कुनै दिन बस चढ्ने पैसा नभएका अमित बने ३२ अर्बको कम्पनीका मालिक

काठमाडौं । धेरै मानिस असफलताको डरले नयाँ काम सुरु गर्दैनन् । कतिपय मानिस यस्ता हुन्छन् जो धेरैपटक असफल भएर पनि हार मान्दैनन् र सफलता नपाउन्जेल प्रयासरत रहन्छन् । यस्तै एक व्यवसायी अमित कुमात हुन्, स्न्याक्स उत्पादन गर्ने कम्पनी प्रताप स्न्याक्सका मालिक। जोसँग कुनै दिन १८ करोड रुपैयाँ ऋण थियो र बसमा यात्रा गर्ने पैसासमेत थिएन । यस्तो अवस्थामा पनि उनले हार मानेनन् र आज उनी ३२ अर्बको कम्पनीका मालिक छन् । प्रताप स्न्याक्सले चिप्स, नमकिनजस्ता खाजाहरू बनाउँछ । यसको प्रबन्ध निर्देशक (एमडी) र प्रमुख कार्यकारी अधिकृत (सीईओ) अमित हुन् । अर्को विशाल कम्पनी हल्दिरामले पनि उनको कम्पनीको अधिकांश सेयर किन्न इच्छा देखाएको छ । इन्दोरको व्यापारिक परिवारमा जन्मेका अमित सन् १९९० को दशकमा अध्ययनका लागि अमेरिका गएका थिए । उनको दाल र भातसँग पापड खाने बानी थियो । तर, अमेरिकामा पापड नपाएपछि उनले चिप्स खान थाले । उनलाई चिप्स बनाउने आइडिया त्यहाँबाट नै फुरेको हो । पढाइ सकेर केही नयाँ र फरक गर्ने लक्ष्य लिएर उनी भारत फर्किए । सुरुमा अमितले जागिर खोजे, पाएनन् । जागिर नपाएपछि उनी बुबाको कपडाको व्यवसायमा लागे । जब उनको बुबाको व्यापार राम्रो हुन थाल्यो, उनले अर्को काम सुरु गर्ने योजना बनाए । सन् १९९६ देखि १९९९ सम्म उनले केमिकल डाई र एसएपी प्रशिक्षण संस्थान सुरु गरे। अमितको सबै व्यवसाय राम्रै चल्न थाले पनि केही व्यवसाय घाटामा जान थाल्यो । व्यवसाय सञ्चालन गर्न उनले ऋण लिएका थिए । क्रमशः कर्जाको रकम १८ करोडभन्दा बढी पुग्यो । एक समय उनीसँग बसमा यात्रा गर्ने पैसासमेत नभएकाे अमित बताउँछन् । कमजोर आर्थिक अवस्थाका कारण अमितले आफ्नो जेठो भाइ अपूर्व र साथी अरविन्द मेहतालाई आफ्नो स्न्याक्स बिजनेस आइडियामा लगानी गर्न राजी गरे । अरविन्द घरजग्गा कारोबार गर्थे र अमितको पार्टनर बन्न राजी भए । तीनै जना मिलेर सुरुमा चिजबल बनाएर इन्दोर र अन्य सहरमा बेच्न थाले । त्यसपछि तीनैजनाले इन्दोरमा चिप्स बनाउनका लागि ठूलो इकाइ स्थापना गरे र ठूलो मात्रामा चिप्स बनाउन थाले । छोटो समयमा उनीहरूले फ्रिटो लेजसँग प्रतिस्पर्धा गर्न थाले । कुरकुरेसँग प्रतिस्पर्धा गर्न उनको कम्पनीले बबली बनाउन र बेच्न थाल्यो । ग्लोबल भेन्चर कम्पनी सेकोइया क्यापिटलले कम्पनीमा लगानी गर्न हात बढाएको छ । तर, तीनै साझेदारले उनलाई तीन महिना पर्खन भने । १८ महिनापछि सेकोइया क्यापिटलले उनको कम्पनीमा ३ करोड लगानी गर्यो । त्यसपछि कम्पनीले पोटेटो रिंग्स, चिप्स र धेरै प्रकारका खाजा बेच्न थाल्यो । आज यो कम्पनीको मूल्य ३२ अर्ब ७२ करोड २२ लाख रुपैयाँबराबर छ । जसले आफ्नो उत्पादन स्वदेश तथा विदेशमा बिक्री गर्छ । एजेन्सी

चीनको प्राकृतिक ग्यास उत्पादन ५.८ प्रतिशतले वृद्धि

बेइजिङ । चीनको प्राकृतिक ग्यास उत्पादनले सन् २०२३ मा स्थिर वृद्धि दर्ता गरेको राष्ट्रिय तथ्यांक विभागको तथ्यांकले देखाएको छ । चीनले सन् २०२३ मा २२९।७ अर्ब क्युबिक मिटर प्राकृतिक ग्यास उत्पादन गरेको थियो । यो अघिल्लो वर्षको तुलनामा ५.८ प्रतिशत बढी हो । विभागका अनुसार सन् २०२३ मा कुल ११ करोड ९९ लाख ७० हजार टन प्राकृतिक ग्यास आयात गरिएको थियो । यो अघिल्लो वर्षको तुलनामा ९.९ प्रतिशतले वृद्धि हो । डिसेम्बरमा मात्रै चीनको प्राकृतिक ग्यास आयातमा २३ प्रतिशत अर्थात् एक करोड २६ लाख ५० हजार टन प्राकृतिक ग्यास आयात गरेको छ । वृद्धि दर नोभेम्बरको तुलनामा १६.४ प्रतिशत बढी रहेको विभागले जनाएको छ ।

१५० वटा बोइङ जहाज किन्दै आकास एयर, भारतमा नयाँ तरङ्ग

भारत । भारतको नयाँ वायुसेवा कम्पनी आकास एयरले बिहीबार १५० वटा बोइङ ७३७ म्याक्स विमान माग गरेको जनाएको छ । गत जनवरीको सुरुमा अलास्का एअरलाइन्सको विमानमा प्राविधिक समस्या हुँदा आपतकालीन अवतरण गर्न बाध्य भएपछि अमेरिकी उड्डयन कम्पनी बोइङको ७३७ म्याक्स ९ जेट विमानका कारण कम्पनीको विश्वव्यापी रूपमा चर्को आलोचना भइरहेको छ । आकास एयरका प्रमुख कार्यकारी अधिकृत विनय दुबेले ७३७ म्याक्स १० र ७३७ म्याक्स ८–२०० जेटका लागि भएको ‘ऐतिहासिक’ मागपछि भरतीय एयरलाइन्सलाई ‘विश्वको शीर्ष ३० अग्रणी एयरलाइन्समध्ये एक बन्ने’ मार्गमा लैजाने बताए । सन् २०२१ मा ७२ वटा र सन् २०२३ मा थप चारवटा विमानको माग गरिसकेको आकास बोइङको बलियो सहयोगी रहँदै आएको छ । प्रमुख कार्यकारी अधिकृत दुबेले भने, ‘आकास एयरको विमान वृद्धिले ‘भारतको उड्डयन बजारको प्रतिज्ञा’लाई पूरा गर्ने प्रयासमा टेवा पुग्नेछ ।’ यो मागमा अलास्का एअरलाइन्सको विवादित बोइङको म्याक्स ९ विमान समावेश गरिएको छैन । कुनै पनि भारतीय एयरलाइन्सले बोइङ म्याक्स ९ विमान प्रयोग गर्दैनन् । देशको उड्डयन नियामक निकायले दुई साताअघि ७३७ ८ म्याक्स विमानको परीक्षण सन्तोषजनकरूपमा सम्पन्न भएको बताएको थियो । रासस