जापानले चिकित्सकको प्रेस्क्रिप्सनबिना गर्भनिरोधक चक्की बिक्री गर्ने
जापान । जापानले परीक्षणका रूपमा चिकित्सकको प्रेस्क्रिप्सनबिना गर्भनिरोधक चक्की बिक्री गर्ने पाइलट प्रोजेक्ट सुरु गरेको छ । यद्यपि अभियानकर्ताहरूले उक्त प्रोजेक्टलाई अत्यन्त सानो भनेर आलोचना गर्दै सबै प्रतिबन्ध हटाउन आह्वान गरेका छन् । आपत्कालीन गर्भनिरोधक चक्की सामाजिकरूपमा रूढीवादी जापानमा चिकित्सकको प्रेस्क्रिप्सन र क्लिनिक वा फार्मेसीमा गएर मात्र उपलब्ध हुने भन्दै अधिकार समूहहरूले लामो समयदेखि गुनासो गर्दै आएका छन् । अभियानकर्ताहरूका अनुसार यसले धेरै महिला विशेषगरी बलात्कार पीडित र किशोरीहरूलाई टाढा राखेको छ । पाइलट प्रोजेक्टअन्तर्गत यौन सम्पर्कको ७२ घन्टाभित्र गर्भधारणलाई रोक्न सक्ने तर समयसँगै कम प्रभावकारी हुने चक्की एक सय ४५ फार्मेसीमा उपलब्ध गराउने तयारी छ । यद्यपि जापान फर्मास्युटिकल एसोसिएसनको वेबसाइटअनुसार महिलाहरूले अहिले पनि परिचयपत्र देखाउनुपर्ने र फर्मासिस्टको अगाडि औषधि लिनुपर्नेछ । चिकित्सकको प्रेस्क्रिप्सनबिना गर्भनिरोधक चक्की लिन न्यूनतम उमेर १६ छ तर १८ वर्षभन्दा कम उमेर भएकालाई बुबाआमा वा अभिभावक हुन आवश्यक छ । गर्भनिरोधक चक्कीको मूल्य सात हजारदेखि नौ हजार येन (४७ देखि ६१ अमेरिकी डलर) को बीच निर्धारण गरिएको छ । आपत्कालीन गर्भ निरोधकका लागि फार्मेसी परियोजना अभियान समूहले परीक्षण पर्याप्त नभएको बताएको छ । समूहका सह–अध्यक्ष असुका सोमेयाले भने, ‘फार्मेसीको छनोट अत्यन्तै कडा थियो, यो चक्की एक सय ४५ औषधि पसलमा मात्र उपलब्ध छ, यो जापानमा कूल ६० हजारमा शून्य दशमलव दुई प्रतिशत मात्र हो ।’ उनले बुबाआमाको सहमतिको आवश्यकताले नाबालिगहरूलाई ठूलो बाधा उत्पन्न गर्ने बताए । ‘यस्ता धेरै मानिस छन् जसले सम्भावित गर्भावस्थाका बारेमा आफ्ना बुबाआमासँग कुरा गर्न सक्तैनन्, उनीहरूलाई आफ्नो यौन अनुभव र गर्भावस्थाको चिन्ताका बारेमा बुबाआमासँग कुरा गर्न कठिन हुनेछ’, उनले भने, ‘हामीले फेरि पनि स्वास्थ्य मन्त्रालयसँग कुनै प्रतिबन्धबिना फार्मेसीहरूमा चक्की सम्पूर्णरूपमा र छिटो उपलब्ध गराउन अनुरोध गरेका छौँ ।’ पाइलट प्रोजेक्टले यो वर्ष स्वास्थ्य मन्त्रालयको सार्वजनिक परामर्शमा अत्यधिक सकारात्मक प्रतिक्रियालाई अनुसरण गरेको छ । परामर्शमा ४६ हजार उत्तरदाताहरूमध्ये ९७ प्रतिशतले पक्षमा राय दिएका छन् । विश्व स्वास्थ्य सङ्गठनले आपत्कालीन गर्भनिरोधक चक्की सबै राष्ट्रिय परिवार नियोजन कार्यक्रममा नियमितरूपमा समावेश गर्नुपर्ने आफ्नो वेबसाइटमा उल्लेख गरेको छ । अभियानकर्ताहरूका अनुसार ९० भन्दा बढी मुलुकमा बिना प्रेस्क्रिप्सन गर्भनिरोधक चक्कीको बिक्रीलाई अनुमति दिएका छन् । रासस
जलवायु परिवर्तनले विश्व अर्थतन्त्रबाट अर्बौँ डलर कम गरिरहेको छ : प्रतिवेदन
पेरिस । जलवायु परिवर्तनले पहिले नै विश्व अर्थतन्त्रबाट अर्बौँ डलर कम गरिरहेको र यसबाट विकासोन्मुख मुलुकहरू सबैभन्दा बढी प्रभावित भएको कोप– २८ जलवायु शिखर सम्मेलनअघि मंगलबार प्रकाशित एउटा नयाँ प्रतिवेदनले बताएको छ । डेलावेयर विश्वविद्यालयको प्रतिवेदनले जनसंख्याको आधारमा मूल्यांकन गर्दा मानवजनित जलवायु परिवर्तनको असरले गत वर्ष विश्वव्यापी आर्थिक उत्पादन ६.३ प्रतिशतले घटेको अनुमान गरेको छ । उक्त आँकडाले कृषि र उत्पादनमा अवरोध र उच्च गर्मीबाट उत्पादकत्वमा कमीका साथै विश्वव्यापी व्यापार र लगानीमाथिको प्रभावजस्ता जलवायु परिवर्तनका दुवै प्रत्यक्ष परिणामहरूलाई प्रतिबिम्बित गर्दछ । ‘जलवायु परिवर्तनका कारण विश्व खर्बौँ डलरले गरिब भएको छ र यसको अधिकांंश भार गरिब मुलुकहरूमाथि परेको छ,’ डेलावेयर विश्वविद्यालयका मुख्य लेखक जेम्स राइजिङले भने, ‘यो जानकारीले धेरै मुलुकले सामना गरिरहेका चुनौती र तिनीहरूलाई सम्बोधन गर्न उनीहरूलाई तत्काल आवश्यक पर्ने सहयोगलाई स्पष्ट पार्न सक्छ भन्ने मलाई आशा छ ।’ औसत व्यक्तिले सामना गर्ने प्रभावहरूलाई ध्यानमा नराखी गणना गर्दा सन् २०२२ मा विश्वव्यापी कुल गार्हस्थ्य उत्पादन ९जिडिपी० को घाटा कुल गार्हस्थ्य उत्पादनको १।८ प्रतिशत अर्थात् करिब १५ खर्ब अमेरिकी डलर थियो । ‘ती दुई संख्याबीचको भिन्नताले कम आम्दानी भएका मुलुक र अत्यधिक गर्मी हुने क्षेत्रहरूमा केन्द्रित प्रभावहरूको असमान वितरणलाई प्रतिबिम्बित गर्दछ, यी मुलुकमा सामान्यतया उच्च जनसंख्या र कम जिडिपी छन्,’ लेखकहरूले एक विज्ञप्तिमा भनेका छन् । अतिकम विकसित मुलुकहरूमा जनसंख्या–भारित जिडिपीमा ८।३ प्रतिशतको नोक्सान भएको छ । यसबाट दक्षिणपूर्वी एसिया र दक्षिण अफ्रिकी मुलुकहरू विशेष रूपमा प्रभावित भएका छन् । यिनीहरूको जिडिपीमा क्रमशः १४।१ प्रतिशत र ११।२ प्रतिशतले नोक्सान भएको छ । अर्कोतर्फ केही विकसित मुलुकहरूले फाइदा लिएका छन् । कम जाडोका कारण युरोपमा गत वर्ष जिडिपीमा करिब पाँच प्रतिशतको शुद्ध लाभ देखिएको थियो । यद्यपि, तातो गृष्मकालले हल्का जाडोसँग सन्तुलन गर्ने भएकाले यस्तै प्रकारको लाभ ‘समाप्त हुने दिशातर्फ अग्रसर’ हुने भन्दै प्रतिवेदनमा चेतावनी दिइएको छ । गत वर्ष इजिप्टमा कोप– २७ शिखर सम्मेलनमा कमजोर मुलुकहरूलाई जलवायु प्रकोप र चरम मौसमबाट हुने ‘नोक्सान र क्षति’सँग सामना गर्न सहयोग गर्नका लागि एउटा समर्पित कोष स्थापना गर्न सहभागी मुलुकहरू सहमत भएका थिए । केही विवरणमा हालै सहमति भए पनि कोष र विशेष रूपमा यसमा कसले योगदान गर्ने र कति गर्ने भन्नेबारे बिहीबारदेखि सुरु हुने यो वर्षको कोप– २८ शिखर सम्मेलनमा छलफलको एउटा प्रमुख बिन्दु हुनेछ । प्रतिवेदनअनुसार पछिल्लो ३० वर्षमा न्यून र मध्यम आम्दानी भएका मुलुकहरूको पुँजी र जिडिपीमा संयुक्त रूपमा २१ खर्ब डलरको नोक्सान भएको छ । यो विकासोन्मुख विश्वको कुल २०२३ जिडिपीको करिब आधा हो । विश्लेषणमा गैरबजार घाटा र प्रभावहरूको गणना नगरिएको भन्दै लेखकहरूले नोक्सान ‘परम्परागत अनुमान’ भएको बताएका छन् । रासस
विश्वकै सबैभन्दा कान्छो अर्बपतिको उमेर मात्र १९ वर्ष, कति छ उनको सम्पत्ति ?
एजेन्सी । अर्बपति बन्नु ठूलो कुरा हो । तर, सानै उमेरमा अर्बपति बन्नु अचम्मको कुरा हो । फोर्ब्स इन्डियाका अनुसार सन् २०२३ मा इटालीका १९ वर्षीय क्लेमेन्टे डेल वेक्चियो विश्वकै कान्छा अर्बपति बनेका छन् । दोस्रो स्थानमा रहेका किम जङ योङ १९ वर्षका भए पनि उनको कुल सम्पत्ति क्लेमेन्टेको भन्दा कम छ । फोर्ब्सले विश्वका १० युवा अर्बपतिको सूची सार्वजनिक गरेको छ । आजका युवा अर्बपतिहरूले साम्राज्य निर्माण मात्र गर्दैनन्, तिनीहरूले भविष्यलाई आकार दिन्छन् । उनीहरू हामीलाई स्मरण गराउँछन् कि जोस र लगनशीलतासाथ प्रयास गर्दा सपनाहरू साकार हुन सक्छन् । यी हुन् सन् २०२३ का युवा अर्बपति र तिनका कुल सम्पत्ति मूल्य : १. क्लेमेन्टे डेल वेक्चियो, उमेर १९ वर्ष सम्पत्ति मूल्य स् ३.९ अर्ब अमेरिकी डलर २. किम जङ युङ, उमेर १९ वर्ष सम्पत्ति मूल्य स् १.३ अर्ब अमेरिकी डलर ३. केभिन डेभिड लेहमन, उमेर २१ वर्ष सम्पत्ति मूल्य स् २.५ अर्ब अमेरिकी डलर ४. किम जङ मिन, उमेर २१ वर्ष सम्पत्ति मूल्य स् १.३ अर्ब अमेरिकी डलर ५. लुका डेल भेचियो, उमेर २२ वर्ष सम्पत्ति मूल्य स् ३.९ अर्ब अमेरिकी डलर ६. अलेक्जेन्ड्रा एन्ड्रेसन, उमेर २७ वर्ष सम्पत्ति मूल्य स् १.५ अर्ब अमेरिकी डलर ७. लियोनार्डो मारिया डेल भेचियो, उमेर २८ वर्ष सम्पत्ति मूल्य स् ३.९ अर्ब अमेरिकी डलर ८. कथरिना एन्ड्रेसन, उमेर २८ वर्ष सम्पत्ति मूल्य स् १.५ अर्ब अमेरिकी डलर ९. रायन ब्रेस्लो, उमेर २९ वर्ष सम्पत्ति मूल्य स् १.१ अर्ब अमेरिकी डलर १०. गुस्ताव म्याग्नर विट्ज़ोर, उमेर ३० वर्ष सम्पत्ति मूल्य स् ३.५ अर्ब अमेरिकी डलर सर्वाधिक धनी कान्छा अर्बपति क्लेमेन्टेको आय स्रोत इटालीको मिलान निवासी क्लेमेन्टे डेल वेक्चियोको आम्दानीको स्रोत चस्मा व्यवसाय हो। फोर्ब्सका अनुसार क्लेमेन्टे विश्वका शीर्ष १० कान्छा अर्बपतिहरुूको सूचीमा शीर्ष स्थानमा छन् । उनी स्वर्गीय लियोनार्डो डेल वेक्चियोका सन्तानमध्ये एक हुन्, जसले २०२२ मा आफ्नो मृत्यु नभएसम्म एस्सिलोर लक्सोटिकाको अध्यक्षका रूपमा सेवा गरे । आफ्नो बुबाको मृत्युपछि उनले लक्जेमबर्गमा आधारित होल्डिङ कम्पनी डेल्फिनमा १२.५ प्रतिशत स्वामित्व प्राप्त गरे । डेल्फिनको पोर्टफोलियोमा एस्सिलोर लक्सोटिका होल्डिङ्समा सेयर, मेडियोबैंका र यूनिक्रेडिट जस्ता बैंक र रियल इस्टेट डेभलपर कान्विवियोजस्ता बैंक समावेश छन् । आफ्नो बुबाको सम्पत्ति विरासतमा प्राप्त गरेपछि, क्लेमेन्टे १८ वर्षको उमेरमा संसारको सबैभन्दा कान्छो अर्बपति बने ।