श्रीलंकामा महँगियो खाद्यान्न
कोलम्बो । संकटग्रस्त श्रीलंकाको वार्षिक मुद्रास्फीति मे को ०.९ प्रतिशतको तुलनामा जुनमा करिब दोब्बर भई १.७ प्रतिशत पुगेको छ । श्रीलंकाले आफ्ना ऋणदातासँग १० अर्ब अमेरिकी डलरको ऋणको पुनर्संरचना गर्न सम्झौता गरेको केही दिनपछि जनगणना तथा तथ्यांक विभागको यो तथ्यांक सार्वजनिक भएको हो । खाद्यान्नमा अघिल्लो बर्षको जुनको तुलनामा १.०४ प्रतिशतले मूल्य वृद्धि भएको विभागले जनाएको छ । सन् २०२२ मा श्रीलंकाले आफ्नो विदेशी ऋण नतिरेपछि आर्थिक संकट उत्कर्षमा पुगेको बेला मुद्रास्फिति बढेर करिब ७० प्रतिशत पुगेको थियो । श्रीलंकाको केन्द्रीय बैंकले सन् २०२४ का लागि समग्र मुद्रास्फीति ५.० प्रतिशतभन्दा तल राख्न सक्षम हुने आशा व्यक्त गरेको छ । देशमा यसै वर्ष राष्ट्रपतिको निर्वाचन हुन लागेको छ र विपक्षी दलहरूले अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) को बेलआउटका शर्तहरूमा पुनः छलफल गर्ने प्रतिबद्धता जनाएका छन् । यसले गर्दा कडा मितव्ययिताका उपायहरू अपनाइएका छन् । आईएमएफले प्रतिद्वन्द्वी राजनीतिक दलहरूको वैकल्पिक प्रस्तावहरू सुन्न इच्छुक रहेको बताएको छ, तर बेलआउटमा निर्धारित महत्वपूर्ण शर्तहरू पालना गर्नुपर्नेमा जोड दिएको छ ।
बलिउड अभिनेता डेनी भारतकै तेस्रो ठूलो बियर उत्पादक कम्पनी सञ्चालक
काठमाडौं । बलिउडमा आफ्नो छुट्टै पहिचान बनाएका अभिनेता हुन् डेनी डेन्जोङ्पा । उनको वास्तविक नाम छिरिङ फिन्त्सो हो । कुशल अभिनेता हुनुका अलावा, डेनी एक अनुभवी व्यवसायी पनि हुन् । डेनीले सन् १९८७ मा दक्षिण सिक्किममा युक्सम ब्रुअरी सुरु गरेका थिए । १९८७ मै उनले उडिशाको डेन्जोङ ब्रुअरीसँग आफ्नो व्यवसाय विस्तार गरे । चार वर्षपछि डेनीले असमको राइनो एजेन्सी किनेका थिए । यी तीनवटा ब्रुअरीको कुल उत्पादन क्षमता वार्षिक ६.८ लाख हेक्टोलिटर छ । यसले युक्समलाई भारतको तेस्रो ठूलो बियर कम्पनी बनाएको छ । ‘डान्सबर्ग’ र ‘हे–म्यान९०००’ जस्ता लोकप्रिय ब्रान्डहरू यस कम्पनीका हुन् । युक्सम ब्रुअरीले उत्तरपूर्वी क्षेत्रको अर्थतन्त्रमा वार्षिक १अर्ब रुपैयाँ बराबर योगदान गर्छ । यसले २ सय ५० जनालाई रोजगारी दिएको छ । सन् २००१ मा राइनो एजेन्सीको अधिग्रहण डेनीका लागि महत्त्वपूर्ण कदम थियो । त्यसबेला विजय माल्या उत्तरपूर्वी बजारमा प्रवेश गर्ने योजनामा थिए । युनाइटेड ब्रुअरीज (यूबी) असममा दुई महिना पुरानो राइनो किन्न चाहन्थ्यो । यस क्षेत्रमा आफ्नो बजार हिस्सा सुरक्षित गर्नका लागि यूबीको योजना विफल पार्दै युक्समले राइनो अधिग्रहण गर्यो । यो रणनीतिक कदमले बजारमा डेनीको स्थितिलाई बलियो मात्र बनाएन, विजय माल्याको विस्तार योजनालाई पनि विफल बनायो । युक्समको वार्षिक आम्दानी १ अर्ब रुपैयाँ छ । डेनीले १९७१ मा बीआर इशाराको फिल्म ‘जरूरत’बाट आफ्नो फिल्मी करियर सुरु गरेका थिए । ‘मेरे अपने’ र ‘धुन्ध’ जस्ता फिल्मबाट उनको पहिचान बन्यो । १९७० र १९८० को दशकमा उनले ‘चोर मचाए शोर’, ‘कालीचरण’, ‘धर्मात्मा’, ‘द बर्निङ ट्रेन’, ‘लभ स्टोरी’ र ‘बुलन्दी’ जस्ता धेरै ठूला फिल्महरूमा भूमिका निर्वाह गरे । १९८० को दशक अन्त्यमा उनले नकारात्मक भूमिकामा काम गर्न थाले । उनले ‘धर्म और कानुन’, ‘अग्निपथ’, ‘घातक’, ‘क्रान्तिवीर’, ‘भारतीय’ जस्ता फिल्ममा आफ्नो अभिनयका लागि धेरै तारिफ पाएका थिए । विगत २० वर्षमा उनले ‘अशोका’, ‘एन्थिरन’ र ‘बैंग बैंग’ जस्ता धेरै ब्लकबस्टर फिल्महरूमा सहायक भूमिकामा उत्कृष्ट अभिनय गरेका छन् । यसबाहेक उनले ‘सेभेन इयर्स इन तिब्बत’ जस्ता अन्तर्राष्ट्रिय फिल्ममा पनि अभिनय गरेका छन् । एजेन्सी
पेरूमा ७.२ म्याग्नीच्यूडको भूकम्प, तटीय क्षेत्रमा सामुद्रिक छाल बढ्ने खतरा
पेरू । पेरूको मध्य तटीय क्षेत्रमा शुक्रबार ७.२ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भौगर्भिक सर्भे (युएसजिएस) ले जनाएको छ । युएसजिएसका अनुसार अतिकिपा जिल्लाबाट ८.८ किलोमिटरको दुरी ९१५.९० डिग्री अक्षांश र ७४.३५ डिग्री देशान्तर० मा ३० किलोमिटरको गहिराईमा भूकम्पको केन्द्रविन्दू रहेको जनाएको छ । ‘प्यासिफिक सुनामी वार्निङ सेन्टर’ ले भूकम्पपछि तत्काल दिएको सूचनामा सुनामीको कुनै खतरा नरहेको बताएपनि आफ्नो पूर्व सूचनामा संशोधन गर्दै पछि ‘केही तटमा तीन मिटरसम्मको छाल आउन सक्ने’ चेतावनी दिएको छ । भूकम्पबाट भौतिक संरचनामा भएको क्षतिको विवरण तत्काल उपलब्ध नभएको तर भूकम्पको ठूलो धक्का महशुस गरिएकाले केन्द्रविन्दू आसपासका क्षेत्रमा मानवीय तथा भौतिक संरचनामा क्षति पुगेको हुनसक्ने अनुमान गरिएको छ । भूकम्प प्रभावित क्षेत्रको थप विवरण संकलन भइरहेको पेरूका सरकारी अधिकारीहरूले जनाएका छन् । रासस