन, कपडा निर्यात गर्दै आएको छ भने श्रीलङ्काबाट कफी, अनाज, विविध रासायनिक उत्पादन, तेल र चिकित्सा वा शल्य चिकित्सा उपकरण आदि रहेका छन् । आगामी दिनमा हुने विदेशमन्त्री स्तरीय बैठकमा व्यापार, वित्त, कृषि, उद्योग र पूर्वाधारको विकास, विज्ञान तथा प्रविधि, लगानी र आपसी हितका विषयमा विचार विमर्श हुनेछ । राजदूत मिश्रका अनुसार आगामी दिनमा नेपालबाट मौसमी फलफूल, तरकारी एवं मिनिरल वाटर श्रीलङ्का ल्याउन सकिनेछ भने श्रीलङ्काबाट नरिवल तेल, औषधीजन्य सामग्री नेपाल लैजान सकिन्छ । सन् १९७९ अप्रिलमा द्विपक्षीय व्यापार सम्झौतामा हस्ताक्षर भए पनि दुई देशबीचको व्यापारको मात्रा न्यून रहेको छ । नेपाल र श्रीलङ्का दुई देशबीच तुलना गर्दा नेपालभन्दा आर्थिक हिसाबले श्रीलङ्का नेपालभन्दा माथि देखिन्छ । प्रतिव्यक्ति आय, अर्थतन्त्रको आकार पनि नेपालको भन्दा बृहत् रहेको राजदूत मित्रले बताए । त्यसो त वैदेशिक ऋण पनि नेपालको भन्दा श्रीलङ्काको बढी रहेको छ । उनले भने, “ऋण धेरै भयो भन्दैमा त्यो देशको आर्थिक अवस्था नराम्रो छ भन्ने हुँदैन, ऋण त परिचालन गर्ने हो, जहाँबाट उत्पादनका लागि पैदा गर्ने उत्साह पैदा गर्छ ।” नेपाल-श्रीलङ्काको साझा विन्दु पहिल्याउनका लागि धेरै प्रयास भइरहेका छन् । श्रीलङ्काको समाजसँग भिज्ने र त्यहाँ रहेका कूटनीतिक नियोगसँग सम्पर्ग बढाउन आफू लागि परेको उल्लेख गर्दै उनले आगामी वर्षदेखि नेपालका लागि प्रतिफल दिने विश्वास व्यक्त गरे । रासस

युक्रेनले आगामी वर्ष प्रतिरक्षा खर्च बढाउने

युक्रेन । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सन् २०२४ मा प्रतिरक्षा खर्च वृद्धि गर्ने आदेशमा हस्ताक्षर गरेको युक्रेनी इन्टरफ्याक्स समाचार समितिले मङ्गलबार बताएको छ । उक्त आदेशअनुसार युक्रेनले कूल गार्हस्थ्य उत्पादन (जीडीपी) को कम्तीमा २१ दशमलव छ प्रतिशत राष्ट्रिय प्रतिरक्षामा खर्च गर्नेछ । राष्ट्रिय सुरक्षा तथा प्रतिरक्षा काउन्सिलको निर्णयलाई प्रभावकारी बनाएको राष्ट्रपतिको आदेशले अर्को वर्ष युक्रेनको प्रतिरक्षा खर्च १६ खर्ब ९० अर्ब रिभ्निया (करिब ४६ अर्ब अमेरिकी डलर) भन्दा कम नहुने उल्लेख गरेको छ । राष्ट्रपतिको उक्त आदेशले वर्तमान सैन्य–राजनीतिक परिस्थितिका आधारमा सन् २०२४ को मस्यौदा बजेटमा प्रतिरक्षा क्षेत्रलाई महत्व दिएर विनियोजन गर्न निर्देशन दिएको छ । युक्रेनको सन् २०२३ को बजेटले प्रतिरक्षामा कूल गार्हस्थ्य उत्पादन (जीडीपी) को १८ दशमलव दुई प्रतिशत अर्थात ११ खर्ब ४० अर्ब रिभ्निया (करिब ३१ अर्ब अमेरिकी डलर) खर्च गर्ने परिकल्पना गरेको छ । रासस

चार गुणा सम्पत्ति बढाउँदै एक नम्बर धनाड्य बने अम्बानी, पछि परे अडानी

काठमाडौं । भारतीय धनाड्य मुकेश अम्बानीले गौतम अडानीलाई पछाडि पारेका छन् । हुरुन इन्डिया रिच लिस्ट २०२३ अनुसार यसअघि धनीको सूचीमा अगाडि रहेका गौतम अडानीलाई मुकेश अम्बानीले पछाडि पारेका हुन् । नयाँ सूचीका अनुसार रिलायन्स इन्डस्ट्रिजका अध्यक्ष मुकेश अम्बानीले अडानी समूहका अध्यक्ष गौतम अडानीलाई पछि पार्दै सबैभन्दा धनी भारतीयको उपाधि हासिल गरेका हुन् । हिन्डनबर्ग रिपोर्टपछि गौतम अडानीको सम्पत्तिमा ठूलो गिरावट आएको देखिएको छ । हुरुन इन्डियाले १२ भारतीय धनाड्यको सूची सार्वजनिक गरेको हो । मुकेश अम्बानीको सम्पत्ति चार गुणाले बढेको देखिएको छ । सन् २०१४ मा १६५,१०० करोड भारतीय रुपैयाँबाट बढेर २०२३ मा ८०८७०० करोड भारतीय रुपैयाँ पुगेको छ । गत ९ वर्षमा अम्बानीको सम्पत्ति चार गुणाले बढेको रिपोर्टमा उल्लेख छ । गौतम अडानी भारतीय धनाड्यको दोस्रो नम्बरमा झरेका छन् । उनी ४७४८०० करोड भारतीय रुपैयाँको सम्पत्ति सहति दोस्रो नम्बरमा झरेका हुन् । योसँगै सेरम इन्स्टिच्युट अफ इन्डियाका संस्थापक साइरस एस पुनवाला २७८५०० करोड भारतीय रुपैयाँको सम्पत्ति सहित तेस्रो स्थानमा छन् । यस्तै, एचसीएलका शिव नाडर २,२८,९०० करोडको सम्पत्ति सहित चौथो स्थानमा छन् भने गोपीचन्द हिन्दुजा १,७६,५०० रुपैयाँ बराबरको सम्पत्ति सहित पाँचौ स्थानमा छन् । सन फार्मास्युटिल इन्डस्ट्रीका संस्थापक दिलिप सांघवी १६४३०० करोडको सम्पत्ति सहित छैटौं स्थानमा छन् । भारतीय धनाड्यको पहिलो स्थान ओगटेका अम्बानीले सन् १९६६ मा टेक्सटाइल मिलको स्थापना गरेर व्यवसायिक जीवन अगाडि बढाएका थिए । त्यही मिलले नै उनको जीवन परिवर्तन गरिदियो । पढ्ने रहर हुँदाहुँदै पनि बीचमै पढाई छोड्न बाध्य भएका अम्बानीले केमिकल इन्जिनियरिङमा डिग्री हासिल गरेपछि एमबीए गर्न चाहान्थे । तर व्यवसाय अगाडि बढाउनको लागि उनको पिताले उनको पढाई बीचमै रोकिदिए । त्यसपछि उनले सन् १९८१ मा उनले पितासँग मिलेर रिलायन्स पेट्रोलियम रसायनको शुरुवात गरे । पछि उनले रिलायन्स इन्फोकाँम लिमिटेडको स्थापना गरे । अहिले उक्त कम्पनीलाई रिलायन्स कम्युनिकेन्सस लिमिटेडको नामबाट चिनिन्छ ।