फेब्रुअरीमा १४ लाखभन्दा बढी पर्यटकले सिङ्गापुर भ्रमण गरे
सिङ्गापुर । गत फेब्रुअरी महिनामा १४ लाखभन्दा बढी पर्यटकले सिङ्गापुर भ्रमण गरेका छन् । सिङ्गापुर टुरिजम बोर्ड (एसटीबी) ले जारी गरेको पछिल्लो तथ्याङ्क अनुसार फेब्रुअरी महिनामा १४ लाख ४४ हजार पर्यटकले सिङ्गापुर भ्रमण गरेका छन् । कुल ३ लाख २७ हजार चिनियाँ पर्यटकले यस अवधिमा सिङ्गापुरको भ्रमण गरेका छन् । सिङ्गापुरपछि इन्डोनेसिया, मलेसिया, अष्ट्रेलिया र बेलायबाट क्रमशः धेरै पर्यटक यहाँ आइपुगेको तथ्याङ्क छ । चीन र सिंगापुरले फेब्रुअरीमा आपसी ३० दिने भिसामुक्त यात्रा लागू गरेका थिए। एसटीबीले यस वर्ष अन्तर्राष्ट्रिय आगन्तुकको आगमन १ करोड ५० लाखदेखि १ करोड ६० लाख पुग्ने अनुमान गरेको छ । रासस
उत्तरी म्यानमारमा जेड खानी भत्किँदा ३० जना बेपत्ता
याङ्गुन । उत्तरी म्यानमारको काचिन राज्यको हपाकान्त टाउनसिपको जेड (बहुमूल्य हरित पत्थर) खानी भत्किँदा करिब ३० जना बेपत्ता भएका छन् । स्थानीय बासिन्दाले उक्त दुर्घटनाबारे मंगलबार बिहान सिन्ह्वालाई प्रारम्भिक जानकारी गराएका छन् । यस बारे विस्तृत विवरण भने सार्वजनिक हुन बाँकी छ । एजेन्सी
अमेरिकी प्रतिबन्धबाट भेनेजुएलालाई ७०० अर्ब अमेरिकी डलर घाटा
काराकस । अमेरिकी प्रतिबन्धबाट भेनेजुएलालाई कुल गार्हस्थ उत्पादनमा झण्डै ७०० अर्ब अमेरिकी डलरको नोक्सानी भएको उपराष्ट्रपति डेल्सी रोड्रिग्वेजले सोमबार बताएका छन् । प्रतिबन्धका कारण भेनेजुएलाको तेल उद्योगले करिब २३२ अर्ब डलरको नोक्सानी बेहोरेको छ । साथै अन्तरराष्ट्रिय बैंकहरूमा रहेको भेनेजुएलाको २२ अर्ब डलरभन्दा बढीको सम्पत्ति पनि रोक्का गरिएको उपराष्ट्रपतिले बोलिभियाली शहर सान्ता क्रुज डे ला सिएरामा आयोजित अन्तरराष्ट्रिय गोष्ठीमा उल्लेख गरेका छन् । सन् २०२३ अक्टोबरमा सरकार र भेनेजुएलाका विपक्षी दलहरू बीच भएको बार्बाडोस सम्झौतामा अमेरिकाले प्रतिबन्ध हटाउने सहमति भए तापनि पालाना नभएको उनको गुनासो छ । उक्त सम्झौताले ‘जनरल लाइसेन्स ४४’ का नामले चिनिने राहत भेनेजुएलालाई उपलब्ध भएको भए तापनि राष्ट्रपति निकोलस मादुरोले विपक्षी दलबाट राष्ट्रपतिको उमेद्वारको दौडमा रहेका नेतालाई चुनावमा अगाडि बढ्न प्रतिबन्ध लगाएपछि बाइडेन प्रशासनले भेनेजुएला माथि पुनः प्रतिबन्ध लगाएको थियो । अमेरिकाको पछिल्लो कदम विपक्षी नेतालाई राष्ट्रपतिको उम्मेदवार हुनबाट प्रतिबन्ध लगाउने मादुरोको निर्णयको प्रतिक्रियामा आएको थियो। उक्त गोष्ठीलाई सम्बोधन गर्दै उपराष्ट्रपति रोड्रिग्वेजले अमेरिकी एकपक्षीय नीतिहरूलाई ध्यानमा राख्दै अब ल्याटिन अमेरिकालाई ‘अनिवार्य रूपमा’ नयाँ वित्तीय संरचना चाहिएको बताएका छन् । ‘यदि हामी नयाँ वित्तीय संरचनाको बारेमा सोच्न चाहन्छौं भने हामीले आफ्नै मुद्रामा व्यापार गर्नुपर्दछ,’ उनले भने ।