बङ्गलादेश र एडिबीबीच एक अर्ब अमेरिकी डलरको ऋण सम्झौता

बङ्गलादेश । बङ्गलादेश सरकार र एसियाली विकास बैङ्क (एडिबी) बीच एक अर्ब अमेरिकी डलरभन्दा बढीको ऋण सम्झौतामा मङ्गलबार हस्ताक्षर भएको छ । उक्त ऋणले बङ्गलादेशलाई ऊर्जा दक्षता अभिवृद्धि गर्न, खोप आपूर्ति सुरक्षा सुनिश्चित गर्न, स्वच्छ खानेपानी र सूचना प्रविधि (आइटी) सम्बन्धी पूर्वाधार र प्रणालीहरू विकास गर्न तथा व्यापार करिडोर स्तरवृद्धि गर्न सहयोग गर्नेछ । स्मार्ट मिटरिङ ऊर्जा दक्षता सुधार परियोजनाले आवासीय ग्राहकहरूका लागि छ लाख पचास हजार स्मार्ट प्रिपेड ग्यास मिटर स्थापना गरेर घाटा कम गर्न सरकारको प्रयासलाई सहयोग गर्नेछ । बैंकका अनुसार भ्याक्सिन, थेराप्युटिक्स एण्ड डायग्नोस्टिक्स म्यानुफ्याक्चरिङ एन्ड रेगुलेटरी स्ट्रेन्थेनिङ परियोजनाले गोपालगञ्जमा प्रति पाँच करोड ८० लाख भ्याक्सिन उत्पादन गर्ने क्षमताको एसेन्सियल ड्रग्स कम्पनी लिमिटेड (इडिजिएल) खोप, थेराप्युटिक र डायग्नोस्टिक्स उत्पादन सुविधा र भण्डारण एकाइ स्थापना गर्नेछ । परियोजनाले कम्तीमा पाँच फिल–एन्ड–फिनिस खोपका अतिरिक्त बीज बैंक, मास्टर सेल बैंक र वर्किङ सेल बैंक विकास गरेर कम्तीमा दुई पूर्ण–चक्र खोपको निर्माणमा पनि सहयोग गर्नेछ । बैंकका अनुसार चट्टोग्राम पहाडी क्षेत्र समावेशी र लचिलो सहरी खानेपानीआपूर्ति तथा सरसफाइ आयोजनाले बन्दरवन, लामा र रङ्गमती सहरमा प्रतिदिन चार करोड ४४ लाख लिटरको कूल क्षमताको पानी प्रशोधन केन्द्र निर्माण गर्नेछ । यस्तै २४ किलोमिटर प्रसारण लाइन पनि निर्माण हुनेछ । साथै तीन सय ४० किलोमिटर नयाँ पानी वितरण नेटवर्क घरपरिवारमा जडान हुनेछ । उक्त परियोजनाले मल र ठोस फोहरको प्रशोधन र व्यवस्थापनका लागि दुई वटा एकीकृत व्यवस्थापन सुविधा पनि विकास गर्नेछ । रासस

पति–पत्नीको झगडाले बैङ्कक जाँदै गरेको विमान दिल्ली डाइभर्ट

काठमाडौं । यात्रीको उद्दण्ड व्यवहारका कारण म्युनिखबाट बैङ्ककका लागि उडेको लुफ्थान्साको विमानलाई बुधबार दिल्लीतर्फ डाइभर्ट गरिएको छ । ‘विशेषरूपमा पती–पत्नीबीचको विवादका कारण बोर्डमा कोलाहलपूर्ण आचरणको रिपोर्ट आएपछि केबिन चालक दलले यस्तो निर्णय गरेको हो’, स्रोतले बताएको छ । दिल्ली विमानस्थलको उड्डयन सुुरक्षाले भनेको छ, ‘पति–पत्नीबीचको झगडाको कारण अहिलेसम्म थाहा भएको छैन तर उनीहरूको झगडाका कारण विमानलाई डाइभर्ट गर्नुपर्यो ।’ विमानले सुरुमा पाकिस्तानको निकटवर्ती विमानस्थलमा अवतरण गर्ने अनुमति मागेको थियो तर अज्ञात कारणले त्यो अनुरोधलाई पूरा गरिएन । त्यसपछि विमान सुरक्षितरूपमा दिल्ली विमानस्थलमा अवतरण भयो । विमानबाट अनियन्त्रित पुरुषलाई उतारेर विमानस्थलको सुरक्षालाई बुझाइएको छ । लुफ्थान्सा एयरले यसबारे अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन । रासस

४२२ घन्टा सुरुङभित्र थुनिँदाका १७ कथा…

काठमाडौं । पछिल्लो १७ दिनदेखि भारतको उत्तराखण्ड राज्यस्थित उत्तरकाशीको एउटा निर्माणाधीन सुरुङमा फसेका सबै ४१ मजदुरलाई सकुशल बाहिर निकालिएको छ । मंगलबार साँझ अबेर सबै मजदुरलाई एनडीआरएफ टोलीले बाहिर निकालेको थियो । त्यसक्रममा उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामी घटनास्थलमा उपस्थित थिए । मुख्यमन्त्री धामीले मजदुरलाई माला लगाएर स्वागत गरेका थिए । यसपछि सबै मजदुरलाई प्राथमिक उपचारका लागि अस्पताल लगिएको थियो । उनीहरू प्रत्येकलाई उत्तराखण्ड सरकारबाट १ एक लाख रुपैयाँ सहयोग दिइने घोषणा गरिएको छ। साथै, उद्धार गरिएका ४१ मजदुरलाई तलबसहित १० देखि १५ दिन बिदा दिन पनि धामी सरकारले कम्पनीलाई आग्रह गरेको छ । यसैबीच प्रधानमन्त्री नरेन्द्र मोदीले ती मजदुरहरूसँग टेलिफोनमा कुराकानी गरेका थिए । ४२२ घण्टापछि सुरुङबाट उद्धार १७ दिनको उद्धार कार्य र ४ सय २२ घन्टाको कठिन लडाइँपछि अन्ततः सिल्क्यारा सुरुङमा फसेका ४१ जनाको ज्यान बाहिर आयो । मजदुर बाहिर निस्किनेबित्तिकै उद्धार टोलीले ‘भारत माताकी जय’ नारा लगाएका थिए । १७ दिनपछि सुरुङबाट बाहिर निस्किन पाउँदाको खुसी ती मजदुरको अनुहारमा प्रष्टै झल्किन्थ्यो । १७ दिने अभियानमा धेरै चुनौती सामना गर्नुपरेको थियो। सिल्क्यारा सुरुङ उद्धार : १७ दिनका १७ कथा १२ नोभेम्बर २०२३ कात्तिक १२ गते बिहान देशभरि दीपावली मनाउने तयारी भइरहेको थियो । बिहान करिब ५ः३० बजे उत्तरकाशीको सिल्क्यारा सुरुङमा पहिरो खस्यो । ३६ जना मजदुर फसेको पहिलो खबर आयो । त्यसपछि भित्र ४० मजदुर रहेको थाहा भयो । अनि, ती मजदुरलाई बचाउने अभियान सुरु भयो । एनडीआरएफ, उत्तराखण्ड राज्य विपद प्रतिक्रिया बल, सीमा सडक संगठन र परियोजना निर्माण गरिरहेको राष्ट्रिय राजमार्ग र पूर्वाधार विकास निगम (एनएचआइडीसीएल) र इन्डो–तिब्बत सीमा पुलिस (आईटीबीपी) सहित विभिन्न एजेन्सीहरूले उद्धार कार्यमा भाग लिए । १३ नोभेम्बर २०२३ मजदुरहरूलाई ड्रेनेज पाइपमार्फत सम्पर्क गरिएको थियो। वाकिटकीमार्फत उनीहरूसँग कुरा भएको थियो । त्यसपछि त्यही पाइपबाट मजदुरलाई अक्सिजन पु¥याइएको थियो । साथै, उनीहरूलाई खाद्यान्नसमेत पठाइएको थियो । मुख्यमन्त्री पुष्करसिंह धामी उद्धारका लागि घटनास्थल पुगेका थिए । सुरुङको भत्किएको भागमा थुप्रिएको भग्नावशेष हटाउने काममा खासै प्रगति हुन सकेको थिएन भने माथिबाट झरिरहेको पहिरोले उद्धार कार्य थप कठिन बनाइरहेको थियो । फलस्वरूप ३० मिटर क्षेत्रमा जम्मा भएको पहिरो ६० मिटरसम्म फैलियो । ‘सटक्रेटिङ’ का सहायताले पहिरोको भग्नावशेषलाई मजबुत बनाएर ड्रिलिङ गरी ठूलो ब्यासको स्टिल पाइपलाइन हालेर मजदुरलाई बाहिर निकाल्ने रणनीति बनाइएको थियो । १४ नोभेम्बर २०२३ औगर मेसिनको सहयोगमा भग्नावशेषमा तेर्सो ड्रिलिङ गर्ने योजना बनाइएको थियो । ड्रिलिङपछि ८ सय र ९ सय मिलिमिटर ब्यासका पाइपहरू हाल्ने योजना बनाइएको थियो । घटनास्थलमा पाइप पनि ल्याइयो । तर, सुरुङमा भग्नावशेष खसेका र दुईजना उद्धारकर्मीलाई सामान्य चोट लागेकाले उद्धार कार्यमा बाधा पुगेको थियो । विज्ञहरूको टोलीले सुरुङ र वरपरको माटो परीक्षण गर्न सर्वेक्षण सुरु गरेको थियो । सुरुङमा फसेका मजदुरहरूलाई खाना, पानी, अक्सिजन र बिजुली आपूर्ति निरन्तर जारी राखियो । सुरुङमा रहेका केही व्यक्तिले बान्ता भएको गुनासो गरेपछि उनीहरूलाई औषधी पनि खुवाइएको थियो । १५ नोभेम्बर २०२३ सिल्क्यारा सुरुङमार्गको काममा प्रयोग गरिएको औगर ड्रिलिङ मेसिनले काम गरेन । यसपछि एनएचआईडीसीएलले उद्धार कार्यलाई तीव्रता दिन नयाँदिल्लीबाट अत्याधुनिक अमेरिकी औगर मेसिन मागायो । १६ नोभेम्बर २०२३ सुरुङमा उच्च क्षमताको अमेरिकी औगर मेसिन स्थापना गरियो । मध्यरातपछि औगर मेसिनले काम गर्न थाल्यो । १७ नोभेम्बर २०२३ औगर मेसिनबाट ड्रिलिङको काम रातभरि जारी रह्यो । मेसिनले २२ मिटर ड्रिल गरी चारवटा स्टिल पाइप हाल्यो । पाँचौं पाइप बिछ्याउने क्रममा मेसिनमा केही ठोक्किएपछि ठूलो आवाज आएको थियो, त्यसपछि ड्रिलिङको काम रोक्नुपरेको थियो । मेसिन पनि बिग्रिन पुग्यो । त्यसपछि उद्धार कार्यमा सहयोग गर्न इन्दौरबाट अर्को उच्च क्षमताको औगर मेसिन बोलाइएको थियो । १८ नोभेम्बर २०२३ सुरुङमा रहेको हेभी मेसिनबाट भाइब्रेसनका कारण भग्नावशेष खस्ने डरले ड्रिलिङ सुरु हुन सकेको थिएन । प्रधानमन्त्री कार्यालयका अधिकारी र विज्ञ टोलीले सुरुङको माथि तेर्सो ड्रिलिङ गरेर कामदारसम्म पुग्ने विकल्पसहित पाँचवटा योजनामा सँगै काम गर्ने निर्णय गरेका थिए । १९ नोभेम्बर २०२३ केन्द्रीय सडक यातायात तथा राजमार्गमन्त्री नितिन गडकरीले उद्धार कार्यको समीक्षा गर्दा ड्रिलिङ रोकिएको थियो। कामदारसम्म पुग्नका लागि औगर मेसिनबाट तेर्सो ड्रिलिङ नै उत्तम विकल्प भएको उनले बताए । उनले दुई–तीन दिनमा सफलता मिल्ने विश्वास व्यक्त गरे । २० नोभेम्बर २०२३ प्रधानमन्त्री नरेन्द्र मोदीले मुख्यमन्त्री धामीसँग फोनमा कुराकानी गर्दै सुरुङमा भइरहेको उद्धार कार्यको जानकारी लिएका थिए । यससँगै सुरुङमा फसेका मजदुरहरूको मनोबल उच्च राख्न जोड दिइएको थियो । उद्धारकर्मीहरूले भग्नावशेषमा ड्रिल गरेर ६ इन्च ब्यासको पाइपलाइन हालेका थिए। त्यसपछि सुरुङमा फसेका मजदुरलाई पहिलोपटक पूरा खाना पठाइएको थियो । यसका साथै कपडा र अन्य अत्यावश्यक सामग्री पनि उपलब्ध गराइएको थियो । तर, औगर मेसिनको अगाडि ठूलो चट्टान आएपछि ड्रिलिङ रोकिएको थियो र सुरु हुन सकेन । २१ नोभेम्बर २०२३ उद्धारकर्मीहरूले सुरुङमा फसेका मजदुरहरू सकुशल रहेको पहिलो भिडियो सार्वजनिक गरेका थिए । भिडियोमा सेतो र पहेँलो हेलमेट लगाएका मजदुरहरू पाइपबाट खाना लिएर एकअर्कासँग कुरा गरिरहेको देखियो। सिल्क्यारा सुरुङको बारकोट छेउमा दुईवटा बम विष्फोट गराइएको थियो भने अर्कातर्फबाट ड्रिलिङ सुरु भएको थियो । तर, यो वैकल्पिक विधिबाट मजदुरसम्म पुग्न ४० दिन लाग्ने विज्ञहरूले बताएका थिए । एनएचआईडीसीएलले सिल्क्याराको छेउबाट औगर मेसिनबाट फेरि तेर्सो ड्रिलिंग सुरु गरेको थियो । २२ नोभेम्बर २०२३ ८ सय मिलिमिटर ब्यासको स्टिल पाइपलाइन भग्नावशेषको ४५ मिटर गहिराइमा पुग्यो। कुल ५७ मिटर भग्नावशेषमध्ये १२ मिटर छिर्न बाँकी थियो । एम्बुलेन्स सुरुङ बाहिर पार्क गरिएको थियो । यसबाहेक घटनास्थलबाट ३० किलोमिटर टाढा रहेको चिन्यालीसौर सामुदायिक स्वास्थ्य केन्द्रमा ४१ शैयाको विशेष वार्ड निर्माण गरिएको थियो । राति अबेरसम्म फलामको रड र गर्डर खोलिएपछि पुनः उत्खनन अवरुद्ध भएको थियो । २३ नोभेम्बर २०२३ अवरोधका कारण उद्धार कार्य ६ घन्टा ढिलो भएको थियो । अवरोध हटाएपछि पुनः ड्रिलिङ सुरु भयो । बुधबार अवरुद्ध भएपछि १.८ मिटर ड्रिलिङमा प्रगति भएको प्रदेश सरकारका नोडल अधिकारीले बताए । औगर मेसिनमुनिको प्लेटफर्ममा समस्या आएपछि पुनः ड्रिलिङ रोकिएको थियो । २४ नोभेम्बर २०२४ अवरोध हटाएर २५ टन तौल भएको औगर मेसिनबाट पुनः ड्रिलिङ सुरु गरिएको हो । तर, केही समयपछि फलामको रडका कारण पुनः ड्रिलिङ रोकियो । २५ नोभेम्बर २०२३ औगर मेसिन बिग्रिएपछि म्यानुअल ड्रिलिङ गर्ने निर्णय भएको थियो । योसँगै ठाडो ड्रिलिङको विषयमा पनि छलफल सुरु भएको थियो । त्यसपछि सुरुङमा अड्किएको औगर मेसिनको ब्लेड काट्ने र निकाल्ने काम गरियो । २६ नोभेम्बर २०२३ सुरुङको माथिबाट ठाडो ड्रिलिंग सुरु गरिएको थियो । यससँगै ड्रिफ्ट टनेल निर्माणको काम पनि जारी छ । अन्य खानीहरूबाट पनि म्यानुअल ड्रिलिङका लागि बोलाइएको थियो । साथै, लेजर र प्लाज्मा कटरबाट औगर मेसिनको ब्लेड काट्ने क्रमलाई बढाएर राति अबेरसम्म ठाडो ड्रिलिङ १९ मिटरभन्दा बढी ड्रिल गरिएको थियो । २७ नोभेम्बर २०२३ त्यस दिन पनि ठाडो ड्रिलिंग कार्य जारी रह्यो । यससँगै मजदुरलाई छोटो समयमा बाहिर निकाल्न ड्रिफ्ट टनेल बनाउने योजना पनि बनाइयो । म्यानुअल उत्खननका लागि ६ सदस्यीय मुसा खानी कामदारको टोली पनि आइपुगेको थियो । यसपछि साँझ मुसा खानीको टोलीले सेनाको सहयोगमा हातले उत्खनन थाले । अर्कातर्फ, ३६ मिटरसम्म भर्टिकल ड्रिलिङको काम पनि राति सम्पन्न भयो । २८ नोभेम्बर २०२३ मुसा खानीको टोलीले रातभरि हातैले खन्ने काम गर्यो। यसपछि आज बिहानै देशका जनताले खुसीको खबर पाउन सक्ने खबर आयो– सुरुङमा फसेका मजदुरहरूलाई जुनसुकै बेला बाहिर निकाल्न सकिन्छ । तर, उद्धार कार्य सम्पन्न हुनुअघि साँझ भइसकेको थियो र साँझ ७ः४७ बजे पहिलो मजदुरलाई बाहिर निकालिएको थियो । मुसा खानी टोलीले सुरुङको करिब १२ मिटर उत्खनन गरे, जहाँ पाइपहरू हालेर मजदुरहरूलाई सुरक्षितरूपमा बाहिर निकालियो । एजेन्सीकाे सहयाेगमा